कथा : गल्लीको झ्याल

~सुषमा मानन्धर~

“तँ कत्ति भाग्यमानी छस् । काठमाडौँमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पिर छ तँलाई ।”

तृष्णाका अधिकांश साथीहरू उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरूका आँखामा, उसमा कुनै पिरै छैन । खानलाउन पुग्दैन भन्नु छैन । ठूलो परिवारको किचलो र झन्झट पनि व्यहोर्नु छैन । काठमाडौँको मुटुभित्र चार तल्ले घरमा रजाइँ गरेर बसेकी छ ऊ । चार जनाको परिवार, कुनै कुराको अभाव खट्किएको भन्ने नै छैन उसलाई ।

तैपनि उसलाई केही नपुगेझैँ भैरहन्छ । भौतिक उपलब्धिलाई नै सबै कुरा मान्ने आजको संसारमा, सबै कुरा पाएर पनि आखिर आफूलाई के चैँ नपुगेको हो, धेरैपटक कोसिस गर्दा पनि उसले थाहा पाउन सकेकी छैन ।

वासिङमेसिनदेखि डिस वासर र चाहिने सबै अत्याधुनिक सरसामानहरूले घर भरिएकै छ । उसले घरमा गाह्रो काम केही गर्नै पर्दैन । बिहान-बेलुकाको खाना पकाउने काम पनि नगरे, उसले गर्ने काम केही हुन्न । त्यही भएर, साथीभाइ र आफन्तहरूले निक्कै भने तापनि उसले घरमा काम गर्ने मान्छे राखेकी छैन ।

दुई वर्षदेखि उसको छोरो क्यानाडामा पढ्दै छ र छोरी यतै बाह्रमा पढ्दै छे । लोग्ने ठूला व्यापारी, दिँउसोभरि आफ्नो बिजिनेस र्फममा व्यस्त रहन्छन् । बिहान खानापछि, तृष्णा फुर्सदै फुर्सदमा हुन्छे । घरको कामधन्दामा मात्र कति मन भुल्छ र ? “मान्छेलाई पैसा मात्र भएर पनि नहुने रैछ । ” ऊ दिक्क हुँदै कैलेकाहीँ सोच्ने गर्छे ।

“के गाह्रो छ र ? कुनै क्लब, सामाजिक संस्थाको सदस्य हुनु, त्यसै समय बितिहाल्छ नि । हामीलाई यहाँ समय नपुगेर कस्तो छ Û”

कुनैबेला मनको बह पोख्दा लोग्ने उसलाई यसरी नै भन्ने गर्छन् । उनले भनेजस्तै समय सजिलै कट्ला भनेर तृष्णाले कुनै संस्थातिर आबद्ध हुने बिचार पनि गरेकी हो तर पछि आफूलाई चाहिँदा पनि समय निकाल्न नसकिने पीरले उसले त्यसो गर्न सकेकी छैन । उसमाथि सङ्घसंस्थामा लागेका आफ्ना दुईचार साथीहरू उसले देखेकी पनि छ जसलाई सधैँभरिको हतार हुन्छ ।

हरेक हप्ता भने जस्तै पिकनिक, पार्टी र बेला न कुबेलाको छलफल र मिटिङ । कुनै दिन उनीहरूसँग गफ गर्न मन लागेर घरमा बोलायो, फलानाको घरमा मिटिङ छ भनी हतारेर दौडिहाल्छन् । सधैँभरिको त्यो हतारहतारको जीवन पनि उसलाई मन परेको छैन । घरमा त्यसै बस्नुभन्दा काम गर्नु निको भनेर उसले जागिर पनि खान खोजी । “हैन, तिमीलाई नपुग्ने के नै छ र फेरि जागिर खान खोज्छ्यौ ? मैले कमाइरहेकै छु । आनन्दले खाऊ, पिऊ, घुम र खुसी भएर घर चलाऊ ।” लोग्नेको सधैँ यही उत्तर हुन्थ्यो ।

