कविता : जुरेली को गान

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

के बोल्छे यो जुरेली ?
सगरभरभुवा आँसुका बान्किला छन् !
राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं
भङ्गिला छन् !
रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर !
चिर्छे एकान्तलाई पिउ पिउ स्वरले,
गीतले चित्त चोर !

सारा शब्दार्थ घोली अमृत–मथनले
विश्व–भाषा बनाई,
स्पन्दी, छन्दी, उछाली, सकल हृदयका्े
वेदनानन्दलाइर्,
कोपी खोलेर बोल्छे, सजल मृदुलता, सूक्ष्म बास्ना बहाई !
के, के, के, खल्बल्याई दिलदिल ! पृथिवी भावगोला तुल्याई !

बास्नाले फूल बोल्छन् यति, ज्वलनमा प्यास रङ्गीन वाणी !
यै हो गाना उडेका रुदित भ्रमरको, जिन्दगीको कहानी !
वाणी छोटी यही हो प्रकृति–पुरुषको ! गुन्जिदो यो जवानी !
यो हो थोपा, निचोर श्रुति, रस कविको प्यारको फूलदानी

पानीको कल्कलाई जलनिधितिरको यो दगुर्दो रुलाई !
यो हो बोली निशाको शशधरतिरको, शीतको पिल्पिलाई !
फिर् फिर् हो पुतलीको छवितिर, छविको पुतलिमा ढलाइृ!
माटाको भित्र बोल्दो बुलबुल मुटु हो, सम्झिदो स्वप्नलाई !

छायालाई अँगाली छवि छ जलदृशी ! सम्झना शून्यलाई !
केही, काहीं भएको, तर सँग नहुँदा क्यै पिरल्दो मलाई !
‘आ ! आ !’ भन्दो झझल्को, अमिट कठिनता कल्पनाको छुआई !
छाया गाडा बिझेको, कणकण चसकी, खालि रुँ रुँ जिलाई !

राम्री सृष्टि, प्रकृति अथवा खूव श्रृङ्गार पारी,
पर्खी, झुक्दै चलेकी, प्रियतम नमिली, दृष्टि मार्गभिसारी,
रुन्छे कोही थलामा मनमन गहिरो, आँसुको बाफ पारी,
भाषाभन्दा परैका ध्वनि त्यस दिलका गुँज्छ पन्छी, फिजारी !

रुन्छन् रानी जवानी सब युग, थलका, धोइ एकान्तलाई !
माटो फोरेर आत्मा मुखरित छ, जिती पुष्पको वासलाई !
यो हो माधुर्य के को ? –पिउपिउ रसको, मृत्युमा अमृतलाई !
बोल् ! बोल् ! मिठो जुरेली ! म पनि सँग बगें अर्थ पारी, रमाई !

कोपी खोल्ने क्रिया हो जलकण भरिने कुँद्नु यौटा कटौरा,
जो फुल्छन् फूल रुन्छन्, दिलभर जलका विन्दु झल्केर बौरा !
पन्छी यो, व्यक्त गर्दो कुसुम–हृदयको वेदनाको जवाफ,
दोटै आवान फाली, दुख सुख सुकला विश्वको चाल्छ साफ !

मोटोले स्पन्द पाई, किरणसँग जहाँ प्यारको भो प्रसूति,
भाषा खोज्दै उठयो त्यो तृण, कुसुम भई, गाउँदै अश्रुगीति,
पन्छी भै त्यो छचल्क्यो श्रवणविवरमा, वेदना बोल्छ साफ !
भाषा हो काल सारा बिउँझिनु दिलमा–दिव्य बक्सीस, श्राप !

‘पी पी’ हो शब्द पैलो, अमुखर दिलको, जन्मिदा प्यास, पानी !
भाषा या प्यारको हो ! विधु गगनसिखा, भूचरी कल्पिंदा नि !
तान्छिन् शोभा निचोरी दिलउपरतिरै— बोल्न लागी जुरेली,
पृथ्वीको जन्मदेखिन् अझतक जति छन् बोल्दछे क्या पिरोली !

ऊषा रुन्थिन् पियासी, मखमल फुलमा अङ्ग गोरा बटारी,
स्वप्ना भारी पुकारी, उदयविरहिणी, स्वर्ग गुम्दी, विचारी,
रुन्थे सारा फुलेका कुसुम वनभरी, वाणपुत्री निहारी,
तैंले होला सिकेको विरहुसुर त्यहीं, बोल्न पन्छी पियारी !

फुल्दा, सेता बदामी कुसुम झरझरी झार्दथे मिष्ट झोका
रोका आँशू खसाली बरबर उरमा, जूनले जल्पिएका,
राधा बन्दी कसैकी मनमन, वयसी दिव्य संयोगिताले
एकान्ती गुन्गुनीमा दृगजल उछलिन् बुल्बुली यै टुनाले !

जल्पीथिन् जानकीले मनमन सुर यी, रामजी कल्पिएर,
वंशी बज्थ्यो यसैमा टिरलिर यमुनाकूलमा कल्किएर !
हेलेन् होलिन् रुँदी यी दुखमय सुरमा, प्यारि पारी विषाद,
वर्षाई वेदनाका अति सुषम कणी, —युद्धका बाफ वाद !

सोला हो, स्वादु सोला, अतिशय दुखको सौख्य यो हो पिरोला !
गोला, मीठो, अबोला, बहन दुध भए, प्राप्ति बैकुण्ठ होला
यो चोलाको सुनौला जलप, रस यही, धाम गौरी र भोला !
पी पी बोल् रे जुरेली ! हृखय हृदयको बोल्छ संसार–गोला

यो कोपीको सुहानी जललव, रसको जिन्दगीबीच नानी !
यो तिर्खाको छ वाणी, प्रकृति–पुरुषको यो पुरानो कहानी !
यो हो दर्दी जवानी, प्रणय मुखरिंदो, गीतिकी रानी !
यो चूली हो हिमानी, शरण जगतको, भित्रको ढुक्ढुकानी !

झुक्लिन् छाया अँध्यारी सघन गगनकी, वर्वरी वर्ष वर्ष !
झिल्केली है बिजूली, क्षण क्षण मनमा सम्झनाबाट पर्श !
थोपा झर्लान्, सिहर्लान् तरुवर, लतिका ! वायु बोक्ने छ बाफ !
चल्ला यस्तै जगत्मा ! हृदय पिरलिंदै आउलान् यै विलाप !

छाती, छाती पुकार्लान् ! जल, जलकणिका बैंसले बैंसलाई !
प्यासी बोल्लान्, छिचोल्लान् समय र पिंजरा, गीतमा बग्न पाई !
घाँसी बाला छहर्लिन् हृदयजल कहीं, चम्चमाई हँसिया !
उक्लेका क्वै, सुसेली नव दिल–सपना, श्री पुकार्दो घँसीया !

बोल् ! बोल् ! बोली सुरीलौ, पिउ पिउ नित हे पिंजराकी जुरेली,
बोल्छन् यै वेदनवाणी–अतिसुषम उषातर्फ आत्मा पिरोली,
जूनेली ज्योति जेली हृदयभर यही, थोर संकेत खोली,
प्यासी बोलें म आफैं ‘पिउ’ अरथविना मृत्तिका क्यै छिचोली !

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.