~बेनुप भट्टराई~
‘आफ्नो सम्पति जोगाउन नसक्ने हुतिहारा †’ लामो भनाभनपछि श्रीमति एकाबिहानै आँखा तर्दै कड्किइन्, ‘अबदेखि दराजका चाबी जनैमा भिरेर हिंड्नु।’
‘बिहे गर्या यत्रो भो, जनै लाएको देख्याछेउ?’ मैंले आफ्नो गल्तीको भागिदार उनैलाई बनाउन खोजें, ‘घर रुँघ्नेले पो जान्नुपर्छ त सम्पति जोगाउन।’
कोठा सफा गर्नेक्रममा सबै किताव एकैथलोमा थुपारेका थियौं। बिषय, सन्दर्भ, बिधा र महत्व अनुसार किताव छुट्याएर राख्ने दम्पतीको योजना थियो। त्यसक्रममा आफूलाई औधी मनपर्ने दर्जनौं किताव नभेट्दा म रिसले काम्दैथिएँ।
‘लौ भयो अब, सबै मैं मिलाउँला बरु चियासिया ल्याउ न’ हराएको सम्पतिको मात्रा ढाकछोप गर्न श्रीमतिलाई तर्काउने मनासयले भनें, ‘थाकमा पुरिएका होलान, त्यत्रा किताब कहाँ हराउँछन्।’
‘हुँदैन, आज खाने काम बन्द’ उनको चेष्टा छोड्ने थिएन, ‘पढौं पढौं लाग्ने किताबै छैनन् भने झारपातलाई किन मिलाउनुपर्यो बित्थामा।’
चिया खुवाउने बेला श्रीमति गाली बर्साइरहेकी थिइन्। भान्सामा छिरेर भात पकाउने कुरा त परै जाओस। म थाकिसकेको थिएँ। चर्चित र रोजाइका कितावलाई दराजमा सजाउने र मन छुन नसकेकालाई कार्टनमा हालेर पलङमुनि थन्क्याउने योजना थियो। तर, किनेकामध्ये थुप्रै किताब हराएको पाउँदा मन कुडिंदै गयो।
‘मलाई नभेटिएका सबै किताबको लिष्ट चाहिन्छ’ उनी पुस्तकालयकी कर्मचारी झैं खरो उत्रिन्, ‘हराएका एउटै पनि किताब लिष्टमा छुट्नुहुन्न, ओके?’
‘ओके बाबा ओके’ मैंले दायाँबायाँ नसोची भनें, ‘तर, मलाई बीच बीचमा च्याङच्याङ नगर्नु।’
त्यसपछि श्रीमति ढोका ढप्काइदिएर भान्सातिर छिरिन्। म चाहिं टाउकोमा हात राखेर भुईभरी असरल्ल छरिएका किताब हेर्दै घोत्लिइरहें। केहीबेरमा किताव मिलाउँदै, थन्क्याउँदै हराएकाको नाम उतार्नतिर लागें।
…
झण्डै तीन घण्टामा मेरो काम सकियो। हातका चक्र मेटिनेगरी किताब पुछ्दै, फरर्रर पल्टाउँदै, थुप्रो लाउँदै र थन्क्याउँदै गरेको थिएँ। चियासमेत नपरेको पेट भोकले कुईंकुईं गर्दैथियो। तर, परिणाम दुःखद निस्केकाले खानेकुरामा रुचि थिएन। सातो हराएको थियो। नभेटिएका किताबका नामको फेहरिस्त हातमा थियो। जसको सिरानमा लेखिएको थियो- ‘बेपत्ता पुस्तक र लेखकको सची-२०६८।’ सूचीको पहिलो नम्बरमा परे- खगेन्द्र संग्रौला जो मेरा प्रिय लेखक थिए।
संग्रौलाका ‘तमोर नदीको किनारै किनार’, ‘जुनकीरीको संगीत’, ‘घोडा, ईश्वर र मेरा बा’, ‘सम्झनाको ऐनाका तस्वीरहरु’, ‘आमा र यमदूतहरु’ देखि ‘संकटकालमा कुन्साङ काका’, ‘सम्झनाका कुइनेटाहरु’, ‘इतिहासमा कालो पोतिएको अनुहार’, ‘आफ्नै आँखाको लयमा’, ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ किताब हराएछन्। न्याय, स्वतन्त्रता र समानताको पक्षमा कलम चलाएर स्वतन्त्र लेखकको पहिचान बनाएका संग्रौला मेरो कोठाबाट बेपत्ता पारिएछन्। संग्रौलाद्धारा प्रकाशित सबै कृति किनेपनि एउटै भेटिएनन्।
