~राजेश नतांश~
मर्नु एक कला हो, हरेक किसिमका कलाझैँ अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ ।
—सिल्भिया प्लाथ
सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, “डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो क्षणभङ्गर शरीर के का लागि ? आत्मनिष्ठूर बनेर किन बाँच्छस् ? फाल हान् जीवनमा कुनै कैफियत नरहोस् ।”
मेरा हात काँपिरहेका छन् । मानौ, म केही लेख्न सकिरहेको छैन । जीवनको यो अन्तिम खण्डमा कहिल्यै उर्तीण नहुने परीक्षा दिइरहेछु ।
०००
“छ्या ! दाह्री त काट्नू ! अलिकति सफाचट भएर बस्न कहिल्यै सिक्नुभएन है ? कस्तो आदिम भीक्षुजस्तो !” सुशीला हत्प्रभ मेरो प्रेमालिङ्गनबाट छुटेर आफ्ना फुस्किएका लुगा बटुल्दै भान्छातिर लागिन् ।
म विगत केही सप्ताहदेखि निकै व्यस्त भैरहेको छु । पत्रिकाले सुनसरी विशेषाङ्कका लागि मलाई खटाएको थियो । समाचार, अन्तरवार्ता र विज्ञापनका लागि दौडाहमा थिएँ । त्यसकारण आफ्नो सरसफाईमा तन्मयताका साथ लागिरहेको थिइनँ । कहाँ सजिलो छ र ? एउटा जिल्ला समातेर बसेपछि चौतर्फी कुरामा अद्यावधिक रहनुपर्छ । फुर्सद त विरानो भैसकेको थियो ।
“बाबा फोन आयो !” छोरी सुप्रियाले तथाकथित शून्यतालाई भङ्ग गरिदिइन् ।
–”हेल्लो पे्रम जी ! गुड मर्निङ ! तपाईंका लागि समाचार छ है ?”
“गुड मर्निङ इन्सपेक्टर सा’ब ! के भयो सर ?”
–”एउटा नरेले आत्महत्या गरेछ । उसका लुगाफाटा, चप्पल र `सुसाइट नोट’ मसितै छन् । तपाईं झट्टै याँ आउनुपर्यो । सप्तकोशीमा गोताखोरहरुले उसका शरीर खोज्दैछन् ।”
फेरि अर्को आत्महत्या ? एक साता यता जिल्लामा एकाएक आत्महत्याका श्रृंखला मौरीका गोलोझैँ फैलिरहेका छन् । मानौं, आत्महत्या एउटा संस्कृति बनिरहेको छ । कति सजिलो भएको आफूलाई मार्न ?
०००
“रा*को छोरा ! मलाई हिस्टेरिया रोग लाग्या छ रे डाक्टरले भनेको ! छोरीमान्छेमा लाग्ने असाध्यै नराम्रो रोग हो रे ! छिटो पैसा पठा ! त्यहाँ र*हरु मस्ती गरेर नबस् ?”
म परदेशमा रहँदा ऊ यस्तै निम्नस्तरको कुरा गर्थी । उसको अपाच्य दोषारोपण सुनेर बोझिल हुन्थेँ ।
तीन छोराछोरी, असल सासु–ससुरा र खानपुग्ने जमिन हुँदा पनि ऊ अझै सन्तुष्ट हुन सकिरहेकी छैन । उसले म र विद्यमान समस्त परिस्थितिलाई बुझ्न सकिरहेकी छैन । मानौं, म परचक्री हुँ । मैले नै उसको जीवन यतिविघ्न जटिल बनाईदिएँ ।
देशमा व्याप्त बेरोजगारीमा पिल्सिएर परिवार र छोराछोरीको भविष्य विनिर्माण गर्नका लागि म विदेशिएको थिएँ । खाडी मुलुकको फलाम पग्लने प्रचण्ड घाममा डढेर उसलाई पैसा पठाइरहेको थिएँ । तर खै के पुगेन ऊ यतिविघ्न कठोर बन्दैछे ? म दिनरात कल्पिएर बस्तथेँ ।
परदेशबाट परिवारको याद आएर म उसलाई र छोराछोरीलाई फोन गर्थेँ तर उताबाट जहिल्यै कचकच सुन्नपथ्र्यो । मैले समस्याको जडविन्दू किञ्चित् फेला पार्न सकिनँ । के चाहन्थी ऊ सो खुट्याउन असमर्थ थिएँ । मभित्रको जमोठ अभिव्यक्ति उनीसँग राख्दा बेवास्ता गरिदिन्थी । जस्तो कि म पशु हुँ । बाँधेर घाँस हालिदिए पुग्छ । उसले कहिल्यै मेरा अभिव्यजनाहरुको सम्मान गरिन ।
