~जयराज भट्टराई~
लेबरहरुको इलाका सनैया–८ पुगेको दिपेन्द्रले फोनमा सुनायो—‘रतन ! मान्छे भेटेँ। सुकुटी लिएर आउँदैछु।’
खबर सुन्नासाथ अलखोर भनिने ठाउँमा बेचैनीका साथ पर्खिरहेको रतनको मुख केही उज्यालो भयो । त्यसपछि उसलाई घेरेर बसेका अरु पाँचजना पनि उज्यालिए।
यो सनलाइट पेन्टर्स नाम गरेको इजिप्सियन कम्पनीको लेबर क्याम्प हो। अघिल्लो महिना यहाँ हरेक रात पचहत्तर वटा गलेका ज्यान निदाउँथे। तर दुई दिनभित्रमै अठार जना पेन्टरहरु राजिनामा ठोकेर घर फिरे पछि जम्मा सन्ताउन्न जना छन्। यी मध्ये छ जवान राम्ररी निदाउन सकेका छैनन्।
ठ्याक्कै दुई महिना अगाडि अर्थात् मे १४ को रातले यस्तो ‘निदहराम’ हुने घटना गरिदिएको थियो।
– – — — – – –
तीन तले क्याम्प, हरेक तलामा सात कोठाहरु छन् । कुनै कुनै छाडेर प्रत्येक कोठामा चार जना बस्छन् । साँचो अर्थमा बस्छन् भन्नै मिल्दैन । सुत्छन् मात्र किनभने आफ्नो कोठालाई माया गरिरहने समय नै उब्रिदैन । हरेक कोठामा फलामका दुईतले खाट छन् ः एउटा तला एकजनाका लागि तोकिएको । माथिल्लो बिस्तारामा पुग्न दुइटा फलामे खुट्किला उक्लिनु पर्छ । कटमिरो उज्यालोमा हेर्यो भने यी खाटहरु दुइटा साना डबल–डेकर बस पार्किङ् गरेझैँ देखिन्छन् । सबैको कोठामा चारखण्डे स्टिल दराज पनि छ । प्रत्येकले आफ्नालागि छुट्याइएको खण्डमा लत्ताकपडा, फोटो एल्बम आदि राख्छन् ।
टाढा बन्दै गरेका बिल्डिङ्मा रङ्ग पोत्न ठ्याक्कै सात बजे पुगिसक्नु पर्छ र त्यो सात बजेको समय पक्रिन क्याम्पबाट छ बजे छुटिसक्नुपर्छ । एघार घन्टे काम सकेर साँझ छ बजे कम्पनीकै गाडि चढ्छन् । काम त आठ घन्टाकै हो तर डेढ गुना बढ्ता पैसो कमाउन तीन घन्टा ओभरटाइम भ्याउँछन् । ओभरटाइम नगर्न पाइन्छ तर कम्पनीले दुईचार जनाका लागि भनेर गाडि पठाइदिँदैन । त्यसैले आफ्नो इच्छाले चल्नुपर्ने ओभरटाइम पनि अल्पमतमा परेर अनिवार्य बनेको छ । शुक्रबार भने पुरै छुट्टि हुन्छ ।
