कथा : प्रेम पत्र

~सुषमा मानन्धर~Shushma Manandhar

ऊ मेरी सहकर्मी, हामीले करिब एकै समयमा जागिर खाएका थियौं । म कामप्रति पुरै इमान्दार भए पनि ज्यादै अन्तर्मुखि स्वभावको छु । आफैमा मग्न र मौन त्यसैले मानिसहरु मलाई ‘संकोची’ भन्छन् हुन पनि म अरु जस्तो बढी बोलिरहन्न । खै कुन्नि ! मान्छेहरु कसरी घण्टौं गफ गर्न सकेका होलान् ? एकछिन बोल्दैमा आफ्नो भने कुरै सकिन्छ । अपरिचितहरु माझ बोल्न अगाडि सर्नु पर्दा मलाई अप्ठ्यारो लाग्छ । झन त्यसमाथि केटीहरुसंग बोल्न पहल गर्नु पर्यो भने त मेरो सातो नै जान्छ । त्यस्तो बेला अनुहार रातो हुन्छ, मुटुको गति बढेर बोली नै फुट्दैन । बोल्न त परै जावोस् उनीहरुसंग आंखा जुधाउन पनि मलाई गाह्रो पर्छ । साथीहरुलाई मेरो यो बानी अनौठो मात्र हैन रमाइलो पनि लाग्छ । अहिलेको जमानामा पनि यस्तो अपत्यारिलो कुरा ! ‘कस्तो केटी जस्तो !’ उनीहरु मलाई जिस्काउनॆ पनि गर्छन् । जहां मेरा अन्य साथीहरु केटीहरुको माझमा रस लिएर गफ चुट्न रमाउंछन् म भने सधैं टाढा भागिरहेको हुन्छु । संभवत त्यसैले पनि होला मेरा साथीहरुका सँख्या सीमित छन् ।

यसको अर्थ मलाई कोही राम्री नै लाग्दैनन् र म उनीहरुसंग बोल्न चाहंदिन भन्ने न ठहर्याउनु होला । बाटो हिँड्ने केटीहरु मलाई पनि आकर्षक लाग्छन् तर फर्केर फेरि उनीहरुलाई हेर्ने आंट पनि त हुनु पर्यो ? नबोली चिनाजानी कसरी हुन्छ मेरो यो बानी आफ्नै लागि बाधक हो या बाटो खुट्याउन भने सक्दिन । किनकी अफिस होस् या घर हमेशा मेरो साथमा एउटा किताब रहेकै हुन्छ । प्राय मेरा फुर्सद्का समय पढेर नै वित्छन् र यही बानी कै कारणले अहिलेसम्म कुनै विपरित लिँगीसंग मेरो अन्तरंगता बनिसकेको पनि छैन । आफ्ना नजिकका साथीहरुसंग मेरो भेटघाट र बसाई पनि हुन्छ त्यो बेला पनि मैले बोल्नु भन्दा बढी उनीहरुलाई सुनिरहेकै हुन्छु ।

विभा म भन्दा ठीक विपरित छे, बहिर्मुखि र सवैसंग बोलिरहनु पर्ने । गहुंगोरी र पातली विभा हंसिली छे । युनिभरसिटीमा ऊ अहिले डिग्री गर्दैछे । क्लास पछि ऊ सिधै अफिस आउंछे । घर जान नभ्याएको दिन ऊ आफ्ना छोटा र घुम्रिएका कपाललाई आफ्नो ह्यान्कीले टिमिक्क बांध्ने गर्छे । यस्तो बेला ऊ पुतली झैं देखिन्छे । तर फेरि यस्तो बेला कसैले गुडिया वा पुतली जस्ती देखिएकी भनी दिएमा चित्त नबुझे ऊ सांचीकै रिसाउंछे पनि । त्यसपछि त्यो भन्ने व्यक्तिले भनाई स्पष्ट पारी माफी नमागी धरै पाउंदैन । सोझी र सरल हृदयकी विभालाई उसको वानी वुझेर कसैले फेरि जिस्काउंदैनन् । शायद त्यसैले होला अफिसभित्र वा बाहिर उसको नाम कुनै केटासंग जोडिएको मलाई थाहा छैन ।

अफिसमा ऊ नआएको दिन धेरैलाई शून्य लाग्छ, मलाई त अझ बढी नै न्यास्रो लाग्छ । केही नपुगे झैं, छुटे झैं लागिरहन्छ । अरु भन्दा मलाई ऊ बढी सम्झना पनि आउंछे । अचेल घण्टौं उसको अगाडि बसी उसलाई हेरेर सुनिरहन मन लाग्न थालेको छ । उसका कुरा गराई हेराई हिँडाई सवै मन पर्न थालेको छ । काम विशेषले ऊसंग जम्काभेट हुंदा त्यो क्षणको अन्त्य कहिल्यै नहोस् भन्ने कामना पनि अनायसै जाग्छ । भन्नुस्,  कतै मलाई प्रेम त भएन ऊसंग ?

