~एल एन सुवेदी ”हस्ती”~
दुबई – यू.ए.ई , ६ मार्च
मैले बर्सौ देखि निहाली रहेको छु , त्यो गल्लीका मानिसहरु उस्तै छन् । पुरानो गल्ली , सबै संरचना उस्तै । घरहरुको बनावट उस्तै , मान्छेको जीवन स्तर उस्तै । ज्यापू बस्तीका मान्छेहरु केही मरेर गए , केही बिहेवारी गरी गए । बिहे गरी जाने र स्वर्गतिर उकालो लाग्ने जतिकै संख्यामा जन्मिएका पनि छन् । तरतीस वर्ष अगाडिको परिवेश र अहिलेको परिवेशमा केही अन्तर छैन । फरक अलिक देखिएको छ भने हीरा साहू र दन्तलाल वकिलको उमेरमा मात्र । उमेर बूढेश कालतिर ढल्कदै गए पनि उनीहरुको मित्रता उस्तै छ , घनिस्टता उस्तै छ , आत्मियता र सद्भाव उस्तै छ । बस अरु उस्तै उस्तै लाग्छ । गल्लिमा बिजुलीको पोल थिएन , हीरा साहूले आग्रह गरे , दन्तलाल वकिलले निवेदन लेख्यो । बिजुली आयो । साँगुरा गल्लिमा इट्टा छाप्न हिरा साहूले इच्छा जताए , दन्तलालले नगरपालिकालाई निवेदन लेख्यो , इट्टा छापियो । हीरा साहूले भजन गर्ने पार्टीको मर्मत संहार गर्नु पर्यो भने । दन्तलालले निवेदन लेख्यो र पुरातत्व विभागबाट बजेट निकाशा गरायो । पार्टी मर्मत भयो । भजन चलिरकेकै छ । हीरा साहू र दन्तलालले बजेट अलि यता उता गरे होला । कसैले खोज खबरी गरेनन् । त्यो त खाएर पनि मल भैसक्यो होला । त्यस गल्लिमा कुरा सबै चलेकै छ । हीरा साहू छदैछन् , दन्तलाल वकिल छदैछ ।
हिरा साहू पंचायत कालका प्रधान पन्च , प्रजातन्त्र पछिका गा . वि . स अध्यक्ष हुन् । माओवादी जन सरकारका स्थानीय जन सरकार प्रमुख अथवा त्यस भेगका स्वघोसित मेयरको रुपमा छदैछन् । न कसैले चुनावमा उठायो , न आफै लडे । तर पनि ज्यापू गल्लिमा उनको मान्यता मेयर भन्दा कम छैन । दन्तलाल त्यो गल्लीको स्रेस्तेदार थियो । पछि लेखन दास भयो , हुदै जादा अधिवक्ता र बरिष्ठ अधिवक्ता जस्तो छ , उसको त्यहाँको सामाजिक हैसियत । केही कानूनी उल्झन आएमा दन्तलाल वकिल कागज लेख्छ । हीरा साहू मजाले दाया र बाया हातको ल्याप्चे ठोकी दिन्छन् । हीरा साहू दन्तलाल माथि विस्वास गर्छन् र दन्तलाल हीरा साहूलाई विस्वास घात गर्दैन । कसैको बिहे बटुलो , मरु मराउ पर्यो भने हीरा साहू कुरा मिलाउछन् । दन्तलाल हिसाब किताप लेखापालले जस्तै गरी दिन्छ । बर्षौ देखि मालिकको नूनको सोझो गरी बसेका असाध्यै बान्की परेका इमान्दार हल गोरु जस्ता , अर्को शब्दमा भनौ , राम लक्ष्मण जस्ता कहिले नछुटिने हीरालाल साहू र दन्तलाल वकिल ।
