कथा : कठिन प्रेमयात्रा

~बिकास घिमिरे~

“नाईँ प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, बिना अर्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै बेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले मलाई बुझ्ने कोसिस गर, आफ्नो अबुझ मनलाई सम्झाउने प्रयास गर । मलाई र मेरो छविलाई मनैदेखि भुलाइदेऊ । तिम्रो र मेरो बीचको वास्तविकतालाई तिम्रो सोचाई अनुरुप लैजाने निरर्थक प्रयास त्यागिदेऊ । म त्यस्तो रुपले तिमीलाई हेर्न सक्दिन । प्लिज मलाई जान देउ अनि तिम्रो मनबाट पनि हटाइदेऊ मेरो तस्विर । जबसम्म तिमीले हामीबिचको यथार्थलाई बुझ्दैनौ तबसम्म भेट्ने प्रयास नगर ।”

“प्रेक्षा, तिमी मलाई छोडेर जान सक्दैनौ । म सक्दिन तिमीबिना बाँच्न, असमर्थ हुनेछु तिमीबाट टाढा रहन, नाई म यो सहन सक्दिन ।” प्रनिशको अनायासको चित्कारसँगै उसको कल्पना भंग हुन्छ र उ आफुले कल्पेको घटनाप्रति चिन्तित हुन्छ । शून्यताले डेरा जमाएको छ, अशान्त मस्तिष्क । अनेक कुराहरुले उसको कोमल मगजमा दबाब दिइरहेछ निरन्तर र उ त्यसै त्यसै डुब्दैछ चिन्तामा, गहिरो तनाब । मनमा हुरी चल्छ । विवादास्पद कुराहरुको द्वन्द, द्विपक्षीय विचारहरुको लडाई । विजय कुन पक्षको हुन्छ उ स्वयं अनभिज्ञ छ ।

एक मन भन्छ “अहँ ! म उनलाई भुल्न सक्दिनँ या चाहन्न । आखिर मैले प्रेम गरेको हुँ निस्वार्थ अनि साँचो प्रेम । माया गर्ने अधिकार मलाई पनि छ । कुनै पाप भएको छैन म बाट , यो मेरो स्वाधिकार हो । मेरो स्वतन्त्र मनले मानेको सत्यता, त्यसैले म उनलाई प्रेम गरिनैरहन्छु । चाहे मैले उनलाई पाउँ या नपाउँ , मेरो माया घट्दैन । बरु म त्याग स्वीकार्छु तर प्रेक्षालाई भुल्ने छैन ।”

अर्को मनले भन्छ “ यस्तो अमान्य, हुनै नसक्ने दुष्प्रयास गरी आफैलाई पीडाबोध गराउनु मुर्खता शिवाय अरु केहि होईन । नचाहेरै पनि मैले उनलाई बिर्सन अपरिहार्य छ । मनमा सजाईराख्नुको के अर्थ उनलाई ? एक विवाहिता नेपाली हिन्दु नारी, पतिव्रता नारी जो मसँग रहने त के फर्केर पनि हेर्दिन प्रेमपूर्ण भावले ।”

प्रनिशलाई सताईरहेछ यिनै प्रश्न र सोचाईहरुले दुई पक्षमा विभाजित भई र ऊ निर्णय लिन असमर्थ छ कुनै एक पक्षमा । उसलाई तनावपुर्ण विचारहरुले आमन्त्रित गरिरहेछ वैचारिक युद्धमा । जुन द्वन्दको समाधान या निराकरणको बाटो ऊसँग छैन, जसरी पनि पीडा उसैलाई हुने निश्चित छ । उसलाई लाग्छ यो युद्ध वा विवाद अनन्त रुपमा चल्छ त्यसैले उ आफ्नो दिमागलाई शून्यावस्थामा लैजान र शान्त पार्न खोज्दैछ । एकदम स्वच्छ र तनावमुक्त । यस्तैमा उ सुत्ने प्रयास गर्दागर्दै निदाउन पुग्छ ।

