~अन्ना~
वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले । आफ्नै आँखाबाट यति विघ्न खुशीहरु तप तप चुहिएर भरिएको थियो उसको अँजुली ।
विमानस्थलमा जहाज पर्खिरहेकी छ उ । मोवाईल लगातार बजिरहेको छ । उठाउन बिर्सिन्छे उ । छेउमा कोहि आएर भन्दैछ , “तपाईको फोन ? कानमा थापेर सुन्छे तर त्यसप्रति उसलाई कुनै चासो छैन । फोनमा आइरहन्छ आवाज ” कविता जी तपाई स्टडीअब्रोड ह्वाईट हाउसमा आउनोस् है, तपाइको भिसा प्रोसेस मिलाउनु छ ।” तर उ नतमस्तक छे । आफैमा मख्ख र गदगद छे । त्यो खुशी कहि नपोखियोस् उ साच्चै होशियार हुन्छे ।
अस्तव्यस्त भएर असरल्ल छरिएका थिए उसका खुशी । कहिल्यै समेटिन नसक्ने ठान्थी उ त्यसलाई । छातीभरि वर्षौदेखि लुकेको एउटा अव्यक्त खुशी थियो त्यो, समयले अचानक व्यक्त गरिदिएको छ आज । वर्षौदेखि छटपटिएको, कचपटिएको, अधुरो र अपुरो एउटा खुशी, पूर्ण र शान्त भएर उसको सामुन्ने प्रकट भएको छ । मानौ त्यो थाहै न्पाइ अचानक वषिर्एको छ निरन्तर सावनको झरी जस्तै । त्यस झरीमा थुप्रै अदृष्य आवेगहरु उसले महशुस गर्न सकेकी छ र आफैलाई सम्हालीरहेकी छ । उसको ध्यान जहाज आईपुगे को ठूलो आवाजले तान्छ । उसले देख्छे जहाजबाट थुप्रै मान्छेहरु सेता पहिरनमा उत्रिदैछन् । ती स्वास्थ्यकर्मी हुन्, उसले लख काट्छे । हल्ला गर्दैछन् उनीहरु -त्यहाँ पुर्याईदियो भने त हामी आफै हैजा लागेर मर्छौ होला ।
अनि हाँसोको एउटा कोलाहल आवाज । उसलाई अनुमान लगाउँन गाह्रो पर्दैन । हिजोअस्ती समाचारमा पढेको कुराले उसलाई प्रष्ट्याईदिन्छ । यो तिनै स्वास्थ्यकर्मीको समुह हुनुपर्छ जागरकोट तिर लागेको, अनि किन फर्किदैछन् यी अहिले ? आज बिहान सम्म टिभीमा देखिएका ती अर्धचेतन मान्छेहरुलाई छोडेर यी के गर्न आए यहाँ ? उ प्रश्नवाचक दृष्टिपात गर्छे । सुन्दैछे उ तिनका कुरा – ओ हो हामी त सक्दैनौ जाजरकोट बस्न कसरी मान्छेहरु त्यहाँ बसेका छन् ।
उ अनुमान लगाउछे, सायद तिनीहरु त्यहाँ टिक्न नसकेर फर्किएका हुन् । “किन टिक्न सक्थे र तिनीहरु त्यहाँ ? त्यहाँ टिक्न त त्यहीको माटोमा जन्मिन पर्यो नी” उ एकैचोटी आफ्नो आँगन पुग्छे, बारिको कान्ला- कान्ला पुग्छे, माटोको सतहमाथि खडेरी लागेको महशुस गर्छे । फोनमा संगीतमयी धुन गुञ्जिन्छ उ झल्यास्स हुन्छे । अब उसलाई त्यो भाँडोसँग कुनै मोह छैन । झोलामा थन्क्याईदिन्छे त्यसलाई तर पनि त्यसले दुःख दिन छोडेन । नचाहेरै उठाई त्यसलाई कोहि भन्दै थियो- कविता जी तपाइको भिसाकाबारेमा हो, कुरा त सुन्नोस् ” उसले स्वीच अफ गरिदिई । वर्षौ देखि उ त्यही वाक्य सुन्न तड्पिएकी थिइ, तर