माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ ।
जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो आ–आफ्नो । देखे सुनेका त्यही भोगाइलाई कतिले गीत बनाई गाएका छन्, कतिले कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ, कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महशुश गर्न सक्नु अर्को कुरा । अरुलाई महशुश गर्न भावुक मन पनि चाहिन्छ । अनुभूति विनाको हतारको कुनै पढाइ अक्षरहरुका पहाड लाग्छन्, यसको चढाइ अझ उत्तिकै पट्टयार लाग्दो र समय लाग्ने हुन्छ । अक्षरहरुमा डुबेर जब तिमीले आत्मसात गर्न सक्छौ अरुका भावनाहरुलाई,ती शब्द तिम्रो अस्तित्व बन्छ र तिमी आफै पनि त्यसको कुनै एक पात्र ।
रात जब आँखामा निंद्राले डेरा सारेको हुंदैन, आँखाहरुले हेरेर नभ्याइने आकाशको विशाल टापुमा एउटा छुट्टै आकर्षण मैले पनि पालेकी छु । पर….. कुनै क्षितिजीय दूरीबाट उठेको तिम्रो दृष्टि पनि ताराहरुको भीड छिचोल्दै जूनलाई नै खोजिरहेको हुन्छ, तिमीले कुनै दिन यही भनेका थियौ मलाई । आकाशमाथि हामीले हेर्ने तिम्रो र मेरो जून उही हो, एउटै । सांच्ची, हामीले यसरी हेर्दै जूनलाई खोजेका हुन्छौं या एक अर्कालाई ? जुन दिनदेखि थाहा पाएकी छु तिमी जूनका कुराहरु बढी गर्छौ भन्ने, जूनलाई हेर्ने आकांक्षा र जूनलाई पाउने अदम्य लालसा मभित्र पनि अझ बढी गाढा हुन थालेको छ ।
हरेक रातको विशाल कालो पर्दाभरि सितारा टाँसे जस्तै चम्किएका लाखौं ताराहरुबीच म प्राय चिरपरिचित र नक्षत्र विज्ञानमा पढिएका ताराहरुले बनाउने अनेकौं आकृतिहरु खोजिरहन्छु। ती अनुहार र आकृतिहरु, माथि आकाशमा आज त्यहाँ हुन्छन्, भोलि हुन्नन्, पछि फेरि केही अन्तरालमा अन्तै देखिन्छन् । समय आफ्नै गतिमा घुमिरहेको के यो एउटा प्रमाण हैन र ? यी ताराहरुसंग उदाउंदै हरेक पन्ध्र दिनसम्म फेरिदै जाने आकाशमाथिको त्यो मनमोहक जून, पूर्णिमाको रात जब आफ्नो पूर्ण यौवनमा हुन्छ, नियालेर कहिल्यै अघाउँदिन म । दुधिलो, शान्त, स्निग्ध र शीतल रश्मी यति कोमल कि मानौं सेता गुलाफका कोमल पत्रहरु सुस्तरी वर्षिएका हुन्छन् ।
के तिमीले सम्झेका छौ, अस्ति पानी परेर निख्री सकेपछिको सगर ? नीलो आकाशमाथि कनिका झैं छरिएका पिलपिल बल्ने ताराहरु, सम्मोहक जून, त्यो संगै अलि मास्तिर एउटा चम्किलो तारा अनि जूनलाई आधै छेल्ने गरी एक थुप्रो सेता बादल … …। जूनका कुरा, त्यो पनि गाढा रात, तारा र सेता काला बादलका हल्का रेशमी थुम्काका प्रसंग बिना, पूर्ण कहाँ हुन्छ र ? पक्कै तिमी मग्न भएर हेर्दै थियौ त्यो जूनलाई एकटक लाएर । म पनि त्यही बेला त्यो जूनलाई हेर्दै थिएँ । हामीले हेरेका थियौं एकै समयमा, त्यो जूनलाई…! जूनले हामीलाई … जूनभित्रबाट हामीले एक अर्कालाई ।
