बादलको कालो घुम्टो उघार्दै
समयको साँघुरो आँखीझ्यालबाट
अनिमेष जीवन चिहाइरहेकी
तिमी एउटा सुकिलो जून हौ ।
सौन्दर्यको मनोरम उद्यानमा
तिखा काँडाहरूसँग जुध्दै
निर्बाध ढकमक्क फुलिरहेकी
तिमी सुन्दर फूल हौ ।
रोक्न खोज्दाखोज्दै पनि
व्यवधानका कुइनेटाहरू छिचोलेर
अविचलित बगिरहेकी तिमी
एउटा शान्त नदी हौ ।
स्वाभाविक हो
ईष्र्याका अग्ला पहाडहरू छन् तिमीसामु
तिमीविरुद्ध अप्रत्यासित आँधी र हुरीहरू छन् ।
सुकुम्बासी बस्ती उठाउन तैनाथ
सैनिकहरूझँै
तिम्रा सपना भत्काउन उद्यत कौरवहरू छन् ।
एक्ली नितान्त एक्ली
खै ! कसरी लड्न सक्छ्यौ तिमी
समयको कुरुक्षेत्रमा जीवनको महाभारत ?
तिमीविरुद्ध तिम्रै कृष्णहरू छन् ।
युधीष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेवहरू छन् ।
यता पनि ठीक्क, उता पनि ठीक्क
पीपलपाते नारदहरू छन् ।
विपन्नताको प्रतीक म सुदामा
सधैँसधैँ तिम्रा भविष्यका सम्भावनाहरूबारे सोच्छु ।
आफ्नै इन्द्रेणी सपनाहरूबारे सोच्छु ।
र सोच्छु, तिनै जत्थाहरूबारे
जो हातमा स्वार्थका कठोर ढुङ्गा बोकेर
तिम्रा स्वणिर्म शीशमहल भत्काउने तयारीमा छन् ।
क्षतविक्षत पारेर तिम्रा अक्षत अस्ितत्व
आफ्ना तिर्खा मेटाउने तयारीमा छन् ।
देश !
लाग्छ तिमी द्रोपदीकी पर्याय हौ, प्रतिचित्र हौ
र त निरन्तर छातीभित्र अथाह चोट बोकेर
बाँचिरहेकी छौ एउटा अभिशप्त नियति ।
र भोगिरहेकी छौ एउटा कुटिल समय ।
-विराटनगर
(स्रोत : नेपाल साप्ताहिक अंक ३२४)