लघुकथा : दिग्भ्रम

~डा. रवीन्द्र समीर~

Dr Rabindra Sameer

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको भ्रममा पर्दछ । एक टुक्रा मास्क किनेर उसले प्रदूषणसँग लड्न दीर्घायु किनेको सपना देख्छ ।

घामको ताप र हावाको स्पर्शलाई पङ्खा र हिटरसँग साट्दछ । बोसो घटाउन ऊ विहान एक घण्टा मेसिनमा दौडिन्छ तर कुनै देउरालीमा पुग्दैन । विहान एक मुठी र बेलुका एक मुठी राता, नीला, सेता, पहेँला, काला तथा मिश्रति रङ र रूपका चक्की र क्याप्सुलको ब्रेकफास्ट र डिनर गर्दछ अनि अरूलाई स्वस्थ रहन ‘यो खानु’, ‘त्यो नखानु’ भनेर उपदेश दिन्छ ।

बाटो, पत्रिका तथा टेलिभिजनमा देखिने तरुनीहरूको राप र ताप मेट्न उसले शिलाजित र भियग्राका संस्करणमा यौन किन्छ । त्यति मात्र होइन, इसाबगोलको भूमी विना ऊ शौचालय जान सक्दैन । पाखण्डी र शिखण्डीहरूको प्रवचन र भाषणमार्फत् विचार खरिद गर्दछ । अनि दिनभर ऊ ‘भोक, निद्रा, यौन, विचार आदि मान्छेका प्राकृतिक, जन्मसिद्ध तथा नैसर्गिक अधिकार हुन्’ भनेर पण्डित्याइँ छाँट्दछ ।

(श्रोत: मधुपर्क माघ, २०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.