कथा : स्मृति बिक्री केन्द्र

~बुद्धिसागर~

 उर्खमाउलो गर्मी थियो। सारा काठमान्डु पसिना चुहाइरहेको थियो। अगाडि ठडिएको भव्य ढोकातिर हेर्दा मेरा निधारका पसिना आँखाभित्र पसे। आँखा चहराउन थाले। भव्य र ठूलो ढोका कालो सिसा लगाइएको थियो। ढोकाको निधारमा ठूलो साइनबोर्ड थियो -स्मृति बिक्री केन्द्र।
भर्खरै भित्रबाट धर्मराउदै निस्केका एक वृद्ध झण्डै ठोकिएका। 
‘सर, यताबाट भित्र पस्नुस्।’ सालिकझैँ ठिंग उभिएको गार्ड चल्मलायो। स्यालुट ठोक्यो।
मैले आफूतिर हेरेँ- पसिना र धुलोले मैलिएका जुत्ता। कलर मैलिएको सर्ट। पसिना गनाइरहेको ज्यान।
‘दाइ, स्यालुट गर्नु पर्दैन।’ म हाँसेँ, ‘म न त कुनै अफिसको हाकिम हुँ, न त बिजनेसम्यान। म स्यालुट डिर्जभ गर्दिनँ।’

‘लौ है, कस्तो कुरा गर्नुभा’को।’ गार्डले टाठो स्वरमा भन्यो, ‘धनी, स्मृति बेच्न आउनुभा’को होइन?’
‘हो दाइ। टाट पल्टेँ, अब यही बाटो रह्यो।’
‘अनि, धनी, तिमी त धनी हौ धनी।’ गार्डले फेरि स्यालुट गर्‍यो, ‘ऐले फर्किँदा तिमी त पैसावाल भैहाल्छौ नि त। संसार फेरियो धनी, साथमा स्मृति हुने जति धनी कोई हुन्न।’
म हाँसेँ।
गार्डले कालो सिसा उघारिदिए, ‘जाऊ, भित्र लामो लाइन छ।’
म भित्र पसेँ। एसीको चीसो हावा मेरो तालु सुम्सुम्याउन आइपुग्यो। ए बा कस्तो भिड! काउन्टरै काउन्टर। मान्छेको लाइनै लाइन। म कता जाने होला?
त्यैबेला सुट र टाईमा सजिएको एउटा केटो आयो। ट्युबलाइटको उज्यालोमा जेल लगाएको कपाल टल्किरहेको थियो। सोध्यो, ‘कुन प्रकारको स्मृति बेच्न आउनु भाको?’
म अल्मलिएँ।
‘बुझ्नु भएन?’ केटोले नम्र हुँदै भन्यो, ‘हाम्रो क्याटलग पढ्नु भएन?’
‘अहँ।’
केटोले मेरो हात समाउँदै कुनातिर लग्यो।
‘हाम्रोमा स्मृतिको प्रकार छुट्ट्याइएको छ।’ केटोले भन्यो, ‘जस्तो- दुर्घटना, सेक्स, प्रेम, धोका, हिंसा।’
‘म मेरो प्रेमको स्मृति बेच्न आ’को।’
‘सेक्सको छैन?’ केटो हाँस्यो, ‘हाम्रोमा सेक्सी स्मृतिको माग बढी छ। तपैँले राम्रो रकम पाउनुहुन्छ।’
‘छैन।’ मैले भनेँ, ‘म प्रेमको स्मृति बेच्ने।’
‘ओके। दस नम्बर काउन्टरमा जानुस्।’ भनेर ऊ अल्मलिइरहेका दुई वृद्धतिर लम्कियो।
