~प्रतिमा बाँस्कोटा~
“ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !” मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । “तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !” म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ ।
गर्मीका यी उखरमाउला रातहरू जबजब छटपटीमा अनिँदै बित्छन्, तब मनमा अनेकौँ उडन्ते कल्पनाले डेरा जमाउँछन् । अचेल म यस्तै मनोदशाबाट गुजि्ररहेकी छु । ऊसँगको एसएमएस संवादले रातलाई अलिक छोट्याइदिएको छ ।
“म तिमीलाई निकै मिस गररिहेको छु !” सुरुवात उसैले गर्छ किनभने ऊ जान्छ म हार्न चाहन्नँ अर्थात् म आफ्ना भावनाहरूलाई गजबसँग नियन्त्रण गर्न सक्छु ।
“साँच्ची ?” म हतार-हतार म्यासेज टाइप गर्छु, “सायद तिमी ठट्टा गररिहेका छौ ।”
“सत्ते ! म ठट्टा गररिहेको छैन । म तिमीलाई अहिले नै भेट्न चाहन्छु ।”
“के तिमी मेरो होस्टलको पर्खाल चढ्न सक्छौ ?”
“हा हा हा !!! जाबो पर्खाल ? म तिम्रो कोठासम्मै आउन सक्छु ।”
“बहादुर रहेछौ … तर भैगो धृष्टता नगर ।”
“किन डर लाग्यो ?”
“होइन, माया लाग्यो ।”
एसएमएसको यो चरणसम्म आइपुग्दा ऊ निकै रोमान्टिक भइदिन्छ ।
“के तिमीले कसैसँग प्रेम गरेकी छौ ?”
“छु नि, प्रेम नगरी जीवनको सम्पूर्णता अनुभव हुनै सक्दैन,” म अलि बढ्तै फिलोसोफिकल बन्छु, “जीवनको सबैभन्दा सुन्दर चीज नै प्रेम हो ।”
“हा हा हा !!!” ऊ म्यासेजमा स्माइली जोडेर पठाउँछ । “तर, तिमी कसैलाई प्रेम गर्दिनौ, खास भन्ने हो भने तिमी आफँैलाई पनि प्रेम गर्दिनौ । कैयौँ महिनादेखि रात-रातभर अनिँदै बसेर तिमी आफ्नो निद्रा बिथोलिरहेकी छौ ।”
छात्राबासको फराकिलो कोठा । हावा राम्ररी छिर्ने झ्याल । झ्यालको दायाँपट्ट िहावामा हल्लिरहेको कलेजको क्यालेन्डर, त्यसको ठीकमुनि एउटा सिंगलबेड, आडैमा बगल मिलाएर राखिएका कुर्सी, टेबल र टेबलमाथि एक कम्प्युटर । मुड अन हुँदा म आफ्नो कोठा चिटिक्क मिलाएर राख्छु तर प्रायःजसो मेरो मुड अफ नै रहन्छ बिनाकारण ।
कहिलेकाहीँ मुडफ्रेस गर्न म आफ्नो जिमेल एकाउन्टमा छिर्छु । मेलले इनबक्स भरएिको हुन्छ ।
“के म फेसबुक एल्बमबाट तिम्रा फोटाहरू डाउनलोड गर्न सक्छु ?”
“के तिमी तिम्रा नांगा तस्बिरहरू मलाई पठाउन सक्छ्यौ ?”
“के म तिम्रो प्रेमी बन्न सक्छु ?”
“के तिमी मसँग एकरात बिताउन सक्छ्यौ ?”
