~प्रशान्त खरेल~
विहानीको रक्तिम लालीमासँगै
पुर्णचन्द्र जस्तो हँसिलो मुहारमा
इन्द्रेणीका रङ्गहरू खेलाउँदै
छरितो मुस्कानसाथ भेट्न आउने
झापा सुन्दरी, तिमि कहाँ हरायौ ?
हो यस पटक पनि
उहि गर्विलो मुस्कानसाथ
आत्मियता दर्शाउँदै
खुला आकाश र न्यानो घामसँगै
गम्लङ्ग अँगालो हाल्यो झापाले
उसको कसिलो बन्धनविच
मेरा यि नजरहरू
तिमिलाइनै खोजिरहेका थिए
प्रत्येक पटकको मेरो आगमनमा
चञ्चल भएर हात हल्लाउँदै बोलाउने
ए सुन्दरी, तिमि कहाँ हरायौ ?
म तिम्रो सम्झनाको विस्मृतिमा
हराउँदै गएछु क्यारे
जिज्ञासु उसका नजरहरू
अनायास ओझेल पर्दै गए
तिम्रो खोजिको आभास परेछ उसलाइ
उ एकाएक धुमिल हुँदै गयो
चिसो सिरेटो र धुम्म आकाश
मेरो उपस्थिति भरि यहिनै भयो
यस्तै कठ्याङ्ग्रिने चिसोमा
झिना–झ्याक्राको आगोमा
हात सेकाउँदै–सेकाउँदै
काखैमा मस्त निदाउने
भन सुन्दरी, तिमि कहाँ हरायौ ?
पर पर सम्म पहेंलपुर तोरी फुलेछ
अहा! कति रमाइलो
यस्तै तोरी फुलेको बेला
बँगैचामा तिमि सुपाडी टिप्न जाँदा
तिमिले चराउन ल्याएका बाख्राहरूले
तोरीबारीमा राइदालो गर्दा
हजुरबाको खप्कि खाने डरले
र्चराउँदो त्यो साँझमा पनि
पाँच–पाँच किलोमिटर टाढाको बजारसम्म
मलाइ खोज्दै लिन जाने
प्यारी सुन्दरी, तिमि कहाँ हरायौ ?
घर छेउको वयरको रूख पनि
ढलेछ यस पालाको हुरीले
मलाइ अझै याद छ
बयरको सौखिन तिमि
मेरो आँखा छलेर
बयर खाएर रूखबाट झर्दा
काँढाले च्यातिएको तिम्रो जामा देखेर
सुन्दरीले आज पनि बयर खाइछ
मेरो शब्दोच्चारण लगत्तै
जले रातो भै आँखा छोपि
लजाउँदै, डराउँदै भाग्ने
सानी सुन्दरी, तिमि कहाँ हरायौ ?
यो अल्ताखाडी पनि
समयसँगै बुढो भएछ
सम्झ त
अल्ताखाडीमा म माटो लिन जाँदा
जान नपाएर रिसले फुलिएकी तिमि
फर्कि आउँदा ल्याएको
केशर र कमलका विउहरू
हातबाटै खोसेर लिने
अनि फुरूङ्ग हुँदै नाच्ने
मेरी सुन्दरी, तिमि कहाँ हरायौ ?
रतुवा पुल पनि जिर्ण भैसकेछ
धन्न धानेको छ यसले समय प्रवाहलाइ
तिमि र म यहि पुलमा बसेर
घण्टौं गफिएका छौं
याद छ तिमिलाइ?
दमक गएर फर्किदा
चट्पटे खान नपाएको झोंकमा
पुलबाटै हामफाल्न खोज्ने
मेरी सनकि सुन्दरी, तिमि कहाँ हरायौ ?
विरक्त लाग्ने विदाइमा
गहभरी आँशु टल्पलाउँदै
रून्चे हाँसो लिएर अनुहारमा
मृदुल चुम्बनका साथ
फेरि भेट्ने फोस्रो आश्वासन बिनानै
हात हल्लाउँदै बिछोडिने
झापा सुन्दरी, तिमि कहाँ हरायौ ?
– प्रशान्त खरेल
गौरादह – ४, झापा