म १० नम्बर काउन्टरतिर लागेँ। लामो लाइन थियो। म हिँड्दा-हिँड्दा थाकेको थिएँ। छेउको सोफामा बसेँ जहाँ एउटी वृद्धा झोक्राएर बसेकी थिइन्। पुलुक्क हेरिन्।
मैले आँखा चिम्म गरेँ।
मैले उसलाई टेम्पोमा भेटेको थिएँ। म चावहिलबाट सुन्धारा हिडिँरहेको थिएँ। ऊ पुरानो बानेश्वरबाट चढेकी थिई। ऊ मेरै छेऊमा बसी। मैले उसको शरीरबाट आएको अचम्मको सुगन्ध महसुस गरेको थिएँ। त्यहीँ हाम्रो चिनजान भएको थियो।
ऊ पीकेमा साथी भेट्न आ’की रैछ। घर बत्तीसपुतली। नाम पनि कस्तो मीठो- सम्झना। पुतलीसडकमा झरी। झरेर बाई गरी। मैले जीवनमा पहिलो पल्ट कुनै केटीको ‘बाई’ पाएको थिएँ। पहिलो भेटमै ऊ मलाई आफ्नो लागी। पुरानो साथी भेटेजस्तो।
म त्यो रात उसकै कल्पनामा छट्पटिरहेँ। भोलिपल्ट फेरि पुतलीसडक चोकमा उभिरहेँ। ऊ टेम्पोबाट झर्दा भेट भइहाल्छ कि भनेर। तर, मैले फेरि उसलाई देखिनँ। हप्ता बिते। फोन नम्बर माग्न नसकेकोमा आफैँलाई धिक्कारिरहेँ।
एक दिन आइडिया आयो। मैले फेसबुकमा ‘सम्झना’ सर्च गरेँ। सयौँ आए। मैले एकएक गर्दे हेरेँ। म ८० नम्बरतिर पुगेको थिएँ- ठ्याक्कै उसको अनुहार देखेँ। मेरो मुटु ढुकढुक भयो।
मैले उसलाई मित्रताको प्रस्ताव पठाएँ। २१ दिनपछि उसले मेरो प्रस्ताव स्विकारी। हाम्रो घण्टौँ कुरा हुन थाल्यो। पछि भेटघाट। रेस्टुराँ, सिनेमा हल जताततै।
हामीलाई लाग्न थालिसकेको थियो, हामी एकअर्काका लागि बनेका हौँ, हाम्रा रुचि र सपना मिल्छन्। हाम्लाई एकअर्काको बानी लागिसकेको थियो।
हाम्रो प्रेम आर्दशले भरिएको थियो। एक पल्ट उसले फिल्महलको अध्याँरो कुनामा म्वाई खाएकी थिई। त्यत्ति हो।
एक वर्षसम्म पनि मैले उसको अँध्यारो अनुहार कहिल्यै देखिनँ। उसको अनुहार माछाको आँखाजस्तो चम्किलो रहन्थ्यो। ऊ एयरहोस्टेज हुन चाहन्थी। कहिलेकाहीँ ‘म यसरी यसरी यात्रुको स्वागत गर्छु’ भनेर देखाउँथी। पुतलीझैँ नाच्थी।
म बिजनेसम्यान हुन चाहन्थे। उसका लागि सारा खुसी किन्न चाहन्थेँ। ऊ चाँडै मेरो परिचय आफ्नी एक्ली आमासित गराउने कुरा गर्थी। अझ आफ्नो प्यारो कुकुर ‘क्याट’ सित भेटाउने कुरा गर्थी। उसले कुकुरको नाम ‘क्याट’ किन राखी, मैले कहिल्यै सोध्न पाइनँ।
उसले एक दिन स्कुटी किनी र मलाई पछाडि राखेर दरबारमार्ग, जमलको फन्का लगाई। ऊ भन्थी, ‘तिम्लाई भेट्न हतार हुन्छ त्यै भएर किनेको।’