“बेसोमती मोराहरू !” म उनीहरूलाई मनमनै गाली गर्छु र झ्यालमा गएर उभिन्छु । रातको यो सन्नाटामा झ्यालमा उभिएर सुनसान सडक नियाल्दा मन झनै उदास हुन्छ । यदि कवि भइदिएको भए म दर्जनौँ कविता कोरसिकेकी हुन्थेँ ।
प्रायः साँझ ढल्कँदै जाँदा मनको रित्तोपना पनि बढ्दै जान्छ । दर्जनौँ प्रेमीहरूबाट घेरएिर पनि कति एक्लै बाँचिरहेकी छु म । प्रेममा विश्वास नगर्ने म हरक्षण प्रेम गररिहेकी छु, फरक-फरक व्यक्तिहरूसँग । …अर्थात् यसो पनि हुनसक्छ म उनीहरूलाई प्रेम गररिहेकी छैन, उनीहरूको आँखामा कसैलाई खोजिरहेकी छु ।
कुनै एक मध्यान्ह, अंग्रेजी साहित्यका सेकेन्ड ह्यान्ड फिक्सन बुकहरू खोज्दै भृकुटीमण्डपका पुस्तक पसलहरू चहाररिहँदा सेलफोनमा एसएमएस टोन बज्छ । म म्यासेज चेक गर्छु । “सायद तिमी कतै हराइरहेकी छौ यतिखेर अथवा मेरो कुराले बढ्तै सिरयिस बनिरहेकी छौ,” कुनै प्रेमीले आफ्नी बेखुस प्रेमिकालाई फकाउन आफ्ना भावनाहरू राम्ररी टाइप गरेर पठाएको छ, “म तिम्रा सम्पूर्ण दिक्दारीहरू हटाएर तिमीलाई खुसी राख्न सक्छु ।” मभित्र एउटा गजबको स्फुर्ति देखापर्छ । म म्यासेज चेक गर्दागर्दै नहाँसी रहन सक्दिनँ । जोसुकै किन नहोस्, निकै भाग्यमानी छे मोरी यति धेरै माया गर्ने प्रेमी फेला पारेकामा ।
“महासय !” म फटाफट म्यासेज टाइप गर्छु र सेन्ड गर्छु, “तपाईंकी प्रेमिका अझै खुसी छैनन् किनभने तपाईंको म्यासेज बीचमै हराएको छ उनको मनजस्तै ।”
यसरी ऊसँग मेरो एसएमएस यात्रा सुरु हुन्छ र ऊ मेरो मोबाइल प|mेन्ड हुन्छ ।
मुड अफ हुँदा अचेल म ऊसँग एसएमएस संवाद गर्छु । ऊ मसँग आफ्नी प्रेमिकाको सुन्दरताको चर्चा गर्दैन । म ऊसँग आफ्ना एकझुन्ड प्रेमीहरूको कुरा उप्काउँदिनँ । प्रायः म ऊसँग मनको कुरा गर्छु ।
“बुझ्यौ, कहिलेकाहीँ मन निकै खाली हुन्छ । केही हराएजस्तो, केही गुमाएजस्तो ।”
“बुझेँ !” ऊ सधैँजसो जिस्कने मुडमा हुन्छ, “उता तिम्रो मन खाली हुँदा यता मेरो मन छचल्किरहेको हुन्छ । सायद तिम्रो मन मेरो मनसँग मिसिइरहेको छ ।”
“के तिमी जिस्किरहेका छौ ?”
“होइन म सत्य बोलिरहेको छु । कतै रिित्तँदा कतै भरिनै पर्छ ।”
“हुनसक्छ । सायद त्यसैले यता म उदास हुँदा उता तिमी हाँसिरहेका छौ ।”
यो मोडमा आइपुग्दा ऊ प्रायः गम्भीर हुन्छ ।
“के तिम्रो मन साँच्चिकै उदास छ ?”
