आफूले बाँचेको जीवनलाई पछाडि हेर्दा देख्दछु पचास वर्षका लामा असफल वर्षका रेलका डिब्बाहरु । मलाई लाग्छ म असफलताको पुँज हुँ । असफलता नै मेरो प्राप्ति हो । असफलता मै म रमाउँछु असफलतामै म हाँस्छु असफलतामै म नाच्छु असफलता मै जीवनलाई सफल ठान्छु । असफलता नै मेरो सफलता । प्राप्ति । पुरस्कार ।
असफल मानिस रुन्छन । डाँको छोड्छन् । लडिबुडि पनि गर्छन् । सुँकसुँकाउँछन् । हिक्हिकाउँछन् । तर म असफलताको पोखरीमा मजाले पौडिरहेको हुन्छु । कति आनन्द छ यो असफलतामा जसको इर्श्र्या गर्ने कोही हुँदैनन् । असफल हुनेको पछि लागेर खुट्टा तान्ने कोही भेटिदैनन् र असफलतालाई पछार्न कोही अघि सर्दैन । असफल हुनुको मजा यसैमा त छ ।
सफल हुनेहरुको खुट्टा तान्ने मर्काउने भाँचिदिने खाल्डो खन्ने बाढी अघि लगाइदिनेहरु तँछाड मँछाड गरिरहेका हुन्छन् । म असफल भएकाले ढुक्क थिएँ ।
त्यो त मेरो भ्रम रहेछ । मेरो असफलताको पनि इर्श्र्या गर्ने महामानव पनि भेटें मैले । यो मेरो सफलता हो कि असफलता खुटटयाउन सकिरहेको छैन ।
दुई वर्ष अघि म एउटा संस्थाको अपाङ्ग च्याप्टरको अध्यक्ष पदमा थिएँ । पहिलो पल्ट अध्यक्ष भैखाएको उन्मादमा मैले भाषण ठोकिदिँए भानुजयन्तीको अवसर पारेर आगामी २ वर्षमा हामी भानुभक्तको शालिक स्थापना गरिदिन्छौं । मेरो त्यो भाषणले ताली पनि पायो । म गदगद भएँ । हामी सबै मिलेर भानुभक्तको सालिक स्थापना गर्न सकिएला भन्ने सोचेको थिएँ । भानुभक्त मेरो बाजे बराजु थिएनन् । मामा सुसरा थिएनन् । ससुरालीतिरबाट पनि नाता पर्दैनथ्यो । उनी त नेपाली भाषाका आदिकवि थिए । सबै नेपालीका नेपाली आदिकवि थिए । उनको सालिक ठडिए सबैको शिर ठाडो हुन्थ्यो । उनको सालिक ठडिए सबैको स्वाभिमान उँचो हुन्थ्यो । मेरो नेतृत्वमा भए पनि भानुभक्तसँगै मेरो शालिक राख्ने प्रस्ताव थिएन भानुभक्तकै शालिक राख्ने प्रस्ताव थियो । तर म सफल हुँला भनेर थरथर कामेर घ्याम्पोमा लुक्न जालान् भन्ने मैले सोचेको थिईन न त घ्याम्पोबाट निस्केर कसैले लौ भानुभक्तको सालिक ठडयाउँछु भन्थिस् गरिस् खुव भनेर भन्लान भन्ने थियो ।
हो भानुभक्तको सालिक ठडयाउनु पर्छ भनेर अगुवा हुन खोज्ने म थिएँ । म हुँ । तर नेपाली सबैका भानुभक्तको सालिक नठडिँदा म त असफल भएं भएँ खुच्चिङ गर्ने सबै पनि असफल भएका हुन् । भानुभक्तको सालिक बनाउँ भन्नु भन्दा अघि पनि असफल नै हुँ र असफलतामै रमाइ रहेछु । तर मलाई असफल भइस् भनेर आफैं असफल हुनेहरु पनि रमाइरहेका छन त मान्छेहरु एउटा पदको टीकोले जीवन सार्थक भएको ठान्छन् । आफैंले बनाएको बालुवाको दरवारको मालिक भएको गर्व पालेर गौरवशाली भएको ठान्छन । आफूले आफैंलाई महान ठानेर भईंमा खुट्टा टेक्दैनन् । महान प्रतिभासँग बोल्न पाएं भनेर उनीहरुकै समकक्षी भएको कुरुप महत्वाकाँक्षा पाल्छन् । अरुले नगने पनि गन्तीमा आफैं प्रथम मान्दछन् । त्यो सफल असफलता देखेर म मरीमरी हाँस्छु । किनभने असफलता सफल भएको भ्रमले उनीहरु भ्यागुतो झैं फुल्छन । तर आफू त असफलता लाई नै सफलता मानेर रमाउने बानी परेकोले न त असफलताले तिक्तता ल्याउँछ न त तथाकथित सफलताले नै उन्मादका लहरहरु ल्याउँछन् ।