सेता पातला बादलुको खास्टो ओढी ताराहरु टिम्टिमाएको, म आज नियास्रो आकाश नियाल्दैछु र ती सम्भावित दिशाहरुमा पनि खोज्दैछु जूनलाई, जुन ठाउँबाट तिमी यति बेला जून देखिन्छ भन्ने गर्थ्यौ । तर आज यथास्थानमा छैन जून । त्यसो त यो संधै एकै ठाउँबाट मात्र देखिने कहाँ हो र ? समय, ऋतु, फरक अक्षांश र देशान्तरभित्र जूनले पृथ्वीलाई परिक्रमा गरिरहन्छ, हामी घुमिरहन्छौं । यही परिक्रमाभित्र तिम्रो, मेरो जूनले एउटा वृत बनाइरहन्छ झिनो रेखाबाट फेरिंदै एउटा सग्लो वृतमा । औंसीको कालीमाबाट बढ्दै एउटा मादक जुनेली रात आउँदासम्म मैले धेरै पर्खाइ भोगिसकेकी हुन्छु ।
ऊ हेर…भर्खरै माछाको कत्ला जस्ता बादलसँग लुकामारी खेल्दै झुलुक्क देखापरेको जून फेरि बिलायो बादलको ओतभित्र। किन छेकियो जुन! अनायसै मन दुख्छ, लाग्छ शायद तिमी रिसायौ। जून नहुँदा तिमी देखिन्नौ, शायद छेलिन्छौ थुप्रै बादलका परतहरुले। म पर्खिरहन्छु पुनः जूनको आगमनको, जब यसले मेरो जलनलाई शीतल गर्छ र मलाई सम्मोहित पनि। म चाहन्छु, जून सिर्फ मेरै आँखा अगाडि रहोस, मेरै आकाशमाथि तर हेर्दा हेर्दै जून मेरो आँखा अगाडिको आकाशबाट सर्दै ओझेल हुन्छ हर रात। म विवश, रोक्न सक्दिन उसलाई। न त मेरो चाहनाले जून अडिन्छ। शायद त्यही भएर होला आफ्नो निरीहपना लुकाउन,यो मदेखि लुकिरहन्छ बारम्बार। तिमी खिन्न हुन्छौ आफूलाई पनि परेको यही अनुभव मलाई सुुनाउँदा, हाम्रो साझा पीडा। जुन नहुँदाको हाम्रो दुखाइ।
साँझ आकाशको कुनै पनि छेऊबाट उदाएदेखि तिमी जूनलाई सम्पूर्ण सम्मोहनले तानिरहन्छौ, किन स्पष्ट भन्न सक्दैनौ तिमी, त्यो जूनलाई हैन मलाई भनेर। अँध्यारो गाढा हुन पाएको हुन्न अचेल आँखाहरु अनायसै आकाशमा उठछन् र जूनलाई खोज्न थाल्छन्। कैलेकाहीँ घण्टौंको प्रतिक्षापछि पनि जब जून देखिंदैन,धमिलो बाक्ला बादल मुनि लुकेर के यसले मेरो धैर्यताको परिक्षा लिंदै छ, या तिमीले? बादल नलागेको खुला रातमा टुट्दै गरेका ताराहरु…तिमीले पनि त्यहीबेला आँखाले देखुन्जेल हेरेका होलाऊ, मनमनै केही मागेका होलाऊ। शब्दमा अव्यक्त तिम्रा इच्छाको कम्पन मैले तिम्रो ओठमा देखिरहेछु। त्यो तातो, नरम र आमन्त्रण गर्ने ओठमा कुनै नाम थियो तर कसको?
झ्यालमाथिको आकाशमा आइपुगेको छ अहिले जून, ठीक त्यहंीनिर जहाँ विछ्यौनामा पल्टेरै म त्यो जून र त्यसको सुन्दरता हेर्न सक्छु। सफा नीलो आकाशमा कपास म्कैं हल्का रेशमी बादलका धर्काहरुमा बग्दै उत्रंदै गरेको मोहक जून कति मादक छ! सम्पूर्ण प्रेम वर्षाएर जून मलाई हाउभाउमा सम्मोहित गरिरहेछ। कल्पना गरिरहेछु— अनिंदा आँखाहरुले तिमीले पनि हेरिरहेछौ जूनलाई, कि जून छिचोली मलाई?