विभा मसंग पनि अरुसंग जस्तै हांसेर कुरा गर्छे । मसंग कुरा गर्दा उसका दृष्टिमा केही नरमपना हुने गरेको महशुश मैले गरेको छु । त्यो भन्दा बढी विभामा अरु कुनै परिवर्तन आए झैं लाग्दैन । प्रेममा परेपछि मानिसहरु टोलाउने र एकोहोरिने हुन्छ भन्छन् तर ऊ पहिले झैं त्यस्तै हंसिली र रसिली नै देखिन्छे । कहिले कांही कुरा गर्दा सहकर्मीहरुले जस्तै ऊ पनि मलाई जिस्काउंछे “नविनजी तपाई किन यस्तो ?” जव म नाजवाफ भएर जिल्ल पर्छु ऊ खित्का छाडी हांस्छे । उसले हांसेको धेरै बेर पछिसम्म पनि मलाई भने त्यो हांसोले पछ्याइरहेको हुन्छ ।

विभाप्रतिको आकर्षण मैले कसैलाई बताएको छैन । साथीहरुलाई बताउंछु भनेर दुइचार चोटी आंट पनि गरिसकें तर व्यक्त हुनु अगाडि नै शब्दहरु विलाइ सक्छन् । मेरो खिल्लि उडाउने होलान् भन्ने आशंकामा यो चाह अझैसम्म मभित्र दबिएकै छ । मेरो प्रेम घोषित हुनु भन्दा अगाडि हांसोको विषय बन्ला भनेर म सधैं सतर्क र सम्वेदनशील छु ।

“यो नविनेले ब्रम्हचारी बनेर जातै फाल्ने भो !”  गर्लफ्रेन्डसंग डेटिँगमा जांदै गरेका साथीहरुले मलाई धिक्कारेका छन् । म तिनीहरु जस्तो फास्ट फारवार्ड छैन ।  हुन सक्छ धेरैलाई मेरो यो गति सुस्त लाग्दो हो तर म जस्तो केटालाई पनि बोल्ड बनायो । कम्तीमा बन्ने प्रयास चैं गरायो है । यो सव विभा प्रतिको चाह नै त थियो । के देखेर मैले उसलाई मन पराउन थालें भन्ने कुरा ठ्याक्कै भन्न नसके पनि उसको लागि मनमा चाहना फुर्न थालेको कुरामा भने कुनै शंका रहेन ।
मेरो कमजोरी यही हो कि म विभा सामु आफ्नो भावना प्रस्तुत गर्न सक्दिन । कुनै साथीको सहयोग लिन पनि मैले चाहेको छैन । उसलाई नभनीकन न त आफ्नो चाहना उसमा प्रकट हुन्छ न त उसको धारणा नै बुझ्न सक्छु । ऊप्रतिको आफ्नॊ प्रेमले गुम्सिएर मलाई उकुशमुकुश हुन थालिसकेको छ । मलाई आफूभित्र साहस उमारेर भए पनि विभा छेउ आफूलाई खुलस्त त पार्नु नै छ । भगवान मलाई साहस देऊ !

विभा भर्खरै मात्र बाहिर निस्की आफ्नो अफिस कोठाबाट । क्यान्टिनतिर हो कि कता ऊ निस्केको देखेर म उसको अफिस कोठा अगाडि उभिएं । रक्तसंचार बढेर अनायासै मुटुको ढुकढुकी बढ्यो, डर लाग्यो । मानौं कुनै अपराध गर्न लागेकॊ जस्तो चिटचिट पसिना पनि आयो । जुन आँट लिएर त्यहां सम्म पुगेको थिएं ती सव पानी भए । आफ्नो हताशपना लुकाउन म फरक्क फर्किएं तर सामुन्ने नै विभालाई भेटें । “के हो नविनजी कसलाई खोज्नु भयो”  उसको प्रश्नले म झन आत्तिएं । “सँचो छैन कि कसो ? अनुहार पनि रातो छ” उसले मेरो अनुहारमा रातोपना देखेर होला अलि नजिक आएर प्रश्न गरी । “हैन केही भएको छैन ।” म हतार हतार आफ्नै अफिस कोठामा फर्किएं । आफ्ना अनियन्त्रित सासलाई संयमित गर्न पनि निकै बेर लाग्यो मलाई ।

