मलाई थाहा छ, यति बेला पनि त्यो मोटी र अलिकति पनि हिसि नपरेकी महिला जसलाई मेरी स्वास्नी भनिन्छ, झ्यालबाट मेरो बाटो हेर्दै होली। रातको साढे एघार बजिसकेको छ। गाढिएको चकमन्नता। सडकमा एकदुइ भुस्याहा कुकुरका भुकाइ सिवाय केही सुनिन्न। यतिबेलासम्ममा उसले छोराछोरीलाई ख्वाइवरी भान्छाको धन्दा सकाइसकेकी होली। मजाले विछ्यौनामा पल्टेर रेडियोमा गीत सुन्दै निँद कुर्नुको साटो झ्यालनिर उभिएर सधँै झैँ उसले मलाई नै कुरिरहेकी हुनुपर्छ।
म बाइकबाट ओर्लिन पाएको हुन्न, ऊ तल ढोका खोल्न आइसकेकी हुन्छे। “आज पनि ढिलो आउनु भो।” उसले “आज पनि” मा अलि बढि जोड दिंदै सुस्तरी भन्छे। यो उसले गुनासो गरेकी हो तर गुनासोको शैलीमा भनिरहेकी छैन।
हुन पनि विगत केही दिनहरुदेखि म घर ढिलै आइरहेछु। आजको यो ढिलाइ कुनै नौलो नभएर भैरहेको क्रममा खाली एउटा पुनरावृति मात्र हो। पक्कै उसले मलाई यही कुरा सम्झाउन खोजेकी छे। “के भो त?” म झर्किन्छु। मेरो यस स्वीकारोक्तिमा थुप्रै उपेक्षा छन् उसप्रति। हेल्मेटलाई बाइकको ह्याण्डलमा झुण्डयाएर म सहज ढोकातिर बढ्छु। आफूलाई हरसंभव स्वाभाविक देखाउँछु। हरेक रात अबेला घर फर्कनु मेरो लागि कुनै नौलो र अस्वाभाविक कुरा हैन भन्ने, अनुभूति गराउन चाहन्छु उसलाई।
यदि म उसको ठाउँमा भएको भए, रीसले घरै उचालेर आर कि पारको स्थितिमा पुगिसकेको हुन्थेँ तर किन हो ऊ चूप छे। मेरो उपेक्षापूर्ण प्रत्युक्तरले ऊ आक्रोसमा आएर पड्किन्छे भन्ने मेरो अनुमान, आज पनि फेल खान्छ। खै कुन्नि। कुन रसायनबाट बनेकी छ यो आइमाई। म चाहन्छु, मेरो बोली व्यवहारको कारणले उसले असन्तुष्ट बनेर मसँग झगडा गरोस्, मबाट टाढिने प्रयास गरोस्। अपशोच! मेरी स्वास्नीले कुन समीकरणमा यी सब सहिरहेकी छ भन्न सक्दिन।
उसको मौनताले मलाई अरु बढी चिढाउँछ। हल्का मातेको मैले, अलि बढी मातेको अभिनय गर्छु। मैले लड्खडाउँदै भरेङ्ग चढेको देखेर उसले मेरो पाखुरा समात्छे। नाकलाई अलिकति मेरो अनुहार नजिक ल्याएर सुँध्न खोज्छे। शायद सुँघेर मैले पिएको रक्सीको मात्रा र मातलाई अनुमान लाउन खाजेकी हो। ऊ मलाई समाउँदै कोठाभित्र पुर्याउँछे। केटाकेटी