‘सुम्निमा’, ‘दोषी चश्मा’, ‘तीन घुम्ती’, ‘आत्मवृतान्त’, ‘जेल जर्नल’, ‘हिटलर र यहुदी’ हराएर विश्वेश्वरप्रसाद कोइराला बेपत्ताको सूचीमा दोस्रो भए। पढेपिच्छे आँखा रसाउने ‘मुनामदन’ संगै ‘शाकुन्तल’, ‘दाडिमको रुखनेर’, ‘लक्ष्मी निवन्ध संग्रह’ नभेटेपछि महाकवि देवकोटा बेपत्ताको तेस्रो नम्बरमा परे। सरुभक्तका ‘पागल बस्ती’, ‘चुली’, ‘समय त्रासदी’, ‘तरुनी खेती’ नभेट्दा यी पोखरेली स्रष्टा बेपत्ताको चौथो नम्बरमा परे। चमत्कारिक भाषाले आङ जिरिङजिरिङ पार्ने निवन्ध संग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ संगै ‘गौंथलीको गुँड’ कथा संग्रह नभेट्दा शंकर लामिछाने बेपत्ताको पाँचौ नम्बरमा परे।
पढिरहुँलाग्ने ‘शिरीषको फूल’, ‘महत्ताहीन’, ‘बैंसको मान्छे’, ‘तोरीवारी, बाटा र सपना’ हराएको पाउँदा झण्डै होस गुम भयो। तैपनि, बेपत्ता पुस्तक र लेखकको सूची उतार्नैथ्यो। त्यसैले पारिजात छैठौं नम्बरमा परिन्। कोठाबाट बेपत्ता पारिएका सातौं लेखक थिए- कृष्ण धरावासी। उनका ‘राधा’, ‘बालक हराएको सूचना’, ‘उत्तमजंग सिजापतिको आलु’, ‘शरणार्थी’, ‘झोला’, ‘राधा’, ‘तपाईं’, ‘टुँडाल’जस्ता कृति बेपत्ता भइसकेका रहेछन्। ‘झोला’ कथा पढेर धेरै दिनसम्म बेचैन भएको मैंले अब धरावासीलाई किताबमार्फत कोठामा फर्काउन कति समय कुर्नुपर्ने हो थाहा छैन।
‘लौ सबै सकिइगएछ नि’ बेपत्ता किताब र लेखकको एघारौं नम्बर पढिसकेपछि श्रीमति अर्कै खालको रिसाइन्, ‘यो लिष्ट हेरेर के काम अब। तुरुन्त फर्काउनतिर लाग्नु।’
बेपत्ताको सूचीमा ४२ लेखकका एकसय २० किताव थिए। तीमध्ये टोनी हागनको ‘प्यारो नेपाल’, युग पाठकको ‘उर्गेनको घोडा’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, तारा राईको ‘छापामार युवतीको डायरी’, सञ्जीव उप्रेतीको ‘घनचक्कर’, ‘शरच्चन्द वस्तीको ‘हाम्रो भाषा’, युवराज नयाँघरेको ‘एक हातको ताली’, देवेन्द्र भट्टराईको ‘रेगिस्तान डायरी’, राजनारायण प्रधानको ‘एउटा आइतवार यसरी बित्यो’, आङछिरिङ शेर्पाको ‘डेडलाइन चोमोलोङ्मा’, गणेश रसिकको ‘दशगजामा उभिएर’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ माया मार्न नसक्ने थिए।
बेपत्ता लेखक र कृतिले डायरीका चार पन्ना भरियो। तैपनि, श्रीमति खुसी हुने छनकै थिएन। दुःखले जोडेको सम्पति गायब भएकामा हतास, उदास र निराश देखिंदै थिइन्। मेरो पनि मन पोलेको थियो। फेरि कोकोहोलो मच्चिनसक्ने भयले सामान्य देखिन खोज्दैथिएँ। यसबाहेक, अरु कति होलान्- कुनैबेला किनेर दराज, र्याक र पलङमुनि राखेका तर अहिले नभेटिएका कृति † मनमनै सोच्दै गर्दा बेपत्ता सूचीको पहिलो नम्बरमा परेका संग्रौलाको सम्झनाले औधी सतायो।