कार्यस्थलमा दिउँसो घाम चर्किए पनि अझै त बिहानी वतास ठीकै छ । खान्की कम्पनीले उपलब्ध गराउँछ । बिहान झिसमिसेको नास्ता र रातको खाना क्याम्पकै मेसमा बजाउँछन् । दिउँसोका लागि चाहिँ कम्पनीको दानापानी बोक्ने गाडि उतै काम गर्ने ठाउँमै पुग्छ । कार्यस्थलबाट बिदा दिने त्यो ‘बेलुकी’ क्याम्प आइपुग्दा ‘छिप्पिएको साँझ’मा रुपान्तरण भैसकेको हुन्छ । सिकसिको मान्नेहरु ज्यानको धुलो र पसिना यही छिप्पिएको साँझमा पखाल्छन् । रङ्ग उछिट्टिएर छिर्केमिर्के भएका युनिफर्म पानीमा चोब्छन् । ‘आ, आफ्नै ज्यान त हो’ ठान्नेहरु आउँदाआउँदै लुगै नफेरी खानाको मेसतिर कुद्छन् । अँ, कोही चाहिँ लुगै नफेरि क्याम्प पछाडिको कचरा बजारमा इन्डोनेसियन अथवा श्रीलंके रक्सी किन्न जान्छन् ।
मे १४ को साँझ दुई तन्नेरी राजेन्द्र र पवनले त्यसै गरे । गाडिबाट आर्लिएर सिधै क्याम्प पछाडि गए । यही समयमा त्यहाँ सेकेन्ड ह्याण्ड सामानहरुको बजार लाग्छ जसलाई ‘कचरा मार्केट’ भन्दछन् । यहाँ आसपासका क्याम्पबाट कामदारहरु ओइिरिएका हुन्छन् । यहाँ लत्ताकपडाहरु पाइन्छन् । ओर्जिनल फिल्मका डुप्लिकेट सिडिहरु पाइन्छन् । पुरानो मोबाइल फोन चलाउँदा चलाउँदै वाक्क भएर बेच्न खोज्नेहरु पनि हुन्छन् । पछाडि कपाल बाँधेका नेपाली दाजुभाइहरु ढाइसका गुट्टी खल्ट्याङ् खल्ट्याङ् पार्दै गरेका भेटिन्छन् यही कचरा बजारमा । अचम्म चाहिँ खेल्ने पनि नेपाली नै हुन्छन् अनि हेर्ने पनि । जित्ने पनि नेपाली अनि हार्ने पनि । अश्लिल भिडियोका सिडी वरिपरि भने सबै देशका कामदारहरु बराबर झुत्ति खेल्छन् । राजेन्द्र र पवनले बजारमा यस्तै नौला जिनिसहरु केही आए कि भनी एक चक्कर लगाए । भीडमा घुस्रिएर नाङ्गा केटीका तस्बिर छापिएका सिडिहरु छानीहेरे । तर किनेनन् । भीडबाट निस्किएर पवनले भन्यो— ‘नयाँ रैनछ ।’ तीन महिनाअघि कतारी सिआइडिले पत्तो पाएर यही कचरा बजारमा पुलिसको धरपकड परेको पनि थियो । केही थुनिए । केही मुलुक फर्काइए । धेरै चाहिँ टाप कसेर उम्किन सफल भए । यहाँ कहिलेकाहीँ छुरा हानहान काण्ड पनि चल्छ । यस्तो कडा कानुनी क्षेत्रमा यस्ता कारोबार ठप्पै पार्न नसक्ने जस्तो त लाग्दैन । बाउआमाले बिग्रिएर कुलङ्गार बनेको सन्तानलाई ‘आ ! मरेमरोस्’ भनेर बेवास्ता गरेझैँ कानुनले आफ्ना लामा हात यो लेबर इलाकातिर नघुसारेको होला कि ? अथवा यी सस्ता लेबरहरुलाई भटाभटी पक्रिँदै घर फर्काउँदै गरेमा कतारको विकास गति सुस्त हुने डरले पनि होला ।