ऊ सानो सानो कुराले पनि ठूलो प्रेम दिन्थी।
मेरो जन्मदिनको अघिल्लो दिन उसले भनी, ‘मैले ममीसित तिम्रो कुरा गरेँ। भेट्न खोज्नुभएको छ। भोलि घर जानुपर्छ ल। चिटिक्क परेर आउनु नि फेरि। म स्कुटी लिएर तिम्लाई लिन आउँछु।’
‘अब म घोडा चढेर आउँला नि। दुलाहा न परेँ।’ म हाँसे, ‘म बानेश्वरचोकमा आउँछु। त्यहीँ आउनू।’
‘ओके, बिहान ठीक १० बजे।’
म बिहानै बानेश्वरचोक पुगेँ। आकाशमा कालोकालो बादल मडारिइरहेको थियो। पानी बर्सिन थाल्यो। म एउटा पसलमा ओत लागेर बसिरहेँ। तर, ऊ त ११ बज्दासम्म पनि आइन। मैले उसको मोबाइलमा कल गरेँ। अफ थियो। लौ, मलाई छट्पटी हुन थाल्यो।
ऊ त १ बज्दासम्म पनि आइन। खाना उसकैमा खाने भनेर भोको पेट आएको थिएँ। पेट निचरिन थाल्यो।
३ बज्यो, ऊ आइन। मोबाइल अफ।
सवा ५ बजे थकित म चोकमै मम खाएर कोठा फर्केँ। संसार विरक्त लाग्न थाल्यो। उसले धोकै दिई होला त? मैले उसको नम्बर डायल गरिरहेँ। उसको फोन अफ भइरह्यो।
भोलिपल्टदेखि मलाई निद्रा लाग्न छाड्यो। म स्लिपिङ् ट्याबलेट लिन थालेँ। कसैलाई भेट्न मन लागेन। फोन स्विच अफ गरेँ। पूरा एक हप्ता म कोठाबाट बाहिर निस्किनँ।
मैले फेसबुकमा ‘मलाई किन धोका दिएको’ भनेर कडा म्यासेज पठाएँ। तर, जवाफ आएन। उसले मेरो जन्मदिनको अघिल्लो दिन पोस्ट गरेको स्टाटस उस्तै थियो, ‘कसैको जन्मदिन छ भोलि। वाह्। ऊ भोलि मेरो घर आउँदैछ।’
उसको स्टाटस त्यसपछि अपडेट थिएन। करिब एक महिनापछि ऊ फेसबुकबाट पनि हराई। ऊ आफ्नो नामजस्तै ‘सम्झना’ भएर गई।
म उदास-उदास हुन्थेँ। उसलाई बिर्सन सकेको थिइनँ। जब उसको सम्झना आउँथ्यो, मुटु घाइते हुन्थ्यो र निस्केको रगत मेरा आँखाबाट आँसु भएर बग्थ्यो।
करिब एक वर्षपछि, एउटा साथीले भन्यो, ‘भो यार, जमाना काँ पुगिसक्यो। तँ रोएरै बस्छस्। जाँ, बेच्ने तेरो स्मृति, अलिकति पैसा पनि आउँछ, टन्टा साफ पनि हुन्छ।’
मैले एक महिना सोचेँ र निर्णय गरे, ‘जुन कुराले मलाई तड्पाइरन्छ। काममा एकाग्र हुन दिन्न। जसलाई सम्झनेबित्तिकै खुसीभन्दा बढी पीडा हुन्छ। त्यसलाई राखेर के फाइदा?’
त्यसैले म स्मृति बिक्री केन्द्रमा आइपुगेको हुँ।
.. .