आज त्यसले उसको जीवनमा कुनै प्रभाव पार्न सकेन । जिन्दगीले कहाँ पुगेर गति बदलिदिन्छ थाहै नपाउँने गरी बदलिसकेको छ उसको जिवनगति पनि । ठिक एक साता अघि उसले अमेरिकामा वकिंग भिसा लागेको थाहा पाएकी हो । त्यति बेला उ सपनाको संसारमा पुग्ने चाहनाले उफि्रएकी थिइ । उसले ठानेकी थिई त्यो खुशी नै उसको जीवनको सबै भन्दा ठूलो खुशी हो तर होईन रहेछ । उ आकासमा छे हावा जसरी बगिरहेकी छे उ अहिले । वषौंपछि उ घर फर्किदै छे सधैंको लागि । आज विहान टिभी नखोलेको भए उसको जीवनले यसरी अर्को मोड लिने थिएन होला । धन्य ! सूचना प्रविधिको तिब्र विकासले गर्दा संसार कति सानो बनाईदिएको छ । तर पनि उसको जाजरकोटमा भने सिटामोल मात्र पनि छैन । अनि एक वर्ष देखि उसले खोजेको त्यो ठूलो खुशी “अमेरिकन भिसा ” पनि तुच्छ हुन्छ उसको खुशीको अगाडि । आज उ आफू जन्मिएको, हुर्किएको र अक्षर सिकेको त्यस माटो छुन जाँदैछे । त्यसको अगाडि अरु सबै खुशी गौण ठानी उसले । ठिक एक दिन अघि उसको जिन्दगी के थियो । सोच के थियो ? समयको शक्तिशाली भूमिकालाई उसले स्वीकारीरही र पुगी एउटा भ्रमपूर्ण खुशीले उपि|mएको त्यस क्षणलाई खोतल्न ।
हो, गएको साता मात्र ! मोवाइलमा घण्टी बज्यो । लापरवाही साथ उसले उठाएकी थिई -कविताजी तपाईको भिसा लाग्यो ।
सुन्नासाथ ऊ एकपटक चिच्याई -आहा ! अनि देख्न थाली प्रकृति पनि उल्टो गतिमा हिडिरहेको । आकाश ऊ नजिक आउँदैछ, उ त्यसलाई छोइरहेकी छे, हिमाल केही फैलिदिन्छ उ त्यस माथि चढेर सारा देश हेरिरहेकी छ, सागर बग्दै आउँदैछ उसको समिपमा, ऊ सहजै त्यसमाथि तैरिदैछे र पारिपट्टी डुब्न लागेको घाम सुम्सुम्याउने अभ्यास गर्दैछे । तरङ्गति हुनपुग्छे उ आफैसँग । आफ्नै बशमा छैन उसको मन यतिखेर । खुशीले उसलाई अर्कै दुनियाँमा पुर्याएको छ । एकैचोटी ऊ आत्तिएर आईपुग्छे आफ्नो स्टडी रुममा । कम्प्युटर खोलेर सन्देश लेख्छे- ‘सूर्य ! आज सबै भन्दा ठूलो खुशी पाएको छु ! अन्त्यमा भगवानले सुनेछन् । भिसा लाग्यो । मलाई थाहा छ तिमी यतिबेला मस्त निद्रामा छौ । मलाई कल गर है” खुशी बाड्न उसले साथीहरु भेला गरी मिठाई बाँडी र बाँडी आफ्नो जिन्दगीको उद्देश्य पनि ! त्यो सूर्य थियो । उसको खुशी । तीन वर्ष अघि अमेरिका पुगेर उसलाई मायाका सन्देश पढाईरहने एउटा पागल प्रेमी ! स्टाफ नर्स पढ्दा पढ्दै बाटो पर्खिरहने त्यस भद्र युवकले उसको सबै कुरा चोरिसकेको थियो । थाहै नपाई सूर्य उसको जीवनको हिस्सा बनेको थियो । उसैको लागि नर्सिङ्ग पढ्न जाँगर चलाएकी थिई उसले । कसैको प्रेरणा थियो भने त्यो सूर्य नै थियो । कसैको सहारा थियो भने ऊ बसेको त्यो सिङ्गो घर जहाँ उ सातवर्ष अघि त्यस घरकी मालिकनीसँग केही सर्तमा त्यहाँ आएकी थिई । एकपल्ट आफ्नो धरातल सम्भिmन पुग्छे उ । ‘कस्तेा दुखको जीवन छ
