कविता : जिन्दगी एउटा इनबक्स

~सुषमा मानन्धर~Shushma Manandhar

जिन्दगी
अब एउटा इनबक्स
दिनहुँ आउने कैयन् इमेलहरू
परिचित/अपरिचित   ठेगानाबाट
वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासँग
आकर्ष/भद्दा शिर्षकहरूमा
सम्मोहित अनि दिग्भ्रमित बनाउँदै छन् ।

मीठो सपनाको लोभमा
पहिल्याउँदै सुदूर
आफ्नाबाट टाढा एउटा भोगाइ
तर, यो भोगाइ, मात्र अन्तहीन ।
सङ्क्रमणबाट त्रस्त जिन्दगीबाट
भाइरस डिलिट गर्न खोज्यो
विडम्बना
जानकारीबिनाको कोही आफ्नै
थुप्रै स्पामहरूभित्र हराउँछ,
अपराधबोध/गल्ती सच्चिन
फेरि एकपल्ट ब्याक । ब्याक… एउटा मौका
पेज क्यानट बी डिस्प्लेड
आफ्नैअगाडि आफ्नो वर्तमान
किन, कसरी, कोबाट कतिबेला सङ्क्रमित हुनपुग्ने हो
मरीचिकाको परिणति शून्य

नचाहँदा पनि थेग्न नसकिने थुप्रै जङ्क मेलहरू
अस्तित्वमा अनधिकृत हस्तक्षेपसँग
जिन्दगीको शान्त तलाउमा
ढुङ्गा फालेर भाइरस फैलाउँदै छन् ।
एलर्ट
आफ्नो र परायबीच
सचेत हुने मौकै नदिई
इनबक्सभित्र ह्वात्तै खोलिन पुग्छ
एउटा अर्को इन्फेक्टेड जङ्क मेल
इच्छाहरू पङ्गु भएका छन्
र, जिन्दगी फेरिएकपल्ट ह्याङ् भएको छ ।

(श्रोत:- नेपाल राष्ट्रिय साप्ताहिक, ९ नोभ २००८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.