~चन्द्र गुरुङ~
चियादोकानहरूमा–
पहिलो कपबाट
अर्को खाली कपमा आधी जति सार्दै
चियाको घूँट घूँट
हामी बाँड्छौँ सहृदयता ।
क्लासरूम,
सिनेमाहल,
पार्कबगैँचा,
सडकपेटीतिर
साट्दै बन्धुत्व, गफ्फिन्छौँ समय ।
विचारका रुमालहरू साट्छौँ,
गोप्य कुराका चराहरू फुत्काई पठाउँछौँ,
सँगै खुशीहरू गाउँछौँ,
उडाइदिन्छौँ एकसाथ कल्पनाको आकाशैभरि
रहरका रंगीन बैलुनहरू ।
समष्याका डाँडाहरू उक्लिन्छौँ,
आँसुका खोलाहरू तरछौँ,
दुःखका केरमेर धर्साहरू मेट्दै हिँड्छौँ ।
ए साथी
सजाएर तिमीलाई आफ्नो मुटुमाझमा फूल
बाँच्दै छु एक सुगन्धित जीवन !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )