~दामोदर कोइराला~
२४ भाद्र २०५४
आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ ।अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् ।बुहार्तन बाहेक के पो दिन सकें र ? म आज कार्यालयबाट फर्कंदा पर
खर्दार्नी बज्यैका घरमा बज्यैसँग भावनाले रसिला आँखा लिएर कुरा गरिरहेको देखेँ,मलाई देखेपछि फरक्क फर्किन् । के भएछ र हो कुन्नि ? हिजो अलि बढी रिसाएछु कि ? बिचरीले पीर पोखून पनिकहाँ र ? पदको खर्दार भए तापनि भन्सार कर्मक्षेत्र परेकाले सम्पन्नै छन् । छिमेकी हुन, सुखदुःखमा मनका कुरा पोख्ने ठाउँ त्यै भयो । कहाँ जाउन् त बिचरी ! जेहोस्, भोलि राम्रो मुखले सम्झउनु– पर्ला ।
२५ भाद्र २०५४
आजभोली उहाँ सानोतिनो कुरामा पनि झडङ्ग रिसाउनुहुन्छ । अस्ति बाबुले पढेन भनेर पनि मैसँग खनिनुभयो । केटाकेटी हो, पढ्ला नि, सम्झाउनु पो पर्ने ! चौध–पन्ध्र वर्Èदेखि बेहोर्दै आएको मान्छे पनि आजकाल त पराई पो हो कि जस्तो लाग्न थालेको छ । हुन त केटाकेटीहरु पनि कुनै गतिला होलानजस्ता छैनन् । आपसमा खालि मारामार, लुछाचुँडी मात्र गर्छन् । मलाई त रुवाएरै छाड्ने भए । फेरी हाम्रो भत्केको–बिग्रेको खालि तिनै खर्दारका खलकले मात्र किन थाहा पाउनुपर्ने होला ? हुनेखाने भएर पनि भएजस्ता नदेखिने मोराहरु ! पोहोरसम्म फाजिती कि फाजिली कुन्नि केजाति मुखिया थिए भन्थे, खर्दार भैसके । के खाऊँ के लाऊँ छैन । खै, हाम्रो त कहिले हुने हो कहिले ?
२५ भाद्र २०५४
घर पनि बिरक्तलाग्दो छ । हँसिलो अनुहार कसैको छैन । दिनभरि कार्यालयमा खटेर काम ग¥यो, खाजा खाने बेलामा झलझली घर सम्झिनुपर्ने ।आम्दानीले आधा महिनाको खर्च मुिस्कलले धानिन्छ । तैपनि बिचरीले धन्न खप्न सकेकी छन् । कहिलेकाँही त उनिप्रति दया जागेर आउँछ । तर बिडम्वना ! केही गर्न सकेको होइन । हुन त उनि पनि मसँग आजभोलि त्यति खुलेर बोलेकी छैनन् । सोध्दा केही भएको छैन’ मात्र भन्छिन्् । अभावमा पिल्सिँदापिल्सिँदै सिद्घिने भइन् । लाग्छ, आफ्नो अस्थिपञ्जर बोकेर हिडिरहेकी छन् । यसो अनुहार हे¥यो— खिस्स हांस्छिन्, विवशताको हाँसो; व्यङ्ग्यबाँण हानेजस्तो लाग्छ मलाई मेरो पौरखप्रति । गएराति ओछ्यानमा पनि केही बोलिन् । कतै मेरो चरित्रप्रति शङ्का त गरिनन् ? लोग्ने — मानिस हुँ , बाहिर यसो हाँसखेल त भैहाल्छ तर मेरो सन्दिग्ध आचरण त के नै छ र ? मात्र एउटा रोग न हों– महिनाको उत्तरार्ध, चरम अर्थअभाव“ भावना ! तलब आउन सात दिन अझै बाँकी छ । गाह्रोसाँघुरो भएको त छैन ? बाँकी दिन कटिहाल्ला नि ?” यही प्रश्न आउला र जबाफ दिउँला भनेर बसेजस्तै, सोधाइको जबाफ तुरुन्त फक्र्यो– “ सधैँ यस्तै त हो नि, किन पिर गर्नुहुन्छ ?” यद्यपि सहानुभूतिको स्वर थियो यो तापनि यस्तो लाग्यो कि यो महज व्यङ्ग्य हो र तातो झीर बनेर कानमा पसिरहेको छ । आखिर डेढ दशकको सङ्गतले केही त बुझ्ने बनायो नै, के दिन सकेँ र यस अन्तरालमा उनलाई ! जेहोस् यस्तो सोचाइको अब कुनै प्रयोजन बाँकी रहेन ।
२६ भाद्र २०५४