प्रनिश काठमाडौ शहर आएको करिब डेढ वर्ष भयो । उ गाउँबाट एसएलसी दिई उत्कृष्ट अंक ल्याई उच्च शिक्षा हासिल गर्नको निम्ति यहाँ आएको हो । थुप्रै कलेजबारे बुझेपछि उसलाई एउटा कलेज प्रिय लाग्यो पढाईको हिसाबले, आवतजावतको हिसाबले, शान्त वातावरणको कारणले अनि उसको परिक्षाको प्राप्ताङ्कको मुल्याङ्कन गरि दिइएको विशेष छुटको कारणले । उ त्यही भर्ना भई पढ्न जान थाल्यो । उसलाई आफ्नो साथीभाइ, पढाउने शिक्षक शिक्षिका सबैको व्यवहार मनपर्‍यो। विशेष गरी उसको मनमा छाप बसाउन सफल भइन् म्याडम प्रेक्षा जो उसको अंग्रेजी विषयकी अध्यापिका थिइन् । उनको पढाउने शैली, आकर्षक व्यक्तित्व, सुन्दर पहिरन, तेजस्वि मुहार, विनम्रता, शालीनता, सरल प्रस्तुति, विद्यार्थीप्रतिको मायालु तथा मैत्री व्यवहार अनि यस्तै कारणले गर्दा प्रनिशले म्यामलाई आकर्षणको उच्च केन्द्रबिन्दु ठानेको थियो । उसलाई कुनै एकदिन कलेज छुट्दाको समय ज्यादै निरस र शून्य लाग्थ्यो । यो के भएको हो? म्यामप्रति किन यस्तो आकर्षण जुन सधै अतृप्त रहन्छ उसलाई थाहा छैन । ऊ अडिग छ एउटै विचारमा कि म्यामको सुन्दर मुहारको दर्शन गर्न भएपनि कलेज छुटाउनुहुन्न मैले ।

यसैगरी दुई महिना बित्यो, कुनै स्रोतबाट थाहा भयो म्यामको घरमा कोठा खाली छ भन्ने कुरा । अब उसको छटपटि बढ्दै गयो, उसले अबदेखि म्यामकै घरमा बस्ने अठोठ गर्‍यो । बिहान उ छिट्टै कलेज गयो र क्यान्टिनमा बसी चिया पिउदै गर्दा म्याम प्रेक्षा उसकै सामू उभिएको आभाष भयो उसलाई । शीर उठाएर हेर्‍यो सलक्क मिलेको शरीरमा कलेजी रङ्गको सारी लगाएकी, मधुर मुस्कानका साथ उभिएकी म्यामलाई । केही असहजताका साथ उसले शिष्टाचारको भावले बस्नलाई आग्रह ग¥यो । म्याडम र उनलाई चाहने विद्यार्थी एकसाथ बसे एकदमै समिप, चिया पिउदै र मौनतालाई तोड्दै अप्ठ्यारो मनले प्रनिशले भन्यो “म्याम म गाउँबाट भर्खरै शहर आएको धेरै पढि केहि गर्छु भनेर । एकदमै अपरिचित छु यहाँको समाज अनि मानिससँग । हाल बस्दै गरेको कोठा घरधनीले खाली गर्नु भनेको छ । म त ठुलो आपतमा परे , अब कहाँ कोठा खोज्नु मैले । बरु दुःख मान्नुहुन्न भने तपाईले चिनेको ठाँउमा कतै डेरा खाली छ कि? विचार गरिदिनोस् न ।”

केहि बेर सोचेर हसिलो मुहारमा बडो सरल एवम् मिजासपूर्ण स्वरमा म्यामले जवाफ दिइन “हेर प्रनिश, तिमी मेरो सबैभन्दा प्रिय छात्र हौ कारण तिमीमा ती सबै गुण छ जो एक असल विद्यार्थीमा हुनुपर्छ । आफ्नो समस्या जाहेर ग¥यौ केहि सहयोग पाउने आशाले । शायद म केहि गर्न सक्छु कि, मेरोमा पनि अहिले कोठा त खाली छ तर…………….।”

“तर के म्याम…..प्लिज मलाई त्यति सहायता गर्नुहोस । मेरो पढाई अझ राम्रो हुन्छ तपाईसँग बस्न पाएमा अनि म तपाईको पैसा पनि नियमितरुपमा समयमै बुझाउछु , प्लिज म्याम नाई नभन्नुस न ।”

म्याम केहि हासिन….“मैले कहाँ नाई भनेकी छु र ? म एक्लैले निर्णय लिन मिल्दैन, त्यसैले परिवारसँग सल्लाह गरेर भोलि जवाफ दिन्छु है । क्लास शुरु हुने बेला भयो जाउ आफ्नो क्लासमा ।”

“हुन्छ म्याम, धन्यवाद ।”