हीरा साहू र दंतलाल वकिलका आ-आफ्नै विशेषता छन् । शारीरिक बनावट आ-आफ्नै किसिमको छ । जात अलग छ । तर भावना एकै छ , धर्म एकै छ । एकै घरमा बस्छन् । हीरा साहू खेतीको काम गर्छन् । दन्तलाल उसको भाषामा वकालत गर्छ । उसले भनी दिन्छ । शहरका जाने माने वकिलहरु पनि उसका अगाडि बाघका सामू बाख्रो उभिए जस्तै हुन्छन् । हीरा साहू खेचा साहूका मर्दा मर्दा गरेर बाचेको पाच भाइ छोरा मध्येको कान्छो छोरो हुन् । उनका चार दाजुहरु पालै पालो माई रोगको महामारीले गर्दा विष्णुमतिको किनारतिर मास छर्न गए । खेचा साहूले चारा चौरासका भगवान र देवी देवता भाकेर बाचेको खेचा साहूको कान्छो छोरो हीरा साहू । खाडीका दौरा सुरुवाल , कम्मरमा पटुका , पोलिस्टरको कालो टोपी , अक्सर खालि खुट्टा , लगाई हाले भने पनि हाती छाप चापल , कानमा दादा केटाहरुले लगाउने जस्ता सुनका मुन्द्रा र कालो इस्टकोट लगाउछन् । दात छ महिनामा एक पटक खरानीले माझ्दा हुन् । हात र खुट्टाका नङ लामा लामा र मैला छन् । झट्ट हेर्दा हीरा साहू हरेक मकर सक्रान्तीमा नबिराई नुहाउछन् जस्तो लाग्छ । तर पनि ज्यापू गल्लीका जाने माने समाज सेवी , सबैको अभिभावक हुन् । ज्यापू गल्लिका रुढिवादी र परम्पराका हिमायती ज्यापूहरुका लागि सरकारले खटाएको मन्त्रि जस्तो लाग्छ । हीरा साहूलाई नसोधी कसैले पनि बिहे बटुलो , कर्मकाण्ड , पूजापाठ आदि गर्दैनन् । ज्यापू गल्लिमा मर्ने मान्छेहरु पनि हीरा साहूलाई सोधेर मात्र मर्छन् जस्तो भान हुन्छ । त्यस गल्लिमा हीरा साहूको ठूलो इमान छ ।
दन्तलाल वकिलको पुर्खौली थलो ताप्लेजुंगको फूलबारी भन्छन् । उसका बाबुले २०१५ साल तिरै झापाको खुदुनाबारीमा आएर झोडा फाडेर बस्ती बसाले । दन्तलालका बाबुले ऊ पाच बर्षको हुदा खुदुनाबारीको स्कूलमा दुई कक्षामा भर्ना गरी दिए । दन्तलालको खास नाउ भने ईश्वरी प्रसाद न्यौपाने थियो । स्कूलका संस्कृत पढाउने गुरुले उसको शारीरिक वनावट हेरी दन्तलाल न्यौपाने राखिदिए । उसका अगाडिका दुईवटा दात अलिक बाहिर निस्किएका छिचरा परेका थिए । हेर्दा सानो सुरिलो परेको , कपाल कैलो , आखा गोमन सापका जस्ता तीखा परेका हेर्दै हासोको पात्र जस्तो देखिने ईश्वरीलाई मजाकको रुपमा दन्तलाल नाम राखियो । यस कारणले ऊ ईश्वरी प्रसाद न्यौपानेबाट दन्तलाल न्यौपाने भयो । पछि शनिस्चरे मा वि बाट उसले एस एल सी पास गरी काठमाडौँतिर कानून पढ्न छिर्यो । नेपाल ल क्याम्पसमा आई एलको तीन चार पटक जाच दियो । बर्सै पिच्छे जाचमा आलु खाए पछि उसले पढाइलाई पूर्ण बिराम लगाई दियो । काठमाडौँ आए पछि दुई तीन पटक घर फर्क्यो । पछि बाबुले सौता हाले भन्ने खबर सुने पछि भने उसले खुदुनाबारी होइन , झापा पनि होइन , पूर्वतिर खुट्टै हालेन । शुरुमा दन्तलाल काठमाडौँको घट्टे कुलोतिर बस्दथ्यो । सस्तो डेरा खोज्दै ऊ ज्यापू गल्लीको हीरालाल साहूको घर भित्र पस्यो र अध्यावधि छदैछ ।