हिजोआज उहाँ झन्झन् थकित र चिन्तित– जस्तो देखिनुहुन्छ । हामीहरुकै पीरले त होला नि ! दुई— चार अक्षर जानेर मात्र नहुने, यसो मैले पनि जागिरसागिर खाएर उहाँलाई अलिकता मात्र सहयोग गर्न सकेकी भए उहाँको भारी केही हलुका त हुन्थयो होला नि ! आखिर सम्पन्नता भन्ने कुरा त भावीद्वारा लेखाएरै ल्याउनुपर्ने रहेछ । तिनओटा सन्तान, हामीजत्तिका जगिरेलाई खासै बोझ हुनु त नपर्ने हो तर पनि कहाँ के नपुगेर हो खै, कहिल्यै शान्तिको सास फेर्न पाइएन । खर्दार्नी बज्यैको भाग्यको सानो अंश मेरोमा परेको भए पनि विधाताको के खोटिने थियो र ?जेहोस्, उहाँ प्रसन्न भएको देखिरहन पाए मलाई सर्वस्व पाएजत्तिको हुन्थ्यो ।
२७ भाद्र २०५४
आज मनमा कुरा खेलिरहेको थियो । प्रत्यक्ष कारण केही नदेखिए तापनि मन किनकिन उदास थियो । भावना चिया लिएर आइपुगिन् । मैले विनाप्रसङ्ग अनायासै सोधे— “भावना ! तिमि मसँग किन टाढाटाढा हुन खोज्छ्यौ ? किन नजिक पर्न पनि नपरे हुँदो होजस्तो गछ्र्यौ ? कि मसँग अघायौ ?” उनले तत्कालै प्रतिवाद गरिन्— “आम्मै नि ! के भन्नुभएको ? हजुरसँग अघाउनु ? अघाउनुपर्छ भने त म त्योभन्दा पहिल्यै यो संसार छाडेर जान्छु नि ! बरु म, यी केटाकेटी पो हजुरको उन्नतिप्रगतिका बाधक भएका छौँ; बोझ भएका छौँ !” भन्दै रुन थालिन् ।उनि त यही हिनताबोधले पो टाढिएजस्ती भएकी रहिछिन् ।यसरी मन सफा भयो । मेरा छिमेकी उनै खर्दार बाजेले कुम्ल्याएको अकुत सम्पत्ति र वैभव पनि मेरो यो क्षणिक आनन्दानुभूतिको अगाडी ज्यादै होचो भएको महसुस गर्न थालेको छु ।
२८ भाद २०५४
उहाँलाई के भएको हो कुन्नि ? हिजो सहज पारामा कस्तो गहन कुरा सोध्नुभएको हो ? के बोलुँ के बोलुँ भयो । मेरो त धन्नै बोली नफुटेको । म उहाँसँग अघाएँ रे ! नजिक पनि जान्न रे ! जबाफ त दिएँ ,के सोच्नुभयो
कुन्नि थाहा भएन । तर महिनाको चार—चार हजार ल्याएर दिँदा पनि राम्रो घरव्यवहार चलाउन सकिनँ । मीठोमसिनो खुवाएर कहिल्यै मुख फेराउन सकिनँ । बाँच्ने धुनमा उहाँको किलकिले नै समाएर झुन्डियौँ, अनि म कसरी स्वागिली ( साखिली ) हुन सक्छु त ? धेरै पटक सोच्दा हामीबीचको यो मनमुटाव–को मुख्य कारण न्यून आयस्रोत नै हो । उहाँको प्रमोसन भए त यसै पनि तलब बढ्ने थियो । हामी पनि छिमेकीभन्दा कम हुने थिएनौ । घरखर्च त सुबिस्ताले चल्ने थियो भन्ने सोचेर प्रमोसनको कुरा सोध्छुसोध्छु भन्यो आजसम्म आँट गरेर सोध्न सकेकी छैनँ ।
२८ भाद्र २०५४
हिजोको कुराले हामी जोईपोईबीचको भ्रम हटेर गएजस्तो छ । भावना पनि फुरफुर परेकी छन् । हुन त यो मेरो भ्रम पनि हुन सक्छ । बाहृ्य सुधार केही पनि भएको छैन । अभाव अझ ठूलो मुख बाएर अगाडि बढ्दै छ तापनि हामीबीचको अभावजन्य मनोमालिन्यले उब्जाएको गह्रुङ्गोपन विस्तारै हल्का हुँदै गएर नयाँ स्फूर्ति सञ्चार भएको छ जसको वास्तविक सुखदुःख कुनै वस्तुको प्राप्ति र अभावमा नभएर भावनात्मक रुपमा आपूmभित्रै हँुदो रहेछ भन्ने ‘दिव्यज्ञान’ खुल्न गयो ।
७ आश्विन २०५४
