~डि. बि. किराती~
ए देश निर्माणको ठेक्का लिएका
बिचार हिन ठेकेदारहरु,
भन–
के गर्दै छन् तिम्रा
देश रित्याउने बाँदरे विवेकहरु?
अनि के बोल्दैछन् तिम्रा
खुइलिएका ती इतिहासका पानाहरु?
हिजो अस्ति
चैनपुरको शेरसिंले बन्दिपूरको कैद सिंलाई
एस एल आर पड्काएर सात सलाम ठोके रे!
बदलामा
कैद सिंका भाइ बन्धुले पनि
शेर सिंको मुटु हातमा लिए रे।
के तिमीले पनि त्यो समाचार सुन्यौ?
सुन्यौ भनेँ
कति खुशी लाग्यो तिमीलाई पढ्दा ती समाचारका हरफहरु
अनि चिन्यौ?
कस्का सन्तान रहेछन् ती महा मानवहरु।
अझै चिनेको छैनौ भने सोध
देश भरिका जवान विधुवा र बालटुहुराहरुलाई
अनि खोज
हिजो गुहे नालीमा फालिएका तिम्रा दृढ सङ्कल्पलाई।
तिमी हिजो भन्थ्यौ
एक हातले ताली बज्दैन दुई हात लगाऊँ।
आज फेरि भन्दै छौ हजार हातले बजाऊँ।
तर किन तिम्रा दुवै हात खोखिलमा छन्?
कतै तिमीले गिद्दे नङ्ग्रा लुकाएका त होइनौ?
हामीलाई थाहा छ तिमी बाठो छौ।
तिमी धेरै बाठो छौ।
तिमी बाँदर जस्तै बाठो छौ।
यसैले त आरामदायी कुर्सी ठानेर
आरावालको धरानमाथी बसेका छौ।
धरान माथी आराम गर फरक पर्दैन।
तर ढङ्ग छैन भने आरावालले ठोकेको चुकुल नचलाऊ
अनायास चुकुल खुस्कियो भने
के हुन्छ?
तिमीलाई थाहा छ ?
(श्रोत:- खुम्बु दर्पण )