…
चौध बर्षअघि म १४ बर्षकै थिएँ, त्यतिबेलादेखि खगेन्द्र संग्रौलालाई पढ्दै आएको थिएँ। गृहथलो इलामको चमैंतामा म आठ कक्षा पढ्थें। त्यसअघि फोन, एफएम, पत्रिका उपलव्ध नभएको गाउँमा संग्रौलाको नामसम्म सुनेको थिइनु। काकाका छोराले संग्रौलाका ‘बालकथा संग्रह’ भाग १ देखि ८ सम्मै घरमा ल्याएका रहेछन्। ती सबै पढ्न थालें। मैंले थाहा पाइसकेको थिएँ- संग्रौला पाँचथरको सुभाङमा जन्मीहुर्की अहिले काठमाडौं बस्ने ‘ठूला’ लेखक रहेछन्। त्यसपछि उनीप्रतिको आशक्ति झन् बढ्यो किनकी, संग्रौलाको जन्मथलो सुभाङ र मेरो चमैंतावीच जम्माजम्मी ५० किलोमिटरको मात्रै दूरी थियो।
‘नवयुवा’मा संग्रौलाको ‘सम्झनाको ऐनाका तस्वीरहरु’ भन्ने स्तम्भ छापिंदो रहेछ। थाहा पाउनासाथ महिनैपिच्छे सदरमुकाम जाने मान्छेलाई ल्याइदिनु भन्थें। पत्रिका नआउन्जेल भात, पानी र स्कुलका कितावतिर मन जाँदैनथ्यो। कहिले त्यसैदिन आइपुग्थे, कहिले सात दिनपछि त कहिले ‘आइपुगेकै रहेनछ’ भन्दै खाली हात आइपुग्थे। त्यस्तो बेला नुन खाएको कुखुरो झैं झोक्राउँथे। जब ०५६ मा एसएलसी उत्तीर्ण भइयो तब संग्रौलालाई मनलाग्दो पढ्न पाइयो। इलाम क्याम्पस भर्ना भएपछि संग्रौलाका लेख जुन जुन पत्रिकामा छापिन्थे ती सबै मेरो कोठामा भित्रिन्थे। उनका पुराना कृति पनि फेला पारिसकेको थिएँ। त्यतिबेलै उनको ‘जुनकीरीको संगीत’ उपन्यास निस्कियो।
ज्ााडो छुट्टीमा आएको त्यो उपन्यास तुरुन्तै किनें र घरतिर उक्लिएँ। भुईंकुहिरो लागिरहने गाउँको घरमा डेरी थियो। अरुबेला आफैं डेरी मेसिन चलाएर दूधबाट क्रिम निकाल्न रमाउँथे। तर, संग्रौलाको किताब हात परेपछि म बार्दलीदेखि कतै ओर्लिनु। तीनसय ५८ पृष्ठको ‘जुनकीरीको संगीत’ एकै दिनमा सिध्याएको थिएँ। पर्वतको सिमरिङ गाउँका दलितको कथा रैथाने लवजमा पस्किइएको त्यो उपन्यासमा सिनो खानेको दुःख, प्रधानपञ्चको रवाफ, एनजिओको उपश्थिति र क्रान्तितर्फ उन्मुख गाउँलेको मनोदशा मार्मिक रुपले चित्रण गरिएको थियो।
फोटोमा सानो काँटका, पावरदार चश्मावाला र लामो नाक भएका संग्रौलाका नयाँ कृतिको प्रतीक्षा व्यग्र हुन्थ्यो। आइए दोस्रो बर्ष पढ्दै ‘स्पेसटाइम’मा इलामबाट संवाददाता भइसकेकाले संग्रौलालाई काठमाडौं जाँदा भेट्नेछु भन्ने सोच्थें। ०५८ जाडोयाममा काठमाडौं आएका बेला संग्रौलासंगै थुप्रै लेखकका किताब किनेर थन्क्याएँ। उनको घरको नम्बर पत्तो लाउन मुस्किल पर्यो। जसोतसो फेला परेपछि इलामको अर्थोडक्स चिया, एक पोका छुर्पीसहित लेन्सवाला भीभीटार क्यामेरा र डायरी बोकेर चावहिलस्थित उनको निवासतर्फ सोझिएँ। ‘तीन बजेभित्र आइपुग्नुहोला गाउँले भाई’ संग्रौलाले फोनमा भनेका थिए, ‘नत्र म निस्किइसकेको हुन्छु।’
