~भोजराज दाहाल~
सिभिल मलको सातौँ तल्लामा रहेको हिमालयन विन्ज कफीको कुनामा बसेर आँखा तन्काएँ मैले। छेउको टेबलमा एक जोडी भेलेन्टाइनहरु गफिँदै थिए। छेउकी पातली, गोरीका क्या गुलाबी ओठ रहेछन् भने! हातमा हात राखेर गफिँदैछन जोडीहरु । हाँसोले गुन्जयमान छ वातावरण। यो भीडमा एक्लै बस्ने त म मात्रै पो रहेछु। भीड बिस्तारै बढ्दैछ कफी हाउसमा। मैले घडी हेरेँ – साँझको सात बजेछ।
दाइ तपाईंको “क्यापाचिनो” – वेट्रेसको आवाजले म झसङ्ग भएँ। भर्खर बैँस लागेकी , हिस्सी परेकी केटीले कफी टेबलमा छोडेर गई। अघि नै कफी अर्डर गर्ने बेलामा सोध्दै थिइ – दाइ कुन फ्लेभर राख्दिउँ? जवाफ दिन त मन थियो तिम्लाई जुन फ्लवर मन पर्छ त्यही राखिदेऊ न, एक्लै कफी खान आएको देखिनौ भेलेन्टाइन डे को दिनमा?
“विद्आउट फ्लेभर “- जवाफ चैँ यस्तो दिएँ।
“टाढा-टाढा जानुछ साथी, एक फेर हाँसी देऊ , छुटी सकेको मायालाई साथी एकफेर गाँसी देऊ !” कसैको मोबाइलमा बजिरहेछ। विगतका दिन झल्झली आयो आँखामा।
पहिलो पटक देख्दा उनी १७-१८ वर्षकी थिइन्। म घर छेउ कै एउटा बैंकमा काम गर्थेँ, क्यासियरको। उनी बैँकको किस्ता तिर्न आएकी थिइन्। सानी , गोरी तर लजालु केटी। खैरो केश भएकी मधुरो बोल्ने तर चन्चल आँखा ।
“चार हजार सात सय पचास” मैले भनेँ। उनले हातमा भएको सानो पर्स खोलिन्, एकछिन अक्मकाइन्।
“तपाईंको जम्मा चार हजार सात सय पचास” मैले फेरि भनेँ।
उनी फेरि अक्मकाइन्, भुइँतिर हेरिन् तर बोलिनन्।
केही बेरपछि सुस्तरी भनिन्- दाइ, मैले पैसा ल्याउन भुलेछु , मेरो घर यही नजिकै हो। म पैसा लिएर आउँछु।
इलाम- सानो शहर, तर सुन्दर , हरिया चियाबारीको शहर – सानो ठाउँमा प्रायः सबैसँग चिन्जान भैहाल्छ। उनको र मेरो घर एउटै टोलमा रहेछ।
बिल लिएर जानुस्, भरे उतै बजारतिर दिए पनि हुन्छ पैसा, मैले सजिलो पार्दै भनेँ।
तर उनी बिल नलिइकनै फर्किन्। म साँझमा आउँदा बिल ल्याइदिउँला तर चिया चै खुवाउने सर्तमा नि! मैले जिस्काएँ। साँझमा बिल पुर्याउने त बहाना थियो एउटा, मलाई उनीसँग कुरा गर्न मन थियो। अफिसबाट निस्केँ , ज्यान चङ्गा बनेर कतै उडिसकेको थियो।
__________________
मेरो नाम “सज्जु”, १२ कक्षामा पढ्छु। बाबाको बिजिनेस छ” उनले बताइन्। त्यो हाम्रो पहिलो भेट थियो । पहिलो माया, पहिलो भेट सँधै याद आउदो रहेछ । उफ !!
दुई तीन दिन हाम्रो भेट भएन । एक दिन म बजारबाट टुँडिखेलतिर फर्कदै थिए – उनी आउँदै रहिछन् ।
“सञ्चै हुनुहुन्छ ?” मैले औपचारिकता पूरा गरेँ।
“बहिनी जस्तो मान्छेलाई के तपाईं भनिरा’को नि ?” थोरै रिसाएजस्तो गरिन्।
” ए हो ! ल अबदेखि तिमी भन्छु नि हजुर !” मलाई कुरा अगाडि बढाउनु थियो।
मलाई तपाईं, हजुर भन्नु पर्दैन , नामले बोलाए हुन्छ।
त्यो दिन टुँडिखेलको छेउमा बसेर हामीले अरु निकै गफगाफ गर्यौँ। हिंड्ने बेलामा फेरि कहिले भेट्ने भएर सोध्न त मन थियो, तर अहँ सकिनँ। त्यसपछिका भेटहरु अलि बाक्लिँदै गए। कुरा चैँ उही , सञ्चै हुनुहुन्छ ? चिया पिउनु भो ? के छ ? कता ? भन्दा एक इन्ची अघि बढेन।
र त्यो सालको भेलेन्टाइन डे आयो ।
तर मलाई उनलाई बोलाउने आँट आएन । अगिल्लो दिन त सोचेको थिएँ एउटा रातो गुलाफ दिन्छु – त्यति भएपछि कुरा बुझ्लिन् नि। तर चिया खान आऊ भनेर बोलाउने त आँट आएन , गुलाफको फूल दिन त !?
