~निलम कार्की ‘निहारिका’~
“तँ आज कोसँग हिँडेकी ?”
“साथी हो ।”
“त्यो बूढी कसरी साथी भई ?”
“हामी सँगै पढ्छौँ ।”
“आइन्दा त्यसको सङ्गत नगर् ।”
एकाएक दाजुबाट आदेश आउँछ ।
“किन र ?” प्रश्न मेरो ।
“अब आइन्दा त्यसबाट टाढै रहने ।” पुनः आदेश ।
“के भो र ?”
“बढी कुरा गर्ने होइन, मैले भनेपछि खुरुक्क त्यो आइमाईसँग बोलचाल बन्द ।” चर्को आवाजमा चर्कै आदेश ।
“दाइले भनेपछि खुरुक्क नमानेर किन सबालजबाफ ?” आमाको पालो सुरु । “केही होला र त भन्यो ।”
“त्यसै सङ्गत नगर् भनेर हुन्छ ?”
“दाइले भन्यो त खुरुक्क मान् न । केही कारण होला र त भन्यो ।”
“के हुनु नि ?”
“तँ त्यस आइमाईको सङ्गतले बढी मुखाले भएकी छस् है ।” आमाको शब्दले झम्टियो ।
००००००
काम भए पनि आदेशको रेखा नाघ्न सकिनँ । उनले टेलिफोन गरेर सोधपुछ गरिन् । पर्खेर बसेको बताइन् ।
“पाहुना आएका छन्” झूटको सहारा लिएँ । भोलि भेट्ने तय भयो । अन्तै जाने बहाना बनाएर हिँडेँ घरबाट । गाउँबाट गाईको घिउ मगाइदिएकी रहिछन् । “जोर्नी दुखेको-दुखेको बेला लगाउनू तीन वर्ष पुरानो घिउ हो ।” म अनकनाएँ । आफैं ले झोलामा राखिदिइन् । जोर्नी दुख्ने मेरो पुरानो रोगसँग उनी परिचित छन् । झीनामसिना कुरामा ख्याल पुर्याउँछिन्- आमाले झैँ । उमेरले दोब्बरभन्दा केही बढी कै फरक छ तर हामी मित्र । सम्बोधनमा दिदी भन्छु । हामी सहपाठी । एम्. ए. सोसियोलोजीमा भर्ना भएकी छन् मसँगै । विश्वविद्यालय जाँदिनन्, समय नै पाउँदिनन् । उनीबाट हौसला मिल्छ अध्ययनका लागि उमेरको पाबन्दी रहँदैन ।
“पर्सिदेखि ट्रेनिङ छ, लिइराख काम लाग्छ, सोसियल मोबिलाइजेसनको ।”
“भो नलिने ।”
“किन नलिने ।”
म मौन ।
“अर्काको नाम हटाएर तिम्रो मिलाको, धुलिखेलमा हो, म सँगै हुन्छु । एक टे्रनर म आफैँ । ”
“म भ्याउँदिनँ ।” दाइलाई सम्झन्छु ।
“के त्यस्तो जरुरी छ र ? घरमा कुरा गर्न परे म गरिदिउँला ।”
आमा र भाइसँग सामान्य परिचय छ, दाइसँग एकै क्षेत्रमा काम गर्छिन्, संस्थामा, सामाजिक संस्था ।
“पर्सि सात बजे नै जानुपर्छ । र्फकन्छु भने पनि पाइन्छ । बस्न पनि राम्रो बन्दोबस्त छ । बीस जना सहभागी, चार जना प्रशिक्षक, भत्ता राम्रै छ दुई महिनाको पकेट खर्च टर्छ । पाँच दिनको तालिम ।” मोटामोटी जानकारी गराइन् ।
गैरसरकारी संस्थामा काम गर्छिन् । भन्छिन्, “विदेश गएँ भने, तिमीलाई राख्छु मेरो ठाउँमा ।”
साँझ घर र्फकनासाथ दाजु पड्किनुभयो ।
“त्यस आइमाईसँग हिमचिम नबढा भनेको टेरिनस् होइन ?”