त्यो दिन क्यान्टिन गइनं । कोठामै एक्लै धुमधुमती टोलाएं । “नविनजी, आज व्रत हो कि क्यान्टिन जानु भएन नि ?” अगाडिको कोठामा बस्ने साथी आकाशको प्रश्नले झस्किएं । केही नबोली हांसेर टालें उसलाई । त्यत्ति नै बेला कोठा अगाडि बिभा देखा परी । “आकाश जी नयां फाइल भए एउटा दिनुस् न । बरु पछि फर्काउंछु ।”  ऊ सहकर्मी आकाशतिर उन्मुख थिई । “बिभाजी मसंग अहिले खाली छैन नविनजी संग छ कि ?” विभाले मसंग थप प्रश्न गर्नु भन्दा अगाडि नै मैले एउटा खाली फाइल ऊतिर तेस्र्याई दिएँ । “धन्यवाद” उसले मतिर एउटा गहिरो दृष्टि राखी र ओठभरि मीठो मुस्कान पोतेर गई ।

अफिस सकेर घर पुग्दा सांझ परिसकेको थियो । घरमा गर्नको लागि खास काम थिएनन् । पल्टेर दिनभरिका घटनाहरु उग्राइरहें । आँखा सामु विभाका गहिरा दृष्टि नाचिरहे । ती आंखामा पनि केही थिए । त्यहां भएका कुरा मेरा आंखामा भएकासंग समान छन् या छैनन् त्यहि पत्ता लगाउनु छ मलाई । म उठें र टेबुलमा आई उसलाई प्रेमपत्र लेख्न बसें । आज मात्र हो र यो भन्दा अघि पनि कैयन चोटि मैले उसलाई प्रेमपत्र लेखेको छु । तर हरेक पल्ट उसलाई दिन डराएं । उसैले केही भनी वा ठानी भने के गर्ने वा पत्र वीचैमा कसैले पढिदियो भने के होला भन्नॆ आशंकाले हरेक पल्ट रोकिएँ । उसलाई मुख फोरेर स्पष्ट भन्न किन हो किन म आफूमा साहस नै पाउंदिन । कुनै दिन साहस बटुलेर केही भन्छु भनी उसको सामु गैहाले पनि उसको उपस्थितिमा नर्वस भएर अव्यक्त फर्केको हुन्छु । हरेक पटक प्रेमपत्र लेख्थें,  लान्थें साथमा र घर आई च्यात्थें पनि । यसरी निकै पल्ट प्रेमपत्र लेखेर च्यातिसक्दा पनि मेरो प्रेमले भने कुनै गन्तव्य पाइसकेको छैन ।

“दाइ आज तपाईलाई के भयो कति बेर भैसक्यो मैले चिया ल्याइदेकी अझै खानुभएको छैन । के लेख्नमा व्यस्त हुनुहुन्छ ” वैनी ढोका अगाडि उभिएर घांटी तान्दै सोध्दै थिई । ऊ भित्र आउली भनेर केही नबोली मैले चियाको चिसो गिलास टिपें । एकै सासमा चिया सकेर खाली गिलास उसको हातमा थमाइ दिएं । उसले बुझी र केही नभनी फरक्क फर्केर गई । मेरो अक्षरलाई धेरैले राम्रो भन्थे । त्यसैले एउटा निश्चय नै गरी मैले हातैले प्रेम पत्र लेखें । पत्रमा मनको वह लेखें, पलापलाको बेदना पोखें । कल्पनाको आकाशमा उडेर मैले आफूलाई सम्पूर्ण रित्याएं पत्रमा । सोचें, यो पढेर उसको मन कसो नपग्लिएला । छट्पटाउदै रात कटाएं । कहिले बिहान होला र अफिस पुगुंला भन्ने बैचैनी हुन थाल्यॊ ।

मलाई थाहा थियो ऊ चाँडै अफिस पुग्थी । त्यसैले म पनि अगिपछि भन्दा अलि चांडै अफिस पुगें । ऊ आईसकेकी हुनुपर्छ किनकी उसको कोठामा बत्ति बलेको थियो । उसको कोठामा चियाएं त्यतिबेला ऊ त्यहां थिइन । एक मन त लाग्यो फर्किउं, डरले जिउभरि कम्पन छुटिरहेको थियो । भए भरको आंट झिकेर साथमा ल्याएकॊ प्रेमपत्र उसको घर्रामा एउटा फाइल मुन्तिर राखी कतै नहेरी आफ्नो सीटमा फर्किएं । काम गर्ने जांगर चलाउन सकिनँ । एकैछिनमा के होहल्ला हुने हो, कसैले थाहा पाए कति हांस्दा हुन् अथवा विभाले आएर झपार्ने हुन् कि भन्ने सम्भावित प्रतिकूल परिणामको आशंकाले पिल्साइरह्यो । मैले ठीक गरें वा बेठीक आफैले छुट्याउन सकिनँ । त्यो पत्र यति बेला अब त पक्का पनि उसले पढी होली उसले के सोचिरहेकी होली भन्दै म आफै अनुमान गर्न थालें । कोही अगाडि आएर उभिए पनि त्यही कुरा थाहा पाएर आएको हो कि वा मलाई व्यंग्य गर्ने हो कि भनेर म झस्कन थालें । मेरो असामान्य मुखाकृति र व्यवहारले सहकर्मीहरु के भयो भनी प्रश्न गर्थे । मैले सबैलाई केही हैन भन्दै आस्वस्त बनाउने असफल प्रयास गरिरहेको भए पनि म असहज नै थिएं । आफ्नो छट्पटी कम गर्न म लाइब्रेरी तिर लागें ।