यता, ममा असामयिक देखिएको हर्साले म दिनानुदिन खिइँदै थिएँ । शरीरमा रगतको कमी हुँदै गएको थियो । मलाई भीमकाय अनाकोण्डाले निलेजस्तो भान हुन्थ्यो । म दिनहुँ ध्वस्त हुँदै थिएँ ।
अन्ततः म जल्दै गरेको गृहस्थीलाई निभाउन नेपाल फर्किएँ ।
स्वेदश फर्किएपछि कमाएको पैसाले दुई तल्ला घर बनाएँ । मुनिको एकतल्ला भाँडामा लगाएँ । छोराछोरीलाई सरकारी स्कुलबाट निकालेर राम्रो बोर्डिङ स्कूलमा हालेँ । तर पनि उसको ताडना कम भएन । अझ तीखो सुँइरो बनेर मुटुमा घोचिरह्यो । म दुलैदुलो भएँ ।
मैले उसको कामुकतालाई सम्हाल्न सकिनँ । ऊ मलाई यौनका लागि आग्रह गर्थी तर म विकलाङ्गजस्तो थकित हुन्थेँ । शरीरका सम्पूर्ण अवयवहरुबाट शक्ति हराउँथे । पूर्णतः परास्त हुन्थेँ । बुख्याँचाजस्तो मूर्तिवत् हुन्थेँ । ऊ मलाई सघन पीडा दिन्थी । डरले मेरा समस्त शरीर कम्पायमान भैरहन्थे ।
ऊ ममाथि गालीगलौजको पहिरो खन्याउँथी । आफ्नो गुप्ताङ्ग देखाउँदै मुखमा जे आयो त्यहीँ बोल्ने गर्थी । नानीहरुलाई पनि नानाभाँतिको छाडा बोल्न सिकाउँथी । गाउँकी दिदीबहिनीहरुसँग म बोलेँ भने चिच्याउँथी, “त्यो र*सँग लागिस् है ?” मान्छेको मुखेन्जी भन्थी, “त्यो झिँगेसँग आजै भाग् ! पर्दैन यो घरमा बस्न !” स्वास्नीको यसप्रकारको क्रियाकलापले मलाई छरछिमेकमा कतै हिँड्न मुस्किल पर्ने गथ्र्यो ।
उसले मेरा सम्पूर्ण पैसा र मोबाइल दराजमा राखेर चाबी आफूसँग बोक्थी । खैनि खाने पाँच रुपैयाँ माग्दा ऊ भन्थी, “भाग् ! तेँरो बाउको कमाई छ मसँग ? साले गधा तँ त मरे पनि हुन्थ्यो !”
कसैले उसलाई सम्झाउन सकेनन् । केही महिनापछि ऊ झन् उग्र भई । मलाई प्रातडना दिन झन् उद्धत भई । कोठाभित्र थुनेर मलाई चाबी लगाएर हिँड्न थाली । दिसापिसाब गर्न पनि रात पर्खनुपथ्र्यो ।
आज दिउँसो ! केटाकेटी सबै स्कूल भएका थिएँ । उसले मलाई सुत्ने कोठामा लगेर आफू सर्वाङ्ग नाङ्गो भई र यौनका लागि जबरजस्ती गरी । मैले आफूले सक्नेजति गरेँ तर अन्ततः म फेरि हारेँ । उसको चरम प्यासलाई मेटाउन सकिनँ । त्यसपछि उसले मलाई भुत्लाई, लात्तैलात्ताले हानेर गाली गरि, “तँ र* ! यत्ति गर्न सक्दिनस् ? मरि’जा तँ” उसले आफैँले गरेको पिसाबको भाँडो मेरो जिउँमा खन्याईदिई । म उसको पिसाबले पूर्णतः भिजेँ ।
म कमजोर थिएँ केही गर्न सकिनँ । उसले मलाई कोठाभित्र चाबी लगाएर कतै गई । संयोगले मेरो मोबाइल भित्रै रहेछ । भाडामा बस्नेलाई चाबी फुटाउन लगाएँ र त्यहाँबाट आफूलाई बचाउँदै भागेँ ।
पुरुषत्व अब ममा रहेन । एउटी स्वास्नीलाई कज्याएर राख्न सक्ने हुर्मत मसित छैन । म हरुवा हुँ । म कायर हुँ । मैले कहीँ पनि निकास देखिनँ । कसलाई गएर भनूँ यस्तो पीडा ? के विश्वासले मेरा कुरा सुन्लान् ? के गर्न सक्लान् ? म प्रश्नैप्रश्नबीच रुमलिएको छु । आफ्नो नपुंसकता कसैलाई पनि भन्न सक्दिनँ । अन्ततः म यस संसार छोड्दैछु । अब बाँच्नू छैन मलाई । छेऊको तथाकथित शिवजीले मेरो जीवनको कालो बादल हटाइदिएन । जीवन रहुञ्जेल मात्र पूजीरहेँ । अब आफ्नो आसन्न मृत्यू नै प्यारो छ, “यो पत्र मेरा परिवार र समाजको हात लागोस् र मेरी श्रीमतिजस्ती आईमाई कसैको नहोस् !”
