कथा : आखिर मनै न हो

~श्रीरामसिंह बस्नेत~

त्यसो त उसलाई पनि बिहे गर्न रहर नलागेको कहाँ हो र ? तर रहर लागेर मात्र हुँदो रहेनछ । भाईको विवाह धुमधामसँग हुँदा ऊ खुसीले राम्ररी रुमाउन नसके पनि रमाएको अभिनय गर्न भने उसले बाँकी राखेन ।

उमेरले ऊ भाईभन्दा चार बर्ष जेठो छ । तर उसको शारीरिक अपाङ्गताले गर्दा विवाहको लागि ऊ योग्य मानिएन, उसको पालो आएन र तन्दुरुस्त भाईको विवाह भयो । जन्मेको केही समय देखिनै उसका खुटटाले धोका दिए । ऊ राम्ररी हिंडन सक्दैन । मुस्किलले घरको तल माथि गर्छ । एक ठाँउबाट अर्को ठाँउमा जाँदा उसले हातबाटै खुट्टाको समेत काम लिनु पर्ने हुन्छ । त्यसैले ऊ प्रायः आफ्नो कोठाको झ्यालमै बसेर बाहिरी संसारलाई नियाल्ने गर्दछ । झ्यालबाट र कौसीबाट देखिने भन्दा बढी संसार हेर्न टेलिभिजन नै उसको एक मात्र सहारा छ ।

भाईको बिहे गर्ने निर्णय भएदेखिनै यस घरको वातावरण नै फरक भएको छ । उसका मामाघर देखि फुपूघरसम्मका सवै जसो नातेदारहरु घरमा जम्मा भएका छन् । छिमेकीहरु पनि छन् । भाईका साथीहरुको बेग्लै फुर्तीफार्ती छ । उसले करिव तीस बर्षको जिन्दगानीमा आफ्नो घरमा यस्तो चहलपहलको वातावरण यसअघि कहिल्यै देखेको थिएन ।

विवाहका लागि घरमा आएका नातेदारहरुमा कोही कोहीमात्र उसको कोठामा पनि आउँछन् । केहीबेर बसेर जान्छन् । धेरैबेर बसेर ऊसँग कुरा गर्न कसैलाई पनि त्यति मन लाग्दैन । किनकि उसको बोली पनि त्यति प्रष्ट छैन ।

अहिले ऊ सोचिरहेको छ – यदि मेरो खुट्टा सद्धे भईदिएका भए भाईको सट्टा मेरो विहे हुन्थ्यो । म दुलहा बन्थे । कस्ती हुन्थी होली मेरी दुलही ? म पनि आफैंले रोजेर विहे गर्थें । म त मोटी केटी विहे गर्दिनथेँ । जिउ सलक्क परेकी छरिती केटी विहे गर्थें । अँ कपाल लामो भएकी केटी छान्थें । भाईकी दुलही कस्ती होली ? मोटी पो छ कि ? उसका यी मीठा कल्पना कल्पनैमा सीमित रहे ।

उसका खुट्टा सग्ला नभए पनि हात र दिमाग सग्ला भएकाले पढने, लेख्ने, टिभी हेर्ने, रेडियो सुन्ने आदि कर्ममै उसका दिन बित्ने गरेका छन् । पहिला सानो हुँदा त उसको भाईले उसलाई प्रायः छोड्दैन थियो । ऊ स्कुल जान्थ्यो र हरेक दिन स्कुलमा पढेको कुरा दाजुलाई आएर बताउँथ्यो, सिकाउँथ्यो । बाहिरका अनेक कुराहरु घर बाहिर जान नसक्ने दाजुलाई बताउँथ्यो । उसले यति लेखपढ गर्नसक्ने, कुरो बुझ्न सक्ने भएको भाईकै मद्दतले हो । तर भाई ठूलो हुँदै गयो, व्यस्त हुँदै गयो, अनि उसले अशक्त दाजुलाई दिने समय पनि क्रमशः घट्दै गयो । अव त भाई हप्ताको एक दिन शनिबार मात्र एक क्षण उसको कोठामा आउँछ र आठ दश मिनेट बसेर हिंडी हाल्छ । भाईसँग दूरी बढदै गएकोमा उसलाई नमीठो त लागेको छ तर उसले भाईलाई दोष दिएको छैन, वास्तविकता उसले बुझेको छ ।