घरमा भाडा लाइएका मान्छेहरू भएका भए पनि ऊ उनीहरूसँग गफ गरेर समय कटाउँथी, त्यो भन्नु पनि छैन । टीभी, पत्रपत्रिका, किनमेल र आराम…। के यत्ति मात्र जीवन हो ? यो सोखको निरस निरन्तरताबाट ऊ वाक्क हुँदैछे ।

………………।…………………..।……………….।………………….।……………..।……………..।……………

श्रीमान् अफिसमा काम छ भनी बिहानै निस्केका छन्, छोरी कलेजबाट फर्केकी छैन । ऊ प्रायःजसो सडकपट्टकिो कोठामै हुन्छे, या त कौसीमा, बराण्डामा वा बगैँचामा । आज के सुर चढेछ कुन्नि, भान्छाको गल्लीतिरको झ्याल सफा गर्न थालेकी छे ।

पैदल हिँड्ने दुईचार मान्छेबाहेक, त्यहाँ कहिलेकाहीँ बाइक हुँइकेको सुनिन्छ अन्यथा त्यो गल्ली, त्यति गुलजार रहँदैन । मान्छेका भीड नभएकै कारण भने हात समाएर थुतुनो जोड्न पल्केका युगल जोडीहरू त्यो गल्लीतिर यदाकदा आइरहन्छन् । झ्याल पुछ्न सकाएर खुइय गर्दै ऊ झ्यालको बारमा अडेस लाग्छे, एक्लिएको गल्ली तल लमतन्न पल्टिएको छ । घरहरू अग्ला अग्ला भए, अधिकांश गल्लीहरू चिसा र अँध्यारा बन्दै गएका छन् । उसको भान्छामुनिको गल्ली पनि अपवाद रहेन । साँच्चि भन्ने हो भने, त्यो गल्ली, अगाडिको सडकको विकल्प मात्र थियो । ऊ गल्लीलाई आफ्नो जीवनसँग दाँजेर हेर्छे । चिसो, अँध्यारो र एक्लो । घडी हेर्छे, साढे नौ बजेछ । लामो सास फालेर ऊ झ्यालबाट हट्न लागेकी मात्र हुन्छे, गल्लीमा टाढाबाट कोही हतारहतार आइरहेको देख्छे ।

ऊ अड्छे र नियालेर हेर्छे । एक्लै, ब्याग झुण्ड्याएर लम्किरहेको त्यो युवक घरिघरि आˆनो घडी हेरिरहेको हुन्छ । उसको हिँडाइ र हतारोपना देख्दा तृष्णालाई हाँसो उठ्छ, कम्तीमा घरबाट बेलैमा हिँडेको भए, यसरी हाम्फाल्दै भाग्नुपर्ने अवस्था त आउँदैन थियो । त्यो युवक उसको आँखाबाट ओझेल नहुन्जेलसम्म ऊ हेरिरहन्छे । धेरै टाढासम्म पनि युवक त्यसरी नै कुदिरहेको हुन्छ ।

उसले योभन्दा अघि त्यो युवकलाई ख्याल गरेकी थिइन । आज पहिलो पटक यो बाटो हिँडेको हो वा अघिपछि हिँडेर पनि, उसको आफ्नो नजरमा नचढेको हो, ऊ सोच्न थाल्छे । “काम न काजको, व्यर्थ के कुरा सोच्न पुगँेछु , छिः । ” ऊ मनमनै हाँस्छे र टाउको झट्कार्छे ।

छोरीसँगै खाना खान्छु भनेर बसेकी छ ऊ । छोरी घर आउँदा एघार, साँढे एघार बजिहाल्छ । अहिले एघारै बजेको छैन र अगाडि आधै दिन बाँकी छ । गर्नलाई खासै केही काम बाँकी पनि छैन । के गरुँ, के नगरुँको दोसाँधमा कोठामा ऊ टीभी खोल्छे तर सिरियलहरूमा पनि मन स्थीर गर्न सक्दिन । टीभीलाई त्यत्तिकै खोलेर ऊ तल बारीतिर लाग्छे ।

