कथा : भन्सारको जागिर

~मञ्जु काँचुली~

भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन। यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र। तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई उहाँको घरैमा बुझाउनु पर्ने रे। अरू कसैले थाहा नपाउनु पर्ने रे । उसकोहाकिमले जागिर दिनुअघि फोनमा हँसिलो स्वरमा सोधेको थियो । अर्थ बल्ल पो बुझ्यो उसले, ”तिमीलाई जागिर दिएर हामीलाई के फाइदा नि ?”

अफिस जाँदा बाटोमा भेटिएको एउटा अर्को साथीले एकै सासमा उत्सुकता, खुसी अनि त्यसपछि निरास व्यक्त गर्‍यो, ”तँ त भन्सारमा रे, हैन ? मोज गर न अब । तेरै छ अब बेला । आफ्ना मान्छे सरकारमा आएको बेलामा पनि मोज नगरे कहिले गर्छस् त । मेरा आफ्ना मान्छे त अहिले कुना लाग्या छन् । कहिले सत्तामा आउने हुन् ? मैले जागिर पाउने कुरो त अब त्यत्तिकै हो ।”

उसले जवाफ दियो, ”अब के गर्छस् त ? स्वतन्त्र

भएर घुम् न, आनन्दले । साथमा बेरोजगार युवा जमात छँदैछ ।”

उसले अरू केही बोल्न सकेन । मनमनै घुटुक्क विरह निल्यो । तीन महिनासम्म एक पैसा तलब नलिई घरपरिवार कसरी मिलाउने हो । उमेरदार स्वास्नी, तोतेबोली बोल्ने छोरी, अधवैँसे आमा, बुढौलीतिर उकालो लागेका बुबा र तिनीहरूका आकाङ्क्षाका ब्ल्याकहोलहरू कसरी पुर्ने होला । उनीहरूका सपनाका बगरहरू कसरी सिँच्ने होला । जागिर के खाइयो, विस्मातै विस्मात् । आमाबालाई छोराबाट धेरै आशा थियो । उनीहरूलाई कति पैसाले नपुगेको हो कुन्नि । मेरो आफ्नो परिवारको आवश्यकता भन्सारको जागिरको भरमा म आफैँले पूरा गर्नु पर्ने रे । अब उनीहरूले सहायता नगर्ने रे । बहिनी र भाइको बिहे गर्नु बाँकी नै छ ।

ऊ एक्कासि झस्क्यो । साथीको प्रश्नको झापडले उसको एकाग्रता भङ्ग भयो, ”के घोरिइराख्छस् Û कतै मीठामीठा योजना त बनाउँदै छैनस् ? भन्सारमा काम गर्ने योग्यता केके हुन् थाहा छ तँलाई ? फटाइँ, बठाइँ, ढटाइँ, झुटाइँ हुन् । अनि फुट, कुट र लुट हुन् । सोझोपन, इमान्दारी, सचाइ र पारदर्शिता चाहिँ अवगुण हुन् । खै तैँले गरी खालास् भन्ने मलाई विश्वास छैन ।”

उसले हतारमा जवाफ दियो, ”लहै, अब पछि लामो कुरा गरौँला । अहिले मलाई आफ्नो भन्सार अफिस जान ढिलो भैसक्यो ।” ऊ सीधा पारामा हाँस्दै सरासर लम्क्यो । उसको साथीले पनि लम्केको उसलाई एकचोटि फरक्क फर्केर हेर्दै आफ्नो पूर्व बाटो उल्टो दिशातिर पाइला अघि सार्‍यो ।

शैक्षिक योग्यताले ग्रेजुएट पार गरे पनि व्यवहारिकतामा ऊ अन्डरग्रेजुयट नै थियो । त्यसमा पनि भन्सार अफिसको मामलामा त बिलकुल अनभिज्ञ थियो, भन्सार अफिसभित्रको तलदेखि माथिसम्मको शृङ्खलाबद्ध धमिलो सञ्जाललाई झण्डै दुई महिनासम्मको अफिस कार्यबाट पनि उसले त्यति राम्रो बुझेको थिएन । ऊभन्दा माथिल्लो एकजना अफिसर प्रायः हरेक दिन जस्तो उसको टेबुलको बाटो गरी सचेतनाका शब्दहरू उसको कानमा पारिदिने गथ्र्यो, ”विस्तारविस्तार सिक्दै जानुहुन्छ । पहिले सबै नौलो नै लाग्छ ।”

