ओ शताब्दीकी नायिका !
तिमी, उभिएर सडकमा
शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ ।
हार्दिकता स्विकार्न सक्छ्यौ
चिहान टेकेको त्यो पुरानो समय
युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर
एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत
स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ ।
गृहिणीको छेउमा उभिएको रित्तो सिलिण्डर
अभावका सपना र मट्टितेलका खाली जर्किन
उत्तिकै साटिएका छन्, तिमी र मसंग ।
मेटाएर छलकपटको अनुच्छेद
नयाँ अक्षर लेखिरहेकी छ्यौ ।
अर्थात-तिमी बराबर म र म बराबर तिमी
त्यो गणित अर्थात निर्माणाधिन इतिहास
र त्यही इतिहास लेख्न बसेका हामी ।
दुबै परिवर्तनको नयाँ नाम
….र त मेटाईरहेका छौं पृथ्वीको धुर्विय विभेद
सगौरव घोषणा गरेकी थियौ समताको आवाज
भनेकी थियौ,” स्वयम्भूमा टाँसिएका निरही दुई आँखा,
जसले पारिलो घाम तापेर न्याय लेखेनन् ।”
तिनमा धेरैपछि, ब्यूँझिएका थिए संचेतना ।
अहिले भीर र भुगोल, जीवन र समय, इतिहास र हामी
दुबै बगिरहेछौं समानान्तर
मुक्तिको छायाँ मुनी तिमी लेखिरहेकी छ्यौ वर्तमान,
र म तिमीमा अनुवाद भएको छु ।
(स्रोत : HkNepal.com)