रत्नपार्कदेखि म चढेको बस दुई घण्टामा पनि चावहिल पुगेन। अहिले बुझ्दा राजाको सवारी रहेछ। जामले म चावहिल पुग्दा चार बजिसकेको थियो। थुपै्रलाई सोध्दैखोज्दै बल्ल संग्रौलाको निलो जस्ताले छाएको घर भेटियो। हतार हतार गेटमा पुग्दा अग्लो कदकी मतवाली समुदायकी जस्ती देखिने महिला अलि होची मोटी युवतीसंग उभिएर मैतिर हेर्दैथिइन्। उनी संग्रौलाकी बन्दीपुरे गुरुङसेनी श्रीमति र होची चाहिं छोरी रहिछन्। हरियो दुवो र फूलले आँगन ढकमक थियो। पूर्वको हाम्रै गाउँतिरकै जस्तो घर बनाउन खोजेका रहेछन् भन्ने लाग्यो। ‘इलामबाट खगेन्द्र दाईलाई भेट्न आको’ मैंले आफ्नो परिचय दिंदै भनें, ‘गाडी ढिलो कुदेर आउनै अबेर भयो।’
‘तपाईंलाई यत्रो बेर पर्खेर भर्खरै निस्किनुभो’ आत्मिय आँखाले हेर्दै भाउजु बोलिन्, ‘अब भोलि आउनुस।’ मन खल्लो भइसकेको थियो। ‘ह्वस, फोन गरेर आउँछु’ भनेर अर्कोतर्फ फर्किएँ। राजधानीका रैथाने भइसकेका उनीहरुले चिया र छुर्पीको कोशेली सुदामाको तण्डुल ठान्लान भनेर नदिई फर्किएँ। त्यसलगत्तै मुलुकमा संकटकाल लाग्यो। संग्रौला अब- कुन्साङ काका भएर पत्रिकामा छापिन थाले। शाही सरकार मत्ता हात्तीजस्तो भएर नागरिकका अधिकार दोहन गरिरहेको त्यसबेला संग्रौला चाहिं लेखनीमा व्यङ्ग्य, परिहास, कटाक्ष र ठाडो प्रहार गरी तिनको हुर्मत लिंदैहुन्थे। पूर्वतिर बोलिने भाषामैं लेख्थे उनी।
‘घोडा, ईश्वर र मेरा बा’ भित्रको ‘एउटा शिक्षकको बकपत्र’ पढ्दा उनले चितवनमा शिक्षण गर्दा पाएको सास्ती सम्झेर रोएथें। ‘आमा र यमदूतहरु’ पढ्दा भद्दा हिन्दु संस्कार र उनको विद्रोहप्रति सलाम गर्न मन लागेको थियो। ‘सङकटकालमा कुन्साङ काका’ पढ्दा हामीले पार गरेको त्रासद समय सम्झुदै उनले शाही सरकारको दोहोलो काढेकोमा गर्व लाग्थ्यो। ‘जीवनका कुइनेटाहरु’ दार्जिलिङ बस्दा पढेको थिएँ भने पछिल्लो कृति ‘आफ्नै आँखाको लयमा’ चाहिं रियाभ सेन्टरमा रहुदा। सधैं पढ्दै आएका संग्रौला अब चाहिं पढ्न नपाइने भए। उनी कोठाबाट झट्टै नफर्किने गरी बेपत्ता पारिएका छन्।
…
‘किताब बेपत्ता पार्नेको लिष्ट चाहियो’ कोठा सफा गरेको साता बितिसक्दा पनि श्रीमतिको कचकच रोकिएन, ‘तिनीहरुलाई मैंले ठेगान लाउँछु।’