सो दिन उ ज्यादै प्रसन्न मुद्रामा रह्यो । मन अस्थिर थियो साह्रै चञ्चल । पढाईमा ध्यान थिएन, मौन बसाई तर पनि उसको मन आफैबाट हराई कतै भौतारिरहेको थियो । दिन धेरै लामो र पट्यारलाग्दो भयो, जसोतसो दिन ढल्यो र रात पनि बितायो उसले प्रेक्षाकै यादमा । सपनी बित्यो उनकै साथमा, प्रेममय साथ, अटुट बन्धन, प्यारो संगम । तर सबै कुरा सपनामै सिमित रहि उसको आँखा खुल्यो । यथार्थमा ल्याई कल्पनाबाट पर धकेल्नको निम्ति सपना टुटेको थियो । घडि हेर्दा ६ बज्नै लागेको थियो । उ हतार हतार तयार भई कलेज हिड्यो । व्यग्र प्रतिक्षा थियो सकारात्मक जवाफ सुन्ने । स्विकारोक्ति उत्तर पाउने आशाले उसको नयनले म्यामलाई नै खोजिरहेथ्यो अपलक रुपले । आखा झिम्काउन पनि भ्याएन अथवा बिर्सियो । छुट्टि भएपछि मात्र उसले म्यामलाई एक्लो अवस्थामा भेट्ने अवसर पायो र मौकाको सदुपयोग गर्दै जवाफ माग्यो । म्याडमले जवाफ दिइन् “सरी प्रनिश, मैले त भन्ने बिर्सेछु । मैले घरमा कुरा गरेकी थिए, तिमी भोलिदेखि नै आए हुन्छ बस्नलाई । तिमी अब देखि मेरो सान्निध्यमा रहनेछौ, मेरो समिपमा रहि पढ्नेछौ ।”

“धन्यवाद म्याम । धेरै धेरै धन्यवाद ।”

खुशीको सीमा थिएन । सामानहरु बटुलेर भोलिपल्ट उ गयो । म्याम स्वयं आफै प्रतिक्षारत थिइन उसको आगमनको र ओठमा लोभलाग्दो मुस्कान भर्दै स्वागत गरिन, कोठा देखाइदिइन र आवश्यक सहयोग गरिन । म्यामलाई बारम्बार कृतज्ञता प्रकट गर्दै उ सामान मिलाउन थाल्यो । केहि बेरमै शून्य कोठा सजियो र सो कोठामा अर्की केटीको प्रवेश भयो । उ अचम्मित भयो सो केटीको अप्रत्याशित र अनायासको आगमनले । जुन कुराको उसले कल्पना समेत गरेको थिएन । म्यामले आफै चिनाइन “ उनी मेरी बहिनी प्रज्ञा । बाकि कुरा त तिमीलाई पनि थाहाँ छ किनकि तिमीहरु क्लासमेट हौ ।” प्रज्ञा म्यामकै बहिनी हो भन्ने थाहा पाउदा उसको मन विचलित हुन पुग्यो किनकि प्रज्ञा उसलाई मन पर्दैन । एक प्रकारको वितृष्णा गराइदियो उनको अकल्पनीय प्रवेशले । सुन्दर माहोल प्रनिशलाई अब अप्रिय लाग्यो । उनी आइन् एक व्यवधान बनेर उसको निम्ति । नरुचाएको दृष्टि, नचिताएको आगमन ।

प्रज्ञाको आफ्नो सौन्दर्यको घमण्डिपन, रिसालु स्वभाव र मै हु भन्ने बानीको कारणले उनी प्रनिशको नजरमा गिरेकी थिइन । प्रनिशलाई उनले प्रेम प्रस्ताव पनि राखेकी थिइन । त्यो साचो माया या बनावटि, अथवा प्रनिशको मजाक उडाउन गरिएको मिथ्या प्रयास, वाहियात नाटक, त्यो त उसलार्य थाहा थिएन तर उसले ठाडै अस्वीकार गरेको थियो । तापनि अहिले उ मुस्कुरायो उनको स्वागतार्थको लागि । निर्जिव मुस्कान ।

बेलुका अबेर कसैले ढोका ढकढकायो, ढोका प्रनिशले खोल्यो । फेरी पनि असोचनिय व्यक्तिको प्रवेश । एक अन्जान मानिस । उ सरासर भित्र पस्यो र कराउन थाल्यो “प्रेक्षा तल आऊ, को हो यो युवक मैले त चिन्न सकिन ।” उनको आवाज बेसुर थियो, अस्पष्ट बोली । म्याम तल ओर्लिन् र नशामा झुलिरहेको पतिदेवलाई सम्झाइन् “हजुरसँग हिजो सल्लाह गरेकी थिएँ नि, उ नै हो मेरो विद्यार्थी, हाम्रो नयाँ डेरावाल ।”