एक बज्यो साथीहरु चिया चमेनातिर लागे । लाइब्रेरीबाट फर्कंदा बिभा पनि कोठाबाट निस्कंदै थिई । उसलाई देखेर आत्तिएर म उल्टै पाइलाले फर्कन खोजें “नविनजी खाजा खानु भो ?” उसले सोधी । “अहँ, छैन”  मैले आंट गरेर उसको अनुहारमा हेरें ऊ सामान्य थिई । उसको अनुहारबाट केही अनुमान लगाउन सकिनँ मैले । “आज अलि छिटै पनि जानु छ मलाई, खाजा पछि जान्छु होला ।” उसले विस्तारै सुनाई मलाई । विभा आंखाबाट ओझेल हुने वित्तिकै मैले उसको कोठाको ढोका घचेटें बन्द रहेनछ । हावाको गतिमा उसको कोठामा गै घर्रा खोलें । पत्र अघि जसरी फाइल मुन्तिर तह लगाएर राखेको थिएं त्यसरी नै थियो । उसले पत्र पढिसकेकी हो वा पढेकी नै छैन भन्ने बुझ्न सकिनं । केही नसोची पत्र खल्तीमा राखेर बाहिरिएं । कोठामा फर्केर त्यो पत्रलाई धुजा धुजा च्यातेर पाइन्टको खल्तीमा राखें । मनै चंगा भए जस्तो लागेर आफूलाई हल्का महशुश गरें । निकै ठूलो बोझ हटेको, कुनै ठूलो अपराधबाट उम्किएको अनुभव गरें मैले ।
विभाले शायद खाजा खाएर आई । उसलाई देखेर म ढोकामा उभिएं । उसले मतिर हेरी अनि मैले उसलाई । म भित्र थुप्रै भावनाका आंधिहरु चलिरहेका थिए तर तिनलाई थामिरहेको थिएं । विभाले केही भन्छे कि मेरो प्रेमपत्र वारे । सकारात्मक वा नकारात्मक कुनै सुइंको दिन्छे कि भनी म आफ्नो ढोका बाहिर निरुद्देष्य त्यसै उभिरहें । तर ऊ केही नभनी फर्केर अफिसबाट निस्की ।

“नविनजी जाने हैन ? कि आज यतै बस्ने ?”  सहकर्मीको आवाजले झस्केर घडि हेरें । एकसुरमा आफ्ना बांकी कामहरु सल्टाउंदै गर्दा समय गएको पत्तै भएन ।
अफिसबाट सिधै साथीकोमा पसें । उसंगको गफ र बसाइमा पनि मन स्थीर रहन सकेन । घरै फर्कें । मन हलुंगॊ भए पनि भित्र कताकता दुखेको थियो । त्यसो त मनमा ग्लानी थिएन तर म खुशी पनि थिइनं । जितेर पनि हारेको जस्तो द्विविधा वीचको मनस्थितिमा निकै बेर छटपटी भयो । खाना खानुको नाममा जुठो मात्र गरें । आंखामा निँद थिएनन् । पढ्न भनी किताब निकालें । आज दिनभरिको तनावमा अफिसमा एक पाना पनि पल्टाउन पाएको थिइनं । पहिलो पाना भित्र एउटा सानो कागज थियो । एकै सासमा पढें “आज सांढे पांचमा न्युरोड गेट आउनु हुन्छ भन्ने पूर्ण विश्वासमा…विभा ।”

सम्झें, आजै मैले अफिसमा किताब अगाडि राखेर पनि नपल्टाएको । घडि हेरें रातको एघार बजिसकेको थियो । हठात् पाइन्टको खल्तीमा हात गयो । त्यहां उही मैलॆ आफैले च्यातेका प्रेमपत्रका टुक्राहरु थिए ।

ललितपुर.

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.