कथा : परीक्षण

~बिन्देश मगर~

“जय नेपाल विजय जी।”

जय नेपाल।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु। प्रकाश मेरो समकक्षी साथी DSP हो। उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो। CBI मा सँगसँगैको भर्ति, एउटै Department र हाल पनि एकदम मिल्ने साथी भएकोले ऊ मेरो कार्यकक्षमा आइरहन्छ। आज पनि विहानै उ मेरो अफिसमा आएको छ।

के काममा व्यस्त हो आजकल ?” ऊ मलाई सोध्छ।

ऐले त्यस्तो कुनै नयाँ विशेष अप्रेसन त छैन तर हिजो मात्रै सोल्टी होटलबाट फर्केको। त्यहाँ एक जर्मन पर्यटकको निगरानी गर्न गएको थिएँ। खासै त्यस्तो संकास्पद कुरा भेटिएन। ३ दिन सोल्टी होटलको खानपिन र बसाई भो, बस् उपलब्धी त्यति भो।”
“अनि के को लागि खटाइएको थियो र तिमीलाई ?”

इन्टरपोलले जर्मनीमा एक व्यक्ति हत्या गरी फरार भएको व्यक्ति भएको आशंकामा निगरानी गर्न मलाई त्यहाँ खटाइएको थियो। त्यति महँगो फाइभ स्टार होटलमा हामी जस्ताको त्यसै बास कहाँ हुन्छ र ? जे होस् यसपाली चैं पहिलो पटक ३ दिन त्यहाँ बासै बसियो।”

“अनि त्यो जासुसी क्यामेरा परीक्षण भयो ?”

त्यो परीक्षणै नगरी त पठाइएको पक्कै होइन होला तर यहाँ एकै चोटी परीक्षणै नगरी काम र मिसनमा प्रयोग गर्नुभन्दा पहिला परीक्षण गरेर मात्रै मिसनमा प्रयोग गर्नु बेस होला। ठिकै छ म परीक्षण छिटै गर्छु।”

प्रकाश चिया गफ सकेपछि आफ्नो कार्यकक्षतिर लाग्छ। म त्यो जासुसी क्यामेरा हेर्दै त्यसको परीक्षण योजना बनाउन थालेँ। जासुसी क्यामेराको आकार कमिजमा लगाउने टाँकको जत्रै थियो। यसले आवाजसहितको भिडियो यसको प्रणालीसँग जोडिएको कम्प्युटरमा दिइरहन्छ। यसलाई कुनै बिदेशी सरकारबाट सहयोग स्वरुप पठाइएको थियो र मेरो कार्यालयमा ३ सेट पठाएको थियो। मैले यसको परीक्षण आफ्नै घरमा गर्ने बिचार गरेँ। यो सानो गहनामा लगाउने पत्थर जस्तै भएकोले यसलाई महिलाले कानमा लगाउने झुम्कामा जोड्ने निधो गरेँ। सुन पसलमा गएर यसको प्रकारसँग मिल्ने पत्थर भएको झुम्काको मोडल रोजेँ र त्यसको जोडीमा एकातिर जासुसी क्यामेरा र एकातिर सक्कली पत्थर जडान गरेर सुनको झुम्का बनाउन अर्डर दिएँ। नभन्दै हप्तादिनमै मैले भने र चाहे अनुरुपकै सुन्दर गहना बन्यो। यसलाई जन्मदिनको अवसर पारेर श्रीमतीलाई उपहार स्वरुप दिएँ। मेरी श्रीमती पनि त्यस्तै औसत खालकै महिला थिइन् जो श्रीमान्‌ले महँगा गहना दिँदा आफूलाई निकै भाग्यमानी ठान्दछ, अनि श्रीमान्‌ले त्यो कहाँबाट कति र कसरी दुःख गरेर ल्याएको छ त्योबारे वास्ता गर्दैन।

घरमा छोरी अनि श्रीमती, श्रीमतीको जीउमा टाउको, टाउकोमा कान, कानमा सुनको झुम्का, झुम्कामा जासुसी क्यामेरा, क्यामेरामा भिडियो, भिडियोमा कमप्युटरबाट मेरो निगरानी। म यसैगरी कार्यालय र अन्य कामको लागि बाहिर रहे पनि रेकर्ड गरिएको भिडियो निगरानी गरिरहन्थेँ। माफ गर्नुस् मित्र, मैले आफ्नी प्यारी श्रीमती माथि शंका लागेर निगरानी गरेको थिइनँ। म त मात्र त्यस जासुसी क्यामेराको सफलतापूर्वक परीक्षण गरिरहेको थिएँ।