“ए हो त नि । मैले त कस्तो बिर्सेछु । म फ्रेस भएर आउछु खाना पस्किदै गर ल डार्लिङ्ग ।” यो ‘डार्लिङ्ग’ सम्बोधनले प्रनिशलाई चोट पुग्यो, कसैले आफ्नो अधिकार खोसेको झै लाग्यो । म्यामको लोग्ने त्यति भनेर भ¥याङ उक्लियो अनियन्त्रित पाइलालाई संघर्षरत पार्दै, प्रेक्षाले उनलाई अँगालेर सहारा दिइन् । प्रनिश फेरि आश्चर्यचकित भयो र दुःखी पनि कारण उसकी आकर्षणकी खानी , सौन्दर्यको प्रतिमूर्ति , सपनाकी परी , कल्पनाकी सहयात्री , हृदयकी रानी अरु कसैलाई अँगालेर उसको नयनबाट ओझेल बन्दै गइन् । उसको मुटुमा कसैले अत्यन्त पीडादायी प्रहार गरेजस्तो भयो । उ अचेत भई यथास्थानमै रहिरह्यो, निकैबेरसम्म स्थिरावस्था ।

दिन बित्दै गए , उ प्रज्ञासँगै कलेज आउनेजाने गर्न थाल्यो । प्रज्ञा उसलाई आकर्षित गर्न खोज्थी, उ पनि उनको साथ दिन्थ्यो तर उसको चाहना यस्तो थिएन तापनि उसको चाहनामाथि बाध्यता थियो , प्रज्ञाको समिप रहनु पर्ने बाध्यता । म्यामलाई आफ्नो नजिक ल्याउने चेष्टा चर प्रज्ञा आफ्नो प्रेम सफल भएको भ्रममा थिइन् र यही दृष्टिभ्रम प्रेक्षामा पनि परेको थियो साथै यो भ्रमात्मक सम्बन्धप्रति खुशी थिइन् । दिनभरि उ प्रज्ञाको साहराले प्रेक्षाको समिप रहन पाउथ्यो तर राति उनको लोग्नेको गृहप्रवेशले उसलाई खल्लो लाग्थ्यो । केहि अभाव खड्केजस्तो, कहिले पूर्ण नहुने अभाव । हुन पनि यस्तो प्रेम कुनै पनि कोणबाट नियाल्दा असम्भव नै देखिन्थ्यो । एउटा अनमेल सम्बन्ध, अमान्य र अप्राप्य प्रेम ।

तीनजना बिचको सम्बन्ध प्रगाढ बन्दै गयो । प्रज्ञा र प्रनिशबिच हुदै गरेको गाढा सम्बन्ध, नजिकपन अवास्तविक थियो, बनावटि जुन यथार्थ प्रज्ञा बुझ्न सक्दिन । प्रेक्षा अब एक शिक्षिका मात्र नभई एक अभिन्न अंग बनेकी थिइन् प्रनिशको लागि । हितैषी मित्र । हासखेल, ठट्टा अनि रमाइलो गफ हुन्थ्यो तीनजना बिच । यसैक्रममा प्रनिशले थाहाँ पायो कि म्यामको र उनको लोग्नेको वैवाहिक जीवनको गति राम्रो छैन । वेमेल सम्बन्ध वैचारिक रुपले, आर्थिक हैसियतको फरकले अनि असमझदारीकोे कारण उनीहरु आफ्नो भविष्यप्रति चिन्तित थिए । एकअर्कासँग हृदयदेखिनै असन्तुष्ट थिए । प्रनिश म्यामलाई साथ दिन्थ्यो भावनात्मक रुपले र उनी श्रीमानको कारण दुःखी हुदा उसले अनेक कुरामा उनलाई भुलाई मनबाट पीर चिन्ता दुर गरिदिन्थ्यो । त्यसैले त म्याम उसँग बसिरहन चाहन्थिन् , एकान्तमा ज्यादै नजिक तर प्रनिश सम्झन्थ्यो “म्यामले मेरो प्रेमबारे र मनोविज्ञानबारे बुझिन् र स्विकारोक्तिस्वरुप मलाई प्रेममय साथ दिन थालेकी छिन् । अव्यक्तरुपले म प्रति समर्पित ।” आफ्नो भ्रममा उ त्यसै त्यसै मौनरुपमा विजय हासो मुस्कुराउथ्यो । म्यामले उसलाई प्रेम गर्थिन् तर त्यो प्रेम एक विद्यार्थीलाई वा एक असल मित्रलाई गरिने माया भन्दा माथि थिएन ।

