~प्रकाश आङ्देम्बे~
चैतमास खडेरी र हावा उस्तै छ
तिम्रो आफ्नो मेरो आफ्नो धावा उस्तै छ
नीति छैन नियम छैन हिजोआज बजारमा
त्यसैले त किलो अनि पावा उस्तै छ
दमक राम्रो शहर हाम्रो भन्नु मात्र न हो
विनाशकारी रतुवा र मावा उस्तै छ
रोटी बद्लिँदैमा हामी खुशी हुनुहुन्न
अझै पनि भान्से अनि तावा उस्तै छ
घैँटोमा घाम कहिले लाग्छ माहुतेको
वहुलाएको हात्ती अनि छावा उस्तै छ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)