एक दिन उसलाई ज्यादै अचम्म लाग्यो । किन यो मान्छे मेरो अगाडि सधँै एउटै कुराभन्दै जाने गर्छ ? सिकाउन चाहिँ केही पनि सिकाउँदैन फेरि । उसलाई चाहिँ कामको अलि राम्रो थाहा नपाएर हो कि, खाली नै बस्नुपर्ने हुन्थ्यो । त्यसैदिन हाकिम साहेबले सबै कर्मचारीहरूलाई एकैठाउँमा भेला गरेर बडो उत्साहित हुँदै भाषण गर्नुभयो, जसलाई मिटिङ परामर्श वा तालिम जेजे संज्ञा दिए पनि उचितै हुन्छ । उहाँ भन्न थाल्नुभयो, ”यस आर्थिक वर्षको पूर्वार्द्धमा गएको वर्षमा भन्दा पच्चीस प्रतिशतले घटी राजस्व सङ्कलन भएको छ । निर्धारित लक्ष्य हासिल गर्न बत्तीस प्रतिशतले राजस्व घटी दर आवश्यक छ । यो अवस्था विश्वमा भएको आर्थिक मन्दीको प्रत्यक्ष असर हो भनी हामीले मानि आएका छौँ । राजस्वमा राज्यले भर पर्नु परेकोले विश्व बजारबाट आयात गरिने र राज्यबाट निर्यात गरिने वस्तुमा भन्सार महसुल बढ्ने अनुमान छ । नाकामा चोरी, तस्करी र अवैध व्यापारलाई व्यवस्थित गरिने छ र यसले राजस्व घटी दरमा सकारात्मक योगदान पुर्‍याउने छ ।”

त्यहाँ बसेका सबै कर्मचारीहरू दाँत चाहिँ नदेखाएर मन भित्रभित्रै मुस्कुराउन थाले । त्यसको झलक उनीहरूका ओठहरूमा प्रतिविम्बित भयो । ऊ भने अलमल्ल परेर मुस्कुराउन सकेको थिएन किन कि उसको अर्थमा हाकिमको भाषण अर्थशास्त्रको सिद्धान्तको विपरीत थियो । उसले बुझ्नै सकेन । त्यसैले त्यतिका कर्मचारी मुस्कुराउँदा पनि ।

त्यो ‘ऊ’ पात्रमा भर्खर भर्खर जागिर खाएको जोस र उमङ्ग थियो । उसलाई अफिसको जस्तोसुकै जटिल कार्य पनि गर्न सक्छु भन्ने आत्मविश्वास थियो किनकि उसको शैक्षिक योग्यताको प्रमाणपत्र राम्रै श्रेणीको थियो । उसको जोस, जाँगर र उमङ्गले उसलाई बारम्बार यही अर्ति र शिक्षा दिइरहने गथ्र्यो, ‘तैंले इमान्दार, चरित्रवान र पारदर्शीको नमूना बनेर देखाउनुपर्छ । बुझिस्, भनी पछि गएर तँ पनि त्यस्तै भन्सारको हाकिम बन्नुपर्छ र अति राम्रा भाषणहरू गर्नुपर्छ ।”

दोस्रो दिनको तालिम चाहिँ ठूलो हाकिममुनिको सानो हाकिमले दिने निर्णय भएको थियो । सानो हाकिमले उसलाई औँल्याउँदै तालिमको सुरूमा भनेको थियो, ”तपाईंलाई चाहिँ विशेष तालिमको व्यवस्था हुनेछ । हाकिमले भन्नुभा छ ।” उसले जिज्ञासा पोख्यो, ”कस्तो विषेश तालिम ? मलाई मात्रै ? किन र ?”

