कथा : रातो डायरी

~लक्ष्मी पोखरेल~

छितिज र रातो घामको मिलन भएको गोधुली साँझ थियो, चराहरु बास बसिसकेका थिए । पुर्णिमाको रात चाँदनी को आगमन हुँदै थियो म भने आफ्नै सोंचमा गहिरिरहेकी थिएँ । बार्दलीमा बसेर त्यसै त्यसै टोलाईरहेको थिएँ । “मलाइ अतितको छायाँले छोड्दैन, जहिल्यै मनमा एक किसिमको सन्त्रास छाइरहन्छ, म के गर्ने होला, मेरो यो वर्तमानले कस्तो भबिष्य निर्माण गर्छ होला भन्दै म मेरो अन्तर आत्मासंग एक्लै गफ गरिरहेकी थिएँ । अनायासै म कता कता बेहोसी बाट होस् खुलेको जस्तो भएँ त्यसै बेला मैले आँगनमा एक जना बुढा बा (करिब ७५ वर्ष जतिको ) यता उता केहि खोजे जस्तो, केहि सोचे जस्तो गरिरहेको देखें त्यसैले ती बुढाबालाई केहि बेर नियालेँ त्यसपछि मैले प्रश्न गरें ” हजुरले कसलाई खोज्नु भएको ? ” अनि बुढबाले भने” कसैलाई पनि होइन ।”

मैले फेरी पनि ति बुढाबालाई नियालेर हेरें निकैबेर गौण गरिसकेपछि बुढाबासंग मैले आफ्नो समस्या भन्न आग्रह गरें । त्यसपछी अप्ठ्यारो मान्दै उनले भने” नानि हुनत मैले बास खोजेको, खोइ कसरी भनौ ,कसलाई भनौं भनेर यसै टहलिरहेको छु, सक्छौ भने घरमा ठुलो मान्छे को हुनुहुन्छ बोलाइदेउ न है ” मैलेभने ” हेर्नुस घरमा ठुलो मान्छे त हुनुहुन्न म एक्लै छु, बरु हजुर एक्लै की अरु कोहि साथि पनि हुनुहुन्छ ?” उनले जवाफ दिए” – नानी म अनि मेरो श्रीमती हामि दुई जना छौं ” साँझमा आएका पाहुना देउता समान भन्छन त्यसैले मैले भने “श्रीमती लाई लिएर आउनुस न त आजको रात यतै बास बस्नुस्” मेरो कुरा सुनेर बुढाबाले नानि को जय होस् भन्दै आफ्नो भएको पोका पन्तरा र श्रीमतीलाई लिन गए ।

जुनेली रात आकासमा टह टह जुन लागेको थिए । शितल अनि उज्यालो छाएको थियो हाम्रो झुपडी राजमार्गको छेउमै भएकोले बेला बेलामा मोटर गाडीको ट्यां ट्यां र टुं टुं को आवाजले मेरो सोचाइलाई बिथोल्ने गर्थ्यो । आमा बाबाले भाइलाई लिएर जानुभएको पनि १५ दिन पो बितिसकेछ । खोइ कस्तो भयो होला अझै सम्म पनि केहि अत्तो पत्तो छैन, मेरो चकचके भुन्टेलाई कस्तो हुने होला, के भैरहेको होला सोचिरहेकी थिएँ । त्यहि बेला बुढाबाले नानी भनेर बोलाए फेरी म आफ्नो तन्द्रा बाट ब्यूझिएँ र उनिहरुलाई भान्साकोठा छेउकै सिंढी भएको कोठामा सुक्कुल बिछ्याइदिएँ अनि आराम गर्न भने ।