जाजरकोटमा । बाँच्नै नसकिने । खानकै लागि मरिमेट्नु पर्ने ।’ एसएलसी जिल्ला टप नगरेकी भए उ यतिखेर त्यस रुखो भूमिमा के गर्दै हुन्थी आफै सोच्न सकिरहेकी छैन । अनिश्चित भविष्यप्रति अल्झिरहेका बेला छिमेकी लाहुरेनीले उसका छोराछोरी पढाइदिन आग्रह नगरेकी भए आज उ यस ठाउँमा हुने थिइन भन्ने तथ्यलाई उसले मनन् गरिरही । लाहुरेनीको पछि लागेर राजधानी आइपुग्दा अब के गर्ने उसको चिन्ता बढेको थियो । त्यही टीभीले छात्रवृत्तिको सूचना निकालेको भरमा उसले नर्सिङ्ग पढ्ने मौका पाएकी हो । लाहुरेनीले विहेका बारेमा घचघच्याई रहँदा उ भने सुर्यको त्यही आवाज सुन्न पुग्थी । ‘कविता बिई नर्सिङ्ग गर्यौं भने अमेरिकामा वर्किङ्ग भिसा मिलाउन सकिन्छ” । एउटै मात्र उद्देश्य थियो उसको -पढ्ने । पढाई सकेर ऊ भिसाका लागि दौडिरहेकी थिई । कहिले कहाँ त कहिले कहाँ ।
आखिर उसलाई पुग्नु थियो सपनाको संसार जहा उसको आफ्नो दुनियाँ छ, अर्थात सूर्य । अनि सूर्यको त्यस परिवारको सदस्य बन्ने अभ्यासमा सबै कुरा सिक्दै गई । ड्राइभिङ्ग, स्वीमिङ्ग, नृत्य, पाकशिक्षा अब उसले नसिकी नहुने कुरा ठान्थी ऊ । कहिलेकाही ऊ निक्कै ठूलो खाल्डोमा खस्न लागेको ठान्थी आफूलाई । त्यस सम्भ्रान्त परिवारप्रति उसलाई कुनै चाहना छैन ती सबै उसले सूर्यका लागि गरेकी हो । कहिलेकाहीँ आफ्नै प्रेम ऊ गलत कदम ठान्थी त्यतिबेला सूर्यले सम्झाएको हुन्थ्यो ‘हेर कविता यो त भगवानको देन हो” एउटा अबोध, निर्दोष बालकले जस्तै बोलेका सूर्यका वाक्यले उसलाई विचलित बनाउथ्यो । अनि विज्ञान र समाजको लेखाजोखा गरेर ऊ भौतिकवादका कुरा अघि सार्थी । तर सूर्य झन बहकिदै जान्थ्यो – तिमी कसरी विरामीको सेवा गर्छ्यौ ? कहिलेकाहिँ त तिमीसँग मुटु नै छैन कि जस्तो लाग्छ ।
त्यतिबेला खितिती हाँसेर कुरा टार्थी तर जब ऊ मध्यरातमा व्यूझिन्थी सूर्यको त्यो वाक्यले उसलाई असाध्यै गाल्थ्यो । सूर्यको त्यही निर्दोष, अबोध, भोलाभालापनलई उसले माया गरेकी थिई । सूर्य विदेश गएपछि उसलाई शून्य भएको थियो । जाने अघिल्लो दिन ऊ सूर्यका कुरा सुन्दै थिई “तिमीले बिई नर्सिङ्ग गर्यौं भने मलाई तिमीप्रति गर्व गर्ने ठाउँ हुन्छ । तर तिमीले आफ्नो लागि नै यो गर्नु पर्छ । त्यहाँ सजिलै काम पाउन सकिन्छ।”