”हो विशेष तालिम । तपाईंलाई मात्रै । किनकि भन्सारको मामलामा तपाईंलाई क, ख पनि थाहा रहेनछ । त्यसैले विशेष तालिम दिनुपरेको ।” भन्सार अफिसबाट साँझ घर र्फकने बेलामा ऊ घरतिर नगएर सीधै पुस्तकालयतिर हान्नियो । भन्सार बारेका पुस्तक खोजेर पढ्नका लागि । गहिरो अध्ययन गर्नका लागि । एक्काईसौँ शताब्दीका विकसित राष्ट्रको बढ्दो व्यवहारिक पक्षका विषयहरू बीसौँ शताब्दीका सैद्धान्तिक किताबहरूमा खोज्न थाल्यो । भन्सारका बारेमा अक्षरका बोलीहरूमा, यस्तैयस्तै पढ्यो उसले जस्तै सहजीकरण, मूल्याङ्कन, वैज्ञानिकता, नियन्त्रण, प्रहरीबल आदि आदि । अकस्मात् कहाँबाट हो उसको साथी टुप्लुक्क आइपुगेर छेवैमा उभिएको रहेछ । उसले कापीमा नोट गरिरहेका बूँदाहरू पढ्दै रहेछ । त्यसले उसको लेख्दै गरेको कापी झ्वाट्ट खोस्दै उसको अनुहार हेरेर मरीमरी हास्न थाल्यो ।

”हैन किन हाँस्छन् तँ ।”

”यी सबै वाइहृयात कुराहरू हुन् । गाँठ कमा गाँठ । मौका नचुका । यस्तो मौका पाएको छस् योजना बना । हाकिमलाई सहयोग गर् । उसका गुणहरूले व्यवहार र कामकाज झट्टै सिकिहाल् । त्यति पनि थाहा छैन तँलाई भन्सारमा के हुन्छ भनेर ?”

”के सोचेको छस् मलाई ? मैले कति राम्रो काम गरिरहेको छु । भन्सारमा हुने र भइरहेका अनियमितताहरू, घुसखोरी, तस्करी, जालसाझी, छलकपट आदि सबैको रिपोर्ट लिन म सिकारी कुकुर र जङ्गलचहारेझैँ गरी अफिसका सबै भाग चाहार्छु । सबै रिपोर्ट सीधा म हाकिमकहाँ पुर्‍याउँछु ।”

”अनि हाकिमले के भन्यो त ?”

”सबै दिन सुन्ने मात्र गथ्र्यो । एक दिन त त्यसको पनि मुडअफ भएछ क्यार तपाईं ज्यादा बाठो बन्ने कोसिस नगर्नोस् । आँखा चिम्लिएर बस्ने गर्नोस् । त्यसैमा तपाईंको भलाइ छ । तपाईंउपर यहाँ प्रशस्त उजुरीहरू आएका छन् । हेर्नुहुन्छ ? पढ्नुहुन्छ उजुरीका बेनामी पत्रहरू ? ऊ त्यो र्‍याकमा गएर फाइल उठाएर यहाँ ल्याउनोस्” भन्नुभयो । फाइलमा त एक दर्जनभन्दा बढी मेराउपर लेखिएका उजुरीका बेनाम चिठीहरू रहेछन् । म त छक्क परेँ । मैले हाकिमलाई भनेँ, ”यहाँ त घूसखोरी र कमिसनतन्त्रको अखडा नै रहेछ । एउटा बलियो सञ्जाल नै रहेछ सर् ।” अनि त हाकिम झोक्किएर मतिर आँखा पल्टायो, ”खुब थाहा रहेछ तपाईंलाई । धेरै जान्ने नबन्नोस् दुःख पाउनु होला ।”

यो सुनेपछि उसको साथीले फेरि सल्लाह दियो, ”रिपोर्ट गर्ने नगर । किन टाउको दुखाउँछस् ?”