साँझको बेला बुढा बुढी मान्छेलाई कसरी भोकै राख्नु अनि यति बेला के पो बनाएर खान दिउँ मनमा कुरा खेल्यो यसो सोचें “मेरो लागि पकाएको खाना उनिहरुलाई दिएर म चाहिं दहि चिउरा पो खानु पर्यो ।” खाना नखाई बाहिर रमिता हेरेको पनि जाति नै भएछ भन्दै मन मनै सोचें । घरमा दुहुना गाई भएकोले केहि सजिलो पनि भयो । बुढाबाले मलाइ सोधे” नानी अनि ठुला मान्छेहरु चाहिं कहाँ हुनुहुन्छ त ? नानी एक्लै घरमा ? ” बुढाबाको कुरा सुनेपछी मैले भने “मेरो ठुलो भाइ बाहिर बसेर पढ्छ अनि आमा बुबा चाहिं सानो भाइ बिरामी भएकोले औषधी गर्न काठमाण्डौ लिएर जानु भएको छ । आमा बाबा जानुभएको पनि १५ दिन भैसक्यो केहि अत्तो पत्तो छैन । भाइलाई कस्तो हुँदैछ खबर पनि गर्नु भएको छैन त्यसैले मन अत्तालिरहेको छु । राति सुत्न एक्लै डर लागेकोले छिमेकी दिदि साथि आउँनु हुन्छ । मेरो कुरा सुने पछि, बुढाबाले भने” केहि हुँदैन नानी धैर्य गर सबै ठिक हुन्छ। ”

एक छिनको भलाकुसारी पछि मैले उनिहरुलाई खाना खान अनुरोध गरें तर उनिहरुले अस्विकार गर्दै भने “हामि आफैं पकाएर खान्छौं तिमि खाउ, नानी तिम्रो खाना हामीले खाए पछि तिमि के खान्छौ नी ?” बुढाबाको कुरा सुनेर मैले हाँस्दै भने ” म पनि खान्छु कहाँ भोकै सुत्छु र ,हजुर हरु खाना खानुस म चाहिं दहि चिउरा खान्छु मेरो लागि खानाको स्वाद पनि फेरिने हैन त, मेरो कुराले बुढाबा खिसिक्क हाँसे तर आमै भने हाँसिनन् आमैको हरेक क्रियाकलाप लाइ मैले नजानिँदो ढंगले नियालिरहेकी थिएँ ।
खाना खानको लागि मैले उनिहरुको अगाडि आंखोरामा पानी राखिदिएँ | उनिहरु हात धोएर खाना खान भान्सा कोठामा आए । मैले जे पकाएको थिएँ त्यो अनि दुध, दही र घिउ पनि राखिदिएँ । बुढाबा र आमैले मलाइ पनि संगै खान आग्रह गरे, त्यसैले मैले पनि उनिहरु संगै दहि चिउरा खान थालें । त्यो बेला बुढाबाले मेरो परिवारको बारे धेरै कुराहरु सोधे, कुरा गर्दा उनले विच विचमा अंग्रेजी शब्द पनि मिसाएर बोल्थे | खाना खाने क्रममा पनि मैले उनिहरुलाई नियाली रहेकी थिएँ । ” उनिहरुको पहिरन निक्कै महँगो थियो, बुढी आमैले ओढेको पछ्यौरी रेसमी र उनको चौबन्दी मुगाको थियो तर मैलो अनि ठाउँ ठाउँ मा फाटेको थियो । उनिहरुलाई देखेर मलाइ अचम्म लागिरहेको थियो “यति बृद्द अबस्थामा कहाँ हिंडेका होलान, अरु आफन्त छन् की छैनन्, यस्तै यस्तै मनमा तर्कना आइरहेको थियो । खाना खाँदै गर्दा बुढी आमै रुन थालिन, म झन् असमन्जसमा परें, मेरो मनमा अनेकौं प्रश्नहरु उकुसमुकुस भएर आयो तर खाना खाएको बेला नसोध्नु उचित सम्झेर चुपलागें । खाना खाइसके पछि बुढी आमैको थाल पनि बुढाबाले नै उठाएर बाहिर जान लागे तर थाल सफा गर्न मैले दिइन । उनीहरु हात धोएर फेरी अघिकै ठाउँमा गएर बसे त्यति बेलासम्म पनि आमै भने सुँक्क सुँक्क गर्दै थिइन ।