नेपाली साहित्यको चारकोसे झाडीमा ३५ वर्ष देखि विचरण गर्दा रंक देखि राजासम्म कनिष्ठ देखि वरिष्ठसम्म साधारणदेखि महानसम्म बेपदका देखि ओहदावालसम्मका सँग सँगत बस उठ हाँसखेल सम्पर्क सम्वाद गर्दा गर्दा त्यसको मद र मात त कपुर झैं हावामा उडिसकेछ । त्यो वतासमा उडेको कपुर समातेर मैले बाँच्नु पर्ने चिन्नु पर्ने चिनाउनु पर्ने परिचयको सिलसिला बनाउनु पर्ने न कहिले आवश्यकता पर्यो न कहिल्यै पर्ने देख्दछु । आजसम्म नपरे पछि अब कहिल्यै नपर्ला नै ।
पुड्को मान्छेले दुनियाँ पुड्को देख्छ । त्यो उसको देख्ने दृष्टि उसैले परिवर्तन गरेमात्र परिवर्तन हुनसक्छ अरु कसैले परिवर्तन गर्न खोजेर हुँदैन । बौद्धिक दरिद्रहरु सबैलाई दरिद्र देख्दछन् र आफूजस्तै भिखारी होलान् भन्ने भन्ठान्छन् । कुनै साइनबोर्डमा नाम टाँसेर म पनि नामवाला हुँ भन्ने भ्रम पाल्नेहरु शिलालेखमा नाम लेखिसकेकाहरुलाई पनि आफूभन्दा कमसल र कमजोर ठान्ने महानताबाट च्यूत हुन चाहँदैनन् र भनिदिन्छन् साइनबोर्डमा नाम लेखाएर महान हुन खोज्यो । जव कि यथार्थ त्यो भन्दा अत्यन्त विपरित र कल्पनातीत हुन सक्दछ ।
बेलाबेलामा मलाई मेरो परिवारका सदस्यहरु भन्छन् साहित्य भनेर खूव मरिमेट्छन् ठूला ठूला पुरस्कार तिमीभन्दा कनिष्ठले पाइसके । तँ असफल भइस् । म हाँस्दछु । मैले पुरस्कारको लागि लेखेकै होईन लेखेको कारणले पुरस्कार पाइन्छ भने पाउनु पर्छ भन्छु पर्दैन भन्दिन । मेरो सरोकार पुरस्कृत भएर सफल हुनु होइन । मेरो अभिष्ट लेखन हो । लेखन नै मेरो सफलता हो । तर लेखेर मात्र निस्तो हुनुलाई असफल मान्दछन् भने म असफल हुँ मेरो दुख त्योसँग गाँसिन्न ।
म भानुभक्तको सालिक ठडियोस् भन्छु । हातमा हात मिलाएर भानुभक्तको सालिक ठड्याउँ । यो गैर नेपाली भाषी मुलुकमा शिर ठाडै पारौं भन्दा मलाई असफल बनाउन असहयोगका हात बढाउनेहरु भानुभक्तको सालिक खुव ठड्याइस तँ असफल भइस् भन्छन् भने म खुशी नभए पनि दुःखी भएर आँसु झार्दिन रुँदिन लडिबुडि गर्दिन । किनभने त्यो असफलता मेरो मात्र होइन । त्यो असफलताको भाग मेरो मात्र होइन । भानुभक्त मेरो मात्र होइन । नेपाली भाषा मेरो मात्र होइन । रामायण मेरो मात्र होइन । सिङ्गो राष्ट्र नेपाल मेरो मात्र होइन । नेपाली जातीको सिङगो परिचान मेरो मात्र होइन ।
म त केवल निमित्त मात्र हुँ । म निमित्त मात्र भएर असफलताको असारे पानीले निथु्रक्क छु । असफलताको पसिनाले लफ्रक्क छु । असफलताको संगीतले मेरो कान झङ्कृत भइरहेछ । म असफलताको पुाज हुँ । म असफलताकॊ अनुगुँज हुँ । म असफलतामै रमाउँछु हाँस्छु ओतप्रोत हुन्छु । मलाई असफल भनेर तिमी सफल हुन्नौ मित्र । तिम्रो उर्जा मेरो असफलताको गीत गाएर खेर नफाल ।
अस्तु ।
किमधिकमम् ।
जय होस ।
(स्रोत : Dainikee.com)