~लक्ष्मीप्रसाद देवकोटा~
क.
एशियाली जागृति–युग–शिशु
हामी उषासुत नयपाली
हामी हिमालय–तनय पिपासु
चढेन चुचुरा करमाली ।
ख.
हामी बुद्धका भूका उद्भिज
जानकी–फूलका मधु–आली,
अरनिकोका अङ्गुल–ज्योति,
पृथिवी–नारायण बाली ।
ग.
त्रिभुवनका हौं स्वप्न सुनौला,
महेन्द् उपवन पौधाली
बाघहरुका जोरी–पारी हुँ,
प्रजातन्त्रका पहराली ।
घ.
मानवताका ढुक्कुर–कुर्लन,
कल्पन डाँफे–रङ्गजाली,
मुनिका समाधिहरुको कुसुमको
सुगन्ध लहर हुँ हैमाली ।
ङ
घनी विपिनका चिडिया हामी,
प्यार कुर्लिंदा जगडाली,
मानवताका पर्वत–मन्दिर,
स्थायी शान्तिका सञ्चाली ।
च.
भारत–पोषक हिमगिरि–उरिका
उदार द्रव हुँ नग–जाली,
हामी पूर्वका देवदूतका हुँ,
प्रथम रश्मिका देशाली ।
छ.
भूमण्डलका गोल–सदनका
अंशियार हुँ, एक थाली
न्यौछावरका पुजारी हुँ
विश्व–मानव नयपाली ।