जूनको शीतल किरण नरम, न्यानो र मादकता, के यो मात्र मेरो सोचाइ हो, सिर्फ एउटा भावुक अनुभूति? काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई, किन थाक्दैनन् र अघाउँदैनन् यी आँखाहरु हेरेर उसलाई। शायद ज्ाूनमा मन र मायाको अभिव्यक्ति भएर होला। कोही भन्छन्, जूनप्र्रतिको आसक्तिमा मानिस भावुक बन्छ रे, मन त्यसै द्रवित र उदाश उदाश हुन्छ रे। के त्यसो भए तिमी पनि भावुक छौ त जून खोज्ने,जून रोज्ने र जून नियाल्ने म जस्तै? सम्वेदनशील मान्छेको मन जून जस्तै कोमल हुन्छ भन्छन्। त्यो हृदय जहाँ आँखा हैन अनुभूति हुन्छ,त्यसले देख्दैन तर छुन्छ। मन मुटु र भावनाको प्रतिक जून, तर जून आफैभित्र के छ त? त्यहाँ केही र कोही छैन सिवाय ठूला साना खाल्डाहरु, विज्ञान यही भन्दछ। तर म त्यहाँ धेरै देख्छु। त्यहाँ विश्वास र आस्था देख्छु, पर्खाइ र प्रेम देख्छु, व्याकुलता र पीडा देख्छु। यस्तो लाग्छ,जून मलाई संधै अव्यक्त भाषामा केही भनिरहन्छ कि जून भएर तिमीले? जब जब छट्पटिन्छु जूनलाई हेर्न पुग्छु…अनि जूनबाट तिमीलाई। तिमी पनि समर्पित जून हेरिरहेछौ, र मलाई। तिमीलाई राम्रोसँग थाहा छ, तिम्रो र मेरो आकाशमा दोस्रो अर्को जून छैन र हुनै सक्दैन। एउटा कुरा स्पष्ट छ, चाहे तिमीले जहाँ कहींबाट पनि हेर त्यो जूनलाई त्यो निश्चित् समयमा… सधैं नै मैले पनि हेरिरहेकी हुन्छु मेरो जूनलाई। त्यो जून, मात्र एउटा जून नभै एउटा माध्यम पनि बनेको छ तिमीलाई हेर्ने। तिमी छौ त्यो जूनको पार्श्वमा जून हेर्दै, जून भएर मलाई। तिमी संधै जून हेर्न चाहन्छौ, म चाहन्छु अनि निसन्देह हामीले एक अर्कालाई। तिमी हर रात जून भएर आउँछौ। जूनको आगमनमा मलाई तिम्रो आउनुको अनुभूति हुन्छ। म जान्दछु, यो रात पनि तिमी जुनको टहटहमा जून पढिरहेछौ। म आज अहिले पनि यहाँ निस्तब्ध रातमा कोठाभित्र झ्यालका पारदर्शी पर्दा हटाई ती बग्रेल्ती मसिना ताराहरु,त्यो ठूलो चम्किलो तारा र बादलको थुप्रोनिर आधा छेलिएको जूनलाई तिमीले झैं नियालिरहेछु। जून भएर तिमीलाई नियालिरहेछु।
आफ्ना भाग लगाइने समयहरुलाई उबारेर एकै छिन भए पनि कौसीको डीलमा बसी, कोठाको भित्तामा अडेसिएर, बरण्डामा वा झयालको पारदर्शी सीसाभित्रबाट सुकोमल,सुकुमार त्यो जूनलाई एकोहोरो नियाल्दै जूनको समय, सम्वेदनशील भएर जिउन पनि कम्ती मीठो हुँदैन। मधुरो प्रकाशमा तिम्रो कोठाको झ्यालको पर्दा सुस्तरी हल्लिएको छ भर्खरै, फेरि चियाएका छौ तिमीले जूनलाई र जूनबाट मलाई। अझै पनि आफूलाई खोल्न नसकेका तिमी,शायद तिम्रै मन अभिव्यक्तिको आकर्षणमा बाँधिएर मेरो जून, म पनि तिमीलाई हेरिरहेछु। यहां अहिले यो जमेको निस्तब्ध रातमा हामीवीच बनेको समिकरणभित्र सिर्फ जून छ अनि तिमी र म। मेरो जून… सिर्फ तिमी र म
(श्रोत:- Kuwaitnepal)