~अभिलाशा शर्मा~
वासिंङटन डीसी, अमेरिका, २२ अक्टोबर
”झट्ट नुहाएर आउ, मन्दिर जान ढिला भयो”
”मन्दिर जानुअघि नुहाउन किन जरुरी छ ?” हरेक प्रश्नमा प्रतिप्रश्न गर्ने मेरो छोरीको बानीसँग कहिले दिक्क लाग्छ तर पनि बानी परिसकेको छु । कहिले-कहिले दिक्क लागेको बेला गाली पनि गर्छु ,’ जे भनेको छ, खुरुक्क गर’ भनेर । तर पनि सामान्यतया ११-१२ बर्षको यो उमेरमा यस्तो जिज्ञासा राख्नु उसको अधिकार पनि हो । मैले भनेको अक्षरस उसले पालना गर्नुअघि कुन उद्देश्यले गर्दैछु र त्यस्का फाइदा बेफाइदाकाबारेमा उत्सुकता जाग्नु उसको उमेरअनुसार स्वभाव पनि हो । बाल मस्तिष्क यस्तै हो । किन ? कसरी ? कहाँ ? कारण ? फाइदा ? बेफाइदा ? । । उफ् ! कहिले आजित हुन्छु उसको बानीसँग । कारण यो पनि हो कि, उसका हरेक प्रश्नको सही जबाफ सधैं हुन्न मसँग । कहिले मेरो जबाफमा चित्त बुझाउँछे तर कहिले उसको दिमागले मेरो तर्कसँग सहमत नहुँदी हो, त्यही भएर ओठ लेप्राउँछे । मन-मनमा सोच्दि हो, म सत्रौं सताब्दी कि मान्छे हुँ, जसलाई कुनै कुरामा विश्वास गर्नुअघि तर्क-वितर्क अथवा कुन कारणले म त्यो बाटो पछ्याउँदै छु जान्न जरुरी छैन ।
अत्: ’मन्दिर पबित्र स्थल हो, जहाँ जानुअघि तिमी तन्, मन दुबै अर्थमा पबित्र भएर जानुपर्छ ।’ सायद उसलाई चित्त बुझ्यो होला, सरासर नुहाउन गई ।
धेरैजसो अमेरिकामा बसोबास गर्ने नेपालीहरुको गर्ब गर्ने कुरा यो पनि हो कि, ’मेरो छोरा-छोरी मन्दिर जान्छन्, पूजा गर्छन्, मन्त्र भन्छन ।” हामी आफुलाई समाजको अघि गर्ब गर्नै पनि उनीहरुलाई यो सबै गर्न बाध्य बनाउँछौं । अर्को कारण कतै आफ्नो संस्कृति नै बिर्सिने हुन कि, पश्चिमा संस्कृति पछ्याउने पो हुन् कि भन्ने डरले पनि यस्ता कुरामा विशेष ध्यान पुर्याउँछौं । त्यसो त बालबालिका भनेको काँचो माटोका डल्ला हुन् त्यो माटोलाई जस्तो आकार बनाउने कोशिस गर्यो त्यस्तै आकारमा परिणत गराउन सकिन्छ भन्ने विश्वास गरिन्छ । यसैले आफ्नो धर्म-संस्कृतिका बारेमा उनीहरुलाई सही जानकारी गराउनु अभिवाकहरुको कर्तव्य हो । धर्मका बारेमा उनीहरुलाई राम्रो पक्ष, नराम्रो पक्ष, कुन बाटो सही हो भन्नेबारे बुझाउन सक्यौं भने भविष्यमा उनीहरुले आफैं बुझेर त्यही अनुरुप आफूलाई अगाडि बढाउन सक्छन् जस्तो लाग्छ ।
हामीलाई हाम्रा बुवा-आमाले कतिपय धर्म-संस्कृतिका कुराहरुलाई जबरजस्ती पछ्याउन लगाउनुभयो । हामीले त्यसका बारेमा बहस गरेनौं भन्दैमा आजका बाल-बालिकाले हामीले बाबु-आमासित बहस नगरेजस्तै जे-जे भन्छौं त्यही कुरा गर्दै हिड्नुपर्छ भन्ने छैन । उनीहरुले हरेक जिज्ञाशा राख्नु स्वभाविक हो । हामीले त्यसको चित्तबुझ्दो जवाफ दिन पनि सक्नुपर्छ ।
नौरथाको पहिलो दिन्, नेपालमा हुँदाको सम्झना आउँछ, बिहान बिहान मन्दिर जान रमाइलो हुन्थियो । अमेरिकाको व्यस्त जीवनमा त्यो सबै संभव थिएन तर शनिबारको विदाको मौका पारेर छोरीलाई लिएर मन्दिर जाने विचार आयो । उस्लाई मन्दिर एकदम मन पर्छ । र, बिशेष गरी हिन्दू धर्ममा उस्लाई रुची छ । उ भन्छे- हिन्दू धर्मका कतिपय कुराहरु काल्पनिक अदभूत संसारको अचम्म लाग्ने कथाजस्तो छ रे ! उसले रामायण, महाभारतका अंग्रेजी प्रकाशनहरु अध्ययन गरिसकेकी छ । त्यसो