म भान्साको धन्दा गर्न थालें । गाईलाई घाँस पराल पनि दिनु थियो त्यसैले भान्साको काम सकेर बस्तुको धन्दा गर्न थालें । बस्तुको धन्दा सक्दा करिब रातिको ८ बजिसकेको थियो, काम सकिएपछि म पनि बुढाबा र आमैको नजिकै गएर बसें । मेरो मनमा अनेकौं प्रश्नहरु उव्जिइरहेको थिए, तर सोधौँ की नसोधौं दुबिधामा थिएँ तैपनि अप्ठ्यारो मान्दै सोधें ” हजुरहरु कहाँदेखि आउनु भएको ?,काहाँ हिंड्नु भएको अनि आफन्तहरु छन् की छैनन् ? बाबा हजुर त अंग्रेजी पनि बोल्नुहुँदो रहेछ निक्कै पढ्नुभएको छ जस्तो लाग्यो यदि भन्न मिल्छ भने भन्नुस न है” मेरो कुरा सुने पछी बुढाबाले भने ” नानी मेरो लामो काहानी छ त्यहि काहानी पुरा गर्न यसरी अनिश्चित यात्रामा हिंड्दैछु । मेरो सबै कहानी सुनाउँन सायाद म नसकुँला, मेरो आँखा पानीले भरिएला फेरी, मेरो बोलि पनि अड्किएला बरु यो डायरी पढ यसमा मेरो सबै काहानी लेखेको छु भन्दै झोला बाट रातो डायरी झिकेर मेरो हातमा राखिदिए ।

मैले त्यो डायरी पल्टाएर कथा पढ्न थालें, कथा यसरr सुरु हुन्छ . . . म काठमान्डौमै सम्पन्न परिवारमा जन्मिएको एक्लो छोरो थिएँ । धेरै सुख सयलमा हुर्किएको थिएँ त्यसैले मलाइ कुनै चिजको कमि थिएन । मैले राणा कालमै म्याट्रिक पास गरेको हुँ । मेरो संगत पनि राणाहरुकै थियो । मैले खरिदारको जागिर खाएको थिएँ, त्यति बेला मसंग जवानी, रुप अनि सम्पत्ति सबै कुरा थियो त्यसैले मलाइ लाग्थ्यो मैले जीवनमा कहिल्यै रुनु पर्दैन “मसंग के कमि छ र ” वास्तबमै मेरो जिन्दगी त्यतिखेर धेरै खुसी र सुखी थियो, उँडदै गरेको चरालाई पनि समाउन सक्छु जस्तो जोस थियो । मैले मध्यम वर्गिय परिवारकी छोरीलाई मन पराएको थिएँ, उनि त्यति बेला मेरै घर छेउ डेरामा बस्थिन, उनि र उनकी मामाकी छोरी पद्म कन्या कलेजमा पढ्थे । मैले मेरो बाबा आमा समक्ष उनिसंग विवाह गर्ने प्रस्ताब राखें, पहिले त उहाँहरुले इन्कार गर्नु भयो तर केटी राम्री र सुशिल देखेपछि भने मन्जुरी दिनु भयो । मैले सोंचे जस्तै नै हुँदै गएको थियो अन्त्यमा मेरो विवाह उनैसँग भयो । मेरो विवाह भएको करिब २ वर्ष पछी बाबा बित्नु भयो, त्यति बेला मलाइ ठुलो बज्रपात पर्यो, तैपनि मान्छेको चोला जस्तो पर्यो उस्तै भोग्नु पर्दो रहेछ, फेरी बाबा बित्नु भएको ३ वर्ष पछी आमाले पनि यो संसार बाट बिदा लिनु भयो अब भने घर धेरै नै सुन्य जस्तो लाग्न थाल्यो । जे भए पनि एउटा कुराले चाहिं म ढुक्क हुन्थें किनकी सारैनै सुशील श्रीमती पाएको थिएँ । मेरा तामाका मुना जस्ता तिन भाइ छोरा थिए, उनीहरुलाई देख्दा म दंग हुन्थें । छोराहरु मेरो सपनाको संसार थिए । हेर्दा हेर्दै छोराहरु पनि कत्ति छिटो ठुला भए, तिनै जनाले पढाई सकेर जागिर खान थाले अनि म भने रिटायर भएर घरै बसें ।