“ममी, खाना खानु भएको छैन ?” छोरीले पछाडिबाट बोलाउँदा पो ऊ झसङ्ग हुन्छे । बाह्र बजिसकेको रहेछ । “अनि आज ढिलो गर्‍यौ नि त ।” ऊ छोरीलाई सोध्छे ।

“अँ, एकछिन लाइब्रेरीमा बसेकी थिएँ ममी । मैले त क्यान्टिनमा चाउमिन खाएकी छु, तपाईं खाना खानुस् न है ।”

“खाना नखाइ कहाँ हुन्छ ? बरू थोरै खानु । सँगै खाउँला ।” ऊ छोरीसँग खान बस्छे ।

खानापछि बिहानको काम पनि सकिन्छ । अब के गर्ने, ऊ सोच्न थाल्छे । मोबाइल निकाली साथीलाई कल गर्छे । लामा दुईचार कल गएर पनि उताबाट फोन उठ्दैन । ऊ आजित भएर अर्की साथीलाई फोन गर्छे, “क्या हो, न फोन, न भेटघाट । तिमीहरूसँग त कुरा गर्नै गाहारो भैसक्यो ।” उताबाट उसकी साथी फोनको मुख छोपेर बोलिरहेकी हुन्छे, “तृष्णा, अहिले म सानो मिटिङमा छु । एकछिन पछि फोन गर्छु है ?”

ऊ सोच्छे, सबैभन्दा काम नलाग्ने ऊ नै भएकी छे । अरू सबै एकभन्दा एक व्यस्त, आ-आफ्नै दुनियाँमा भुलेका छन् । कसैसँग पनि दोस्रोको लागि समय छैन । आखिर सबैजना किन र कसको लागि यो भागदौडमा लागेका होलान्, ऊ आफ्नो मनसँग प्रश्न गर्छे । जो कोहीलाई सम्झ्यो, धनवैभवकै लागि मरिमेटेर काम गरिरहेका छन्, ऊ आफूसँग धन छ तर ऊ साँच्चि खुसी छे त ? दिनभरि ऊ आफूसँग यस्तैखाले तर्कना र प्रश्न गरिरहन्छे ।

राति ओछ्यानमा पल्टेर टीभी हेर्दै गरेका श्रीमान्लाई ऊ सुनाउँछे, “बिहान, गल्लीमा एउटा मान्छे पुच्छर ठाडो पारी कस्तो हतार-हतार दौडेथ्यो, साह्रै हाँसो उठ्यो मलाई । “

“ए,अँ Û” टिभीका च्यानलहरूमा आँखा लगाइरहेका उसका लोग्नेलाई यो कुरामा चासो हुने कुरै भएन । अर्को पट्टी फर्केर निद्रा नलागेसम्म ऊ बिहानको घटना सम्झीसम्झी मनमनै हाँस्छे ।

……………………………….।……………………………।…………………………..।……………………

भोलिपल्ट मात्र हैन, त्यसपछिका दिनहरूमा पनि त्यही बेलातिर उसको ध्यान अनायसै झ्यालतिर जान्छ । ठीक साँढे नौमै नभए पनि त्यसको आसपासमा, कहिले ढिलो त कहिले केही चाँडै त्यो युवक त्यही गल्ली भएर हिँड्न थालेको छ । जुनसुकै काममा व्यस्त भए पनि त्यो बेला ऊ झ्यालमा उभिन बिर्सिदिँन । नौ बज्नु कहाँ हो कहाँ, ऊ अगाडिदेखि नै झ्यालबाट गल्लीतिर आँखा लाइरहेकी हुन्छे । पक्कै कुनै अफिसमा काम गर्ने कर्मचारी हुनुपर्छ, उसले लख काटेकी छ । किनकि सार्वजनिक बिदाका दिनहरूमा युवक त्यो बाटो देखिँदैन । बिहे भैसकेको हो कि हैन ? कतै अफेयर पो चलिरहेको केटा हो कि ? देख्नमा हृयान्डसम र भलाद्मी पनि देखिन्छ । उसले कहिल्यै आँखा उठाएर माथि हेरेकोसम्म पनि छैन । न त उसलाई कहिल्यै कुनै केटीसँग आइरहेको देखिएको छ । तृष्णाले युवकसँग गाँसेर अनेक कल्पना गर्न भ्याइसकेकी छ ।

