कथा : उज्यालो खस्नुअघि

~सीमा आभास~seema avas

विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू झण्डै दस दिन जति मात्र सँगै बस्न पाए । देशको बिग्रँदो स्थितिको कारणले उसले लामो बिदा लिन पाएन । फर्किएर छिटै आउँछु भन्दै लोग्ने बिदा भएको दिन ऊ झलझली सम्भिmरहन्छे । सात गते बिहान उनीहरूले फोनमा कुरा गरेका थिए । दस गते बिहान आइपुग्छु भनेर लोग्नेले वचन दिएको थियो । २०६० साल चैत आठ गते ऊ यस घरमा भित्रिएको चार महिना मात्र भएको थियो । भोलिपल्ट बिहान घरमा आइपुग्ने लोग्नेलाई कुरेर बसेकी अगाडि लोग्ने फर्किएर आउनुसट्टा नौ गते लोग्नेको लास आँगनमा ल्याएर लडाए । त्यस दिनदेखि उसलाई यो कोठा अँध्यारो लाग्न थालेको थियो । ऊ त्यो खाटमा सुत्न छोडिन् । तथापि त्यही कोठाको भुइँमा सुत्थी । उसलाई त्यो खाट रित्तो र चिसो होला जस्तो लाग्थ्यो ।

दुई जीउकी भएकीले घाटमा जानु हुँदैन भने पनि उसले मानिन । अन्तिम संस्कार गर्न जाँदा मात्रै घाटमा लोग्नेको मृत अनुहार देखेकी थिई । अनुहार चिनिन । अनुहार चिनिन सक्नेखालको पनि थिएन । अगाडि निधारबाट छेडिएको गोली पछाडि निस्किएको थियो । उसले चिन्ने आधार भनेको हातखुट्टाका औँला थिए । औँलामा कतै पनि चोटपटक थिएन । अन्तिमपल्ट देखेको लोग्नेको अनुहार र त्यो क्षतविक्षत अनुहार एकैपटक सम्भिmएपछि उसका आँसुले पनि बाटो पाएन । ऊ रून सकिनँ । एकोहोरो हेरिरहने, टोलाउने मात्र गर्थी । त्यसपछिदेखि ऊ सपनामा थिई कि विपनामा आफूलाई छुट्याउन सकेकी थिइनँ ।

उसको तीन महिनाको गर्भले उसलाई अर्को चोट थप्यो । ऊ तेह्रौँ दिनको काम सकेर दुःख बारेर बसेकी थिई । गर्भलाई एबोर्सन गर्ने सोच बनाएकी थिई । अरूले पनि एबोर्सन गर्ने नै सल्लाह दिएका थिए । सम्झी पहिलोपटक उसको गर्भ आएको थाहा पाएपछि लोग्ने र ऊ कति खुसी भएका थिए । बारम्बार आˆनो खुसीमा तरबार लगाउनुपर्ने परिस्थितिले उसलाई ढुङ्गो बनायो । उसको सबैभन्दा ठूलो खुसी भनेकै लोग्ने थियो । गोलीको खोकाले उसको खुसी पड्कायो । अब फेरि जानीजानी अर्को खुसीमा हतियार लगाउन उसको मनले मानेन । एबोर्सन गर भन्नेहरूदेखि उसलाई नमिठो लाग्यो ।

तीन महिने मासिक सकिएको दिन साँझ आठ बजेतिर ऊ आˆनो कोठामा छिरी । कोठा गजधुम्म उभिएको जस्तो लाग्यो । ऊ त्यही खाटको छेउमा गएर उभिई । सानो नानीलाई हेरेझैँ खाटलाई मायालु आँखाले हेरी । त्यो खाटमा ऊ, लोग्ने र उसको बच्चा सँगै सुतेको कल्पना गरी । उसलाई लोग्ने आउँछ कि जस्तो लाग्यो । ढोकातिर हेरी र ढोका थोरै खोली । भित्तामा राखेको लोग्नेको तस्बिर हेरी । ऊ इन्स्पेक्टर भएको दिनको तस्बिर थियो त्यो । बिहे गरेको तेस्रो दिन ऊ इन्स्पेक्टर भएको थियो । त्यो दिन सम्झी । ऊ र लोग्ने खुबै खुसी भएका थिए । त्यसदिन लोग्नेसँग मलाई बच्चा देऊ भनेर मागेकी थिई । उसको जीवनको अर्को खुसी बच्चा पाउनु थियो ।

उसलाई ढोकामा लोग्ने आएर उभिएको जस्तो लाग्यो र ढोकातिर हेरी । ढोका खुल्ला रहेछ । ढोका बन्द गरी । एकछिन टोलाई । ऐना अगाडि उभिई । आफ्नो शरीरका कपडा उल्टिएपछि उसले पहिलोपटक आˆनो शरीरलाई ऐनामा नियालेकी थिई । आˆनो ज्यान धान काटिसकेको बाँझो खेतजस्तो उजाड लाग्यो । तलदेखि माथिसम्म सेता कपडा, रित्ता हात, बुच्चा नाक, कान, अलिअलि मोटाउन थालेको पेट । उसलाई विरक्त लागेर आयो ।

भित्तामा झुण्डिएको जीड र दुबोको मालाबीचमा रहेको बिहेको तस्बिर हेरी र आँखाभरि आँसु पारी । बिहेका दुइटा चुरा छुटेका रहेछन् । तीनै चुरा हेरी । नराम्रो लाग्यो चुरा देखेपछि । बिस्तारै हातले चुरा उठाई र खाटमा राखी । सोची- “आइमाईको लागि श्रृङ्गार भन्ने कुरा कति ठूलो सजाय रहेछ । लोग्ने बाँचुञ्जेल त्यसमा बाँधिनुपर्ने, मरेपछि विधवा बनेर श्रृङ्गार छुनु पनि नहुने अनि श्रृङ्गार सम्भिmएरै तड्पिनुपर्ने,” ती चुरादेखि रिस उठेर आयो । चुरा टिपी र भुइँमा फ्याँकी । टुक्राटुक्रा भएर चुरा फुटे । फुटेका चुराका धारले मुटु नै रेटेकोझैँ ठानी । टुक्रिएका चुरा टिपी र रूमालमा पोको पारेर खाटमा ˆयाँकी ।

अर्को दिन आˆनो नाम एकल महिलामा दर्ता गराउन गएकी थिई । नाम दर्ता गराएर आएपछि उसलाई फरकखालको अनुभूति भयो । आफूजस्ता धेरै महिलालाई देखी । सबै जना जवान स्वास्नीमान्छे नै थिए । कसैले दुर्घटनामा, कसैले युद्धमा विविध कारणले लोग्ने गुमाएका स्वास्नीमान्छेहरूको जमात थियो त्यहाँ ।

एकल महिलालाई सरकारले दिएको सुविधा, दातृसंस्थाले गर्ने सहयोग, सीपमूलक कार्य गर्न पाउने… यस्तैयस्तै कुराहरूको विषयमा जानकारी पाई । यस्ता कुराहरू सुनेपछि एकल महिलालाई उपहास गरेजस्तो लाग्यो । “लोग्ने मरेकाहरूलाई सीपमूलक काम त देला तर लोग्नेको अभाव कुन पैसा, कुन काम, कुन सीपले पूरा गर्ला ?” उसले संस्था र सरकारलाई मनमनै प्रश्न गरी ।

आफूलाई तड्पाएर बस्नुभन्दा कुनै निर्णय लिन नै जाति ठानी । उसलाई विधवा भएर बस्नुपर्दाको पीडाले क्रमैसँग जलाउन थाल्यो । यो समाजको नियम र कानुनमा आगो लगाउन पाए पनि हुने जस्तो लाग्यो ।

“बिहेजस्तो नितान्त व्यक्तिगत सम्बन्धलाई पैसासँग तुलना गर्ने ?” समाजलाई खिस्याउँदै हाँसी ।

उसलाई समाज विरोधाभासमा बाँचेको जस्तो लाग्यो । व्यक्तिगत आवश्यकतालाई पैसा र कामसँग तुलना गर्ने कस्तो अन्धो समाज ? उसले बुझेका कुराहरूमाथि प्रश्न गरी ।

बेलुकाको खाना खाइसकेपछि आठ बजेतिर आˆनो कोठामा छिरी । आˆनो जीउका सेता र उराठ लाग्दा सबै कपडा पालैपालो खोली । बढ्दै गरेको पेटलाई ऐनामा नियाली । बिहेका कपडा निकाली र खाटमा राखी । कपालको चुल्ठो खोली । पानी पोखिएझैँ उसको ढाडभरि लरक्क परेको कालो कपाल पोखियो । बिहेको श्रृङ्गार बाकस निकाली र खाटमा राखी । बाकसबाट क्रमैसँग सामान निकालेर खाटभरि छरपष्ट पारी ।

जीउका सेता कपडा फुकालेर उसले पालैपालो बिहेका कपडा लगाउन थाली । बिहेमा लगाएका सबै कपडा लगाइ । डिजिटल क्यामेरा निकालेर आˆनो फोटो आफैँले खिची । फेाटो हेरी र मुस्कुराइ ।

बेहुलीले गर्ने जत्तिकै बाक्लो शृङ्गार गरी । बेहुलीजस्तै बनेपछि खाटमा गएर बसी । ऊ बेहुली भएर भित्रिएको दिन सम्झी । ऐना अगाडि उभिई । आफूलाई बेहुलीजत्तिकै राम्री लाग्यो । आˆनो शरीरको कुनै भागसँग पनि गुनासो नरहेको पत्ता लगाई । बेहुली भएको दिन पनि उसले आफूलाई लुकीलुकी ऐनामा यसैगरी हेरेकी थिई । फुर्किएकी भन्लान् भन्ने डरले त्यसदिन ऊ जबर्जस्ती चुप लागेकी थिई । आˆनो खुसी व्यक्त गर्न सकेकी थिइन तर अहिले उसलाई कसैको पनि डर छैन । तलदेखि माथिसम्म आफूलाई नियालेर हेरी र मुसुक्क मुस्कुराइ । बिहेको भोलिपल्ट पनि लोग्नेको अगाडि उभिएर आफूभित्र उम्लिरहेको खुसी देखाउन मन थियो उसलाई तर सर्माएर, धकाएर आफूलाई फुकाउन सकिनँ । फेरि सम्झी- भोलिपल्ट बिहान लोग्नेको अनुहार राम्रोसँग हेर्न नसकेको । त्यसबेला पनि उसले यही दराजको ऐनामा आफूलाई लुकीलुकी नियालेकी थिई । आफूलाई नियाल्दा ऊ मुसुक्क मुस्कुराएकी थिई । उसलाई पूरै सम्झना छ, आˆनो मुखभरि टम्म मिलेका सेता दन्तलहरहरू, रातो लिपिस्टिक दुईपट्ट िहुँदा देखिएको आकर्षक

क्षण Û अहिले पनि उसलाई त्यस्तै लाग्यो । दन्तलहर र मिलेको शरीर । पेट अलिक भुम्म उठेको भए पनि साडी लगाउँदा सुहाएको नै ठानी । आफूलाई पूर्णरूपमा सिँगारेको ज्यान ऐनामा घुमीघुमी हेरेको यो नै पहिलो होला । यसअघि कहिल्यै आफूलाई यसरी हेर्ने मौका पाएकी थिइन । निकैबेर लगाएर आफूलाई हेरी । सकेसम्म पूरै जीउ आउने गरी आˆनो फोटो आफैँले खिची । फोटो पनि राम्रो नै लाग्यो । फोटोभन्दा पनि आˆनो ज्यान झन् राम्रो लाग्यो ।