दन्तलाल काठमाडौँको चारखाल अड्डा , जिल्ला प्रशासन कार्यालय , मालपोत कार्यालय र नगरपालिकाको बाहिर ग्राहक पर्खिदै बस्छ । निवेदन लेखे वापत ग्राहक हेरी दाम तोक्ने गर्छ । अदालतमा लड्नु पर्ने मुद्धा ल्याए भने शहरका नामूद वकिलका घरमा गएर खुट्टा ढोग्छ र वीचबाट आएको कमिसनले गुजारा चलाउछ । मैला मैला सर्ट , पेन्ट , छालाका जुत्ता , बर्सौ देखि हिउद बर्खा उही पुरानो ज्याकेट भिर्दै ज्यापू गल्लिबाट झोसे , बसन्तपुर हुदै पैदल चारखाल जान्छ । बाटामा धेरै जसो किराना पसलमा उधारो खाएर ऋणले टुप्पी बिकेको हुनाले गल्फनले मुख ढाकेर अर्को बाटोतिर बाट पनि हिड्ने गर्छ । दन्तलाललाई हिउद महिनामा बढी सर्दिले समात्छ । जिर्ण शरीर भएको बूढो गोरुले जस्तै ख्वांग ख्वांग खोक्दै दिनको दुई तीन मुठा बिढी स्वाहा पार्छ । कसैले सिगरेट दियो भने हातको कान्छी औलामा फिल्टर च्याप्छ र बूढी औला र चोर औलाको वीचबाट सररररररर धूवाँ तानेर ख्वांक ख्वांक ख्वांक ख्वांक गरी खोक्छ । उसले खोकेको देखेर हीरा साहू चिन्तित हुदै भन्छन् ,’’बरी बिरी खाएर नलेउ भन्या ! चाडै मरेर ल्याउछ ” । आफ्नो मित्रको चाडै मृत्यु होला भन्ने डरले हीरा साहू पिरोलिन्छन् । जवानीमा दन्तलाल झ्यालमा बसेर तलतिरको सार्वजनिक धारामा ज्यापूनी महिलाहरुले पासपोर्ट साइजमा नुहाएको हेर्दै राता राता ओठ बनाउने गर्दथ्यो । हीरा साहूकी छोरी हाकुली प्रति एक दुई पटक झन्डै गति छोड्यो । पछि बात लाग्ने डरले आफै समालिदै गयो । एक हिसाबले भन्ने हो भने उस बेला देखि ऊ लख्याएको (परिवार नियोजन गरेको) पशु जस्तै भयो । कहिले काही खाजा पानी खाने बेलामा सितन भएन भने हाकुलीलाई भन्ने गर्छ , हेखे (हासको फूल) भए पनि ल्याउ न । खाली शिसी र पुराना कागज माग्दै हिडेको मान्छेको आवाज सुनेर हाकुली दन्तलाललाई सोध्छे , बाहिर को कराउछ ? उसले नेवारीमा नै जवाफ दिन्छ । ‘‘मन मखु ,मडसिया ख” (मान्छे होइन ,मदिशे हो) अर्कै ब्रह्माण्डबाट आएको तुच्छ प्राणीलाई जस्तो गरी मदिशेको हूर्मत लिन्छ ।
दन्तलाल नेवारी भाषा फर्रर रिठो नबिराई बोल्छ , अझ कसै-कसैलाई त लेख्न पनि जान्दछु भन्छ । ज्यापू गल्लिका मानिसहरुलाई उसले चार नारायण घुमायो । यता थानकोट देखि उता बनेपा सम्म लग्यो । बालाजु देखि दक्षिणकाली सम्म पनि गए । तिनीहरुलाई कहाँ कहाँ गएका छौ भनेर सोध्यो भने तिनीहरु गर्वका साथ भन्छन “टारा टारा गा छ , एटा थानकोट पुग्यो , उटा बनेपा पुग्यो भन्छन” । उनीहरु आफ्नो प्रादेशिक भाषा भन्दा अरु त्यति जान्दैन् । हीरा साहू र दन्तलाल बिहान सबेरै उठेर नजिकैको गणेश मन्दिर जान्छन् र पूजा गरी कानमा फूल सिउरिएर एक जना सब्जी किन्छ अर्को मालपुवा र सेल रोटी किन्छ । बिहानको नास्ता र खानसंगै खान्छन् र हीरा साहू कामको लागि खेततिर जान्छन् , दन्तलाल अड्डातिर जान्छ । बेलुका प्राय: संगै आउछन् । दुइटै मिलेर अलि अलि स्थानीय खाजा पानी खाएर भान्सा गर्छन् । बर्सौ देखि यी राम लक्ष्मणको दिनाचार्य यसरी नै बितेको छ ………… ।
मंगलबारे , इलाम
(स्रोत: Nepalpost )