हिजो बेलुका गरेको सन्त्रासपूर्ण कल्पनाले उसलाई ज्यादै पीडित बनायो र उ त्यहि भविष्यमा हुन सक्ने बिछोड सम्झेर केहिरुपमा म्यामबाट टाढिदै गयो । जति नै सम्झाए पनि मन मानेन । उ वास्तवमै चाहदैन प्रेक्षालाई नहेर्न , कुरा नगर्न अनि यसरी अकारण दुर भाग्न । फेरी पनि यस्तै सपनीहरु आउथ्यो उसलाई सताउन , उनीहरुबिचको फराकिलो दुरी देखाउन तर उ अझ पनि प्रेक्षालाई भुल्न चाहदैन , झन आफुलाई पीडा दिदैछ । मानसिक पीडा, अत्यन्त घातक पीडा , अमिट दर्द ।

म्याम र उनको लोग्नेबिच मनमुटाब ज्यादै बढ्यो र उनीहरु एकसाथ रहन नसक्ने स्थितिमा पुगे । यो दृश्य प्रनिशलाई आनन्दमय लाग्यो र पनि उ उनीहरुबिच आएको फाटो , गलत बुझाइलाई मेटाइ साथै रहन आग्रह गरी सम्झउन थाल्यो । तर उनीहरुले छुट्टिन नै उचित ठाने र आफ्नो प्रयास निष्फल रहेकोमा प्रनिश भित्रभित्रै रमाइरहेको थियो । लोग्नेले त्यहि रात घर छाडे । प्रनिश प्रसन्न छ कारण उसको मन पोल्थ्यो म्याम आफ्नो पतिसँग नजिकिदा । सोच्यो “अब उनी केवल मेरै निम्ति बाच्नेछिन । त्यो सिन्दुर मेरो नाम रहनेछ , त्यो चुरा पोतेमा मेरै माया जोडिनेछ ।”

उनीहरुको कलेजको अन्तिम परिक्षा नजिकिएकोले प्रज्ञा र उ सँगै बसी परिक्षाको तयारी गर्न थाले । म्याम पूर्णरुपले उनीहरुको सहयोगी बनेकी छिन् । प्रनिश एउटै कुरा बुझेर पनि नबुझेजस्तो गरी बारम्बार त्यसबारे सोधिरहन्छ किनकि उसलाई म्यामको बोली सुन्न मनपर्छ । एकाग्ररुपले उ म्यामभित्र हराउँदै जान्छ । हरक्षण उसले प्रेक्षाको साथ पायो अनि प्रज्ञाको पनि प्रनिशसँगै बस्ने चाहना पुरा हुँदै गयो । नचाहेको संगम , नसोचेको मिलन ।

परिक्षाको परिणाम राम्रै आयो । बधाइ तथा शुभकामना साटासाट भयो , खुशियालीमा सानो पार्टि मनाइयो । सबै भन्दा बढि खुशी भइन् म्याडम प्रेक्षा । रात लम्बिदै गएपछि प्रज्ञा आफ्नो कोठामा गइन् । म्याम माथि कौसीमा बसेर टोलाइरहेकी छिन् आकाशमा टिलपिलाएका ताराहरु गन्दै । चन्द्रमा पूर्ण उज्यालो भई प्रकाशमय बनाउँदैछ वातावरणलाई । प्रनिश पनि यस रमाइलो प्रहरमा प्रेक्षासामू पुग्यो प्रेममय साथ पाउने अपेक्षाका साथ । उ छेउमै बस्न पुग्यो । प्रेक्षा उसलाई अनायास आफ्नो अगाडि पाउँदा मज्जाले हाँसिन् वृहत आवाजमा र भनिन् “म त कस्तो तर्सेछु तिमीलाई अचानक देख्दा, आऊ न बस ।”

“हुन्छ म्याम । अनि किन एक्लै बस्नुभएको यसरी शून्य रातमा ?”