एकातिरको अँध्यारो कुनामा हातमा भरिभराउ झोला झुन्ड्याएर एक इन्डोनेसियन उभिएको थियो । राजेन्द्र र पवनले योसँग यस्तो कारोबार धेरै पटक गरिसकेका छन् । त्यसो हुनाले कुनै डायलग नबोली दश रियालका दुइटा नोट तेस्र्यायो पवनले । इन्डोनेसियनले झोलाबाट थपक्क झिकेर राजेन्द्रका हातमा मिनरल वाटरको बोतल थमाइदियो ।
यी दुई मत र मात मिल्नेहरु फर्केर भुइँ तलाको आफ्नो कोठा नं. ५ मा आइपनि हाले । यही कोठाका अरु दुईजना अमजद र सुशिल यो मात्ने जिनिसबाट अलग्गै बस्थे । त्यसैले उनीहरु अघि नै नुहाइसकेर खानाका मेसतिर लागिसकेका थिए । झण्डै दुई वर्षअघि सँगै कतार छिरेका यी चारभाइ आएका दिनदेखि यही कोठामा थिए । आएको तेस्रो महिनामा बराबर पैसो उठाएर एउटा डि.भि.डि प्लयेर र चौध इन्चे रङ्गीन टि.भि. किनेका थिए । कचरा बजारमा चाखलाग्दा कुनै फिल्म भेटे भने लिएर आउँथे । नत्र अन्य च्यानल नआउने भएकाले टि.भी. को अरु प्रयोजन केही थिएन । राख्ने प्रसस्त ठाउँ नभएकाले दराज छेऊ भुइँमै त्यत्तिकै थुप्रिरहन्थ्यो । राजेन्द्र र अमजदको विस्तरा मास्तिरको तलामा थियो । राजेन्द्रको मुनि सुशिलको ओछ्यान थियो । अमजदको मुन्तिर पवन । चिनजान धेरै पुरानो भइसकेकाले एकअर्काबीच ‘तँ’ चल्थ्यो ।
राजेन्द्र र पवनले सिधै बोतलबाटै सेवन गरे । ठाडो घाँटीलगाएर दुई घुट्की लिइसक्ने अनि पालो पर्खिरहेको साथीलाई बोतल थमाइदिने प्रक्रिया दोहोर्याएर पन्ध्र मिनेटभित्रमा स्वाटसुट्टै रित्याए । अनि फिटान ज्यान सम्हाल्दै लागे मेसतिर । जाँदाजाँदै पर्तिरको ‘फोहोर मलाई’ भित्र अघिको रित्तो बोतल खसालिदियो राजेन्द्रले । अरु भोजन सकेर फर्किदै थिए । ढिलो गरी गफ्फिँदै खानेहरु मात्र झुण्ड झुण्डमा छरिएर अझै गाँस हाल्दै थिए ।
उनीहरु पुगेर थाल टिप्दै गर्दा अमजद र सुशिल चाहिँ खाएर उठ्तै थिए । खानेकाम सकेर राजेन्द्र र पवन कोठामा पस्ता अमजद ओछ्यानमा पल्टिएर सुशिलसँग गफ हाँक्दै थियो । सुशिल चाहिँ सिरानी टेकाएर भित्तातिर अढेस लागेको थियो । सधैँजस्तै आज पनि हातमा ‘अँग्रेजी सिकौँ’ नाम लेखेको पुस्तक लिएको थियो । त्यो पढ्दै थियो र सँगसँगै अमजदका गफमा सामेल पनि हुँदै थियो । राजेन्द्र मास्तिर चढ्ने हुँदा हुर्रिएर सुशिलका ओछ्यानतिर झण्डै पस्यो । चारैजना बेस्मारी हाँसे । सुशिलले ठट्यौली गर्यो— ‘मेरो ओछ्यान चाहिँ माथि हुनुपर्ने ।’
‘यस्तै हो नि कहिलेकाहीँ । मातेँ भन्ठानिस् ?’