हरेक दिन उसको कोठामा घरिघरी आउने र उस्को पूरा हेरविचार गर्ने काम पहिलेदेखि अहिलेसम्म उसकी आमाले गर्ने गरेकी छिन् । उसलाई आफ्नो प्राण आमाकै भरमा मात्र अडिरहेको छजस्तो लाग्छ । आमा नभएको भए त ऊ पहिल्यै मरिसक्ने थियो भन्ने उसको ठम्याई छ । तर उसले हेर्दाहेर्दै आमा पहिलाको भन्दा निकै गल्दै गएकी उसले पाएको छ । आमालाई केही भयो भने के होला ?भन्ने सोच्दा ऊ निकै डराउँछ । बाबु पनि उसको कोठामा कहिले काँही आउँछन् तर धेरै बोल्दैनन् ।

उसको भाईको विवाह भयो । तरु ऊ जन्ती जान पाएन । आँगनमा भएको विवाहको सवै रमझम् उसले झ्यालमा बसेर हेर्‍यो । दुलही भित्राए पछि उसका भाई-बुहारी ऊसँग ढोग भेट गर्न उसकै कोठामा आए । ऊ निकै खुशी भयो । उसले नयाँ दुलहीलाई हेरेको हेर्‍यै गर्‍यो । आमाले “टीका लगाई देउ भाई-बुहारीलाई” भनेपछि ऊ झसङ्ग भयो र टीका लगाई दियो । आफ्नो विहेको कल्पना गर्दा उसले जस्तो किसिमको दुलहीको कल्पना गरेको थियो उसकी बुहारी करिव त्यस्तै पायो उसले, अर्थात जिउडाल सलक्क परेकी, कपाल लामो भएकी, हँसिली ।

विवाहको रमझम् सकियो, पाहुनाहरु फर्किए । दिनहरु बित्दै गए । उसको कोठा भएको माथिल्लो तलामा बुहारी कमै मात्र आउँथी । प्रायः कौसीमा लुगा सुकाउने र उठाउने क्रममा ऊ आउँथी । त्यतिखेर ऊ बुहारीलाई निकै नियालेर हेर्दथ्यो । एक दिन शनिवार ऊ कौसीमा लुगा सुकाउँदै थिई । उस्को भाई बिस्तारै अरुले चाल नपाउने गरी कौसीमा आयो र पछाडिबाट आफ्नी दुलहीलाई अँगालो हाल्यो । दुलहीले आत्तिदै, “छ्या, कस्तो मात्तेको मान्छे” भनी । उसले यो दृष्य आफ्नो कोठाबाट ढोकाको चेपबाट देखिरहेको थियो । यो देखेर उसलाई एकदमै उकुसमुकुस भयो । उसले आफूलाई सभाल्न ओढनीले मुख छोपेर सुत्यो ।

बेलाबेलामा उसका भाई बुहारी कौसीमा आउँछन्, गफ गर्छन, जिस्किदै हात हालेरै चल्छन् पनि । उसलाई त्यतिखेर निकै गाह्रो महसुस हुन्छ । उसको कोठाको ढोका प्रायः सधैं बन्द रहने र कौसीतिर फर्केको झ्याल नभएकोले उनीहरु कोठामा रहेको दाजुले केही थाहा पाउँदैन भन्ने सोच्दछन् । तर उसले ढोकाको चेपबाट सबै थाहा पाउने गरेकोछ ।