०००
“कस्ती बाइफाला श्रीमति रै’छे ! आफ्नै लोग्नेको ज्यानै लिई ?” सुसाइट नोट पढिसकेपछि श्रीमतिसँग भलाकुसारीमा लागेँ । मैले सतही अभिव्यक्ति दिएको थिएँ । छोरी सुप्रिया अघि नै सुतिसकेकी थिइन् ।
–”कसरी भन्न सक्नुभएको ? यसमा स्वास्नीको के दोष र ?” तपाईंको पुरुषोचित धारणाले मात्र यो मुद्दालाई नहेर्नुहोस् ।” उनले कथोपकथनलाई अघि बढाउँदै मलाई अँगालोमा बाँधिन् ।
“होइन आफ्नो लोग्नेलाई पनि त्यस्तो ताड्ना दिन मिल्छ ?” मैले तीव्र प्रश्न फ्याकेँ ।
–”मैले मिल्छ भनेको छु र ?” उनी अचम्मित भइन् ।
“त्यसो भए दोष कसको भयो ?”
“कुरा दोषको होइन प्रेम ! उनीहरुले समयको गाम्भीर्य उपस्थितिलाई चिन्न सकेनन् । ती दम्पति नियतिको शिकार भएँ ।” उनले मेरो केश सुमसुमाउँदै यन्त्रवत् परिवेशको विश्लेषण गर्न थालिन्, “स्वास्नी आत्मरतिमा रमाई र समयलाई बुझ्न सकिनँ । त्यो भन्दाबढी आफूलाई सम्हाल्न सकिन जसरी स्वास्नीमान्छेहरु आफू शताब्दीऔं देखि सम्हालिदै आएका छन् । यता लोग्नेले आफ्ना अगाडि उपस्थित दारुण अवस्थाको आत्मभत्र्सना मात्र गरीरह्यो ।”
“यो घटनालाई सतही हेरेर हुँदैन । हाम्रो समाजको प्रतिनिधि घटना हो जो धेरै अघिदेखि लुकाइँदै थियो !” मैले सहमतिको विन्दू खोजेँ ।
–”मेरो आशय त्यहीँ हो ! स्वास्नी मानिस भनेका अरक्षिता हुन्छन् । उनीहरुलाई लोग्नेको साथ चाहिन्छ । लोग्नेले आफूलाई संरक्षण दिओस् भन्ने चाहन्छन् । सायद् आफू जन्मिएको वातावरण, परिवेश र विश्वासले हुनसक्छ हामी स्वास्नीहरु लोग्नेबाट असीम प्रेमको आश राख्छौँ । यो घटनामा त्यो स्वास्नीले सबै गुमाई जतिखेर उसको लोग्ने विदेशियो । अनि आफू दारुण भई ।”
“के देख्यौ तिमीले समस्याको जरो ?” मैले उनको प्रष्ट अभिव्यक्ति सुन्न चाहेँ ।
–”समस्याको जरो छर्लङ्ग छ । परस्पर साथ विना दाम्पत्य जीवन किञ्चित् सफल हुन सक्दैन । नत्र ढिँकीमा धान कुटेझैँ दाम्पत्य जीवन भुस र चामल एकै ठाउँमा हुन्छ । यसकारण हावाले जता लग्यो त्यतै उडेको बेलुन होइन दाम्पत्य जीवन । दाम्पत्यलाई समान्तर गति चाहिन्छ जसरी हामी अभ्यासरत छौं परस्परमा । अनि मात्र दाम्पत्यमा प्रेमको पारलौकिक आनन्द प्राप्त हुन्छ ।”
समाजशास्त्र पढाउने सुशीलाको पावन अभिव्यक्ति सुनेर म विगतको गर्तमा फेरि डुब्न थाल्छु तब आफ्नो जीवनप्रति असाध्यै प्रेम जागृत हुन्छ । कहिलेकाँही डरको कालो बादलले मलाई छोप्ने गर्छन् । मेरो शेषपछि मेरा परिवारको भविष्य कस्तो होला ? यात्रामा परिवारको तस्बीर बोकेर हिँडीरहन्छु, दूर्घटनामा मरेँ भने के हुन्छ ? राति सुतेको म बिहान मरेको भेँट्टाइए भने के हुन्छ ? यस्तै अदृश्य डरले मेरो शरीर कम्पायमान हुने गर्छ । जीवनमा एउटै इच्छा छ– जीवनको यो भयावह सप्तकोशीबाट आफ्ना परिवारलाई सुरक्षित तारेर मर्न पाऊँ । ताज्जुब लाग्छ, आत्महत्यालाई कला मान्नेहरुले एक थोँपो बाँच्न सिकेको भए हुन्थ्यो । बुझे हुन्छ ती सिल्भियाहरुले —यात्रामा खाल्टाखुल्टी हुन्छ र लडे पनि उठेर हिँड्न सक्नुपर्छ ।
(श्रोत:-Mysansar)