थाकेको बेला उकालो बाटो चौतारी टेके झैं
तिमीलाई देख्दा सम्झिन पुग्छु छाहारी भेटेझैं
जुन पढ्छु तिम्रा कविता कथा आफुलाई त्यहीँ पाउँछु
जुन बाटो हिँड्छु त्यहीँ तिम्रा पाइला देख्दै म रमाउँछु
ओसिला लाग्छन् फूल र जून तिमी छेउ आइबस्दा
तरेली पर्छ कलेजी पाटो मनमनै केही सोच्दा
झरीको पछि उदासी मनले इन्द्रेणी देखे झैं
तिमीलाई देख्दा सम्झिन पुग्छु छहारी भेटे झैं
जुन बाटो हिँड्दा भेटियौं हामी नभत्कोस् त्यो बाटो
जुन पाइला हामी संगसंगै हिंड्यौं नबगोस् त्यो माटो
त्यही बाटो खुशी, त्यही माटो प्राप्ति सम्झेको छु मैले
मनैमा यौटा पालेर विश्वास राखेको छु मैले
कसैले चोखो भावना मनको गीतैमा लेखे झैं
तिमीलाई देख्दा सम्झिन पुग्छु छहारी भेटेझैं
गैह्रापाटन, पोखरा
फोन ः ०६१–२६०४०
(स्रोत : रचना पत्रिका बर्ष ४२ अंक ७४ २०५९)