“सत्ते ! ग्लुमी सन्डे जत्ति नै । खास भन्ने हो भने त्यसभन्दा पनि बढी । छात्राबास, कलेज, क्यान्टिन, लाइब्रेरी र फिलोसोफीका ठेलीहरू । एक हूल प्रेमी र तिनका अतृप्त आँखाहरू । सडक, गल्ली, भीडभाड र चर्का हल्लीखल्लीहरू । सबथोक निरर्थक । सब झर्कोलाग्दा । कतै मन नअडिने । कतै गन्तव्य नभेटिने ।”
अचेल उसले मेरो निकै ख्याल गर्न थालेको छ । झरी पररिहेका अल्छीलाग्दा दिनहरूमा सिरकभित्र पसेर गि्रक फिलोसोफीमा हराइरहँदा ऊ अचानक मेरो मोबाइलको रङि्टोन बजाइदिन्छ, “पार्कमा घुम्न जाने ? पानीमा रुझ्दै घुम्दा निकै रमाइलो हुन्छ ।”
कहिलेकाहीँ दरबारमार्गमा फराकिला सडकपेटीमा एक्लै बरालिइरहँदा ऊ अचानक एसएमएस गर्छ र सोध्छ, “के तिमी मसँग अमेरकिन सेन्टर जान्छ्यौ ? अक्सफोर्ड युनिभर्सिटीका विद्यार्थीहरू अगस्ट स्ट्रिङ्वर्गको निकै घतलाग्दो नाटक मिस जुलीको स्टेज सो गररिहेका छन् ।
म कहिल्यै जाँदिन । ऊ ज्यादा जिद्दी गर्दैन किनभने ऊ जान्दछ मलाई कसैले विवश गर्न सक्दैन ।
झरीले रुझाएको हरियो चौर, आधा उघ्रिएको नीलो आकाश, हावाको मसिनो झोँक्कामा यताउता हल्लिरहेका अशोकका पातहरू । गृष्मको लगभग अन्त्यतिरको एक शनिबार काठमाडौँको भीडभाडभन्दा अलि टाढै एउटा शान्त पार्कमा उसलाई पहिलोपटक भेट्दा म खुसीले निकै उत्तेजित हुन्छु ।
“हेल्लो मोबाइल फ्रेन्ड !” खजमजिएको कपाल र अनिँदा आँखाहरू लिएर करबि पाँच फिट आठ इन्च अग्लो आकृति मेरो अगाडि ठिँग उभिँदा म बगैँचाका चराचुरुंगीलाई चारो खुवाइरहेकी थिएँ । ऊ यति जोडले बोलेको थियो कि चारो टिपिरहेका चराहरूसमेत तर्सिएर भुर्र उडेका थिए ।
“तिमी त ठ्याक्कै बीपीकी सुम्निमा जस्तै रै’छौ नि !” बाँकी रहेको चारो भुईंभर िछरेर आराम बेञ्चतिर लम्कँदा ऊ त्यति भनिसक्छ । “केमेस्ट्रीका झन्झटिला फर्मुलाहरू कण्ठ गर्न नसक्दा म बीपीका कथाहरू पढेर बस्थेँ । त्यतिबेला मैले बीपीकी सुम्निमालाई तिमीजस्तै कल्पना गरेको थिएँ,” साइन्सको विद्यार्थी ऊ साहित्यमा समेत राम्रो दख्खल रहेको प्रस्ट हुन्थ्यो ।
“के तिमीचाहिँ सोमदत्त ?” निकै बेरदेखि मुस्कुराइरहेको ऊ मेरो प्रश्नले खित्का छाडेर हाँस्छ । हाँस्दा उसको आँखामा अनौठो चमक देखिन्छ ।
“तिम्रा कुरा कति रमाइला ! जहिले पनि सुनिरहुँ लाग्ने । म तिमीलाई कहिल्यै बिर्सन सक्दिनँ ।” ऊ एकाएक गम्भीर हुन्छ, “के तिमी कसैसँग प्रेम गछ्र्यौ ?”