निदाइसकेका हुनुपर्छ। तिनका कोठाको बत्ति निभेको छ। म सोफामा थचक्क बस्छु र आँखा बन्द गर्छु। म चाहन्छु,त्यो बेला मलाई एक्लै छाडियोस् तर मेरो चाहना विपरित बन्द आँखाबाटै महशुश गर्न सक्छु, ऊ छेवैमा उभिएर मलाई नै हेरिरहेकी छे। केराको थाम जस्तो विना बान्की बनोटको भद्दा शरीर र मेकअप विनाको फुङ्ग उडेको अनुहार≤ अचेल मलाई हेर्नै मन लाग्दैन। उसमा मेरो दृष्टि पर्दा नजर अडाउने त्यस्तो कुनै रुप,गुण र विशेषता नै म पाउँदिन। हरबखत भान्छा र छोराछोरी कै पछाडि दौडिरहने उसमा तेल र पसिनाको गन्धभन्दा बढी, अरु केही छँदैछैन।
“खाना पस्कुँ?” ऊ सोध्छे। ऊ रिसाएको नभए पनि उसका चिसिएका दृष्टि र आवाजमा माधुर्यता पनि छैन। “पर्दैन।” म ठाडै उपेक्षा गर्छु। आफ्ना कुरामा स्पष्टिकरण दिइरहनु पर्ने आवश्यकता पनि म देख्दिन। उसले खाइ कि खाइन वा खान जानु सम्म पनि नभनी म ओछ्यानमा पल्टन्छु।
कोठाभित्र बहेको मन्द हावाले टाउको दुखाइ अलिकति हल्का हुन्छ। झ्यालमा टाँगिएको रंगिन बुट्टेदार पर्दा हावाले सर्सराइरहेको सुनिरहेको छु। हल्का आँखा खोलेर कोठामा सर्सति नजर डुलाउँछु। हेरक फर्निचरहरु यथा ठाउँमा छन्। साँच्ची भन्ने हो भने, कोठामा सामानको खासै कुनै कमी छैन, कमी छ त आफ्नै मनभित्र। केही खट्किए झँै, सबै पाएर पनि अझै केही नपाए झैँ, खडेरी किन परिरहन्छ, म प्रायः आफ्नै मनलाई प्रश्न गर्छु। जागिर छ, घर छ, छोराछोरी छन्, घर धानिरहेकी स्वास्नी छ, फेरि पनि मैले के खाजेको छु… कैलेकाहीँ यस्तै एकान्तमा मैलै आत्मालोचना गर्ने विषय हो यो तर मनभित्र उब्जने यस्ता कुरा केही बेरमात्र रहन्छन्। बाँकी समयमा मेरो संसार, मेरा इच्छाहरु र मात्र म हुन्छु। भन्नेले मलाई स्वार्थी भन्लान् ,मलाई यसमा केही भन्नु छैन। मेरो इच्छामा कसैको पनि हस्तक्षेप मलाई पटक्कै मन पर्दैन। जब कोही मलाई नसिहत दिन थाल्छन् वा कुनै कुरालाई विवेक र अविवेकको तराजुमा तौलन भन्छन्ः मेरो विवेक गुम्छ। अनि म त्यो चिजलाई गर्न र पाउन आफ्ना सम्पूर्ण शक्ति लगाउन पनि पछि पर्दिन। हुन सक्छ, यो ममा भएको अहम् हो तर अहम् नै नभएको मर्द पनि के मर्द र?