सम्पतिका नाममा किताव नैं महत्वपूर्ण थिए। देश, काल, परिश्थितिसंग साक्षात्कार हुन किताबको सहारा लिने म यस्ता अब्वल कृति बेपत्ता हुँदा पर्सेको बोको झैं भएको थिएँ। बेपत्ता किताब तत्काल किनौं भने ३० हजार रुपैयाँ जति चाहिने रहेछ। एकमुष्ठ त्यत्रो पैसा कताबाट जुटोस † नकिनौं घर झगडाले मनमा शान्ति छैन। एक बिहानै पशुपतिस्थित श्लेष्मान्तक वनतिर हान्निएँ। बाग्मतीमा शव जल्दैथिए। साधु सन्त भीख माग्दैथिए। प्रेमजोडी हात समाएर हिंड्दैथिए। मेरो मन भने एक तमासले विक्षिप्त थियो।
किताब बेपत्ता पार्नेहरुलाई नैं राम्ररी माग्ने नदिए थर्काउने सोचले उनीहरुलाई मज्जाले सम्भि्कनु खोजें। दिमागमा यस्ता पनि नाम आए तीेमध्ये कोही मरिसके, कोही अमेरिकामा भाँडा माझ्दैछन् त कोही सम्पर्कविहीन छन्। बेपत्ता लेखकको आठौं नम्बरमा नारायण ढकाल थिए। उनका ‘शोकमग्न यात्रीहरु’, दुर्भिक्ष’, ‘आत्महन्ता’ मात्रै होइन ‘प्रेतकल्प’समेत कोठाबाट प्रशन्न मुद्रामा लैजाने वामपन्थी राजनीतिमा चासो राख्ने एकजना युवा थिए। उनलाई कहिलेकाहिं पेरिसडांडामा देख्छु तर किताब फिर्ता ल्याइदिनु भन्न सक्दिनु।
ध्रुवचन्द गौतमका २२ उपन्यासमध्ये थुप्रै किनेको थिएँ। तर, ‘अलिखित’, ‘कट्टेलसरको चोटपटक’, ‘घडीहरुको देशमा समय खोज्दै’, ‘फूलको आतंक’, ‘तथाकथित’ नभेटिंदा उनी बेपत्ताको नवौं नम्बरमा थिए। ती किताब साहित्यमा चासो राख्ने पूर्वकै एकजना लेक्चररले बेपत्ता पारिदिएका हुन्। उनी कलेज पढाउँछन् तर भेट्दा किताबको कुरा उठ्नसक्ने भयले होला ‘आज व्यस्त छु’ भन्दै तर्किन्छन्। कोठा देखेको छैन, पुरानो नम्बरमा मरिगए फोन लाग्दैन। कुनैबेला अनलाइन देखेपनि ‘हाइ’ गर्नासाथ अफलाइन भइहाल्छन्।
‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ नभेटिंदा नारायण वाग्ले बेपत्ता पारिएका दशौं लेखक थिए। ती दुईटै कृति दुई बर्ष बितिसक्दा फिर्ता नगर्ने एकजना कलाकार आफैं बेपत्ता छन्। फिल्म बनाउने र आफैं खेल्ने गरेका उनी सम्पर्कमा छैनन्। ‘हिमालपारि पुगेपछि’, ‘सेती पनि काली पनि’, ‘सगरमाथाको आधार शिविरबाट’ नभेट्दा प्रतीक ढकाल बेपत्ताको एघारौं नम्बरमा समेटिएका थिए। तर, ती किताब लैजाने पर्यटन व्यवसायी साथी राजधानीमैं कतै छन्। एकपल्ट भेटिंदा ‘तपाईंको नासो सुरक्षित छ है’ सम्म भनेका थिए, त्यसपछि पुरै गायब।
ओशोको ‘सम्भोगदेखि समाधिसम्म’ देख्दा राल चुहाउँदै ‘यसमा कडा कुरो छ क्यार’ भन्दै हत्ते हालेर लैजाने साथी अझै रेष्टुरेण्ट चलाउँदैछन्। शीर्षकले लोभिएका उनले त्यसलाई पढे पढेनन् थाहा छैन तर फिर्ता चाहिं गरेनन्। किरण देसाईको ‘द इन्हेरिटेन्स अफ लस’ कीर्तिपुरमा एमफिल गर्ने ‘विद्धान’ मित्रले लगेका थिए। अहिले नामका अघि डा. झुण्ड्याउन थालेका उनले ‘अर्काको किताब पचाउनुहुन्न’ भन्ने चाहिं पढेनछन्। मञ्जुश्री थापा र सम्राट उपाध्यायका ‘फरगेट काठमाण्डु’, ‘द गुरु अफ लभ’ देखेपछि ‘यी त संग्रहणीय छन्’ भन्दै लैजाने म्यानपावरवाला साथीले तिनलाई आफ्नै घरमा संग्रह गरेका छन्।