”किनकि म इमान्दार, पारदर्शी र आदर्शको नमूना बन्न चाहन्छु । म पनि पछि गएर हाकिम नै बन्न चाहन्छु ।”

उसको साथी उसको कुरा सुनेर खित्का छोडीछोडी मरीमरी हाँस्न थाल्यो, ”ल, तँसँग कुरा गर्न नसकिने भइयो । पछि भेटौँला ।”

उसले आफैँसँग मनमनै भन्यो, ”यस्तो प्रतिस्पर्धाको युगमा पनि आफ्नो पार्टी सरकारमा हुनाले सजिलै नोकरी पाइरहेँछु । बिना जाँच, बिना प्रतियोगिता, बिना मूल्याङ्कन, विना नतिजा सजिलै मानौँ ठूला मानिसले राजनीतिक नियुक्ति पाएझैँ जागिर पाइरहेछु । जागिर पाइनुभन्दा जागिर जोगाइनु पो गाह्रो हुने भो मलाई । पहिले पनि त पुलिसमा जागिर पाएको थिएँ । पाँच महिनामै पुलिसको जागिरबाट हात धुनु परेको थियो ।”

सिस्नो, काँडा वा काँचका टुक्रालेझैँ गरी उसका साथीहरूका शब्दहरूले उसको दिमाग घोच्न थाल्यो । उनीहरूलाई भोजको व्यवस्था गर्नुपर्ने रे । त्यो पनि उसको पहिलो तलबमै । तीमध्ये एउटा साथीचाहिँ बढी उत्साहित देखियो, ”पाँचतारे होइन । चारतारे पनि होइन । तीनतारेमा हामी जम्मा सात जना जम्मा हुनुपर्छ । होटेल छनोट म गर्छु । हुन्न ?”

ऊ मौन नै रहृयो । ”बोल बोल मछली मुखभरि पानी” को उखान उसमाथि चरितार्थ भयो । सबै साथीहरूको बीचमा ऊ अट्टहास हाँसो हाँस्यो, ”हा….हा….हा…..हा…. पहिलो तलबको रकम हा…..हा….हा……हा…..।”

एउटा साथीले अर्को साथीको कानमा सुटुक्क भन्यो, ”भन्सार अड्डाको जागिर । निक्कै हात पारेछ क्यार । ‘साथी चाहिँको उत्साहित जवाफ उसको कानैमा पर्‍यो, ‘होला होला । नत्र त्यसै किन त्यत्रो अट्टहास हाँसो हाँस्थ्यो र Û”

तीन महिनासम्म पनि उसले साथीहरूलाई होटेलमा नखुवाएपछि साथीहरूले गर्ने गरेको फोनको आवाज पनि उसको मोबाइलमा आउन छाड्यो । निरसतापूर्ण तीन महिना एनकेन इमान्दारीपूर्वक भन्सार अड्डामा बिताएपछि चौथो महिनामा अलिक ऊ उत्साहित देखियो । चार महिना पूरा भएको दिन तलब हातमा परेपछि हाकिम साहेवको उसलाई बोलावट भयो । ऊ बडो खुसी मुद्रामा हाकिमको कोठामा उपस्थित भयो, किनकि उसलाई आफ्नो इमान्दारीपूर्वक कर्तव्य निर्वाहमा ग्यारेन्टीकासाथ विश्वास थियो ।

”बस्नुस् मेचमा । जागिर खान सजिलो हुँदो रहेछ कि गाह्रो हुँदो रहेछ त ?”

”यो भन्सार अड्डाको जागिर ?”