मैले उहाँसँग सोध्न खोजेको त्यो प्रमोसनको कुरा आजसम्म पनि सोध्न सकेकी छैनँ । पहिला पनि पटकपटक सोध्न खोज्दा सकिनँ । आज बिहान पनि उहाँ अफिस जाने बेलामा त्यै कुरासोध्न खोज्दै भनेकी थिएँ—“एउटा कुरा सोध्नु थियो ।” “ किन भरे सोधे हुदैन ? जरुरी छ र ?” भन्दै ढिलो भएछ क्यारे हतारिँदै अफिस जानु– भयो ।अफिसबाट पनि अवेर फर्किनुभयो । खाईवरीसुतिसकेको मान्छेलाई केके न बितेजस्तो ब्यूझाएर सोध्न पनि भएन । ‘पछि सोधँुला नि’ भनेर निच मारेँ।
९ आश्विन २०५४
भावनाले अस्ति बिहान के सोध्न खोजेकी थिइन् कुन्नि ?‘ भरे सोधे हुन्न ?’ भनेँ । त्यसपछि कुनै कुरा निस्केन । मैले बिर्सेपछि उनले झन् किन सोध्थिन् र ? आज विवाह भएको यतिका वर्ष भयो, कहिल्यै केही सोधेको होइन । साँच्चै के सोध्न खोजेकी थिइन् कुन्नि ? तिनमा पनि कसरी जिज्ञासा पलाएछ र सोध्न खोजिन् ? कहिल्यै प्रश्न गर्ने, मनका इच्छा पोख्ने, आवश्यक रायसल्लाहा दिने गरेको एक झुल्को सम्झनासम्म मसँग छैन । बरु जहिले पनि दासीजस्तो अझ भनूँ भने यन्त्रमानवजस्ती चौबिसै घण्टा एकोहोरो काममा जोतिएकी छन्, जोतिएकी छन् एकतमासले ।
२५ आश्विन २०५४
आज धेरै दिन भयो लेख्न सकेकी छैनँ । यसबीचमा यहाँसँग प्रमोसनको कुरा सोध्न धेरै कोसिस गरिसकेँ । तर कहिल्यै सोध्न सकिनँ । आज त नसोधी नछाड्ने निश्चय गरेँ । पहिलापहिला जब सोध्छुसोध्छु भन्यो सोध्ने बेलामा आँटजति चाल्नाबाट पानी चुहेजस्तो कताकता– बाट चुहेरै सकिन्थ्यो । खाजा खान डेरामा नै आउने भएकाले उर्मिला भाउजुले ‘उहाँलाई असाभ्यै मन पर्छ ’ भनेर पठाइदिनुभएको अनदीको चाम्रे पकाएकी थिएँ । उहाँ अफिसबाट आउनुभएपछि टक्र्याएँ । मनमनै छिमेकी खर्दार बाजेको सम्पन्नताको कारण उनको त्यो खर्दारी पद नै भएको अन्तिम निष्कर्ष निकालेर लाडिएर भनेँ—“एउटा कुरा सोधूँ है ?” “सोध न ! जहिले पनि एउटा कुरा सोधूँ है, एउटा कुरा सोधूँ है भन्नुपर्छ र ? एउटा कुरा सोध्न पनि किन यति डराएकी ? सोध्ने कहिल्यै होइन, ल सोध । “मलाई डर लाग्न थालिसकेको थियो । सिधै आँखामा हेर्न सकिनँ, टाउको निहु¥याएर हाको चुरा खेलाउँदै गोडाको बुढी औँलाले भुइँ कोट्ट्याउँदै डराईडराई सोधेँ “ होइन ! यो दिव्य बाह्रवर्षे अफिसरी जागिर खाइसक्दा पनि हजुरको खर्दारमा प्रमोसन हुने बेला अझै भएन र ?” यति भनेर टाउको उठाएर उहाँलाई यसो के हेरेकी थिएँ उहाँ त किंकर्तव्यविमूढ भएर मलाई यसरी हेरिरहनुभएको थियो मानौ म विश्वको आठौँ आश्चर्य हुँ र अनायासै उहाँको अगाडि आइपुगेकी छु ।
२५ आश्विन २०५४
भावनाको आज नितान्त नौलो व्यक्तित्व देखेँ । के प्रश्न गरेकी होलिन् यस्तो ? यिनी मैले पन्ध्र वर्षदेखि बेहोर्दै आएकी तिनै भावना हुन् त ? आज मलाई बडो अचम्म लागिरहेको छ । जागिर नै नखाए पनि अफिसरकी स्वास्नी हुन । अफिसर र खर्दारबीचमा फरक नै छुट्ट्याउन नसक्ने त पक्कै पनि छैनन् र नहुनुपर्ने हो ! यो अभिव्यक्ति ! उनको स्वाभाविक अभिव्यक्ति नभएर सोह्रै आना व्यङ्ग्य हो । तर कस्लाइ ?
(श्रोत:- गरिमा, मङ्सिर २०५८ )