आमाछोरी दुवै बोर्डिङ जान्थे। एकजना पढ्न र अर्को पढाउन। छोरी पढाउने र आमा पढ्ने चहि हैन, किनकी मैले भनिहालेँ मेरी श्रीमती औसत महिला नै थिई जो साधारण बोर्डिङ स्कुलकी साधारण शिक्षिका थिई। अनि छोरी पनि साधारण छोरी नै थिई जो साधारण बोर्डिङका साधारण विद्यार्थी थिई। यति भनेपछि तपाईले बुझिसक्नुभयो होला मेरो साधारण परिवारको बारेमा। म आफू घरबाट टाढा भएकोले श्रीमतीको कानमा रहेको जासुसी क्यामेराले पठाएको भिडियो हेर्ने गर्थेँ। यसैगरी केही दिन, हप्ता बित्यो।

त्यस्तै एकदिन, मेरी श्रीमतीको बोर्डिङका प्रिन्सिपल समर पनि उनी सँगै घर आयो। त्यो जासुसी क्यामेराबाट तिनीहरुलाई हेरिरहेको म अचानक बेहोस जस्तै भएँ। त्यसपछि मेरा पाँचै इन्द्रीयहरुले अचानक काम गर्न छोडेको थियो। मेरा कार्यालयको अरु सहायकहरुले उठाए पछि म केहीबेरमै बिउँझिएछु। मैले अलि विश्वास नलागेकोले फेरि त्यो भिडियो दोहोर्‍याएर हेरेँ। कम्प्युटर बिग्रेको थिएन, क्यामेरा पनि विग्रेको थिएन, मेरो आँखा पनि ठिकै थियो। बिग्रेको थियो त त्यहीँको क्रियाकलाप। म त्यस्तो अभागी श्रीमान् थिएँ जो आफ्नै श्रीमतीको परपुरुषसँग भएको सेक्सको लाइभ पोर्न मुभी हेरिरहेको थिएँ। समरसँग मेरो साधारण चिनजान मात्र थियो मेरी श्रीमतीको हाकिम भएकोले। उसको बारेमा श्रीमतीले थप कुरा उनको क्याम्पस पढ्दाको साथी भएको कुरा गरेकी थिइन्। आज यस भिडियोबाट थाहा भयो तिनीहरु पहिलादेखिकै प्रेमीप्रेमिका थिए। बीचमा समरको अर्कै केटीसँगै बिहे भयो र त्यसको केही वर्षपछि सीमाको मसँग। तिनीहरु अहिले पनि एक अर्कालाई प्रेम गर्छन् र पहिलेकै जस्तो गरी प्रेमी प्रेमीका बीच हुने क्रियाकलाप स्वरुप शारिरिक सम्बन्ध कायम गरेका थिए।

अब मलाई अचानक ज्वारो बढेर आयो, टाउको पनि दुखेर आयो। आखिर सीमाले किन यसो गरी ? मैले उसको खुसीको लागि के चाहीँ गरिनँ र ? आखिर किन मलाई यसरी विश्वासघात गरी ? समरलाई त्यतिधेरै माया गर्ने भए म सँग किन विहे गरिन् त ? कि म नभएको कारण मेरो अनुपस्थितिको आवश्यकता परिपूर्ति मात्रै गरिन् ? मेरो मनमा दौडिरहेका यी सबै प्रश्न उत्तरविहिन थिए। अब मेरी प्यारी श्रीमती श्रीमती बाट धोकेबाज, विश्वासघाती, निष्ठुरी र यस्तै यस्तै शब्दले पुकार्नु पर्ने पात्र थिईन्। अब के गरुँ केही निर्णय लिन सकिएन। उनीहरु दुवै सँग यति जोडले रिस उठेर आयो कि मैले यहाँ नजिक भएको भए ती दुवैलाई गोली हानेर मारिदिन्थेँ। धेरै तनावका बीच सीमालाई मार्ने योजना बनाएँ, मैले रिसको झोँकमा समाधान नै यही देखेँ। अब म उनलाई कसरी मार्ने भन्नेतिर सोच्न लागेँ। मनमा अनेक किसिमका तर्कना आउँथ्यो। कहिले के सोच्थेँ, कहिले के। कहिले आफैँले बनाएको योजना ठिक लाग्थ्यो कहिले बेठिक। यसै कारण म कार्यालयको काम, मिसन, अनुसन्धान कुनै कुरामा ध्यान दिन नसक्ने भएँ। मैले धेरै प्रकारका अपराध पनि अनुसन्धान गरेको अनुसन्धान विभागको गुप्तचर मलाई हत्या गर्न कुनै धेरै मेहनत गरेर योजना बनाउनु पर्दैनथ्यो। जे भए नि म मेरी श्रीमतीको हत्या गरेरै छाड्ने सोचमा पुगेँ। धेरै सोच्दा सोच्दा, रुँदारुँदा, तनाब ब्यहोर्दा ब्यहोर्दा मेरो मन, शरिर, दिमाग पुरै गलेर सिथिल भइसकेको थियो।