“अब कसलाई बोलाउने त, लोग्ने पनि छैन साथमा । मिलनको लागि यहि शून्यता र एकान्तले नै साथ दिन्छन् । त्यसैले रमिरहेछु यिनै प्रकृतिसँग । अनि तिमीचाहि किन सुत्न नगएको यतिबेरसम्म ? कि तिमीलाई पनि मलाई जस्तै साथी चाहिएर हो ? एक्लोपनाले सताउदा कोहि साथी खोज्दोरहेछ यो मनले है प्रनिश…।” उनले असभ्य किसिमले जवाफ दिइन् माहेल हासोमय बनाउने चेष्टाले । म्यामले आफ्नो भावना बुझेको ठानि उ खुशी भयो र भन्यो “गफ गर्ने साथी चाहिएर त तपाइको छेउमा आएको । अब त एक्लोपनाले सताउन पनि सक्दैन कारण हजुरको नजिक रहदा मलाई आनन्द महशुस हुन्छ , तृप्तिपूर्ण आनन्द ।”

प्रेक्षाले मधुर मुस्कान छरिन् र केहि लाजको रेखा उनको सुकोमल मुहारमा दौडिएको प्रष्ट छ । उनले आफ्नो भावना पोखिन् “प्रनिश, तिमी बाहेक यो मनको बह पोख्ने साथी अरु को नै छ र ? लोग्नेले पनि बिहे भएको वर्षदिन नपुग्दै सम्बन्ध तोड्यो । हुन पनि हामीबिच अदृश्य पर्खाल बाधा बनि खडा भएको थियो प्रेम नगर्नको लागि । तर म कतिपनि विचलित भएकी छैन किनकि मैले उसलाई कहिल्यै पनि हृदयदेखि प्रेम गर्नै सकिन । परिवारको अनुरोधमा बिहे गरेकी हु आफ्नो चाहनालाई दबाएर उसँग । विवशतालाई बुझेर मैले आफ्नो शरीर उसलाई समर्पित गरिदिए बाध्यतास्वरुप तर मेरो हृदयले उसलाई सधै अस्विकृत नै सम्झियो । धेरै कोसिस गरे उसलाई आफ्नो मनमा बसाउन तर सकिन , शायद ऊ त्यसको लायक रहेनछ । मैले त अर्कैलाई प्रेम गरेकि छु । डेढ वर्ष जति भयो उनलाई अव्यक्त प्रेम गरे जाहेर गरिन किनकि हामीबिच केही कुरामा अन्तर छ । म विवाहित अनि ऊ अविवाहित र उमेरको केहि अन्तर । तर मेरो मौन प्रेम उसले पहिल्यै बुझ्यो होला, शायद आँखाको भाषाले । त्यसबेला मैले प्रस्ताव राखिन किनकि म वैवाहिक बन्धनमा जेलिएकी थिए । तर अब म मुक्त भइसके सकसपूर्ण बन्धनबाट । यसरी जीवनभर कसैको साहराबिना एक्लै जीवन बिताउन असहज हुदोरहेछ । म सक्दिन समयले दिने हरेक चुनौतिहरुको एक्लै प्रतिकार गर्नलाई । त्यसैले मैले आज प्रणय निवेदन गरेकी छु र अहिले सम्पूर्ण कुराहरु प्रष्ट भयो हामीबीच ।”

प्रनिश यति कुरा सुनेर ज्यादै हर्षित भयो । आफ्नो सपना साकार भयो भनी ऊ खुशी भयो र आफ्नो नाम म्यामकै मधुर स्वरमा सुन्नको लागि अझ नजिक स¥यो र कानमा मसिनो आवाजमा भन्यो “को हो त भाग्यमानी पुरुष , म्याम ?”

तिमीलाई थाहा छ, त्यो तिमीहरुलाई नेपाली विषय पढाउने शिक्षक ? हो , वहाँ नै हुनुहुन्छ मेरो बाकि जीवन । अबको दिनहरुको ऊ सँगै बित्नेछ खुशीसाथ । तिमी पनि अब सक्षम भइसक्यौ । प्रज्ञा र तिम्रो प्रेमबारे मलाई सबै थाहाँ छ । आफ्नो प्रेमलाई साकार बनाऊ , तिमीलाई मेरो शुभकामना छ अनि हाम्रो गाढा मित्रता कहिल्यै नबिर्सिनु ।”

प्रनिशको मुहारको रङ्ग उड्यो र ऊ कुनै प्रतिक्रिया नदिइकन त्यहाँबाट उठेर हिड्यो ।

(श्रोत:-Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.