दिनहरु खुसीसंग बित्दै थिए त्यति बेला मलाइ लाग्थ्यो मेरो घर नै स्वर्ग हो तर सबै मिथ्या रहेछ, मैले त सपना पो देखिरहेको रहेछु । समयले मलाई यो बुढेसकालमा ठुलो झड्का दिएर सपना बाट बिउँझाइदियो । तिनै भाइ छोराका विवाह भएर नाति नातिना पनि भैसकेका थिए । तिनै नाति नातिन संग खेल्न पाउँदा बुढिया र म दंग पर्थ्यौं । सबै छोराहरुको राम्रो बन्दोबस्त थियो साथै उनीहरुको जागिर पनि राम्रो दर्जामा थियो । त्यो बेला मेरो घर संसार देखेर म कत्ति खुसि थिएँ । एकदिन अचानक मेरो ठुलो छोराको कुराले म छाँगाबाट खसे झै भएँ । किन भने उसले छुट्टिएर बस्ने कुरा गर्यो अनि मैले किन छुट्टिनु पर्यो भनेर प्रश्न गरें । “बाबा अब हामी दाजु भाई अलग बसेकै जाति हुन्छ” – उसले सहज रुपना उत्तर दियो । उसकी आमाले पनि छोराकै कुरामा सहि थप्दै भनिन् ” छोराहरु पो हाम्रा हुन् तर बुहारीहरु त अर्काका छोरी हुन्, कतिन्जेल मिलेर बस्लान त्यसैले फाटो हुनु भन्दा अगाडि नै अलग भए आफ्नै खुसीले ब्यबहार गरेर बस्छन, फेरी घर र भान्सा न अलग हो मायाँ, ममता र एकता नै अलग हुने त होइन नि बरु झन् बढि पो हुन्छ त” । मलाई पनि उनको कुरा ठिकै लाग्यो त्यसैले कानुनी रुपमा उनीहरुलाई अंश दिएँ । हामीलाई अलिकति मात्र जिउनी राखेर तिनै भाइ छोरालाई १३,१३ लाख नगद अनि बिरगंजको जग्घा १०, १० बिघा र स्वयम्भुको २,२ रोपनी जग्गा भागवण्डा लगाइदिएँ त्यस्तै गरेर मूल घर चाहिं ठुलो छोरालाई र माइलो अनि कान्छालाइ भने संगोल बाटै ४, ४ कोठे घर बनाइदिएँ ।

मूल घरमा ठुलो छोरा बस्ने भएपछी हामी पनि ठुलो छोरासंगै बस्न थाल्यौं । शुरुका २,४ महिना त ठिकै भयो त्यस पछी हामी बुढा बुढी धेर हुन थाल्यौं, अति नै हेला भयौं त्यसैले २,४ महिना माहिला छोराकोमा गएर बस्यौ । त्यहाँ पनि १ महिना मात्र के बितेको थियो छोराले अब कति बस्नु हुन्छ ? कहिले फिर्नुहुन्छ घर बाबा आमा भनेर सोध्न थाल्यो, उता बुहारी पनि झर्को र फर्को गर्न थालिन । छोरा बुहारीको त्यो ब्यबहारले हामी बुढा बुढीको कलेजो फाट्यो । हामीलाई एकछिन पनि त्यहाँ बस्न मन लागेन । बुढी कोठामा पसेर सुँक्क सुँक्क गर्दै रुन थालिन, मैले उनलाई फकाउँदै भने “यसरी पनि हुन्छ नरोऊ उनीहरु आला काँचा छन् हामीले सहनु पर्छ” तर मेरो पनि मन त कहाँ मानेको थियो र । त्यसैले मैले कान्छो छोरालाई फोन गरेर हामी भेट्न आउंछौं भने । भोलि बिहानै हामीले माइलो छोरासंग बिदा माग्यौं, उनीहरुले खुशी हुँदै बिदा गरे । त्यसपछी हामी कान्छा छोराको घरमा गयौं ।