त ऊ कतिपय संस्कृत मन्त्र, भजन नबुझी गाउँदा पनि खुशी हुन्छे । मन्दिरमा कुनै बेहुली सजाएको जस्तो सजाएर रखिएको भागवान्, झिलिमिली बत्ति, भजन्, राम्रा राम्रा लुगाहरु, सबैसँग उसको लगाब छ, हरेक छुट्टीको दिन मन्दिर जान जिद्दी गर्छे । त्यसदिन पनि भर्खर नेपालबाट पठाइ दिएको निलो कुर्था लगाएर निस्कि, त्यही नयाँ कुर्था लाउने रहरमा पनि उ मसँग मन्दिर जान तयार भएकी थिई । बिहानको चिया मात्र खाएर स-परिवार घरको सबै भन्दा छोटो दूरीमा रहेको राजधानी मन्दिरको लागि प्रस्थान गर्यौ ।
त्यसो त यो दशैंको मौसममा प्राकृतिक रुपमा पनि अति रमाइलो लाग्छ । ऋतु परिवर्तनको यो समय पंक्तिकारलाई मनपर्ने मौसम हो । सम्पूर्ण जङल्, रुख पातको रङ फेरिएर्, यस्तो लाग्छ मानौं प्रकृतिले होली खेलिरहेको छ । रमाइलो दृस्य अबलोकन गर्दै, बादलका बिभिन्न आकृतीका अनेक अर्थ लगाऊँदै हामी राजधानी मन्दिर परिसरमा प्रबेस गर्यौं । मन्दिर वरपर सुनसान थियो । मन्दिर अगाडि दुइ-तीनवटामात्र गाडी पार्किङ गरिएको थियो । मन्दिर बन्द पो हो कि लाग्यो तर होइन रहेछ । त्यसो त अमेरिकाको व्यस्त जीवनमा धेरैजसोलाई फुर्सद साँझमा हुने र साँझमा भने मन्दिरमा भीड-भाड हुन्छ । बिहान मन्दिर खुल्ला भएपनि भीडभाड नहुँने कुरा त्यहाँका पण्डितले बताउनु भयो ।
हामीलाई देख्ने बित्तिकै पण्डितले मन्दिर को पछाडीपट्टी अवस्थित शिव मन्दिरमा दुध चडाउने समय भएकोले इच्छा भए सँगै जाने प्रस्ताब राख्नु भयो । बिहानै आएको फाइदा हामी सब जना हत्तपत्त दुबै हात जोडी पण्डितको पछि-पछि लाग्यौं । मन्दिरको पछाडीको ढोकाबाट अर्का पण्डित निस्किनु भयो साथै हामीलाई पनि त्यही बाटो आए हुन्छ भनेर हातले इसारा गर्नु भयो । भजन गाउन राखिएको बाजा-गाजाका सामग्री र स्थानले हिंड्न अलिक अप्ठेरो परे पनि अलिकती साँगुरिएर एउटा ठुलो फड्को मारेर हामी निस्कियौं । अर्को भक्तले भर्खरै पानीको पाइप लगाएर मन्दिर सफा गर्नु भएको अलि अलि हिलो रहेछ । एउटा एउटा दुधको लोटा हाम्रो हातमा थमाएर पण्डितले अगाडी जाने इशारा गर्नु भयो, आफु भने भागवानको मन्त्र पढिरहनुभएकाले हातले इशारा गर्नुभयो । शिवलिङ्गमा दुध चढाएर मन्दिरलाई ३ फन्को मारेर हामी निस्कियौ ।
दुबै हात जोडी हाम्रो पछि-पछि लागिरहेकी छोरीले फेरी मेरो कान नजिकै आएर प्रश्न गरि, ’आमा यो कुन भगवान हो ? कस्तो अचम्मको बनावाट्, कालो, हात खुट्टा नि छैन, ?” ’मैले सहज बनाउँदै भने यो शिव लिङ्ग हो ।’ ”उसले प्रतिप्रश्न गरी शिव लिंङ्को मत्लव के हो त ?” उस्लाई भगवान शिब थाहा थियो, अब शिवको लिङ्गलाई म कुन भाषामा उसलाई अर्थ बुझाऊँ ? एकमनले लाग्यो उसैले बुझ्ने भाषामा भन्दियौ, फेरी दोस्रो मनले सोच्यो, अहँ हुँदैन, भगवानप्रतिको आस्थामा कमी ल्याउन म सक्दिन थिएँ । म आफैं अन्योलमा परें ।……. साँच्चै भन्ने हो भने मलाई पनि थाहा छैन हामी शिव लिंङ्ग किन पूजा गरिरहेका छौं ? जुन कुरा मलाई नै थाहा छैन भने म कसरी यसको अर्थ मेरी छोरीलाई लगाउँ, अझै मैले उसलाई यसको उत्तर दिन सकिरहेकी छैन ।
यो मेरो ब्यक्तिगत भोगाइ र नितान्त ब्यक्तिगत सोचाइ हो । लेखमार्फत हिन्दू धर्मलाई मर्म पुर्याउन खोजिएको भने पक्कै होइन ।
(स्रोत: Nepalipost )