हुन त ऊ उमेरले प्रौढ भैसकेकी छ । भएर के गर्नु, हिजोआज मिठो तरङ्ग उठ्न थालेको छ उसको मनमा पनि । युवकलाई टाढैबाट गल्लीतिर आइरहेको देख्नेबित्तिकै तृष्णाका धमनीमा रगत तातो हुन थाल्छ । गालामा गुलाबी रङ्ग चढेर, एक्कासि ढुकढुकी बढेको भान हुन्छ उसलाई । उसलाई अचेल त्यत्तिकै रमाइलो पनि लाग्न थालेको छ । पहिले उसलाई दिन कटाउन नै गाह्रो पथ्र्यो, अहिले समय बितेको पत्तै हुँदैन । कामबाट समय निकालेर ऊ, त्यो युवकको हिँडाइ, लवाइ सबै कुरा सम्झँदै विश्लेषण गर्दै दिवास्वप्नमा मग्न रहन्छे । एक्लै बस्दा पनि आफैँभित्र रमेर कल्पना गरिने साथी भेटेकी छ उसले अचेल ।

…………………………..।…………………………।…………………………..।……………………………..

दस बजिसकेको छ तर आज त्यो युवक देखापरेको छैन । आज बिदा हो कि भनी गएर उसले भान्छाको भित्तामा झुण्ड्याइएको क्यालेन्डर दुईपटक हेरिसकेकी छ । “साढे दस बजिसक्यो, के परेछ त्यस्तो Û” ऊ घडी हेर्दै, झ्यालबाट परसम्म आँखा तान्दै बर्बराउँछे ।

“आज कतै बन्दसन्द त हैन ? बन्द भए त छोरी कलेजबाट र्फकनु पर्ने हो, ऊ फर्केकी छैन ।” आफ्नो सकसक मेटाउन तृष्णा बाहिर निस्कन ठीक परेका आफ्नो श्रीमान्लाई सोध्छे, “सुन्नुस न, आज बन्द हो र ?”

“हैन, के भन्छ्यौ ? कहिलेदेखि बन्द र खुलामा चासो राख्न थाल्यौ तिमीले ? केको बन्द हुनु ?” उसको प्रश्न गराइले श्रीमान् पनि हुनसम्मको छक्क पर्छन् ।

उसले निकैबेरसम्म गल्लीको बाटो हेर्छे,े युवक आउँदैन । छोरीले खाना खान्छे तर उसलाई खान रुचि हुँदैन । फेरि पनि ऊ गल्लीको झ्यालतिर एउटा उदास दृष्टि फाल्छे । अकस्मात उसको अनुहार उज्यालिन्छ । बाहिर गल्लीमा त्यही युवक मोबाइल कानमा टाँसेर आइरहेको हुन्छ । हतारिएर दौडिँदा ऊ झ्यालको खापामा ठोकिन्छे, “अइया” टाउको सुम्सुम्याउँदै पनि ऊ युवकतिर हेरिरहन्छे । ठीक झ्याल मुन्तिर आइपुगेको युवकले, उसको आवाजले गर्दा माथि ऊतिर हेरेझैँ लाग्छ उसलाई । तृष्णाको मन भरङ्ग हुन्छ । ऊ छातीमाथि हात राख्छे । उसलाई त्यो दृष्टिले छेडेर मनको गहिराइसम्म पुगेको हो कि भन्ने लाग्छ । ऊ झ्यालबाट हट्छे । मोबाइलमा कुरा गर्दै गरेको युवक, मोबाइल बन्द गरेर जाँदाजाँदै पनि फेरि माथि हेर्छ । कति राम्रो, कल्कलाउँदो देखिन्छ । कति वर्षको होला ? ऊ युवकको उमेर अनुमान गर्दै आफूलाई ऐना अगाडि उभ्याउँछे । सोच्दासोच्दै ऊ आफूलाई पनि युवककै समवयस्क कल्पना गर्न थाल्छे । घरिघरि उसलाई युवकका हेराइले पछ्याउँछ । उसका आँखा अगाडि मोबाइल समाएर फर्की हेर्दै गएको युवकको मुखाकृति नाच्छ र ऊ रातभरि सुत्न सक्दिन । कोल्टे फेरिरहन्छे । लोग्नेको अँगालोमा समेत ऊ युवकलाई देख्छे । एकैछिन निदाउँँदा पनि रङ्गीन र कति छिल्लिएका सपनाहरू… ऊ लजाउँछे ।