हामी कान्छो छोराको घर पुग्यौं र साँझमा खाइ पिई गरिसके पछि छोरासंग कुरा राख्यौं “बाबु हामी तिम्रो ठुलो दाइको घर बस्न सक्दैनौं, माइलो दाइको मा त झन् बस्न सक्ने अबस्था नै भेटेनौं, त्यसैले अब हामी काहाँ जाने के गर्ने ? तिमि के भन्छौ की यहीं बस्दा हुन्छ की “मेरो कुरा सुनिसके पछी कान्छो छोराले भन्यो ” हुन्छ बाबा तर हामी ले हजुरहरुलाई हेरे पछि हजुरहरुको जिउनी पनि हाम्रो हुनुपर्छ नत्र त कसरी हुन्छ “उसको कुराले मेरो मनमा भूइंचालो ल्याइदियो, बुढीले पनि आखाँ भरी आँसु पार्दै मलाइ हेरिन् तर मैले मेरो मनलाई दह्रो बनाउँदै भने “हुन्छ बाबु भोलिनै हाम्रो जिउनी तिम्रो नाउँमा बकस गरिदिन्छु “मैले छोरा संग यति भनि सक्दा मेरो छाती ढुंगाले हानेको जस्तो भएको थियो ।

मलाइ रातभरी निन्द्रा परेन । बिहान भएपछि कान्छो छोरासँग वाकिलकोमा गएर हाम्रो जिउनी कान्छो छोराको नाउँमा गरिदिएँ । अर्को दिन हामी बुढा बुढीनै ठुलो छोराको घर गयौं र अब देखि कान्छो छोराकोमा बस्छौं भनेर त्यहाँ देखि बिदा भयौं त्यस पछि कान्छो छोराको मा बस्न आयौं । यहाँ पनि १,२ महिना त ठिकै भयो, त्यस पछि बुहारीले आफ्नो व्यहोरा देखाउँन थालिन । मैले बजारबाट तरकारी किनेर ल्याउनु पर्ने, बारी खन्नु पर्ने अनि बुढीले भने घरको सबै धन्दा गर्नु पर्ने । काम गर्न नसकेको दिन खान पनि पाइंदैन थियो । यो बुढेसकालमा बुढीले घर पुछेको र भाँडा मोलेको देख्दा मेरो कलेजो टुक्रा टुक्रा हुन्थ्यो । जिन्दगीदेखि दिक्क लाग्थ्यो । बिचरा उमेरमा कहिल्यै भाँडा माझ्नु परेको थिएन, २ जना काम गर्ने मान्छे थिए, मैले उनलाई रानी बनाएर राखेको थिएँ तर आज यस्तो दिन मैले देख्नु परिरहेको थियो । बिचरी मलाइ हेर्दै आँखा भरी आँसु बनाउँथिन । मैले कसरी हेर्नु होला उनको यस्तो अबस्था । हामी दुई जनामा एक जना यो संसार बाट जाने बित्तिकै हाम्रो के हाल होला, कमसेकम अहिले दुख सुख बाँड्न त पाएका छौं यस्तै चिन्ता ले मालाई सताईरहन्छ ।