भित्ताको घडिले नौ बजायो । मास्तिरको राजेन्द्र घुर्न थाल्यो । पल्लो खाटमा माथिको अमजद र तलको पवन हाइपरमार्केटका फिलिपिनी सेल्सगर्लका कुरा गर्दैथिए । सुशिलले हातको किताब सिरानीमुनि घुसार्यो र उत्तानो सुत्यो । ऊ जहिल्यै पनि दुवै हत्केला नाइटोमाथि राखेर उत्तानो सुत्थ्यो । बिहान आँखा खुल्दा पनि उसको पोजिसन बदलिएको हुँदैनथ्यो । अरु केटाहरु भने एउटा हालतमा सुतेर अर्कै हालतमा उठ्थे । धन्य माथिपट्टिको ओछ्यानमा फलामकै डिल जडान गरेको हुन्छ । नत्र भुइँमा बज्रिएर क्याम्पका कतिजनाले नाक पच्काइसक्ने थिए ।
निद्रामा पर्नु अघि सुशिलले बिहान आँखा चिम्लेरै भन्यो— ‘आउने शुक्रबार चैँ सिरकडस्ना सप्पै उल्ट्याएर बाहिर घाममा दिनभरि सुकाउँछु । उडुसका सन्तान बढेजस्ता छन् ।’ अमजद र पवनका रसिला गफ भरेसम्म चल्दैथिए ।
सधैँझैँ १५ तारिखको झिसमिसेमा चारै बजे राजेन्द्रले आँखा उघार्यो । प्रत्येक तलाका त्यत्रा छब्बीस–सत्ताइस जना पेन्टरहरुका लागि दुःख बिसाउने पाइखाना चाहिँ जम्मा चारओटा छन् । त्यसैले पाइखानाभित्र लामो समय बस्नुपर्नेहरु छिटै उठ्छन् । विहान ढिलो उठेमा पाइखानाका ढोकामा आफ्नो नम्बर पर्खिएर उभिनेहरु धेरै हुन्थे । भित्र पसेर राम्ररी बस्नै नपाई ढोकामा झर्कोलाग्दो ‘ढकढक’ सुरु भइहाल्ने । कसैकसैले प्याच्चै भन्थे पनि—‘भित्रै निदायो कि क्या हो ?’ आफू त्यही ‘देरतक बैठनेवाला’ समूहभित्र पर्ने हुनाले राजेन्द्र छिट्टै उठेर अरुलाई उछिन्दै पाइखाना तिर कुद्थ्यो । त्यो दिन पनि चाँडै उठ्यो, बीस मिनेट टट्टी बसेर निख्रिएर निस्क्यो, दाँत चम्कायो, नुहायो, हिजो लगाएका लुगा बाल्टीमा चोपलेर खाडलमा सिन्की खाँदेझैँ दशपल्ट जति खाँदखुँद पार्योे, पखाल्यो अनि बाल्टी हल्लाउँदै कोठातिर लाग्यो । अरु पेन्टरहरु भर्खर उठ्न थालेका थिए । कोठा अगाडि टाँगेको तारमा लुगा झुन्ड्याएर ऊ भित्र पस्ता पौने पाँच बजेको थियो ।
उसको कोठाका अरु केटाहरु उठेकै थिएनन् । दराजबाट आफ्नो अर्को जोडि युनिफर्म निकालेर टक्टक्याउँदै राजेन्द्र करायो—‘ओ केटा हो ! उठ । गाडि छुट्ला नि । नास्ता गर्नैछ ।’
सुनेर अमजद आङ् तनक्क तन्काउँदै उठ्यो र चिम्सा आँखाले भित्ताको घडितिर हेर्यो । अनि अल्छी मान्दै ओर्लियो र हाइ काढ्दाकाढ्दैको लय बिग्रेको बोलीमा करायो—‘पवन उठ !’
अमजदको आवाजले पवनको निद्रा अधमरियो तर पनि उठेन । बरु भित्तातिर कोल्टियो । अमजदले त्यसका चाकमा एक लात बजायो— ‘उठ् !’
पवनले अमजदतिर टाउको मात्र फर्कायो र आँखीभौँ जोडिने गरी निधार खुम्च्याउँदै थर्कायो—‘बिहान बिहानै गिदी नगर् न । मोबाइलमा अलाराम बजेकै छैन ?’
