~मनु ब्राजाकि~
माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँ
एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ
जता गए पनि यहाँ बाटो कुर्नुपरेकै छ
दिक्क मानी चौतारीमै आफ्नो फोटो टाँसिदिएँ
रनवन रमाएर हिँड्नुपर्ने यस्तो बेला
एकल्काँटे आफूलाई एकान्तमै फाँसी दिएँ
यति धेरै आफन्त र आफ्नाहरू भए यहाँ
बरू एउटै शत्रुसित माया मैले गाँसिदिएँ
मिर्मिरे यो बिहानीमा पनि मैले मनको दियो
साँझ पर्यो भन्ने ठानी सलेदो उकासिदिएँ
‘मनु’ हाँसिरहेको छ दु:ख मेरो देखीदेखी
हिजो गाली गरे पनि आजचाहिँ स्याबासी दिएँ
(श्रोत:- अन्तर्जाल)