फूलका साना थुङ्गाहरुमा
सपनाको महल सजाउँदा
रङ्गीचङ्गी बगैंचाको
प्रकृतिले प्रशंसा गर्दा
नीलो आकाशको
गर्जदो बादललाई छेकी
भुईँमा
मानिसको प्रतिबिम्ब खिच्दैछु म ।
जहाँ प्रकृतिको
मार्मिक अर्थ नै
थाहा हुन्न भने
रातको त्यो विवश बगैंचालाई
मालामा उन्नकहाँ सकिन्छ र ?
न जात, न साथ
न विदेशी आशीर्वाद
न नीति, अनीति
न कुनै राजनीति
कसैमा पनि पाउँदिन म
बगैंचाको अर्थ ।
जहाँ बगैंचा आफै
कहिले माली त
कहिले दास भइदिन्छ
जहाँ कसैको
आहत र राहतमा बगैंचा
अडिएको जस्तो भान हुन्छ
त्यहीनिर
यदि बगैंचालाई
साँच्चै बगैंचा बनाउन सके
देश नै विश्व बन्छ
विश्व नै देश बन्छ ।
MAY 18, 2009
(स्रोत : Aparajita Pravas’s Blog)