भिसा लागेको खुशीले रातभरी उ निर्धाइन । कहिले विहान हुन्छ भन्ने लागि रह्यो । लाहुरेनी देश बाहिर भएकाले उसले त्यो खबर सुनाउने मान्छे भनेको उसका साथीहरु मात्र थिए । खुशी बाँड्ने बहानामा उसले सूर्यको नाउ लिइरही । बधाई पाइरही । मिठाईको प्याकेट उसको हातमा देखेर उसको खुशीको अन्दाज लगाउनेले भन्ने गर्थे “अब तैँले देशको माया मार्ने भईस” । खुशी त बाँड्नै पर्छ, उ छिमेकी कहाँ पुगी । ‘कस्तो महल हो यो, सबैतिर सुन्यताले आफैलाई खाउला झै गर्छ ।’ उ गेट खोलेर भित्र पसी तर उसले सोचे जस्तो एकान्त थिएन आज त्यहाँ । धेरै मान्छे जम्मा भएका छन् । ऊ खुशी भई । सजिलै घरका मान्छेसँग भेट हुने पर्यो भनेर उ अघि बढी । त्यो घरको हुकुम चलाउने मुमा -हजुरआमा) छेउ पुगेर ऊ निहुरी ।
– कविता तिमी कति भाग्यमानी कस्तो समयमा आईपुग्यौं । हेर न आज सूर्यको केटीका बारेमा छलफल भएको हो । ठूलै रमाइलो थियो, आउ खुशीयालीमा तिमी पनि केही खाउँ ।
ऊ झरनाबाट एक्कासी खस्न पुगी । उसको हातको मिठाईहरु सबै झरेर पोखिए । निहुरिएर उ त्यसलाई टिप्न थाली । फोटोमा सूर्य एक अपरिचित केटीसँग दुवोको माला लगाएर भित्तामा झुन्डिएको छ ।
ऊ सुन्दैथिई -सूर्यको साथी हो नी, यिनीहरु खेल्दा पनि बिहेको खेल खेल्थे सानोमा ।सूर्य त नाई भन्दै थियो ……… ।
अरु कुरा उसले सुनिन । सूर्यको खुशीमा उ पनि सामेल भई आखिर ! मुखमा सुगन हालेर उसले सूर्यलाई शुभकामना दिइरही ।
कम्प्युटर खोलेर इनबक्स हेर्न थाली । सूर्यले लेखेको छ “कविता मलाई माफ गरिदेउ है । ” सायद आज ऊ त्यस घरमा नपुगेकी भए सूर्यको त्यो वाक्यले उसलाई अर्कै मोडमा पुर्याउँथ्यो । सूर्यको त्यो अवोधपनलाई उसले फेरि पनि माया गरीरही । आफ्नो हुकुमी बाबुका सामुन्ने निन्याउरो अनुहारमा सुर्यलाई देखि उसले । कसरी सूर्यले यसलाई स्वीकार गर्दै गयो होला ? उ प्रश्नमाथि प्रश्न छर्न थाली । तर अब के गर्ने ? हिजोको खुशी अचानक ध्वस्त भएको छ । युद्ध पछिको मैदान भएको छ उसको दिनचर्या यतिखेर । टिभी खोलेर समाचार हेर्न बसी ।
पहिरोमा मान्छेहरु विचल्ली परेका छन् । घरबार विहीन भएका छन् । ऊ एक पल्ट आफ्नै जाजरकोट पुग्छे । सँधै खाद्यान्नको अभाव । सरकारले चामल पठाउछ भनेर पर्खिएर बसेका गरीव, निरीह अनुहार उसका अगाडि आइरहे । अचानक टीभीमा अर्कै दृष्य बदलिन्छ । थप सात जनाको मृत्यु ! यसपाली जाजरकोटमा झाडापखालाबाट मर्नेको संख्या धेरै पुग्यो । ऊ झस्केर उठी । उसको आँखाले देख्दै छ -उ पिठ्यूमा आमालाई बोकेर स्वास्थ्य सिविरतिर उकालो चढ्दैछे । सुस्ताएको उसको अनुहार अनि आफ्नो पछि पछि सानो भाई ! मुटु छामेर हेरिरहन्छे । त्यो दृश्य शिविरमा सुताईका धेरै मान्छेहरु ! आधा त लास जस्तै छन्, सायद मरेका हुन् या मर्नका लागि