स्मृति बेच्न मान्छे कत्ति लालायित रैछन्, आज बल्ल देखेँ। मान्छेका कुराकानी सुन्दा थाह भयो, कति आफन्तका स्मृति बेच्न आएका रैछन्। कति आफूले गरेका गल्तीका स्मृति। जे होस्, पैसा पनि पाइने, कहालीलाग्दो अतीतबाट छुट्कारा पनि पाइने। रमाइलै थियो।
त्यही बेला एक जना दौरासुरवाल र कोट लगाएका मानिस हुलमुलसहित भित्र पसे। अघि मसँग कुरा गरेको केटो हतारिँदै उनीहरुतिर बढ्यो। मैले खासखुस कुरा सुन्दा थाहा पाएँ, ती व्यक्ति कुनै दुर्गम गाउँका गाविस अध्यक्ष रैछन्। उनीसित आएका करिब ३० संख्याका महिलापुरुष त्यै गाविसका।
यिनीहरु जनयुद्धताका दुई गु्रप भएका रैछन्। लडेका लड्यै। अहिले त गाउँमा बसिसाध्य रैनछ। सबैलाई पुरानो स्मृतिले बेलाबेला क्रान्तिकारी बनाउँथ्यो र लडाउँथ्यो। त्यै भएर गाविस अध्यक्षले जुक्ति लगाएछन्- सबैको दिमागबाट द्वन्द्वकालको स्मृति बेचिदिने र त्यसबाट आएको रकमले भताभुंग भएको गाउँलाई फेरि सजाउने।
बस नै रिर्जभ गरेर यहाँ ल्याका रैछन्।
मलाई कुरा रमाइलो लाग्यो।
ठूलो समूह लिएर आउनेलाई अलग्गै व्यवस्था रैछ। उनीहरु माथिल्लो तलातिर उक्ले।
मेरो छेउमा बसेकी महिला आँसु पुछ्न थालिसकेकी रै’छन्। मैले बल्ल पो याद गरेँ। उनी साडीको सप्कोले आँसु पुछिरहेकी थिइन्।
‘के भो आमै किन रोको?’
उनी झन् रोइन्। आँसु पुछ्दै भनिन्, ‘हेर बा, मलाई यस्तरी माया गरेर आफ्नै छोरोले सोधेन।’
मैले मुन्टो हल्लाएँ।
‘मेरो छोरो पनि तिम्रै उमेरको थियो। म एक्लीले दुख्खसुख्ख हुर्काएकी थिएँ। अर्काको घरमा भाँडा माझीमाझी पढाएँ। जे माग्यो, त्यै दिएँ। त्यै त थियो, सहारा। छोरोले पढ्यो, लेख्यो, जागिरे भयो, अब त सुख्ख आउला कि भनेको त झन् दुख्ख आइलाग्यो।’
‘त्यस्तो के भो र आमै?’
‘बुहारी ल्यायो। एकदुइ महिना त ठिकै थ्यो। पछिपछि त बुहारीले म घरमा भ’को पनि नराम्रो मान्न थाली। मैले ब्यान उठेर पूजा गर्दा बजाएको घन्टीले उसको निद्रा बिग्रन्थ्यो रे। गाउँ जाऊँ भने त्यै छोरोलाई पढाउन अलिकति भा’को जग्गा पनि बेच्दे। पछि छोरो पनि पराईजस्तै भो।’
म मौन रहेँ।
‘एक दिन छोरोले भन्यो- आमै आऊ म तिम्लाई काठमान्डु देखाउँछु। बाबु, मैले त एक जुग बिताए पनि रामरी काठमान्डु हेर्न पाकी थिनँ। छोरोको गाडी चढ्न पनि पाकी थिनँ। खुसीखुसी चढेँ। छोरोले सबैतिर घुमायो। एक ठाउँमा रोक्यो। अलिकति पैसा दिँदै भन्यो, आमै, भोक लाग्यो, क्यै किनेर लेऊ। म शुद्धि नभएकी बूढी बाहिर निस्केँ। केरा र स्याउ किनेँ। घरमा सप्पैलाई पुगोस् भनेर धेरै किनेँ। फर्किँदा त छोरो थिएन। म अलपत्र परेँ बाबु।’
मेरो मन अमिलो भएर आयो।
