~बूँद राना~
अति गरे खति हुन्छ बुझे हुन्थ्यो माइलाले
खति भए कति हुन्छ? बुझे हुन्थ्यो माइलाले।
‘माली’ भन्दा गालीजस्तो सुन्न, बुझ्न थालेपछि
पक्कै उँधो मति हुन्छ बुझे हुन्थ्यो माइलाले।
घरि गोरी, घरि काली खोजी हिँड्ने फुँडोसँग
को चाहिँ पो सती हुन्छ? बुझे हुन्थ्यो माइलाले।
झेल गरी खेल जित्न सजिलो छ भन्दो होला
अत्यन्तै झन्झटी हुन्छ बुझे हुन्थ्यो माइलाले।
माछो–माछो भ्यागुत्तो गराएपछि हुने घाटा
आफ्नै हुन्छ जति हुन्छ बुझे हुन्थ्यो माइलाले।
दुनियाँले धारे हात देखाउन लागे भने
के कस्तो दुर्गति हुन्छ? बुझे हुन्थ्यो माइलाले।
जति भाउ खाए पनि सुनलाई तौलिने त
तोला, मासा, रति हुन्छ बुझे हुन्थ्यो माइलाले।
जनघाती, देशघाती यस्ता अपराधीलाई
शूली पनि घटी हुन्छ बुझे हुन्थ्यो माइलाले।
(श्रोत:- अन्तर्जाल)