त्यहाँ आईपुगेका हुन्, मर्नका लागि ती बाँचिरहेका हुन् या बाँच्नका लागि मरिरहेका हुन्, उसले भेउ पाउन सकिरहेकी छैन । सुकिला लुगा लगाउनेहरु यताउता गर्दैछन् । दृश्य बदलिए पनि तीनै अनुहार, चाउरिएका, उदासिएका, निस्सासिएका अध्यारोमा उसले देखिरही । उ सुन्दैछे, दृश्यमा खल्याङ्ग बल्याङ्ग छ । हेलिकोप्टर आउँदै छ, औषधि र खाद्यान्न लिएर । त्यसैमा फर्किने योजना बुन्दैछन्, केही । ती यतैबाट गएका हुनुपर्छ । उसलाई स्पष्ट हुन सजिलो बनाइदियो तीनका आक्रोशले । ती फर्किने चाँजोपाँजो मिलाउँदै रहेछन् । दृश्य बदलियो, उसले देखि, सास फेरेर बाँचिरहेका केही अनुहार । सहारा खोजिरहेका उदासी आँखाहरु । मुख सुकेर बोल्न नसकेका अव्यक्त आवाजहरु । केही भन्न खोजिरहेका प्रश्नवाचक आँखाहरु । हात पसारेर जिन्दगीको भिख मागिरहेका माग्नेहरु ।
ऊ घाँटी समात्छे आफ्नो । गला अवरुद्ध भएको छ । सायद त्यो पीडा हो या क्रन्दन हो । ऊ देख्न थाल्छे त्यस चलायमान चित्रमा उसले सम्भिmन सक्ने अनुहारहरु । आफ्नी आमा, छिमेकी काका, पल्लो गाउँकी धमिनी, अन्तरे मामा, ठुली फुपु, मानेदर्जी, आफ्नै बडाबा, पसले फुपा , मितिनी दिदी र उसकी टुहुरी छोरी ! कोही त छैनन् अब गाउँमा । सबैलाई हैजाले लग्यो क्यारे ! या त ती चिहान नजिकै एक्लै – एक्लै लडेका हुनुपर्छ या त ती मर्नका लागि कहीँ सुस्तरी स्वास फेरिरहेका हुनुपर्छ । उ आत्तिदै उठ्छे ।
जीन्दगीमा कहिल्यै केही यसरी वितेको थिएन उसका लागि तर आज वित्न लाग्दैछ । दराजमा कोचेको एउटा ठूलो झोलामा उ के के खाँद्दैछ उसैलाई थाहा छैन । भरिएको गला त आखिर सुस्ताउन खोजिरहन्छ । त्यसले बाटो खोज्दै भक्कानो छुटाउँदैछ ! र ऊ रुन्छे सुस्ताउने गरी । एउटा स्वस्फुर्त अठोटले उसको मन बदलिएकोछ र उचाल्छे झोला । यतिबेला ऊ सम्भिmदै छे -यो त विदेश जानका लागि किनेको झोला हो । झोला किन्न जाँदा उसलाई साथीले भनेकी थिई – कविता तँ विदेश जाँदैछेस ! हेर देशलाई तँ चाहिएको छ ।” ऊ मुस्कुराउँछे । खुसीका आशु चुहिदैछन् तपतप ! ऊ थाप्छे अँजुली ।
– कति मूल्यवान छ यो खुशी ! अहँ म देश छोडेर कतै जान्न र जान पनि त सक्दिन
अनि निस्किन्छे ऊ ठूलो झोला र एक अँजुली खुशी लिएर जाजरकोटको यात्रामा । आज उसलाई खोजेको छ आफ्नै जाजरकोटले । ‘खुशी त पानीको फोका जस्तो न हो, कति सजिलै फुटिदिन्छ । तर त्यो खुशी कहिकतै फुट्न दिने छैन’ उ होरियार हुन्छे । जहाज आकासमा छ , उ आकाशबाट चिहाउँदैछे धर्तीमा । उसले थापेको आँजुलीमा आफ्नै अनुहार देखि उसले । कति सङ्गलो छ आँशु साच्चै निश्चल, निर्मल, निष्कपट ।
(स्रोत : Ejamana.com)