त्यो दिन अफिस गइनँ , दिन भरी कोठामै बसे , भोलिपल्ट अफिस पुग्ने बित्तिकै दीपेन्द्र दाइले सुनाए – उनी हिजो दुई तीन पटक म बस्ने काउन्टर अगाडि आएर, केही नबोली फर्किन रे।
थुइक्क ! आँफै देखी रिष पनि उठ्यो , लाज पनि लागेर आयो ।
धेरै दिन भेटघाट भएन । एक दिन बजारमा नयाँ मान्छेसँग देखे उनलाई । हरे शिव ! मेरा नौ नारी गलेर आए। टाउको दुख्यो , भन्नन रिङ्गटा चल्यो।
मेरो मामाको छोरा प्रवेश – उनले चिन्जान गराइन् । म तन्दुरुस्त भैहालेँ।
त्यसपछिका दिनहरु , महिनाहरुमा भेटघाट बाक्लियो । टुडिखेल , लव डाँडा , माइ मजुवा , माइपोखरी – मिलेसम्म भेटघाट जारी नै रह्यो ।
अनी अर्को साल पनि भ्यालेन्टाइन डे आयो ।
त्यो बर्ष मैले हिम्मत जुटाए ।
एउटा कार्ड किने , कार्ड मा अली अली पाङ्रे शाहित्य पनि लेखे । एउटा रातो फुलाफको फुल नि कार्डको छेउमा टासे । त्यो रातभरी मलाई निन्द्रा लागेन । बिहान चोक बजारमा भेट भो । मैले उन्लाई त्यो कार्ड दिएरै छोडे – भनेरै छाडे – “विल यु वि माइ भेलेन्टाइन ?”
उनी मुसुक्क मुस्काइन ,र घर तिर लागिन केही नबोली ।
म खुशीले पागल भएको त्यो पहिलो चोटि हो जिवनमा !
दिन-महिना- साल बिते , माया पिरतिका कुरा । जीवनका कुरा , जिन्दगीका कुरा गरेर ।
उन्ले प्लस टू पास गरिन , कलेज पढ्न काठमाण्डु आइन । म कहाँ बस्न सक्थे र ! सरुवा मिलाएर म पनि आए शहर काठमाण्डौ !
उनी चाबहिलमा , म लाजिम्पाट बस्थे । शहरमा अली ब्यस्त भैयो तर चाहेको बेला भेट्न कुनै बन्देज पनि भएन ।
मलाई भेट्न उनी रातो गुलाब बोकेर आउथिन , म खुसिले पागल भैहाल्थे । “आइल्स मा सेवेन प्वाइन्ट फाइव आयो”- उन्को कुराले म खिन्न भए । भित्रै देखी डर लागेर आयो । उनी अमेरिका जाने भइन् ।
पहिला बिहा गर्ने अनि जाने अमेरिका – उन्ले ढिपी गरिन् । हैन पहिला पढ्ने , क्यारियर बनाउने अनी गर्ने बिहा – मैले कर गरेँ।
अनि एक दिन सांझमा जहाज उड्यो , मेरो मुटु बोकेर !
__________________________
उन्को पढाई सकियो । त्यो साल को भेलेन्टाइन डे मा उन्ले म्यासेज पठाइन ” मेरो पढाई पनि सकियो , जब पनि राम्रै छ , अब नेपाल आएर के गर्नु ? बरु तिमी पनि अमेरिका आऊ , यतै कुनै काम खोजेर गरौला । ”
तर मैले भिसा पाइनँ। केही उपाय चलेन्। डि भी पनि परेन ।
“तिमी नै नेपाल आऊ । मैले आग्रह गरे । ” क्यारियर बर्बाद हुन्छ , आउदिन ! उनी मानिनन्।
_______________
एक दिन झरी परेको साँझमा उन्को म्यासेज आयो र एउटा हुरी आयो मेरो जीवनमा । “जीवनमा एक्लाई बस्न गाह्रो हुन्छ । कसरी काट्नु मैले एक्लो जीवन ? कि तिमी आऊ , कि मलाई तिम्रो मायाबाट मुक्त गरिदेऊ। ”
त्यो रात रातैभरी हुरी चलिरहयो , झरी परी रह्यो , म चाहेर पनि रुन सकिनँ। अनिदो रात चुपचाप काटे मैले ।
रात निकै बितिसकेछ , मैले बाहिर हेरे । क्युएफयक्स सिनेमा घरबाट बैसालु जोडीहरु लठारिदै निस्कदै छन । ल्याप्टप हेरे उन्को फेसबुक मा उन्को फोटो मलाई नै हेरेर हासिरहेको थियो । म्यासेज बक्समा उन्को म्यासेज देखे “तिमिले के निर्णय गर्यौ ?” उन्को म्यासेज आएको एक घण्टा भैसकेछ।
टाइप गर्न खोजे , हात थर थर कापे , ओठ तालु सुक्यो ।
“मैले तिमीलाई मेरो माया बाट मुक्ती दिने निर्णय गरे ” कामेका हातले टाइप गरेँ।
सुन्धारा आइपुग्दा सडकमा चुक अध्यारो पोखिएको थियो । अध्यारोमा मोबाइलमा म्यासेज हेरे केही आयो कि जवाफ भनेर । जवाफमा लेखिएको थियो- “मैले यो जीवन एक्लै काट्ने निर्णय गरेँ”
त्यो रात सडक किनारमा बसेर निकै बेर रोए म । घर फर्कदा रेडियोमा बजिरहेको थियो । “आफ्नो मन आफैसँग ढाँट्न नमिल्ने , दुखे पनि अरुसँग साट्न नमिल्ने ”
(श्रोत:- Mysansar)