…………………..।………………………।………………………..।………………………।………………….

शनिबार सम्भिmयो कि उसलाई नियास्रो लाग्छ । बिदाको दिन त्यो युवक आउँदैन । उसलाई नदेखेको दिन तृष्णालाई खल्लोखल्लो लाग्छ । अफिसमा बिदा भन्ने नै नदिएको भए कति हुन्थ्यो, अझ आफू पनि त्यो युवकसँगै काम गर्न पाएको भए…। जिन्दगी कति रमाइलो हुन्थ्यो, उसका आँखा अगाडि झलमल्ल कामना बल्छन् ।

“ममीलाई भर्खर बैँस लाग्या जस्तो छ । ” तृष्णाले कपाल कालै डाइ गरेको देखेर छोरी जिस्काउँछे ।

“ओहो, मर्ने बेला हरियो काँक्रो । के हो ? फेरि तरूनी हुन किन खोजिछ्यौ ?” आˆनो सेतै फुलेका कपाल हेर्दै श्रीमान् पनि भन्न बाँकी राख्दैनन् ।

“आफ्नो खुसीका लागि यति पनि गर्न नपाउनु त ।” ऊ त्यही दिन पार्लर गएर कपाल पनि छोट्याउँछे । चार दशक काटिसकेकी तृष्णा, खण्डखण्ड पारी काटिएको कपाल र आधुनिक परिधानमा, आधा उमेरकी देखिने मात्र हैन उसमा त्यस्तै उमङ्ग पनि छाउन थालेको छ ।

गल्लीको झ्याल उसलाई औधि प्यारो लाग्छ, खासगरी बिहान, जब त्यो युवक त्यो बाटो आउँछ । साँझ भने उसलाई त्यो बाटो फर्केको तृष्णाले देखेकी छैन । ऊ युवकसँग बोल्न चाहन्छे, खै किन उसमा यो रहर पलाएको छ । ऊ आफँै जान्दिन तर ऊसित बोल्न तृष्णासँग कुनै गतिलो बहाना पनि छैन । युवकले बोल्न पहल गरेको छैन । ऊ एक नजर हेर्छ र चुपचाप आफ्नो बाटो लाग्छ । तृष्णा पनि हरेक दिन गल्ली ढुक्छे, ऊ आएको र गएको हेरिरहन्छे ।

हप्ता दिन भैसकेको छ, युवक त्यो गल्ली आएको छैन । बाटो कुर्दाकुर्दा उसका आँखा दुखेका छन् । कतै अन्तै सरूवा भयो कि, बिरामी पर्‍यो कि, वा कुनै दुर्घटनामा पर्‍यो, अनेकानेक आशङ्काहरू उसको मनमा एकपछि अर्को पलाएका छन् । ऊ कसैसँग सोध्न सक्दिन, न त घरमा कसैसँग यस्तो कुरा बाँड्न गर्न सक्छे । घरमा गर्नुपर्ने सबै कुरा पूर्ववत् गरिरहेकै भए पनि ऊभित्रको उज्यालो ज्योति निभ्दै गैरहेको छ । छोरी आफ्ना कुराहरू सुनाउँछे, ऊ सुनेर पनि सुन्दिन । लोग्नेसँग गर्नुपर्ने दायित्वहरू औपचारिकताजस्तै पूरा गरिरहेकी छ । ऊ पहिला सम्पति भएर पनि दुखी थिई, अहिले झन् दुखी भएकी छे ।

………………..।……………………..।………………………..।………………………।………………………..