स्वास्नीसँग यस्तै कुरामा मेरो विवाद परिरहन्छ। या यसलाई यसरी भनुँ,उसको अनुुरोधमा म प्रतिवाद गर्दै विवाद गरिरहन्छु। घर र उसलाई दिनुपर्ने समयलाई मुद्दा बनाएर उसले आफ्ना इच्छा र विचार ममाथि लाद्न खोजेको जस्तो मलाई लागिरहन्छ। मलाई सम्झाउन असफल भएपछि ऊ निरिह बनेर मेरो चापलुसी पनि गर्छे तर उसले भनेका कुराहरु कर्कलाको पातमाथिको पानी जस्तै तर्किन्छन्, म खानै सक्दिन।
टिभिको टेबुलमाथि, आजभन्दा बीस वर्ष अगाडि बिहे भएको लगत्तै खिचिएको हाम्रो संयुक्त फोटो छ – जहाँ समयको एउटा कालखण्ड समेटिएको छ। ऊ त्यस्तै बीस बाइसकी हु“दी हो, दुब्ली पातली। सम्पन्न परिवारकी छोरी। पहिले ऊ अहिले जस्ती त्यति नराम्री पनि थिइन। भए पनि,त्यो बेला मलाई लालसा, साथमा पाइने दाइजोको लागेको थियो। त्यसैले उसको परिवारवाट बिहेको प्रस्ताव आउँदा, क्षणिक भेटमा मनभित्र बस्न नसकेकी भए पनि उसँगको बिहे प्रस्तावलाई अस्वीकार गरिँन। जागिर अस्थायी थियो र थोरै तलब। तन्नेरी मन, अनि असीमित जवान इच्छाहरु। सम्पन्न घरसँग जोडिने साइनोमा मैले अन्य कुराहरु नजर अन्दाज गरेँ।
उसमा शारिरीक खोट छ भन्ने थाहा त थियो तर बिहेपछिका पछिल्ला वर्षहरुमा मैले पहिले नजर अन्दाज गरेका स्वास्नीका कमजोरीहरु दिनपर दिन ठूलो देख्न थाल्छु। जब जब पनि स्वास्नी मछेऊ उभिन्छे, मेरो सारा ध्यान ती कमजोरीहरुमा नै केन्द्रित हुन पुग्छन्। अनि जब ऊ मेरो सामु खुट्टा खोच्याउँदै हिँड्छे, मेरो सम्पूर्ण स्वभिमान् आहत् हुन्छ। जहाँ आफ्ना साथीहरु सिंगारिएका स्वास्नीलाई साथमा लिएर गजक्क परेर हिँड्छन् ,म भरसक त्यस्ता मौकाहरु पन्छाउने गर्छु। पैसा भएकाहरुका मन हुँदैन भन्ने पूर्वाग्रहवाट म कहिल्यै माथि उठ्न सकिँन। दाइजोमा पाएको घरमा बस्दै आएको ममाथि सहकर्मीहरुको व्यङ्गयात्मक दृष्टि र …धनी ससुराली भएका… भन्ने टिप्पणीको पीडा मलाई सधैँ हुने गर्छ। त्यसैले पढेलेखेकी भएपनि मैैले स्वास्नीलाई जागिर खान दिइन“। उसले हल्का प्रतिवाद गरेकी थिई तर उसको केही लागेन।
दुइ सन्तान पाएपछि ऊ पूरै गृहस्थी देखिएकी छ। घरमा काम गर्ने राखेको पनि छैन। त्यसैले सवै काम उसकै जिम्मामा हुन्छ। उसलाई रातोदिन घरकै काममा खटिरहेको देख्दा मेरो पुरुषोचित अहम् गर्वले ठडिन्छ र आफ्नो आहत् स्वाभिमान केही भए पनि शीतल हुन्छ। बढ्दै गरेको उमेर र जिम्मेवारीले गर्दा ऊ दिनदिनै बेडौल बन्दै गैरहेकी छे। उसँग मेरो त्यत्ति दोहोरो कुरा पनि हुँदैन। रातमा आफ्नो आवश्यकताको