”हो यो भन्सार अड्डाको जागिर ।”

”खै के भन्ने के । दुइटै, गाह्रो पनि सजिलो पनि । कुनैकुनै कुरा अलि अलि बुझ्न गाह्रो । कुनै कुरा सजिलो यस्तैयस्तै ।”

”तपाईंलाई अलि गाह्रैजस्तो लागेको हामीलाई महसुस भयो । हामीले तपाईंलाई सजिलो गरिदिएका छौँ ।” हाकिमले एउटा चिठी उसको हातमा थमाइदियो । चिठी खोलेर उसले पढ्यो । यो पत्र उसलाई जागिरबाट बर्खास्त गरिएको चिठी थियो । बर्खास्त गर्नाको कारण निम्न बूँदाहरूमा समेटिएका थिए ः -क) अदूरदर्शी रिर्पोटिङ -ख) अपारदर्शिता

-ग) अनियमितता -घ) ज्ञान, सीप, कौशलताको कमी, सनातन भन्सार विधिमाथि अधिकतम हेलचेक्र्याईं, आदि ।

पढिसकेपछि उसका दुबै कान रन्किए । ऊ शब्दहीन र अवाक बन्यो । उसले महसुस गर्‍यो, उसका दाह्री, जुँघा, नङ सबै काटिएका अवस्थामा थिए । उसले हाकिमको अनुहारमा दाह्रा, नङ्ग्रा देख्यो । एक्कैछिन मूक चालमा बाघको आँखा र मनुष्यका आँखा आक्रोसपूर्ण एकाकार भइरहे । ऊ भित्र भुइँचालो, ज्वालामुखी, बाढी र आँधीहुरी एकैसाथ प्रवाहित भयो । किनकि ऊ विकासशील राष्ट्रको विकसित रूप एक आदर्श नमूना नयाँ देश थियो । उसको देशको ल्यान्डस्केप उसकै स्वरूपमा रूपान्तरित भयो । हिमालजस्तो हिऊँले छोपिएको चिसो लासझैँ उसको निधार थियो । दीनहीन चेहरा भित्रभित्रै बगिरहेका असङ्ख्य बेदनाका नदीहरू थिए । अटल, दृढ, स्थीर चट्टान वा पहाडजस्तो उसको छाती थियो । त्यसैको छहारीमा अनन्त परिकल्पनामा बालाझुल्ने उसको सुकोमल समथर मन थियो । उसले आफ्ना जिन्दगीका ल्यान्डस्केप एकान्त मनले सुम्सुम्याउन लाग्यो । दुइटा जागिरका अमीट सम्झनाहरूलाई निरीक्षण गर्न लाग्यो । एक्कासि मन कुदेर उसको घरमा पुग्यो । यस खबरले उसकी स्वास्नी, बाबुआमालाई चाहिँ ठूलो झट्का पर्ने भयो । सबैभन्दा ठूलो झट्का स्वास्नीको शान र समाजमा उसको सम्मानमा पर्ने भयो । उसले सोच्यो, भिजेको बिरालोझैँ भएर, नून खाएको कुखुरोझैं भएर, घाममा ओइलिएको पालुङ्गोझैँँ भएर ऊ घरभित्र पस्नेछ । उसकी स्वास्नीको आज खुसीको सीमा रहने छैन । छोरीसहित ऊ सपिङ्का लागि राम्रो ड्रेस र अधिकतम् मेकअप्मा तयार भएकी छ । चार महिनापछि बल्ल लोग्नेको तलब हात परेको दिन । उसलाई मन परेको गीत कोठाको क्यासेटमा घन्काएर बसेकी छ । गीतको बोलीले पनि दुई नोकरी छोड्नु परेको उसलाई विम्बात्मकरूपमा प्रहार गरिरहेछ । नाकेस्वरमा अधिकतम करूण रसको उच्चस्वर प्रवाहित गरिरहेछ । ‘दिल की अरमा आँसुओं मे ।

अकस्मात ऊ तर्सियो । यो दिवास्वप्नबाट ऊ ब्यँूउझियो वर्तमानकालमा । हाकिमको आधिकारिक बोलीतिर ऊ अप्रत्याशित रूपमै ध्यानाकषिर्त भयो, ”जानुभन्दा अघि एउटा विज्ञापन तयार गरेर जानू ।”

”कस्तो विज्ञापन सर ?”

”नयाँ भन्सार सहायक अधिकृतको पदको लागि ।”

”किन विज्ञापन गर्नुपर्छ र सर् ? यो राजनीतिक नियुक्ति होइन र ?”

