प्रभातको सूर्यौदयमा
बुकी मुस्कुराउँथ्यो
पाखा र चौरभरि सेताम्मे
मधुमासको सन्ध्यामा
बिनायो गाउँथ्यो
चखेवा र भञ्याङ्गमा माधुर्य ।
बुकी, सगरमाथादेखि
माछापुछ्छ्रे सम्म सौन्दर्य भर्थिन
बिनायो, धूपी र सल्लाघारीभरि गीत गाउँथ्यो
चौर बुकी छात्तीमा सजाइ हाँसि रहन्थ्यो
बुकी बिनायोको संगीतमा रमाइ रहन्थिन ।
बुकी बिनायोको धुनमा भुल् छे
बिनायो बुकीको रुपमा रम्छ
बुकी र बिनायो मायाप्रीतिको कथा शुरु गर्छन्
बुकी उनको हृदय बिनायोलाई दिन्छे
सधैँ सधैँ को लागि…
लेख, बेंसी, झरना र नदी रमाउँछन्
‘‘दुईको मायाप्रीतिमा’’ ।
बिनायो, टाढा टाढा बुकी लाई छोडी
गाउँ, वस्तीमा नयाँ आकाश खोज्छ
बिनायो हिड्दा हिड्दै
लाखौं – लाख आँखा अन्धा देख्छ
लाखौं – लाख मुख लाटा भेट्छ
जादा जादै बिनायो
उसले परिकल्पना गरेको
हिमाल र क्षितिजमा नवदेश खोज्छ
त्यहाँ कुम्भकर्ण महिनौ – महिना ब्यूझन्दैन
उसले हिलै – हिलोमा सुँगुरहरु रमाएको देख्छ ।
जीवनको अन्तिम थकाइमा
बिनायो, बुकी देश को यादमा रून्छ
बुकीको सौन्दर्य सम्झन्दै
अलसतलस हिलो नै हिलोमा बिनायो डुब्छ ।
बुकी वर्षौ –वर्षदेखि
बिनायोको प्रतिक्षामा रहयो
तर, बिनायो फर्केन
नागी र चौरभरि
बुकी शोकमा पर्यो ।
आकाश, सरोवर र फूलहरू रोए
उदास – उदास हुदै बुकी ओइलायो
अब बुकीको आत्माभित्र
बिनायोको त मात्र अवशेष रहयो
तर, बिनायो कहिल्यै
बुकीको सुनाइमा धुन भएर बजेन ।
– आकाश ( कोलोराडो, अमेरिका)
February 25th 2007
(स्रोत : Dcnepal.com)