बेला बाहेक अरु बेला उसको चाहना हुँदैन मलाई। त्यही भएर मैले आफूलाई काममा बढी भन्दा बढी डुबाएको छु। छोराछोरीसँग बसेर होमवर्क सोध्नु, उनीहरुलाई डुलाउन लानु र स्वास्नीको पीरमर्का, गाह्रोसाह्रो सोध्ने कष्ट मैले आजसम्म गरेको छैन। सम्पन्न माइतीकीलाई सोध्ने आफन्त धेरै होलान् भन्ने सोचले पनि मलाई ऊप्रति सहानुभूति जगाउँदैन। उसले घर र छोराछोरीका जिम्मा ढुक्कै सम्हालेकी छे, यसमा कुनै शंका छैन। यो यथार्थ बुझेर पनि उसप्रति घटिसकेको माया फेरि बढ्न सकेको छैन।
मेरा सहकर्मीहरुका श्रीमती, तिनका कुरै बेग्लै। प्रत्येक भेटघाटमा उस्तै उन्मुक्त उस्तै आत्मीयता मानौँ म उनीहरुका श्रीमानको हैन उनीहरुकै साथी हुँ। तिनका छड्के हेराइ र छेडहरु, बेलाबेलामा मसँग लाडिएर कुुरा गर्ने बानीले मलाई स्वास्नीले भन्दा बढी तान्छन् भन्ने स्वीकार्न कुनै आपत्ति छैन। स्वास्नीप्रतिको वितृष्णाले नै मलाई ऊवाट टाढा र मोना नजिक पुर्याएको हो। मेरो अफिसकी लाइब्रेरीयन मोनाका हरेक कुराहरु मलाई तार्किक र युक्तिसंगत लाग्छन्। ऊ पनि त कसैकी श्रीमती हो,तर ऊ कत्ति हँसिली, फरासिली, र फेशनपरस्त छे। म आफ्नी स्वास्नीलाई हरेक महिलासँग अनायसै तुलना गर्छु। हरेक पक्षवाट ऊ मलाई बेडौल र बेढँगकी नै लाग्छे।
स्वास्नी कोठाभित्र पसेकी झैँ लाग्छ। उसको आगमनले तन्द्रामा उनिएका पुराना कुराहरु झर्ल्याम्म फुट्छन्। म आँखा बन्द गर्छु। शायद बन्द आँखा देखेर, म निदाइसकेको लख काट्दै ऊ बत्ति निभाउँछे र खाटमा मेरै छेऊ पल्टिन्छे। नबोली अर्कोतिर फर्केकीले उसका आँखा बन्द छन् वा म जस्तै केही सोचिरहेकी छ , भन्न सक्दिन। विहान उठ्दा पनि कोठा उस्तै शान्त छ। केटाकेटीहरु उठिसेका छैनन्। हिजो अफिसमा मोनाले मोर्निङ्गवाकको प्रसङ्ग निकाल्दै थिई। मोर्निङ्ग वाक त थाल्नै पर्ला जस्तो छ, हेल्थको हेल्थ, साथमा उनको मीठो सान्निध्य। बढ्दै गरेको आफ्नो भुँडी सुम्सुम्याउँदै म सोच्छु। बेडवाट उठेको हुन्नँ, स्वास्नीले चिया ल्याउँछे। “आज अफिसबाट अलि चाँडै आउनु हुुन्छ कि?”उसको प्रश्नमा पुलुक्क ऊ तिर हेर्छु। समयभन्दा अगावै उसले ओढेकी गाम्भियर्ता। कत्ति नमिलेको नाक, ठूला गाला,साना आँखा, लत्रेका ओठ, भएभरको कुरुपताको जिम्मा उसैले पो लिएकी हो कि भन्ने शंका पनि लाग्छ। न कुनै प्रश्न न जवाफ,म मौन रहन्छु। चियाको पहिलो चुस्की नै नमीठो। चिया सकाउन पनि सकिनँ।
