सोल्टी !
यो मनको खोपीमा
कुन सम्साँझ देखि आरती जगायौ ?
थाहै भएन |
खै कुन बिहान देखि हो ?
प्रेमिलो सूर्य उदाएछौ
मेरै हृदयको श्रीअन्तु डाँडामा-
रातो गुलाफ बोकेर
अनुरागका चिमल थुंगाहरु
यै सिक्रे रुखको थाप्लोमा देख्दा पो
म त्यसै त्यसै दुबोको शित—-हाँसेछु |
मुसुक्क ओठ टोक्दै – माछापुछ्रे शिर
र डुबेछु, तिम्रै रारा-फेवामा !!!
अचेल,
देब्रे छातीको भन्ज्याङ्नेर
ढुकढुकीसंगै मन्गाउँका ङोलो र ङोल्स्योहरू
सालैजो भाकामा जुहारी खेल्छन् |
~~~~भावीले लेखेको निधारको रेखी
~~~~सालैजो को देख्न सक्छ र ?
~~~~आँखाले देख्यो, मनले रोज्यो
~~~~सालैजो को छेक्न सक्छ ?
रुप्से झरना जस्तो तिम्रो प्रेमले
त्यै रोदीघरनेर आँखा खोल्दा त
आफ्नै छाती पो शिलापत्थर जस्तो लाग्छ,
र , मेरो आयु नाईल नदी देख्छु |
माघको महिना
माईधारमा माईमेला घुम्दा
आँखाले आँखालाई तानेर धान नाचेको-
त्यै बेला निलो आकाश मुनि
चुर्लुम्म दुई आत्माहरु मक्कर नुहाउदै
धेरै बेर मिस्सिसिप र मिसौरी बगी रहे-
हृदयका शिपीहरु रमाउदै सिली नाचे
सोइ-ढोले सोइ…सोई ढोले सोई –
कस्सम होला, सोल्टी !
यो सहरको कोलाहलमा पनि
तिम्रो मायाको सुगन्ध-
कोठेबारीमा फुलेको भूँइ चम्पा हो कि
आँगनको डिलमा रोपेको तितेपाती-
मग-मग आफ्नै निस्वास भरी भरी –
म एक यायावर – पानी भएर बगें
र मिसिएँ – आन्ध्रा महासागरमा..
तिम्रो प्रेमले लुछुप्पै भिजेको म,
यति बेला यो महासागरबीच पनि
मेरै ‘कोशी-कर्णाली’ बेस्सरी तिर्खाएको छु |
म ‘मेची-महाकाली’बेस्सरी तिर्खाएको छु ।
सोल्टी !
गुराँसे डाँडामा तिमी जिस्किंदै
गुराँसकै थुंगाले हानेको यादले हो कि
कटुन्जे फलैचामा साटेका
मायालु धुनहरुले हो, कोट्याई रहन्छ |
बिहान सबेरै घामले कंचनजंघा चुमे झैं
मैले पनि पो उही कल्पिँदो रहेछु |
आकाश छेड्न उभिएका
यी बग्रेल्ती घर मुनि
शिलाजुभिर पारी सल्लेरी वनमा
हलेसो बासे झैं
म भित्रका सैंहिली,माहिलीहरु पनि पालाम गाउँछन्
यसरी,
~~~~~~लहरा भूँइमा फूल रुखमा
~~~~~~बसेछ माया भूलचुकमा
~~~~~~माईखोला बग्यो माईधारमा
~~~~~~मायै हो ठूलो संसारमा
त्यसैले,
त्यसैले सोल्टी !
तिमीलाई भेट्नु नै
मैले प्रेमको रंङ् देख्नू हो-
जीवनको रङ् भेट्नु हो –
संसार जित्नु हो-
हो,त्यसैले
अझै हाम्रो प्रेमको समागम सगर छुन
केचना मन देखि उँभो सोचको चोमोलोंङ्मातिर
उक्लिरहेछु – म उक्लिरहेको छु |
उक्लिरहेछु – म उक्लिरहेको छु |
(स्रोत : Manu Lohorang Rai’s Blog)