मलाई मन छ
म मरेको थाहा नहोस् मेरो पतिलाई
म जलेको पनि थाहै नहोस् मेरो उनीलाई
औधी माया गर्छन् उनी मलाई |
मलाई थाहा छ
भक्कानिने छन मेरो बिछोडमा उनी
पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै जल्ने छन
आहतमा पल पल दु:खने छन |
देख्दै छु म कल्पनामा आजै
मेरो आबसान पछीको समय
मृत्यु सैय्यामा छटपटाउने छन उनी पूर्वभास भो मलाई
उनको धुकधुकी ममा थियो अनी |
म सम्झन्छु अहिले
मेरो मृत्यु सपना के देख्दा
भारी बिमारले थिचीएथे उनी
साच्चै मृत्युको आभासले के होला उनिलाई |
पहाडले थिच्ने छ उनिलाई
ज्वालामुखी विस्पोट हुनेछ छातीमा
पल पल जल्ने छन उनी
पालासको फूल झै बन्ने छन उनी |
मलाई थाहा छ
औसीको अध्यारो सन्नाटाले छोप्ने छ उनिलाई
काच झै टुट्ने छन
आसुँको रह रह भित्र डुब्ने छन उनी |
म उनको प्रेमिल भावनामा हराएकी छु कयौ पटक
मुटु भित्र धिरोदत्त लुकाएका छन मलाई
प्राणलाई भन्दा अधिक मोहको दोरिले बाधेर
प्रेमको सुत्रले अगालोमा गुणा गरेर |
भन्दिन म अमर रहु ,गर्दिन स्न्देह
सास्वत प्रकृतिको अगाडि
बिन्ती पत्र चढाउछु बरु ईश्वरसग
अदम्य उनको साहसका लागि |
त्यसैले भन्छु म
म मरेको थाहा नहोस् मेरो पतीलाई
म जलेको पनि थाहै नहोस् उनिलाई
थाहै नहोस् उनिलाई |
24 JANUARY 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )