~युग कवी सिद्दीचरण श्रेष्ठ~
जब म चढेर भावको डुंगा
सयर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा !
कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति;
मृग सावकहरू उफ्री-उफ्री
तरुतलिकाहरु हल्ली हल्ली,
मेरो प्यारो ओखलढुंगा !
ती अविरल परिश्रमी पतकार
द्रुतगामी निर्झर तुल्य चपल,
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ !
मेरो प्यारो ओखलढुंगा !
पर्दावाल सुन्दर पल्लवित्
वृक्ष खोपिमा, कालो कोकिल्
उनको यो वियोग प्रिय कविको
कति मृदु विरह गीत रच्दो हो !
मेरो प्यारो ओखलढुंगा !
त्यो ढुङ्गा, त्यो खोला, त्यो रुख्,
त्यो बन्, त्यो लतिका, त्यो चिर मुख्
यो हृद य केन्द्र स्नेह तडित्
चम्काइरहेछ आज क्षण क्षण
मेरो प्यारो ओखलढुंगा !
तामाकोशी, त्यो सुनकोसी
त्यो गिरि फोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हर्दम पवित्र
मेरो प्यारो ओखलढुंगा !
भाग्य-लहरामा लहरी लहरी
पुगें म यस मरूस्थलमा कसरी !
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि;
मेरो प्यारो ओखलढुंगा !