कनकमणि दीक्षितको ‘मैंले देखेको मुलुक’, कुमार नगरकोटीको ‘मोक्षान्त : काठमाण्डु फिभर’, लियो टाल्सटोयको ‘वार एण्ड पिस’, नयनराज पाण्डेको ‘उलार’, लैनसिंह वाङ्देलको ‘रोमको एउटा फूल…’ नफर्काउने मित्रहरु दिनहुँ भेटिन्छन्। उनीहरु अफिसका सहकर्मी हुन्। सम्बन्ध बिग्रिएला भनेर ती किताबबारे उनीहरुसंग कुरै हुँदैनन्। बसाइ नजिकै भएपनि एकजना हिरोइनलाई दिएका चारथान पुस्तक त यो जुनीमा फर्किने आशै छैनन्। फोन, म्यासेज, इमेल र साथीमार्फत जतिपल्ट मागेपनि उनले ‘ल्याइदिइहाल्छु’ भन्छिन् तर कहिल्यै भेट्दिनन्।
रक्सीमा रमाउञ्जेल केही किताब आफैं पनि बाँडेर ठूलो गल्ती गरिएछ। एक साँझ कोटेश्वरस्थित खाजाघरमा डडेलधुरातिरका पूर्वपञ्चसंग छिनभरमैं दोस्ती जम्यो। त्यसबेला भर्खरै निस्केको शारदा शर्माको ‘भुईंफूलको देश’ किनेर झोलामा बोकेको थिएँ। त्यो त उनले जर्वजस्ती खोसेर कोटको खल्तीमा हाले। भोलिपल्ट बेलुका कोठामैं आएर ‘हामी राजनीति गर्नेलाई काम दिन्छन्’ भन्दै जितमान बस्नेतको ‘अँध्यारा २५८ दिनहरु’ र गंगा श्रेष्ठको ‘गढी दरबारदेखि सिंहदरवारसम्म’ कब्जा गर्न सफल भए। ट्याक्सी भाडासमेत लिएर त्यसदिन मबाट बिदा भएका उनी अहिले मरे कि बाँचे केही अत्तोपत्तो छैन।
प्ााहुनाका रुपमा आएपनि कोठाभित्र पसेर किताब चोर्न रगरगी मच्चाउनेहरु थोरै थिएनन्। एकाध व्यक्ति यस्ता पनि भेटिए जसले तेल, बेसार, चिया, दूध र रक्सीको थेग्लाथेग्लीले रङीचङी पारेरै भएपनि फिर्ता ल्याएका छन्। ‘नहुनु मामाभन्दा कानो मामा जाति’ भने झैं त्यस्तै भेष बदलेर भएपनि अम्बर गुरुङको ‘कहाँ गए ती दिनहरु’, मञ्जुश्री थापाको ‘सिक्लेसको ठिटो’, आनी छोइङको ‘फूलको आँखामा’, कर्ण शाक्यको ‘सोच’जस्ता सातसय जति किताव कोठाको शोभा बनेका छन्।
…
‘लौ यी किताबलाई मिलाएर राख’ पशुपतिबाट किताब गायब पार्नेको सूची तयार पारेर फर्केपछि श्रीमतिलाई झोला थमाउँदै भनें, ‘अब यसैगरी थप्दै जानुपर्छ, एकैचोटी फिर्ता मागेर साध्य हुँदैन।’
पत्रिकामा छापिएको एउटा लेखको पैसाले बानेश्वरको बुक्स प्लानेटमा छवटा किताव किनेको थिएँ। ती देखेपछि उनको मुहार हल्का उज्यालियो।
‘अब चाहिं दराजमा चावी नठोकी हुँदैन’ उनले नयाँ किताब समाउँदै भनिन्, ‘अब आफैं जनैजस्तै डोरी भिरेर चावी बोक्छु।’
कमाएको पैसाले महिनैपिच्छे केही नयाँ किताब किन्ने, बेपत्ता पार्नेलाई फिर्ता मागिरहने र आइन्दा इन्द्रेको बाउ चन्द्रे आएपनि किताब नदिने दुईपक्षीय सहमति भयो। त्यसपछि श्रीमतिलाई भनें, ‘अब चाहिं सम्पति नजोगाए तिमी हुतिहारा हुन्छ्यौ।’
(श्रोत:- Mysansar)