एक अध्याँरो वस्तीका
असंख्या बासिन्दाहरु हो,
मै जस्तो थुप्रै प्रतिनिधी हो,
दीनहरुको भोकको निमित्त
रातहरुसंग उज्यालो माग्नू !
मान्छे हुनुको कर्तव्य-
जिम्मेवारी=समातामूल चेत
सम्भावको अमूर्त चिन्तन-
नरक कुण्डबाट मुक्ति मार्ग खोज्न
यो रक्तरंजित धर्तीको छातीमा
मृत्युको पहाड टेकेरै उँभो उक्लिनू!
तुवाँलोले छोपिएको आकाशलाई
स्वतन्त्र मन र सहगामी विचार-
सहयोगी हातहरुले फट्याउनू!
विवश अस्थीहरुको बगुन्द्र हाट-
क्षोभ र लाल्ची चटकेहरुको सर्कस-
लाटोकोसेरोको आँखाले यो मैदानमा
आजै देखि निगरानी शुरु गर्नू !
रुवाबासी र प्रवासी जीवनहरु हो,
बेथितिका अभासी कथाहरुको लोरीमा
पृथ्वी निस्सासीन्जेल निदायौं हामी,
यत्र तत्र सर्वत्र बज्रिएर………..
यही पृथ्वीको गोलार्धमा
अब एक सुन्दर चिहान बनाउन
अर्को सकल्लो बिहान ब्युँझिनु पर्छ।
रगत र आँशुले अवरुद्ध गलाहरु हो,
निर्दोष भोकहरुको चित्कारहरु हो,
ध्वंशले उजाडिएका वस्तीहरु हो,
पसिनाका लाखौँ नहरहरु हो,
आस्थाको अन्तिम विन्दु भेट्न
लम्किनू, तह तहको पहाड नाघेर….
अ/मान्छेहरुको भीड बिचै देखि
अनेकतामा एकता डोलिएर
अविरल इन्द्रावती उकालो बग्नू !
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)