हिमपात भयो आज वर्षौ वर्ष छुरी धसी
खोजेको दिन हो आज अमेरिका बसी बसी ।
बैसट्टी वर्षमा खोज्दा पाएको हिम–शैल यो
सेतो गाजल लाएर लेख्छु मैले घरै बसी ।
नगरकोटमा कोटी प्रणय गीत गाउँछन्
कुनै रुकुम पाल्पामा ज्यान हाल्छन् हिउ खसी ।
हिमको खातमा पौडी प्रेमको तार नाप्तछन्,
भ्यालिन्स्टाइनडे’ राती दुवै सुत्छन् फंसी पसी ।
हिउका खाल छन् पोथा दार्शनिक हिमाल छन्
काठमान्डू र वुडब्रिज दुवैमा हिम नै घसी ।
माता धर्ती दुबै यौटी छोरी हुन् बहिनी दुवै
जे संझे पनि हाम्रै हुन् हिमानी देशको कसी ।
हिमशैल दुवैमा छन् उठेका मालिका परी
नेपालीका फुटे आँखा ग्र्यान्डक्यानियनै खसी ।
सभ्यताको महाराजा अमेरिका म भन्दथें
हिमालय भयो आज लुक्नुपर्ने गुफा पसी ।
हिमका खात छन् सेता गाजलु लोचनै भरी
समानता दुवै देश खोजेको छु यतै बसी ।
०
यो अनुष्टुप् छन्दमा लेखिएको गजल हो । पिङ्गलका शास्त्रीय छन्दलाई पनि गजलमा प्रयोग गर्न सकिन्छ । त्यसो गर्दा काफिया र रदिफको प्रयोग मतला र अरु शायरीमा पनि गर्नुपर्छ । रदिफ भने सर्वदा वैकल्पिक नै हो । भए उत्तम न भए पनि काफिया छ भने गजल बन्छ । यसमा रदिफ छैन, काफिया मात्र प्रयोग गरिएको छ । अनुष्टुप् बहरमा गजल लेख्दा यी रुक्न वा अर्कानलाई ध्यान दिनुपर्छ । प्रथम र तृतीय पाउको सातौं अक्षर दीर्घ अनि द्वितीय र चतुर्थ पाउको सातौं अक्षर ह्रस्व हुन्छ र सबै पाउको पाँचौ अक्षर ह्रस्व र छैटौं अक्षर दीर्घ हुन्छ । प्रत्येक हरफ १६ अक्षरको हुनुपर्छ ।
February 25th 2007
Woodbridge VA, USA