~सिजन नयन~
कहिल्यै हल्लिन नरुचाउने
पातका मुटुहरू समेत
हल्लिएर गए
यो दिन
यहीँबाट
कसैले भन्यो-
“पक्कै पनि
गएको हुनुपर्छ
प्रेमको भुइँचालो
यतैकतै”
अर्कोले भन्यो-
“हो,
प्रत्येक मुटुलाई छाम्दै-उफार्दै गयो
यो भुइँचालो
कसैले चालै नपाउने गरी
भर्खरै”
अनि म खोज्न थालेँ-
‘कसको मुटु भएर गयो ?’
सो भूकम्पको हाइपोसेन्टर
र, प्रेमिल म्याग्माका तरङ्गहरू
खोज्दै जाँदा
अलि पर….. भेटियो
प्रेमको कम्पनले रन्थनिएको झोँकमा
हावाको बाटो भएर
भाग्दै गरेको
एउटा मुटुको एओर्टानजिकै
-‘हाइपोसेन्टर’
जो उभिरहन्थ्यो हिजोसम्म
घरको मूल खम्बाझैँ
ठिङ्ग,
एक्लै
र, उदासजस्तै
खै, आज आफ्नै ठाउँ छाडेर
किन भाग्दै-भाग्दै हिँडेको होला ?
ऊ
आफ्नै इच्छाविरूद्ध
आफ्नै सपनाविरूद्ध
अनियन्त्रित
यो दिन ।
(स्रोत : kaflesantosh.wordpress.com )