”तपाईंको यही प्वाक्क बोल्ने बानी नराम्रो छ क्या । ल भै गो जानुस् । लेख्नुपर्दैन हामी नै लेखौँला ।”

ऊ लुरूक्क र्फकने तर्खरमा थियो । र्फकनुअघि उसलाई एकछिन हाकिमलाई सोध्न मन लागेको थियो, ”अनि त्यो मेरा तीन महिनाको तलब नि सर् । त्यत्तिकैमा साथीहरूका मजाकका पूर्व बोलीहरूले उसलाई सयौँ सर्पलेझैँ डसे । अकस्मात डस्न आइपुगे । पहिले सुन्दा आनन्द लाग्ने ती शब्दहरू अहिले बिउँझैँ ऐँठन गरेझैँ हुनथाल्यो ः -क) ”अब मालामाल हुने भयो”

-ख) “अब यसले हामीलाई मान्छे नै गन्दैन ।” -ग) “यसलाई चढाइएका उपहार, नजराना, कोसेली राख्ने ठाउँ हुने छैन ।”

-घ) अहिलेजस्तो गरी पछि त यो हामीसँग बोल्दा पनि बोल्ने छैन होला । -ङ) यसका घरका सबै सदस्यहरूको भन्सार छलेर ल्याएको, उपहार पाएको आफ्ना आफ्ना छुट्टाछुट्टै गाडी हुनेछन् । पैदल हिँड्नु भनेको उहिलेको कुरा हुनेछ होला यसका लागि । -च) यसले पछि गएर हामीलाई गन्नेछैन, बोल्नेछैन होला । यसको कैयौँ ठाउँमा घर र जग्गाहरू हुनेछन् होला । -छ) यसलाई त टेबुलमुनि र टेबुलमाथिबाट नोटको ओइरो लाग्ने छ होला । यो मालामाल हुने छ होला ।”

साथीहरूका बोलीका उपर्युक्त झझल्को आएर सयौँ बिच्छीहरूले टोकेझैँ ऊ छट्पटायो । उदासिन भयो । उसले सुनेको थियो, ”उसको देशको दक्षिण भूभागका चौध ओटा खुलमखुला नाकाहरूबाट चेलीबेटी, जडीबूटी, लागूऔषधि, मिर्गाैलासहितका मानिसहरू, हस्तकलाका सामान, राता र सेता मूढाहरू, लत्ताकपडा, गलैँचा, अलैँची, सुकेको अदुवा, अन्नपात आदि अवैध निकासी हुने गर्छन् भन्ने कुरा” उसले सोचेको थियो, ”यी सब चीज रोकथामका लागि ऊ कडा पाइला चाल्नमा मद्दत गर्नेछ । कार्यसफलता र कार्य कुशलताको नायक बन्नेछ र अन्त्यमा हाकिम बनिछाड्ने छ ।”

पालेले एउटा चिठी ल्याएर हाकिमलाई दिएर फर्कियो । हाकिमले त्यो खाम खोलेर पढ्दै जाँदा अनुहारमा अन्धकारको बादल छायो । अनि हिलो हुँडलिएको बाढी आयो । हाकिमले किन हो कुन्नि मतिर फर्केर भन्यो, ”खै त्यो तपाईंलाई मैले दिएको बर्खास्तको चिठी फिर्ता दिनुस् ।”

”किन र सर ?”

”मलाई पनि माथिबाट बरखास्त गरियो । नयाँ हाकिमले नै तपाईंलाई बरखास्त गर्नेछन् ।”

”किन र सर”

”किनकि आजै सरकार बदलियो ।”

हाकिमको उच्च शक्तिमा पुगेर बोल्ने त्यो बोलीको पारो अहिले अकस्मात् त्यसरी खस्केको देख्दा उसलाई अचम्म लाग्यो । भन्सारको हाकिमको उसलाई त्यतिबेला औधि माया लाग्यो । उसले भन्सार हाकिमलाई आफूभन्दा निरीह देख्यो ।

(श्रोत: मधुपर्क पुस, २०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.