आफूले लगाएका बिहेका कपडा र श्रृङ्गार पुछी फेरि र पहिले नै लगाएका सेता कपडा लगाई । ऐना अगाडि गएर उभिई । सेता कपडामा आफूलाई हेरेपछि आˆनो शरीर र श्रृङ्गारदेखि नै रिस उठेर आयो । श्रृङ्गारका सामान मिलाएर बाकसमा राखी र श्रृङ्गारको बाकस भुइँमा बजारी । बाकस उपि|mएर उसको शरीरमा ठोक्कियो । त्यसलाई खाटमाथि राखी र आग्लोले हानी । झर्‍याम्म आवाज निस्कियो । श्रृङ्गार सामान फुटेर खाटभरि र भुइँभरि भए । श्रृङ्गार बाकस कच्याककुचुक भयो । उसले लगाएको सेतो सारीको फेरमा सिन्दूर पोखियो । सेतो सारीमा सिन्दूर मिसिएको देख्दा मुटु दुखेको अनुभव गरी र देब्रे हातले सारीबाट सिन्दूर टकटकाई ।

अलबमबाट बिहेका फोटाहरू निकाली । सबै फोटाहरू एकएक गरेर हेरी । बिर्सिएका कतिपय घटनाहरू फोटो हेरेपछि ताजा भए । बिहेका फोटाहरू निकालेर पालैपालो गरेर जलाउन थाली । अलबमका फोटाहरू सबै जलाए पनि भित्तामा झुण्डिएको दुबोको माला र फोटोलाई चलाउन सकिन । बिहे अगाडिको उसको र लोग्नेको फोटो कागतमा पोको पारेर ब्यागमा राखी । आˆनो पेटमा हात लगेर बारम्बार सुम्सुम्याई ।

आˆनो अगाडि उभिएको ऐनामा ढोकाको आग्लोले हानी । ऐना फुटेर भुइँभरि भयो । जलेर रहेको उसको र लोग्नेको फोटोको टुक्रामा रगत तुपतुप चुहेपछि मात्रै थाहा पाई उसको नाडीमा ऐनाको चोइटोले काटेछ । नाडीमा चोट लागेर रगत बगेको देखी । नाडीमा चोट लागे पनि ऐना फुटेको हेरेपछि उसको मन हलुका भयो ।

बिहे अगाडिका आˆना लुगाफाटा झोलामा राखी । बैङ्कको चेक र लोग्नेले दिएको औँठी ब्यागमा राखी । बाँकी गरगहनाहरू दराजबाट निकालेर बाहिर राखीदिई । सेता कपडा पोको पारेर कोठाको कुनामा फ्याँकीदिई । क्यामेरा ढोकाको छेउमा राखीदिई । बिहेका कपडा निकालेर खाटभरि असरल्ल पारी । बिहेअगाडि लगाउने गरेको सुतीको नीलो टिसर्ट र कालो रङको पेन्ट लगाई । नीलै रङको कपाल बाँध्ने रबरले कपाल बाँधी । आफूलाई फुक्का भएको महसुस गरी । बिहे गरेदेखि बल्ल अहिले मात्रै उसको शरीरले आराम अनुभव गरेकोेझैँ गरी ।

खाट अगाडि ठिङ्ग उभिई । मिलाएर राखेका सिरक र सिरानी फस्ल्याङ्ग पारी । तन्ना उतारी ओछ्यानबाट । डसना निकालेर उल्टो बनाई । फेरि भुइँभरि छरिएका ऐनाका टुक्रामा आफूलाई हेरी । ऐनाका टुक्रामाथि तन्ना फ्याँकीदिई । सिरकको खोल पट्याएर झोलामा राखी ।

लोग्नेले लेख्ने गरेको डायरीको एउटा पन्ना च्याती र आˆनो ब्यागबाट कलम निकाली । उसले ठूला अक्षरमा लेखी- “म छायाँदेवी हुँ ।”

ताराहरू धिप्धिप् बिस्कुन बनेर आकाशमा छरिइरहेका थिए । घरका मान्छे र छिमेकीहरू मस्त निद्रामा थिए । उज्यालो खस्नुअघि टर्चलाइट बाल्दै झोला र ब्याग हातमा बोकेर कसैले थाहा नपाउने गरी ऊ लुसुक्क कोठाबाट बाहिर निस्की ।

-कीर्तिपुर

(श्रोत: मधुपर्क २०६६ असोज)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.