‘सुशिलेलाई पनि उठा न । यत्रो हल्ला भइसक्दा पनि हल्लिँदैन । कस्तो जब्बर ।’— राजेन्द्रले टाउकाबाट टिसर्ट घुसार्दै भन्यो ।
‘आरे ! ओए सुशिल उठ् ।’
सुशिल बेलुकी निदाएकै पोजिसनमा अझै मस्त थियो । एकदम शान्त मुद्रामा नाइटोमाथि दुइटै हत्केला राखेर सिलिङ्तिर आँखा चिम्लिएको थियो । बोलाउँदा अटेर गरेपछि अमजद उसकै खाटतिर बढ्यो र पाखुरामा बेस्कन झक्झक्यायो । तर सुशिलको पुरै शरीर एकैचोटि हल्लियो । ऊ चिसो र अह«रो मुढो भइसकेको थियो । ऊ आँखा कहिल्यै नउघार्ने गरी निदाइसकेको थियो । बाइस बर्षे उमेरमै सँधैका लागि सबै दुःखसुखबाट विदा लिइसकेको थियो ।
जब केही सेकेन्डभित्रै अमजदले सुशिलको मृत्यु महसुश गर्यो, ऊ बेस्कन चिच्यायो— ‘अल्ला……….!’
पवन जुरुक्कै उठेर आयो । राजेन्द्र र पवन एकसाथ चिच्याए— ‘आम्मा……………!’
– – — — – – –
पेन्टरहरुको होस गुम भयो । थाइल्यान्ड नागरिक क्याम्पबोस जिरिफोङ् झनै अताल्लिएको थियो । खल्तीको मोबाइल तुरुन्त झिकेर थथर्री कामेको बुढीऔँलोले प्रोजेक्ट म्यानेजरको नम्बर दबायो ।
म्यानेजरलाई खबर गरेको आधा घण्टामै चारजना अग्ला मुस्तण्डे प्रहरी आइपुगे । कोठा नं.५ को भीड पन्छाएर शवलाई नियाले र अरबी भाषामा एकछिन खासखुस गरे । ती मध्ये एउटा हिन्दी जान्दो रहेछ । त्यसले ठूला स्वरले आदेश दियो जसको नेपाली अर्थ लाग्थ्यो— ‘यो कोठामा बस्नेहरु बाहेक जम्मै काममा जानुहोस् ।’
केटाहरुको कल्याङ्मल्याङ् बन्द भएन । अर्को, हेर्दै सातो खोस्ला परेको प्रहरी जङ्गियो— ‘अन्त अकुल्लु नफारत माफी मुक ? हर्राक फिल सुकुल ! याल्ला रो !’ (तिमीहरु सबैको दिमाग छैन ? काममा जाओ ! गइहाल !)
तर्सिनलाई पुरै भाषा बुझिरहनु पर्दैन । पेन्टरहरु तितरबितर भए ।
प्रहरी आएको दश मिनेट पछि इजिप्सियन प्रोजेक्ट म्यानेजर आइपुग्यो । त्यसले कोठा नं. ५ को ढोकैबाट भित्र चिहायो, प्रहरीसँग एकछिन अरबीमा कुरा गर्यो र फर्कियो ।
राजेन्द्र, पवन र अमजद भने मन, मुहार सबै अन्धकार पारेर ढोकाछेऊ उभिएका थिए । अघि हिन्दी बोल्ने प्रहरी यिनीहरुतिर फर्कियो अनि हिन्दीमै यस्तोखाले सोधीखोजी भयो—
‘सुत्ने बेलामा कसले बत्ती निभायो ?’
‘मैले’— पवनले भन्यो ।
‘ऊ (सुशिल) के गर्दैथियो ?’
‘सुतिसकेको थियो । मैले उतिर हेरिनँ । वास्तै भएन ।’
‘तपाईँसँग उसले बोलेको अन्तिम कुरा के हो ?’
