म छु। मभित्र मन छ। तर मनभित्र म छु कि छैन? खै कुन्नि! मनलाई बुझ्न यति सजिलो कहाँ छ र? झन् यसभित्रको सत्यसँग साक्षात्कार हुनु त बुद्धत्व प्राप्त गर्नुभन्दा कम कहाँ होला! रहस्यको पत्रैपत्रभित्र खप्टिएको मन जति खोल्यो, उति गहिराइभित्र गड्दै जान्छ। मन कुनै खुला मैदान होइन, हेर्ने बित्तिकै देखिने। मन खुल्ला किताब होइन, सर्सर्ती पढ्दैमा बुझिने। मन विजगणित पनि होइन, ‘ए’ बराबर ‘बी’ भएजस्तै ‘बी’ बराबर पनि ‘ए’ हुने। कहिलेकाहीँ त आफ्नै मन पनि कहिल्यै नहिँडेको अपरिचित गोरेटोजस्तो। विश्वास गरेर हिँड्यो, लडाउने अनेकौं खाल्डाहरु हुन्छन्। मनभित्र अप्ठेरोपनको कसिलो गाँठो अनि सम्याउन समय लाग्ने आफूसँगको अनात्मीय फाटो बढ्छ-घट्छ, बढ्छ-घट्छ।
खुल्न नसकेको र बुझ्न नचाहेकी आरोप लगाइरहने असहयोगी मनभित्र फेरि पनि नियाल्न खोज्छु। साँघुरा, अँध्यारा गल्लीहरू र उज्लालोले भत्किएको थोरै ठाउँ, कहीँ कतै पनि त म छैन। मेरो प्रतिविम्ब, पदचिह्न न मैले छोडेका विश्वासका धरोहरहरू। छ त, अरु कोही। मैले नचिन्ने, मभन्दा फरक, मभन्दा उग्र र कठोर। अनि अप्रत्यासित कहिलेकाहीँ अचम्मैसँग मभन्दा कोमल पनि। निकैपल्ट झरेको झरीमै पनि विनाकारण ऊ रोएको छ। पहाडको आडमा डुब्दै गरेको घाम देखेर उदास भएको छ। खस्दै गरेका ताराको टुटाइमा व्यग्र, अनिँदो बसेर मलाई पनि जागा गराएको छ। फेरि कहिलेकाहीँ फक्रँदै गरेको फूल देखेर चञ्चल अनि कुनै बालकको निर्दोष मुस्कानमा प्रफुल्ल मनले, मलाई समेत पनि आफ्नो उमेर बिर्सन बाध्य पारेको छ। आफूभित्रको त्यही सानो मन, ममाथि उसैको ठूलो हालीमुहाली, कस्तो आश्चर्य!
आफ्नो मनलाई मेरै मात्र भन्न नपाउनु, नसक्नुको संकोच र निरीहपना म अरुबाट छोप्न पनि त सक्दिनँ। उसको अगाडि म वास्तवमै निरीह छु। मन आफूसरह एउटा मन त के, मान्छेसम्म पनि गन्दैन। नत्र ऊ मात्र मेरो भएर मेरो एकाधिकारभित्र बाँधिनु पर्ने हो। मैले भनेजस्तै मेरो इच्छा र आदेशमा चल्नु पर्ने हो। अहँ, त्यसरी कहाँ चलेको छ र मन!
ऊ त बिन्दास छ। मनमाफिक हिँड्छ। आफूखुसी सजिलै अरुलाई माया र विश्वास गरेर आफूभित्र बस्न दिन्छ। मसित न कुनै सरसल्लाह, न मलाई कुनै जानकारी। केही भन्न खोज्यो, ऊ मेरो सुन्दैन। उल्टै निर्लज्ज मैमाथि रजाइँ गर्छ तर ऊमाथि अरु हावी भएको हाँसीहाँसी स्वीकार्छ। अरु कसैको निमित्त दिनलाई रात र रातलाई दिन भन्न पनि चुकाउँदैन। यो ममाथि न्याय कहाँ भयो र!