अकस्मात मेरो मोबाइलको घण्टी बज्यो मैले उठाउन खासै रुचि लिइनँ। फेरि बज्यो, हेरेँ सिमाकै नाम र नम्बर स्क्रिनमा थियो। पहिला म फोन उठाउँ कि नउठाउँ कन्फ्युज भएँ। फेरि फोनको घण्टी बज्यो। “धोकेबाज, विश्वासघाती।” चिच्याउन मन लागेको थियो तर चिच्याइनँ। विस्तरै मधुर स्वरमा “हलो” भनेँ।

“बाबा गुडमोर्निङ।” उताबाट मधुर बाल सुलभ बोली सुनियो।

“गुडमोर्निङ छोरी। कतिबेला उठ्यौ ?”

“अघि नै उठेको। बाबा, अब मामु र म हजुरसँग नबोल्ने।” छोरीले दङ्ग्याउँदै घुर्की लगाई।

“किन र छोरी ? बाबा बाट के विरानी भयो र त्यस्तो बोल्नै नहुने ?”

“अब हजुरले म पास भएपछि हामीलाई लिएर घुमाउन लाने भन्नु भएको थियो। हजुरले त मेरो रिजल्ट पनि सोध्नु भएन घर पनि आउनु भएन।”

तनावग्रस्त भएको मेरो दिमागलाई छोरीसँगको फोन बार्ताले ठन्डा तुल्याएको थियो। मैले आफ्नी श्रीमतीलाई मार्न बनाएको योजना र छोरी अनि उसको भविष्य सम्झिएँ।

अकस्मात मेरो गालाबाट आँशुको थोप्लो दौडेर भूँईमा खस्यो। म केही बोल्नै सकिनँ।
उताबाट फेरि आवाज आयो “बाबा। हजुर किन नबोल्नुभाको ? मैले बोल्दिनँ भनेँ भनेर हो ? त्यसो भए अब बोल्ने के बाबा। …………… किन नबोल्नुभाको बाबा ? सरी बाबा मैले फेरि हजुरको चित्त दुखाएँ।” अब छोरी मलाई फकाउन लागेकी थिइन्। म रोएको मेरी छोरीलाई के थाहा ? मलाई फकाउँदै गरेकी मेरी छोरीलाई म चाँडै दुई चार दिनमै घर आउने कुरा गरेर फकाएँ। अनि छोरी म चाँडै घर आउने कुराले खुसी हुँदै फोन राखिन्। छोरीको सुन्दर भविष्य अनि सीमालाई मार्ने योजना यी कुराले मेरो मनलाई रणभूमि बनाएको थिएँ। धेरै सोचेँ, रोएँ अनि आफैँलाई धिक्कारेँ। अन्तमा मैले हत्या योजना पूर्ण रुपमा क्यान्सिल गरिदिएँ।

एक हप्ता विदा लिएर म घर आएँ। घर आई पुग्दा अबेर भइसकेको थियो। सीमा भने मलाई नै पर्खिरहेकी थिइन्। छोरी निदाइसकेकी थिइन्। मस्त निद्रामा सुतिरहेकी छोरीको अनुहार हेरेँ। अनि सीमाको कानको झुम्का पनि। म त्यत्तिकैमा टोलाई बसेछु। सीमा भने भन्दै थिई “यो जासुसी जागिर पनि कस्तो कस्तो हो कुन्नि ? अरुले केमा जागिर खाको भनेर सोध्दा पनि सही उत्तर दिन नमिल्ने सोझो मान्छेलाई पनि यसरी टोलाउने बनाउँदो रहेछ।

म नाजवाफ थिएँ।

(श्रोत:-Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.