“अँ,” म टाउको हल्लाउँछु । प्रायः यस्तो बेला मलाई बोल्नै मन लाग्दैन । खासमा मेरा कुनै प्रेमीहरू छैनन् । अझ भनौँ, म कसैलाई प्रेम गर्न सक्दिनँ । चाहेरै पनि कसैमा मन अडाइरहन सक्दिनँ ।
“अनि तिमी नि ?” मैले उसलाई त्यही प्रश्न गर्दा हावाले खसाइरहेका शिरीषका नीला फूलहरू हेर्दै ऊ कतै हराइरहेको थियो । उसले नसुनेकाले मैले प्रश्न दोहोर्याएकी थिएँ ।
“प्रेम !” ऊ एकछिन घोरन्िछ र भन्छ, “बुझ्यौ, प्रेम धेरैपटक हुन्छ, धेरै जनासँग,” मैले खोजेको प्रश्नको जवाफ यो थिएन तैपनि म टाउको हल्लाउँछु । “तर, बिनाकारण कोही कसैलाई प्रेम गर्दैन । प्रत्येक प्रेममा स्वार्थ हुन्छ ।” उसले त्यो निकै घतलाग्दो अन्तिम वाक्य बोल्दा म उसकी प्रेमिकाबारे सोचिरहेकी थिएँ ।
“आफ्नी प्रेमिकाबारे पनि केही त भन,” आरामबेञ्चमा पल्टिएर आफ्ना बैँसालु दिनहरूको सम्झनामा हराइरहेका बूढाबूढीहरूको आडैबाट हिँड्दा म उसलाई फेर िप्रश्न गर्छु, “जसका लागि म्यासेज टाइप गरेर तिमीले मेरो इनबक्समा पठाएका थियौ ।”
“हा हा हा !!! त्यो म्यासेज मैले तिम्रैलागि पठाएको थिएँ ।”
“सत्ते ?”
“अँ, उसलाई त मैले अर्कै म्यासेज पठाइहालेँ नि, ढिलो भएकामा माफ मागेर ।”
“कस्तो फटाहा तिमी त !”
“किन ?”
“मैले त अर्कै सोचेकी थिएँ ।”
“के सोचेकी थियौ ?”
“त्यो म्यासेज तिमीले मेरैलागि पठाएका थियौ,” मेरो आवाज लगभग रुञ्चे थियो ।
“भनिहालेँ नि, त्यो एसएमएस तिम्रैलागि थियो ।”
“भैगो मसँग नबोल तिमी फटाहा ।”
धुपीको बोटमा छलिएर माया गररिहेका प्रेमीहरूको छेवैबाट हिँडेर म अलि पर्तिर जान्छु र माउसँगै उडिरहेका परेवाका बचेराहरूलाई सुसेल्न थाल्छु । तर्सिएर उनीहरू झन् परपर उड्न थाल्छन् ।
“के तिमी मसँग साँच्चिकै रिसायौ ?” ऊ मेरो छेउमै आइपुग्छ र लगभग छोइएर उभिन्छ, “एक हूल मान्छेको भीडमा अचेल मलाई तिमी मात्र मन पर्छ ।”
“अनि, तिम्री प्रेमिका ?”
“ऊ मसँग अस्ट्रेलिया जान चाहन्छे । म स्टुडेन्ड भिसामा, ऊचाहिँ डिपेन्डेन्ट । काम गरेर ऊ मलाई पढाउन चाहन्छे । ऊ मलाई निकै माया गर्छे । आफैंलाई भन्दा पनि बढी ।”
“तर, तिमी त निकै उदास देखिन्छौ नि ?” यसपालि पनि उसले मेरो प्रश्न सुनेन र मैले फेर दोहोर्याएर सोधिनँ ।
फर्कंदा ऊ र म दुवै मौन थियौँ ।
साँझ कैयौँ महिनापश्चात् पुनः झ्यालमा उभिन्छु र सुनसान सडकतिर नियाल्छु । सबथोक उही लाग्छन्, उस्तै पुराना । धूलोले छोपिएका दाडिमका एकजोडी रूखहरू, अव्यवस्थित तारहरूले बेरएिका बिजुलीका खम्बाहरू, टाढा कतै रेस्टुराँबाट आइरहेको गीतको मधुरो आवाज…।
“सत्ते ! आज मन फेरि उदास छ ।”
(श्रोत:- Nepal )