एक दिन मेरो कान्छो छोराले बुहारीसंग भन्यो ” तिमीलाई घरको काम गर्न कठिन भएको छ, म काम गर्ने मान्छे खोजिदिन्छु ” अनि बुहारीले भनिन् “मैले सबै काम गरेकै छु नि जाबो भाँडा मोल्न र घर पुछ्न पनि मान्छे राख्नु पर्छ र ? मैले सबै सम्हालेकी छु नि, भयो पर्दैन ।” बुहारीको कुराले म छक्क परें । छोरा संग एउटा कुरा र हामीलाई गर्ने ब्यबहार अर्कै थियो, के गर्नु छोरालाई सुनाउँ भने उसको घर बिग्रेला भन्ने डर, फेरी लान्छना हामीलाई आउला त्यसैले हामी छोरासंग केहि भन्न सक्दैन थियौं ।
एक दिनको कुरा हो, मेरो मामाको छोरा ( भाइ ) मधेस बाट हाम्रो घरमा आए । अच्चानाक दिउँसो घरमा आउँदा हाम्रो हालत देखेर उनि छक्क परे, त्यसपछी उनले मलाइ एकान्तमा लगेर भने “दाइ यहाँ बस्न समस्या छ भने म संग मधेस हिंड्नुस” मैले त्यो बेला केहि भन्न सकिन । धेरै बेर सोंचेर उनलाई भने “हुन्छ भाइ हामीलाई अतिनै गाह्रो भयो भने तिम्रोमा आउंछौं तर अहिले चाहिं तिमिसंग जान मिल्दैन । भाइ २,४ दिन बसेर मधेस फर्किए त्यसपछी हाम्रो हालत झन् झन् बिग्रंदै गयो । पिर र चिन्ताले धेरै गलिसकेका थियौं । एकदिन निन्द्रा लागेन धेरै सोचें,यसरी छोरा बुहारीको नोकर हुनु भन्दा त पूर्व पथरी नै मामाको घर जानु पर्यो जस्तो लाग्यो । मामा नभएर के भयो त मेरो खेत छ फेरी भाइले पनि आइज भनिरहेको छ । अब त्यहि खेत नै मेरो साहारा हुनेछ त्यसैले म मधेस नै जानुपर्छ ।

जव म बिरगंज मा जागिर खान्थें त्यो बेला मैले मेरो मामालाई मोरङको पथरीमा ५ बिघा जमिन किनिदिएको थिएँ । मेरो मामाले धेरै दुख पाउँनु भएको थियो । मामा घर पट्टी आफन्त भनेको त्यही एउटा मामा हुनुहुन्थ्यो । मेरी आमाले आफ्नो भाईलाइ धेरै मायाँ गर्नु हुन्थ्यो र भाईले दुख पाएकोमा असाध्यै दुख मनाउ गर्नुहुन्थ्यो त्यसैले मैले मामाकोलागि जग्गा किनिदिएको थिएँ । सायद आजको मेरो यो अबस्था बारे त्यति बेलानै समयलाई थाहा थियो होला । मैले बुढीसंग सल्लाह गरें “तिमि पिर नगर हाम्रो जग्गा पूर्व पथरीमा छ, त्यो कुरा छोरा हरुलाई थाहा छैन, उनीहरुले मामाकै हो भन्ने सोचेका छन्, यो कुरा मामाको छोरा भाइलाई मात्र थाहा छ तर मैले हाम्रो छोराहरुलाई नसुनाउँनु पछि तिम्रो नाउँ गरिदिन्छु भनेको थिएँ किनकि यिनीहरुले थाहा पाए भने त्यो जग्गाको खोजि गर्छन । जुन बेला जग्गा किनेको थिएँ त्यो बेला मामा को नागरिकता भएको भए सायद मामाकै नाममा पास गरिन्थ्यो होला तर आसामबाट भर्खर आउँनु भएकोले मामाको नागरिकता थिएन । पछि मलाइ कामले फुर्सद नमिलेर त्यतिकै भयो, अहिले त्यो जग्गाको लाल पुर्जा भाई संगै छ । बरु अब त्यतै जाऔं र हाम्रो सेख पछि पाउँने गरी त्यो जमिन भाइलाई बकस गरिदिनु पर्छ । पहिले त छोराहरु छोडेर कसरी जानु भन्दै बुढिले मानिनन् तर मैले सम्झाए पछि मधेस जान राजि भइन ।