मनले मैले भनेको सधैं मान्नुपर्छ भन्ने मेरो मान्यताविपरीत बेलाबेला मेरा सोच संस्कारभन्दा फरक माग राख्दै अन्यथा हडताल गर्ने चेतावनीसहित आक्रोशित रहने मनसँग मलाई डर लाग्छ। किनकि ऊ मलाई दिग्भ्रमित गराइरहन्छ। आफ्ना सम्मोहक शब्दहरूमा बाँधेर जिन्दगीलाई आफूले जस्तै प्रयोग गर्न भनिरहन्छ। मसँग इमोसनल ब्ल्याकमेल गर्छ मेरो मन। भावनाको आड लिएर ऊ मलाई पुतलीझैं फूलफूल डुल्न बोलाइरहन्छ। सिमलको भुवाझैं हल्का भएर बेरोकटोक उन्मुक्त उड्न र बादलझैं थरिथरि आकारमा रूप बदलिरहन उक्साइरहन्छ।
म डराउँछु। मन जत्तिको निर्भिक हुन सक्दिनँ। ऊ छट्पटिन्छ। नपाएको गुनासोसँग ऊ पछि पाइने सुखतिर मलाई लोभ्याउँछ। तर मन मेरो डर बुझ्दैन। हुनसक्छ, बुझेर पनि बुझ पचाउँछ। सँगसँगै जन्मी, हुर्की बढेर पनि न त मनलाई बुझ्न सकेको गर्व नै मैले कहिल्यै गर्न सकें। मन साँच्ची नै के खोज्छ त्यसको भेउ मैले कहिल्यै पाउन सकिनँ। अरुका सपनाको पछि लागि आफूलाई रंग्याउन इन्द्रेणी समाउन खोज्ने मन जून हेर्दै जूनसँग टोलाउन खोज्ने मनलाई तह लगाउन भने जत्तिको सजिलो कहिल्यै भएन। त्यसमाथि पनि आफूखुसी गर्न अभ्यस्त भइसकेको मन कसैको कुरा कहाँ खान्छ, न म बाँध्न सक्छु उसलाई न जित्न नै। निर्बाध साँधसिमाना मिचेर जतासुकै पस्न खोज्छ, बस्न खोज्छ र बग्न खोज्छ मन। विभिन्न डर देखाएर मनमा सीमा बाँध्छु, ऊ विद्रोह गर्छ। नसिहत दिन्छु, झन् उग्र हुन्छ। जायज/नाजायज र नैतिकताको पाठ उसलाई सह्य हुँदैन।
ऊ पनि के कम? अर्को मनसँग मिलेर मविरुद्ध षडयन्त्र गरिदिन्छ। म पूर्व लाग्न खोज्छु, ऊ मलाई पश्चिम डोर्याउँछ। म खुसी दिन खोज्छु ऊ अस्वीकार गर्छ। म हाँस्न खोज्छु, ऊ कसैको तर्कनामा चिन्तित, आतुर र उदास भइरहन्छ। रुन खोज्छु, ऊ बादल हेर्दै चञ्चल गुन्गुनाइरहन्छ।
मनलाई त के, सिर्फ कामना गरे पुग्यो। पुग्छ या पुग्दैन त्यसको परिणाम के हुन्छ, ऊ कहाँ सोच्छ र! फलतः ऊ त दुःखी हुन्छ नै, मैले पनि ऊसँग सुन्नुपर्छ एकान्तमा उदास गजलहरू। आफन्तको माझ, परिचितहरूका अगाडि, भीडभित्र पनि चुपचाप एक्लो महसुस गर्दै मन किन सुदूर ताकिरहन्छ? धेरै कुरा पाएर पनि किन असन्तोष मन? आजित पराजित म, कहिले बुझ्न सकुँला आफ्नो मनलाई!
मन उडिरहने एक टुक्रा बादलजस्तो
कहिले यता कहिले उता,
अनि कताकता।
समुद्रअगाडि पनि प्यासी
खुसी खोज्ने होडमा
खुसी पन्छाउँदै
भीडमा एक्लो
आफैंलाई थाहा छैन,
खै के खोज्छ मन?
बर्सिएर रित्तिएको
एक टुक्रा सुख्खा बादलजस्तो
मन, कहिले यता कहिले उता
अनि कताकता!
(श्रोत:- Nagariknews)