आमा !
म आज तिमीसंग
एउटा कुरा मन खोलेर भन्छु
कि इज्जतको रिहाई माँग्छु |
तिम्रो छाती चिथोर्ने
तिम्रै छोराहरुसंग
म घोर विरोध जनाउँछु |
धेरै संघर्ष गर्दै आएँ
र फेरि गरिरहन्छु |
तिमीसंग क्षमा माग्छु |
आमा !
पीडा = छोरा या छोरी जन्माउनु –
तिमीले नै जन्माएका सन्तान हुन्
तिम्रै मुटुको आधा अंश-
हिन्दू संस्कारले दिएको
तिम्रै सिउँदोको सिन्दूर-सौभाग्य(लोग्ने)
हो,
तिनै विविधताको पुरुष नामबाट
कहीं मेरो स्त्रीत्व लुटिएको छ |
कहीं यौवनमा र्याल चुहेको छ |
कहीं अवोधता मिचिएको छ |
म अवला हुनुले
उनीहरुको पन्जाबाटै जबर्जस्त
मेरो अश्मितामाथि रजाईं गरिएको छ |
आमा !
मलाई माफ गर !
मेरो ‘आवाज’रहर होइन |
बाध्यता हो, उसको लागि
जसले,
मलाई वादी आईमाई कहलाईरहेको छ-
उसको लागि हो, जसले
सडक पेटीमा सडकछाप लगाउन बाध्य बनायो-
उसको लागि हो, जसले
मनावता निलेर नाबालकमाथि उत्तेजना खन्यायो-
उसको लागि हो, जसले
धर्मको नाममा बेईज्जता लुकाउन लगायो-
तिनकै निमित्त आज
म “तसलिमा नसरिन”
“आईमाईको हकमा” बोल्छु |
“बिग्रेकी केटी”को उपनामबाट
युग देखि युग मुक्त गराउनु छ |
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
नोट :- अतिवादी सामाजिक विचिन्तनको खण्डनलाई कव्ययिक प्रयोगमा ल्याउँदा यो कविता यस्तो बन्यो | कठोर भाषिकताको हकमा सबै सज्जन पुरुष-महिला प्रति क्षमाप्रार्थी छु |
(स्रोत : Manu Lohorang Rai’s Blog)