मेरो होसले पूरै साथ छोड्यो । ठूलो चोरीबाट पक्राउ खाएको चोरभै“m भएँ । आमा पुरानो घिउले अलिकति पग्लिनुभएछ । “होइन, के नै बिग्रन्छ र ? भेट्दामा । आइमाई असल नै त छ ।”
“तपाईं जान्ने नहुनुस्, थाहा नभएको कुरामा, तपाईंलाई थाहा छ त्यो कस्ती आइमाई हो ? एउटा आलु कुहृयो भने बोरा नै कुहाउँछ भन्नुहुन्थ्यो नि ? हो त्यही कुहेको आलु जस्तै हो ।”
दाइको आशयले धेरै माथिबाट तल, अझै तल खसेजस्तो लाग्यो ।
“एक नम्बरकी बाइफाले, त्यसैले हो लोग्नेले निकालेको ।”
लोग्नेले निकालेको घटना थाहा छ । निकाल्नु के निक्लन विवश गर्दाका पूर्वाधारहरूसमेत । कुटपिट गर्दाका घाउका तिघ्रा र पिँडौलामा पुरिए पनि दाग मेटिएका छैनन् । साडी सर्काएर देखाएकी थिइन् । छातीमा चुरोटले पोल्दा खुम्चिएको मासु लुकाउन घाँटीसम्म टम्म हुने चोला लाउँछिन् ।
“थाहा छ आमा ? लोग्नेमान्छेसँग बसेर आधारातसम्म रक्सी पिउँछे ।”
अर्को आरोप दाइको । हो, रक्सी पिउँछिन् । मेरै सामु पिएकी छन् । बिहे गर्दा लोग्नेको व्यवसाय रक्सी बनाएर बेच्नु थियो रे ! रक्सी बनाउँदा पहिलोपल्ट छोराको बाबुले चखाको । त्यस बेला छोरो नै जन्मेको कहाँ थ्यो र ? मात्र चार महिनाको भ्रूण । अहिले पिउँछिन् । स्वदेशी-विदेशी सबै सहकर्मीसँग बसेर । रेस्टुराँमा बसेर पनि पिउँछिन् । बार, रेस्टुराँ सबै लोग्नेमान्छेका पेवा हुन् र ? भन्छिन्- जागिर त्यस्तै छ रात नभनी दिन नभनी हिँड्नुपर्छ ।
“चरित्रहीन आइमाई, त्यसै बनेको छ बिल्डिङ, त्यसै पढेको छ छोराले विदेशमा ।”
दाइ आरोपमाथि आरोपको भकारी बाँध्दै जान्छन् ।
उनको छोरो, जसलाई म भाइ भन्छु । पचास प्रतिशत अनुदानमा पढ्दै छ । सचिवको छोरालाई आफूकहाँ जागिर लाइदिएको सट्टामा छोरो विदेश पठाइन्, सम्झौता यत्ति हो । घर ठड्याएकी छन् त दिनरात परिश्रम गरेकी छन् अनि भवन निर्माण ऋण किस्ताबन्दी तिर्दै छन् ।
अब दाजु शिवनाथको कुरा गर्छन् । “शिवनाथकी रखेली हो रखेली ।” यति मात्र भनेनन्- यस्ता शिवनाथ त कतिवटा हुन् कति भन्न भ्याए ।
शिवनाथ देशकै प्रतिष्ठित समाजसेवीमध्ये एक । धेरैले सुनेको नाम ।
शिवनाथको फोटो उनको घरमा देखेकी थिएँ । उनले भनेकी थिइन्, ‘रक्सीको व्यवसायले शिवनाथसँग भेट गरायो । उनकै संस्थाले त्यो व्यवसाय छुटाएर हाते सामान बनाउने व्यवसायमा लगायो । हुँदाहुँदै जागिर दियो, पढ्ने हौसला दियो । शिवसँग भेट हुँदा दस पढेकी थिएँ ।’
शिवनाथ सरले आगन्तुक शिक्षकको हैसियतले कहिलेकाहीँ हामीलाई पढाउँछन् । म त्यसरी पनि चिन्छु । मेरा गुरु ।
शिवनाथको कुरा निकाले दाजुले । दिदीले भनेकी थिइन् कहानी लामो छ शिव मेरा लागि मान्छे होइन साँच्चै भगवान् शिव हो ।
त्यसपछि न मैले कोट्टयाएँ, न उनले नै भनिन् । दाइ कस्ताकस्ता कुरा गर्छन् दिदीबारे । भोलिको प्रतीक्षा गरेँ । मनमा लाग्यो शिव सरबारे जान्नैपर्छ । फेरि, अर्को झूट बोलेर घरबाट निस्केँ ।
सरासर पुगेँ, भर्खर दूध बेच्ने बूढा भित्रबाट निस्के ।
बिहानैको मेरो आगमनले चकित भइन् दिदी ।
यसै घुम्दै आएको भन्नुभन्दा सीधै ‘तपाईंले भन्नुभएको थ्यो नि शिव सरबारे त्यही सुन्न आएको ।’
तातो चिया मेरो हातमा दिँदै सँगै खाटमा बसिन् । “किन ? कसैले केही भन्यो ?”