भाइलाई फोन गर्दा पनि हल्ला होला भन्ने डरले फोन गरिन अनि घरबाट पनि कसैलाई नभनी जाने निर्णय गरें । आफुले लाउने लुगा साथै अलिकति बिस्कुट र पानी खाने ग्लास अनि २ वटा थाल झोलामा राखेर तयार पर्यौं । आज नाति र नातिनी लिएर बुहारी माइत गएकी अनि छोरा पनि जागिरमा गएकोले यो समय उचित लागेर मैले छोरालाई चिठ्ठी लेखें अनि उसको टेबलमा राखिदिएँ । अब भने मेरो जिन्दगीको सुख दुख की साथि प्यारी श्रीमतीलाई लिएर सदाको लागि यो काठमाण्डौ बाट बिदा हुँदैछु ।
डायरी पढिसक्दा मेरो आँखा आँसुले भरिएको थियो । आँसु पुछ्दै डायरी बन्द गरेर बुढाबालाई जिम्मा लागाएँ, त्यो रातो डायरी झोलामा राख्दै बुढाबाले मालाई सोधे “नानीले अबत थाहा पायौ नी हामी कहाँ जादैंछौं भनेर “मैले इसाराले थाहा पाएको कुरा जनाएँ । बुढाबाले फेरी भने “हेर नानी काठमाण्डौदेखि हामी हिंडेको पनि आज १७ दिन भैसकेछ, के गर्नु अलि अलि गरेर जोहो गरेको १५ सय दाम मात्र गोजीमा थियो त्यो पनि गाडी भाडामा सक्ने कुरा आएन त्यसैले बिस्तार बिस्तार हिंडेर यहाँ सम्म त आइपुग्यौं अब २ दिनमा त पथरी कसो नपुगिएला “बुढाबाको कुराले म भक्कानिएँ, केहि पनि बोल्न सकिन के गर्नु मसंग पनि उनीहरुलाई गाडी भाडा दिने पैसा थिएन । अतिनै नरमाइलो लाग्यो, रात धेरै बितिसकेको थियो त्यसैले उनीहरुलाई अब सुत्नुस भनेर म पनि सुत्न गएँ ।

भोलि बिहान उठेर गाइ दुएँ अनि पाहुना बुढाबा र आमैलाई दुध पिउन दिएँ त्यसपछि जाने तरखर गर्दै बुढाबाले भने “नानी अब यो जन्ममा भेट होला नहोला हाम्रो यो चिनो राख भन्दै शिवजीको तस्बिर मेरो हातमा राखिदिए र फेरी भने बुढा बुढीलाई संधै यस्तै मायाँ गर्नु है “त्यति बेला बल्ल मलाइ सुम्सुम्याउँदै बूढी आमैले भनिन “नानी अर्को जन्ममा मेरो छोरी भएर जन्मिनु है यदि हाम्रो छोरी भएको भए अहिले दुख बिसाउने ठाउँ त हुने थियो “लत नानी राम्रो संग बस्नु है भन्दै उनीहरु म देखि बिदा भएर जबर्जस्ति त्यो बुढो गोडा घिसार्दै पथरीलाई गन्तब्य बनाएर बाटो लागे । मैले उनीहरुलाई पर भौडी डांडासम्म हेरिरहें त्यसपछी बाटो अलिक भिरालो परेकोले उनीहरु ओझेल परे अनि म पनि आफ्नै मनसंग गफ गर्दै घर धन्दाको काम गर्न थालें ।

समाप्त

लक्ष्मी पोखरेल, इजरायल Mar 22, 2012

(स्रोत : Facebook)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.