अफिस र घर गर्दै समय बितिरहेको छ। यी वितेका दुइ चार महिनाहरुमा म बदलिएको छैन न ऊ नै परिर्वतन भएकी छे। मेरो उप्रतिको चिसो व्यवहार, उपेक्षा र तटस्थता घटेको छैन बरु बढेकै छ। यसलाई खप्न उसले आफूलाई अझ अभ्यस्त बनाइसकेकी जस्तो लाग्छ नत्र यत्तिका समय सम्म तिरस्कृत भएर बस्न गाहै पर्थ्यो। मैले उसलाई रीस उठाउन अनेकौँ दुर्व्यवहार गरिसकेँ। अनेकौँ यस्ता परिस्थतिहरु सृजना गरिसकेँ जसमा उसले ममाथि सजिलै शंका गर्न सक्थी। ऊ मौन, आफ्नै गतिमा जीवन डोर्याइरहेकी छे। मानौँ यस्ता कुनै पनि अनुभूतिहरुबाट उसले आफूलाई तटस्थ राखिसकेकी छे।
सम्पन्नतासँग मैले आफ्नो मनको सुखशान्ति दाउमा राखेर आफैमाथि अन्याय गरेँ कि? या यो मेरो, मात्र एउटा सोचाइ हो? यी तर्कनाहरुलाई डान्सबारभित्र चिसो बीयरका चुस्कीसँग पिउन खोज्छु तर कुुनै निश्चयमा पुुग्न सक्दिन। रेष्टुराँको कुनामा निकैबेर आफ्नै जिन्दगीलाई सहानुभूति दिँदादिँदै धेरै पिएछु। आज म सा“च्चीकै मातेको छु। अनियन्त्रित आफूलाई उभ्याएर घडी हेर्न खोज्छु ,समय ठम्याउनै सक्दिन। आज पनि ढिलो भैसकेको छ। घरनिर आउँदा झ्यालको पर्दा पछाडि हल्का छाँया देख्छु। स्वास्नी त्यहीँ उभिएकी हुनुपर्छ। बिना भोक, बेस्वादिलो खाना खाए जस्तो मन एक तमाशले नमीठो हुन्छ।
बाटोमा लेउ लागेको रहेछ, बे्रक समाउँदा समाउँदै पनि बाइकमाथि मेरो नियन्त्रण रहन्न। आफ्नै खुट्टामाथि बाइकको भार पर्दा पनि मैले बाइक पर सार्न सक्दिन। स्वास्नीको सहयोगमा बल्ल बल्ल उभिन्छु तर खुट्टाको तीब्र पीडाको कारण माथिसम्म पुग्न पनि धौ धौ पर्छ। त्यसपछि एक्सरे, प्लास्टर, क्लिनिक र फलो अप, एक महिनाको लागि कैदी झै थुनिन्छु आफ्नै घरभित्र।
यो एक महिनामा मेरो दिनचर्या निकै परिवर्तन भएको छ। प्लास्टर लाएको खुुट्टाले दिनभरि ओछ्यानमा पल्टेर बस्नु,झयाल अगाडि बसी निरुद्देश्य बाहिर हेरिरहनु,किताब पढ्नु,टिभि हेर्नु यही नै मेरा काम भएका छन्। जुन स्वास्नीको अनुहारसम्म पनि हेर्न मन छैन, अब दिनभरि त्यही अनुहारको सामु बस्नु मेरो बाध्यता बनेको छ। पट्याँई लाग्छ, के गर्नु, यो अवस्थामा अर्को विकल्प पनि त छैन। साथी सहकर्मीहरु भेट्न आएका दिन अलि रमाइलो लाग्छ अन्यथा दिनभरि म स्वास्नीको काम टुलुटुलु हेरिरहन्छु। ऊ बिहान उठेदेखि एकनासले काम गरिरहेकी हुन्छे। कोठामा पुछपाछ, सिउने, धुने काम सकेपछि ऊ सधैँ मेरो छेउ आएर बस्छे। बच्चाबच्ची स्कूलबाट आएपछि खाजा र उनीहरुको होमवर्क, फेरि लगत्तै भान्छाको तयारी, उसले एकपछि अर्को काम विना झिँझो गरेको देख्छु।
