~माधव घिमिरे~
यसै राम्रो हिमचुली-सुनपानीमा चोपली
बिहानीमा उचाली
त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली ।
कति राम्रो हिमचुली घामको रेखी हाली
कहाँ होलिन् हिउँगोरी भरखर माया थाली
घाम झुल्कन बाँकी छँदै घामको रेखी पर्यो
थाहै नपाइ आज मलाई कल्ले माया गर्यो ।
घाम झुल्क्यो पहाडमाथि सुनको कलश राखी
आफैँलाई अर्पेपछि अर्पन के बाँकी
लेकदेखि घामको रेखी बेँसीतिर झर्यो
आफैँलाई गर्ने माया कि मैतिर सर्यो ।
आज बिहान जागा हुँदा-भित्री आँखा खुल्यो
भित्री आँखा खुल्दा देखेँ-माया रै’ छ ठूलो
सुन्पानीमा चोपलेझैँ सिङ्गै हिमाल चुली
हिमाल चुली ठूलो हो कि, मेरी माया ठूली ।
(श्रोत:- मधुपर्क माघ, २०६७)