गर्मीको मौसम छ । पानी पर्न नसकेर गर्मी झन् उखरमाउलो भएको छ । एक रात १० बजिसकेपछि उस्का भाईबुहारी माथि कौसीमा आएको उसले चाल पायो । यति राति किन आए होलान् भन्ने जिज्ञासा उसलाई भयो । उसले आफ्नो कोठाको बत्ति निभायो र ढोकाको चेपबाट कौसीतिर आँखा र कान लगायो । मधुरो जून लागिरहेको थियो । उसको भाईले हाफ पाइन्ट मात्र लगाएको थियो, बुहारीले पातलो गाउन । केहीबेर कौसीमा बसेपछि भाईले बुहारीलाई अगाडिबाट अँगालो हाल्यो । बुहारीले भाईको छातीमा टाउको राखी । भाईले बिस्तारै बुहारीको टाउको उठायो र पहिला निधार, त्यसपछि गाला हुँदै ओठमा मुख टाँस्यो । धेरैबेरसम्म उनीहरु यही अवस्थामा लठ्ठी रहे । भाईका हातहरु बुहारीका शरीरमा जताततै घुमिरहेको जूनको उज्यालोमा उसले ढोकाको चेपबाट देख्यो । बुहारीको हात पनि भाईको ढाडमा सल्बलाई रहेको उसले प्रष्टै देख्यो । केहीबेरपछि उनीहरु लठारिदैं कौसीबाट कोठातिर फर्किए । उसलाई असैहृय भयो । उसले बत्ती बाल्यो, ढोकामा चुकुल लगायो र सवैलुगा फुकालेर निर्वस्त्र भयो । ऐनामा आफ्नो नाङ्गो शरीर हेरेर आफै रमायो र अघि भाई बुहारीले जस्तै आफ्ना हातहरु शरीरका विभिन्न भागमा डुलायो ।

यसैबीच एक पटक ऊ नराम्ररी बिरामीले थलियो । केही दिन घरमै राखेर उपचार गर्दापनि उसलाई निको भएन । डाक्टरको सल्लाहअनुसार उसलाई अस्पताल भर्ना गरियो । उसकी आमाले एक दिन बुहारीलाई “माथि जेठाजूको कोठा पनि सफा गरिदेउ, धेरै भयो उसको कोठा सफा नगरेको” भनी अह्राएर आफू अस्पतालतिर हिडिन् । सासूले अह्राएअनुसार बुहारीले दिउँसो जेठाजूको कोठा सफा गर्न थाली । जाडो महिना लागिसकेकोले ओछ्यान पनि सुकाइदिनु पर्‍यो भनेर उसले जेठाजूको पलङ्गबाट डसना उठाइन् । डसना उठाएपछि ऊ तीन छक्क परी । डसना मुनी त उसैका आफ्ना रंगीचंगी भित्री लुगा पो थिए ।

बल्ल आज उसले कौसीमा सुकाउन हालेका उसका भित्री लुगाहरु हराउने गरेको रहस्य थाहा पाई । धोएर कौसीमा सुकाएका अरु लुगाहरु नहराउने तर उसका भित्री लुगाहरु मात्र पटक पटक हराएका थिए । तर उसले भित्री लुगा सबै भन्दा सानो हुने भएकाले हावाले उडायो होला, भित्री लुगा पनि के खोज्न गईरहनु भनेर वास्ता गरेकी थिइन । तर त्यसरी गायव भएका उसका चार वटा पेन्टी र तीन वटा ब्रा आज जेठाजूको ओछ्यान मुनी अचानक देख्दा उसको आश्चर्यको सीमा रहेन । उसलाई हाँसो पनि उठ्यो, असक्त जेठाजूको माया पनि लाग्यो ।

उसले यसरी फेला पारेका आफ्ना ती भित्री लुगाहरु झिकेर अलग्गै राखी र डसना लगेर कौसीमा सुकाई । पछि डसना पलङ्गमा राख्दा उसले आफ्ना ती भित्री लुगाहरुलाई पट्याएर डसनामुनी त्यसरी नै राखिदिई, जसरी उसको जेठाजूले जतनले राखेको थियो ।

(बस्नेतको कगासंग्रह ‘यौनका फूल यौनका कांडा’बाट ।)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.