भान्छाको काम सकाई कोठामा ओर्लदा ऊ सधैँ थाकिसकेकी हुन्छे। धेरैपल्ट थाकेर ऊ मेरै गोडामुन्तिर निदाएकी पनि छ। त्यस्तो बेला उसको अथक श्रम, सहनशीलता र उदार मुटु देख्दा मनभित्र कता कता अपराधबोध हुन्छ। उसको अनुहारका कालो पोते अनि असमान खुट्टाका शारिरीक दोष अब साधारण लाग्दै गएका छन्। वास्तवमा उसलाई नपुग्ने के नै पो छ र तैपनि समर्पित, मेरै नाममा दुःख सुख सहेर उसले माइतीमा कहिल्यै गुहारेकी छैन। उसको मौन र अथक सेवाभावले मभित्र निर्मित कठोरपना पग्लिँदै छ। अहिले मलाई उसको अनुहार असह्य लाग्दैन, उसको उपस्थितिले बेचैन पनि गराउँदैन। पहिले आफूले गरेका व्यवहारको आत्मग्लानीले बरु लज्जित हुन थालेको छु। मेरो परिवर्तित व्यवहार र उसलाई संँगै बसिरहन गर्ने मेरो अनुरोधले ऊभित्रका गाम्भिर्यता पनि विस्तारै पातलिन थालेको छ। अब ऊ मतिर हेर्दा चिसिँदिन,उज्यालो मुख लाउंँछे। उसका ओठभन्दा पहिला चम्किला आँखा हा“सेका हुन्छन्। मैले ती मुस्काउने आखाँहरुभित्र फेरि नयाँ चमक देख्न थालेको छु,।
हप्तादिन भयो खुट्टाको प्लाष्टर निकालिएको। लामो समयसम्म एउटै स्थितिमा बस्दा शरीर मात्र हैन मन पनि कुँजो भैसक्ने रहेछ तर म धेरै हदसम्म निको भैसकेको छु। “के सोच्दै हुनुहुन्छ?” स्वास्नीले चिया अगाडि राख्दै सोध्छे। “त्यस्तो केही हैन, पुराना कुराहरु सम्झेको।” मलाई स्वास्नीको माया लाग्छ। मीठो लागेको छ उसँग बसेर कुुरा गर्दै गरेको। “लौ म त लागेँ त्यसो भए, तपाईलाई डिस्टर्व होला। ” ऊ जान ठीक पर्छे। “हैन। प्लीज,बस न एकैछिन।” छेउ उभिएकी उसको हात समाएर म रोक्न खोज्छु। “पसिनै पसिना भा कि छु। तपाईलाई मन नपर्ला।” उसले स्वाभाविक लजाउँदै भन्छे। म लामो सास फेरेर उसको शरीरको बास्नालाई आत्मसात गर्न खोज्छु। उसमा न पसिनाको गन्ध छ न तेलको चिपचिप बरु मनलाई स्वीकार्य मीठो र प्राकृतिक गन्ध छ। लाग्छ आँखा बन्द गरेर त्यसैमा हराइरहुँ। मेरो गतिविधि नियालिरहेकी मेरी स्वास्नी, हल्का मुस्काउँदै भान्छातिर उक्लिन्छे। उसको स्निग्ध र सलज्ज मुस्कानले मलाई मोनालिसाको सम्झना दिलाउँछ। लाखौंमा पनि नपाइने मोनालिसाको त्यो जादुई मुस्कान।
मोनालिसा,ओहो! झल्यास्स सम्झन्छु मोनालाई। एकैछिन अघि मात्र उसको मेसेज पाएको छु। ऊ दुइ महिने बिदेश टुरवाट भर्खर फर्केकी छ। आँखा सन्काएर मुस्काउने उसको बानी मलाई औधि मन पर्छ। अनायसै उसको मोबाइल नम्बर डायल गर्छु। मेरा आँखामा मोनाको मोहिनी रुप र अपील भरिएको मादक मुस्कान नाच्न थाल्छ।
(श्रोत:- Mysansar)