उनको हेराइ र अड्कलमा जादु थियो ।
“छैन । सरले पढाएको पढ्दै थिएँ पहिलाको कुरा सम्झेँ ।”
“उनको इज्जत, उनको नामप्रतिष्ठा थाहा छ तिमीलाई ?”
“थाहा छ ।” ढुक्क पार्छु ।
“सौता भित्रिसकेपछि म बाहिरिएँ । यो पनि थाहा छ ?”
“थाहा छ ।”
“मान्छे रक्सी पिएपछि बौलाउँथ्यो । शरीरमाथि रक्सीको गिलेन नै रित्ताइदिन्थ्यो । ब्लेडले कपडा चिरेर निर्वस्त्र पारिदिन्थ्यो । पूरै नाङ्गो ।
सौतामाथि सहानुभूति छ । ऊ कति नै बस्न सकी र बिचरा । राम्रो लाउन, मीठो खान आएकी, त्यसको भाग्य ? अहिले अर्की छ रे । उही ताल न हो ? तिमी शिवको कुरा गर्न आएकी, म त अन्तै पुगेछु । शिव ! सम्मानले लिनुपर्छ नाम । राति दिदीले रक्सी पिएकी रहिछन् । हल्का गन्ध आइरहेछ मेरो नाकसम्म, बेवास्ता गरिदिन्छु ।
ऊ बेला साहस बटुल्न सकिनँ । सकेकी भए- शिवले भनेको मानेकी भए आज यत्ति बेला शिवको ओछ्यानमा हुन्थे, ऊसँगै ।’ त्यस बेला समय थियो साहस भएन, अहिले साहस छ समय रहेन । समाजसँग डराएँ । अब डराउन्न तर उनी बाँडिन्छन् । मलाई शिव बाँड्नु छैन । बाँडेर चाहिएको छैन । सबै नाता बाँडिन सक्छ, भाग लाग्न सक्छ तर सक्दैन लोग्नेस्वास्नीको नाता बाँडिन र भाग लाग्न । न शिव सरकी स्वास्नीलाई अन्याय गर्न सक्छु न त आफैँलाई न्याय गर्न नै । शिवलाई आधा पारेर के गर्नु उनी अपूर्ण छन् । सोह्र नकट्दै बिहे भो, छोरो जन्म्यो तर प्रेम के हो शिवले चिनाए । म लाछीले न्याय दिन सकिनँ आफू र आˆनो प्रेमलाई । शिवलाई ।”
उनी उठेर गइन् ।
र्फकंदा दालमोठ र गिलासमा पेय पदार्थ थियो ।
“मलाई माफ गर, के यसलाई लिन रात नै पर्नुपर्छ र ? यसै पनि आज बिदाको दिन ।”
उनलाई बोल्न गाह्रो भएको छ । आँखामा पानी छ ।
“भगवान् शिवलाई भन्दा पहिला मेरो मानव शिवलाई पुज्न मन लाग्छ । ऊ देवता हो देवता । मान्छे सम्झेकी हुन्थेँ भने आज ऊ मेरो हुन्थ्यो, मात्र मेरो सम्पूर्ण रूपले ।
शिव सरसँग भेट हुन्छ । बिर्सेकी हुन्न ऊ अर्कैको हो । मेरा कुनै भेटाइमा पुरानो शिव खोज्दिनँ नत्र असहृय हुन्छ । पुरानो किताब पल्टन खोजेँ आफैँ बन्द गरिदिन्छु, हतपत । बन्द गर्नु नै किन पर्ने हो र ? उसै गरी माया गरिरहन सक्छु, शिव पो टाढा भए मबाट, म त भएकी छैन नि । उनी पो भए अर्कैको म त भएकी छैन नि । उनी खोसिए म खोसिएकी छैन । हेर्न मिल्छ छातीको एक्सरे गरेर भने, उनीसिवाय कोही भेटिँदैन यहाँ ।”
यति बेला चुरोटले पोलेको दाग देखिइरहेछ, घाँटीभन्दा तल ।
“छोराको बाबुको गन्ध बाँकी छैन मेरो शरीरमा । मात्र यी दागहरू ।”
पातलो गाउनबाट दाग छर्लङ्ग देखिएकाछन् छातीका तिघ्राका र पिँडुलाका ।