‘त्यल्ले त मलाई वृद्धाश्रमको छेऊमै छाडेको रैछ। म त्यहीँ बस्न थालेँ। फर्केर घर जान पनि मन लागेन। बाबु, आमैको मन हो। एक दिन छोरोले आएर ‘आमै घर हिँड’ भन्छ कि जस्तो लाथ्यो। दुई वर्ष भो, आएन। म पनि त्यल्लाई सम्झेर कत्ति रोऊँ? एक जनाले भने- बेच्देऊ आमै सम्झनाहरु, मुटु दुख्दैन। त्यै भर आ’की। सम्झना बेचेपछि त मेरो छोरो थियो भन्ने पनि थाहा हुन्न रे।’
उनी बोल्न सकिनन्। रोइरहिन्। म घट्दै गएको लाइनमा लागेँ।
काउन्टरमा सुन्दर युवती थिइन्। उनी कम्प्युटरमा के के टिपिरहेकी थिइन्। मेरो अगाडि अधबैँसे मानिस उभ्भेका थिए। शरीरबाट रक्सीको गन्ध आइरहेको थियो।
‘भैरव।’ उनले नाम भने।
युवतीले कम्प्युटरमा केही बेर घोरिएर भनिन्, ‘सरी, भैरवजी, आज तपैँले बेच्न मिल्दैन।’
‘किन मिल्दैन?’ भैरवजी कड्किए।
‘तपैँले हिजै पनि बेच्नुभएको हो।’ युवतीले शान्त स्वरमा सम्झाइन्, ‘तपैँसित अब बेच्नलायक स्मृति छैनन् के! अलिकति त आफूलाई पनि राख्नुस्।’
‘छन्, मसित स्मृति छन्।’
‘याद गर्नुस् त, तपैँले १ सय ८६ पटक स्मृति बेचिसक्नु भएको छ।’
भैरवजीका हात काँपे। उनी बर्बराए, ‘ए, म त स्मृतिहीन भइसकेछु। ठीक छ, म एक महिनापछि टन्नै स्मृति बोकेर आउँछु।’
उनी गए।
युवतीले भनिन्, ‘यो जँड्याहाले हैरान पार्छ। सबै पैसा रक्सीमा उडाउँदो रै’छ। स्मृति पनि कति नै हुन्छ र? सक्केछ। खाता क्लोज्ड।’
मैले आफ्नो नाम भनेँ।
‘ए पहिलो पल्ट आउनुभा’को?’
मैले शिर हल्लाएँ।
‘हाम्रो नियम थाहा छ?’
‘अँ हँ।’
उनले फर्म दिँदै भनिन्, ‘पढ्नुस् र चित्त बुझे साइन गर्नुस्।’
म पढ्न थालेँ।१८ वर्षमाथिकाले मात्र स्मृति बेच्न पाउने रैछन्। बिक्रेताले बेच्न खोजेको स्मृतिलाई सफल ढंगले झिकिने रैछ- अरु स्मृतिलाई असर नपर्ने गरी। स्मृति झिकेको केही घण्टासम्म दिमाग शून्य हुने रैछ। बीचबाट स्मृति झिक्दा बनेको खाली स्पेस भरिन केही घण्टा लाग्ने रैछ। बेचिसकेको स्मृति फिर्ता पाऊँ भनेर कचकच गर्न नमिल्ने रैछ। फिर्ता लिने हो भने कम्पनीले तोकेको रेटमा किन्नुपर्ने रैछ।
मलाई के मतलव? मैले हस्ताक्षर गरिदिएँ।
नर्स आइन् र मलाई अर्को कोठातिर डोर्‍याइन्।
त्यो अप्रेसन थियटरजस्तो कोठा रैछ। झलमल्ल बत्ती बलेको थियो। मोटी महिला डाक्टरले मेरो स्वागत गरिन्। मैले भित्र पस्दा जताततै महिला डाक्टर र नर्समात्र देखेको थिएँ।
‘यहाँ त सबै महिला डाक्टर मात्र हुनुहुदो रैछ।’ म हाँसेँ।
‘नियमै छ धनी, महिला स्मृतिको मामलामा बढी सेन्सेटिभ हुने भएकाले महिला डाक्टरमात्र राख्नुपर्ने।’
अचम्म।
मलाई नर्सहरूले फराकिलो पलङमा सुताए। मेरो दायाँपट्टि कम्प्युटरहरू थिए। उनीहरुले मेरा दुई कन्चटमा तारैतार जडिएको चिप्स लगाइदिए।
त्यही बेला मैले सोधेँ- ‘हाम्ले बेचेका स्मृतिहरु कहाँ जान्छन्?’