अमजदलाई छुँदै पवनले भन्यो— ‘हामी दुईजना गफ गर्दैथियौँ । उसले शुक्रबार उडुस मार्छु भन्यो ।’
पवनले टुटफुट हिन्दीमा ‘सुकरबारको उडुस मार्नेकी बात किया’ भन्दा ‘उडुस’ नबुझेर त्यो प्रहरीले नाक उचाल्यो । अमजदले ‘मतलब खटमल’ भनेपछि बुझेर टाउको हल्लायो ।
प्रहरी राजेन्द्रतिर फर्कियो—‘तिमीसँग बोलेको अन्तिम कुरा ?’
राजेन्द्र एकछिन आँखा चिम्लियो र सम्झेर सुनायो— ‘भन्दैथियो उसको ओछ्यान चाहिँ माथि हुनुपर्ने ।’
‘यसको आफ्नो मान्छे कोही छ कतारमा ?’
‘भिनाजु छन् अलत्तियामा ।’— अमजदले भन्यो ।
‘मलाई नम्बर दिनुहोस् त्यो आफन्तको’
सुशिलका भिनाजुको नम्बर उसकै मोबाइलमा थियो । प्रहरीले राजेन्द्रलाई अह«ायो— ‘उसको मोबाइल ल्याउनुहोस् ।’
सुशिल मोबाइल सिरानीमुनि राखेर सुत्थ्यो । राजेन्द्रलाई लिएर आउने आँट आएन । प्रहरीले यही आग्रह दोहोर्याए पछि ऊ बिस्तारै गयो । सुशिलको अनुहारतिर हेर्दै नहेरी हात घुसारेर सिरानीमुनिको मोबाइल तान्यो । हिजोसम्म हाँस्नेजिस्किने साथी अचानक डरलाग्ने भइसकेको थियो । यो परिवर्तन
उसले पत्याउनै सकेन !
प्रहरीले अरु खानतलाशी केही पनि गरेनन् । मोबाइलमा उसको भिनाजुको नम्बर चिनाइमागे र लास लिएर गए ।
पवन र अमजद कोठाअगाडि मूर्तिझैँ उभिए । राजेन्द्र अडिन नसकेर भुइँमा टुक्रुक्क बस्यो । उसका कानमा सुशिलको अन्तिम वाक्य बजिरह्यो — ‘मेरो ओछ्यान चाहिँ माथि हुनुपर्ने । मेरो ओछ्यान चाहिँ……..’
– – — — – – –
पहिला पनि धेरै सुनिन्थे सुतेको सुत्यै हुने अज्ञात मृत्युका खबरहरु । तर यसखाले सबैजसो खबरहरु जुन–जुलाईको चरम गर्मीका बखत सुनिन्थ्यो । खाडिका जानकारहरु भन्थे— ‘दिउँसो रापिएर काम गरेको ज्यानलाई एयरकन्डिसनको चिसो ह्वात्तै चखाउनु हुँदैन ।’ अनि कसैकसैले पूर्व संकेतबिनाको यस्तो मृत्युलाई ‘साइलेन्ट डेथ’ पनि भन्थे । तर कतार सरकारले भने यसलाई सिधै ‘हृदयाघात’ भन्ने गरेको छ, कुनै नापजाँचबिना ।
तर, मे १४ मा दिउँसो चल्ने घामको तातो र राति चल्ने ए.सी.को चिसो दुवै अन्तिम उत्कर्षमा थिएनन् । अन्यत्रका क्याम्पहरुबाट यस्ता खबर आए पनि कानले सुनेको र आँखैले देखेको फरक हुँदो रहेछ । सबै आत्तिएका थिए । सबैको मन उडेर नेपालका आफन्तहरु भए ठाउँ पुगेको थियो ।
यो घटनालाई सहज रुपमा लिनसक्ने साहसीहरु धेरै थिएनन् । बाँकी कमजोर मन भएकाहरु सबै हतास थिए । तिनीहरु प्रिय मान्छेहरुबाट टाढा अज्ञात मुलुकमा अज्ञात मृत्युको भयले लगलगी कामेका थिए ।