“रत्तीभर लाग्दैन छोराको बाबुमाथि अन्याय गरेँ । अहिले तेस्री-चौथी स्वास्नीको छाती पोल्दै होला या पत्तीले काट्दै होला । उसले निकालेर फालेको थियो यो फूललाई कोपिला जस्तो छोरालाई । सुकिसकेको फूललाई मलजल गरेर बचाए शिवले । नत्र बाँच्ने चाहना कहाँ थियो ? सहारा को थियो ? उसको मायामा सारा दुःख बिर्सें, आज त्यै माया इलिगल भैदियो । अवैधानिक प्रेम ।”
“प्रेम पनि वैधानिक र अवैधानिक हुन्छ र ?” म सोध्छु ।
“प्रेमको परिभाषा जानेकै कहाँ छु र ? मैले मात्र प्रेम गर्न जानेकी छु । त्यो प्रेममात्र मैले मेरो शिवलाई गरेकी छु, भन्दा हुन् जे पनि हाम्रा बारे तिमी पनि भन्न सक्छयौ, हामीलाई थाहा छ हाम्रो प्रेम कति उच्चकोटीको छ, उच्च नै रहेछ यो प्रेम ।” गिलास रित्तिनै लागेको छ ।
“श्रीमतीका लागि सारासारा रात दिएको छ, दिन दिएको छ, जीवन दिएको छ, त्यसबाट केही, एकदमै केही पल मैले पाउन हुन्छ कि हुन्न ? सारा सेकेन्ड मिनेट मेरा थिए, मेरा । पहिलो अधिकार मेरो थियो, मैले त्यो अधिकार कहिल्यै खोजिनँ ।
शिवको नामसँग ऊ जोडिएकी छ, धन, ऐस, आराम, इज्जत, सम्मान उसले पाएकी छ, सबै उसैको हो मेरो हिस्सामा अवैधानिक समय Û समयका केही पल । त्यस पलमा पूरा जीवन बाँच्नुपर्छ मैले । यही जीवन बाँच्नु मेरो भूल हो ?”
उनी पुनः थप्न खोज्छिन् म रोक्छु । उनी चुरोट सल्काउँछिन् ।
“एक छोराकी आमा थिएँ, शिव कुमार केटो । त्यसैले बीचबाटोमा डराएर हात छोडेँ अनि उसकी स्वास्नीले समाई त्यो हात मैले हात छोडेर न उसले समाई । म डराएँ, हाम्रो प्रेमलाई इलिगल बनाए, इलिगल प्रेम ।” उनी हाँस्छिन् धुवाँ उडाउँदै ।
००००००
“आमा ! मैले भन्दिएको छु, आफ्नी छोरीलाई त्यो गनाएकी आइमाईबाट टाढा राख्नू, होस गर्नू नत्र आफू जस्तै बनाउली यसलाई पनि ।” ठीक यही वाक्य बोलेका थिए दाजुले ।
धुलिखेल ट्रेनिङका लागि जान गाडी पठाउँछिन् ।
म जान सक्दिनँ ।
गाडी र्फकन्छ ।
उनी आफै आइपुग्छिन् मलाई लिन ।
कोठामा पस्न नपाउँदै दाजुसँग भेट हुन्छ ।
अभिवादनको आदानप्रदान हुन्छ । दाजु बेवास्ता गर्छन् । निस्कन्छन् बाहिर मलाई आँखा तरेर । आमा डराउनुहुन्छ घरमा ठूलो भूकम्प आउने डरले । भाउजू चिया लिएर आउँछिन् । म परिचय गराइदिन्छु । “उहाँ मेरी भाउजू ।”
दिदी सोध्छिन्, “दाजु कति जना ?
म भन्छु, “अघिको एक मात्र हो”
उनी घोरिइरहन्छिन् । केही सोचेर । भाउजू बाहिरिन्छिन् ।
“के भो ?” केहीबेरको निस्तब्धता भङ्ग गर्छु ।
“त्यो आइमाई को त ?”
“को ?”
“जसलाई सिङ्गापुर लगेका थिए तिम्रो दाजुले, श्रीमतीको कोटामा । बच्चा पनि साथै थियो अन्दाजी डेढ वर्षको । शिव र मैले दिल्ली सेमिनारमा पनि भेटेका थियौँ सँगै उनीहरूलाई ।”
हतपत म ढोका थुन्छु । भाउजूको कानमा हाम्रा कुरा पर्न नपाओस् भनेर ।
(स्रोत : Onlinekhabar)