आज पनि ऊ घरमा एक्ली छे । श्रीमान् भर्खर निस्केका छन् । छोरीको आज कलेजमा कार्यक्रम भएकोले ढिलो फर्किन्छे । खान मन लागेको छैन उसलाई । त्यसैले ऊ भान्छाको झ्यालनिर उभिएर तल गल्ली नियालिरहेकी छे । घाम नपर्ने गल्ली झन् चिसो हुन थालेको छ । टाढाटाढासम्म आज कोही हिँडेका देखिँदैनन् । त्यत्तिकै मन अमिलो हुन्छ, आँखा रसाउँछन् उसका । आँसु भरिएका धमिलो दृष्टिमा उसलाई माथि गल्लीबाट कोही आइरहेझैँ लाग्छ । त्यही युवक …,ऊ विश्वासै गर्न सक्दिन…हो, त्यही युवक आउँदै गरेको हुन्छ । उसको साथमा अरू पनि कोही हुन्छ । ऊ आँखै झिमिक्क नगरीकन उनीहरूलाई आइरहेको हेरिरहन्छे । हालै मात्र बिहे भएको जोडीझैँ देखिने, उनीहरूले एक अर्काको हात समातेका हुन्छन् । रातो फूलबुट्टे सारी लगाएकी युवती कहिले लजाउँदै, कहिले मस्ँिकदै युवकसँग टाँसिएर हिँडिरहेकी छे । उसलाई इष्र्या लाग्छ । गलामा केही अड्किएजस्तो भएर उसलाई भक्कानिउँझैँ हुन्छ । झ्यालबाट अलि पर उनीहरूका दृष्टिबाट छेलिएर उभिन्छे । तल युवक आफ्नी श्रीमतीलाई भन्दै हुन्छ- “तिमीलाई थाहा छ ? खै किन हो, यो घरकी बूढीले म अफिस आउँदा सधैँ मलाई हेरिरहन्छे ।” त्यसपछि दुवैको हाँसोको फोहरा माथि झ्यालसम्म आइपुगेर लावासरि उसका कानभित्र छिर्छन् । तातो पानीले खन्याएसरह ऊ फतक्क गल्छे । उभिरहने शक्ति पनि हुँदैन उसमा । आˆना हात नियाल्छे, थर्थर कामिरहेका हातहरू, सुकेर झन् चाउरिएझैँ लाग्छन् उसलाई । ऊ धेरैबेरसम्म त्यसै टोलाइरहन्छे । झ्यालमा फर्किन सक्दिन ऊ, उसलाई मन पनि लाग्दैन फर्किन ।

भारी मनले ऊ गल्लीको झ्यालमाथि अपारदर्शी कागजका परतमाथि परत चढाउँछे । बाक्लो पर्दा ल्याएर टाँग्छे पनि । “किन र के भो ?” श्रीमान् सोध्छन् ।

“गल्लीबाट साह्रै चिसो आउन थाल्यो, त्यही भएर ।” तृष्णा बन्द झ्याल हेर्दै बन्द मनभित्रबाट बोल्छे । घडीमा आँखा जान्छ, साँढे नौ बज्दैछ । रहर गरेर कपालमा लाउँछु भनी अघिल्लो दिन नै कचौरामा भिजाइराखेको मेहेन्दी, ऊ बेसिनमा लगेर घोप्ट्याउँछे ।

 (श्रोत:- मधुपर्क, चैत, २०६८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.