डाक्टर छक्क परिन्। कसैले यस्तो प्रश्न गरेका थेनन् कि!
‘प्रायः राइटरहरु किन्छन्।’ उनले भनिन्, ‘कसैलाई अरुको स्मृति संकलन गर्ने रहर पनि हुन्छ, टिकट संकलनजस्तो। मनोवैज्ञानिक, मानवशास्त्री, समाजशास्त्री धेरैले किन्छन्। मुख्यतः हङकङ जान्छ। त्यहाँ संसारको सबैभन्दा ठूलो स्मृति बैंक छ। वैज्ञानिकले पत्ता लगाइसकेका छन्- संसार ढुंगामाटोले भन्दा पनि मान्छेको स्मृतिले बनेको छ। उनीहरु संसार जोगाउन चाहन्छन्।’
म फेरि अचम्म।
डाक्टरले सिरिन्जमा औषधि भर्दै भनिन्, ‘अब केही समय तपँैको चेतना हराउँछ। त्यो बेला हामी तपैँको स्मृति झिक्छाँै, डोन्ट वरी।’
मेरो पाखुरामा कमिलाले टोकेजस्तो भयो।
शून्य।
झ्वाट्ट आँखा खुले। एक छिन त संसारै बिरानो लाग्यो।
‘बधाई छ। तपैँ अरुभन्दा चाँडो उठ्नुभयो।’ डाक्टरले भनिन्, ‘तपैँ डेढ घण्टामात्र निदाउनुभयो।’
डाक्टरले मेरो जिव्रो र आँखाका चेपचेप हेरिन्। मेरो दिमाग टनटनी दुखिरहेको थियो। म यस्सो सम्झन खोज्थेँ, धेरै कुरा मेरो दिमागमा आउँथे तर एउटा पोइन्टमा पुगेपछि कालो ढिक्का उडिरहेजस्तो लाग्थ्यो।
‘तपैँ जान सक्नुहुन्छ।’ डाक्टरले भनिन्, ‘एक छिन तपैँलाई अनइजी लाग्छ, भरेसम्म ठीक हुन्छ।’
म उठेँ। हातगोडा काँपिरहेका थिए।
एकाउन्टेनले ३५ हजार रुपियाँ दिँदै स्लिप मतिर सार्‍यो। मैले बांगोटिंगो हस्ताक्षर गरेँ।
‘धनी, बेच्यौ?’ गार्डले सोध्यो।
‘अँ।’ मलाई अलिअलि रिँगटा चलेजस्तो भयो। गार्डले थाम्दाथाम्दै पनि सिँढीमा थ्याच्च बसेँ।
साँच्चै के बेचेँ मैले? मेरा सबै स्मृतिहरु त मैसित थिए। सम्झन खोजेँ सकिनँ। तर, दिमागमा झट्का दिँदै निभेको सूर्यजस्तो कालो ढिक्को आउथ्यो, बेलाबेला।
सायद, कालो ढिक्कामा कोही थियो। या केही थियो। कहिल्यै नफर्किने गरी कालो दाग छाडेर गएको थियो। डाक्टरका अनुसार भने रातिसम्म यो कालो डल्लो पनि हराउनेछ।

भोलिपल्ट म पूर्णरुपमा स्वस्थ भइसकेको थिएँ। मलाई तनाव दिने कुराहरु केही थिएनन्। करिब एक हप्तापछि, राति सवा नौ बजे मेरो फोनको घन्टी बज्यो। नयाँ नम्बर थियो।
‘म एकदमै समस्यामा छु।’ उताबाट एउटी युवतीको आवाज आयो, ‘प्लिज, मलाई माफ गर। मसित कुरा गर।’
‘को बोल्नुभा’को?’
‘म सम्झना।’
‘रङ नम्बर।’ मैले भनेँ।
‘प्लिज, नचिनेजस्तो नगर, प्लिज…।’
मैले फोन काटिदिएँ। सहरमा यस्ता फोन आइरहन्छन्। म गीता छोएर भन्न सक्छु- ‘सम्झना’ भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन।

(स्रोत : Nagarik News)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.