दिउँसो कार्यस्थलमा धेरै पेन्टरहरुको एउटै चिन्ता थियो—‘यसपालि कालले हाम्रै क्याम्पमा खाता खोलिसक्यो । बसिरह्यौँ भने हाम्लाई पनि सिध्याउँछ ।’ तेह« जनाले त त्यसैदिन राजीनामा बुझाए । यीमध्ये दश जना पहिलो पटक आफ्नो सपना कोरल्न खाडि जगत आएका थिए ।
सुशिल बितेपछि राजेन्द्र, पवन र अमजद त्यो कोठामा सुतेनन् । आफ्ना सरसामान सबै लिएर पर्तिरका कोठाहरुमा अरु पेन्टरसँगै घुस्रिए । धेरै जना त्यो रात निदाउन सकेनन् । अबेरपछि झकाउन थालेको पवन राति दुईबजे आत्तिएर उठ्यो र थर्थरी काँपेका ओठले भन्यो— ‘सुशिल आएर झक्झक्यायो ।’
विहानै काममा जाने बेलामासम्ममा ‘राति सुशिल आएको थियो’ भन्नेहरु अरु पनि निस्के । त्यो दिन अरु पाँचजनाले राजीनामा लेखे । तीमध्ये राजेन्द्र, पवन र अमजद पनि थिए ।
ह्युमन रिसोर्स मेनेजरका टेबलमा राजिनामाको खात लागेपछि कम्पनीले सबैजना पेन्टर भेला गरेर मनोबैज्ञानिक परामर्श दिने भयो । कम्पनीले सम्झायो— ‘त्यो केवल हार्ट–आट्याक थियो । यति धेरै मान्छेहरुमा दुई वर्षमा एकजना बित्नु सामान्य कुरा हो । मुटु बलियो पार । केही हुँदैन ।’
तर अहँ, पिटिक्कै चित्त बुझेन । सुशिल कहिल्यै रक्सी पिउँदैन थियो । त्यस्तो हाँस्तैखेल्दैको बाइसवर्षे ठिटो स्वाट्टै बित्नु सामान्य थिएन । आफूलाई बाँध्न सकेनन् । राजीनामा दिएको कम्तीमा एक महिना पछि मात्र घर फिर्ति हुने कम्पनीको नियम थियो । ती कुराइका दिनहरु धेरै कष्टले बिताए । दिनभन्दा रात अधिक बेचैनीले भरिएका हुन्थे । हरेक दिनजसो तिनीहरु भनिरहेका हुन्थे— ‘कति अनिदो बस्नू ? निदाए पनि हरर फिलिमजस्ता सपना कति हेर्नू ?’ अन्ततः राजीनामा दिनेहरुलाई कम्पनीले अट्ठाइस दिनपछि एकसाथ नेपाल उडायो ।
क्याम्पमा बाँकी पेन्टरहरुबीच पनि सबै आँटिला थिएनन् । बस्ने र फर्किने दुइटै आँट नभएका छजना पेन्टरहरु थिए जसको उस्तैउस्तै गुनासो थियो । यिनीहरु थिए— रतन, गोपाल, रमेश, श्रीप्रसाद, पुन्य र राजन । यिनीहरु चारओटा भिन्नाभिन्नै कोठामा अरुहरुसँग बस्थे । यिनीहरु भन्थे— ‘यतै बसेँ भने म मात्र मरौँला, घर गएँ भने परिवारै मर्लान् ।’ यी सबै हरर सपना सहेर बस्न बाध्य थिए । हरेक रात पछि यीमध्येको कोही यस्ता कुरा गथ्र्यो—‘आज राति एउटा खुइलिएको कुकुरले मेरा गोडामुनि आएर बुढी औँलो चाट्यो ।’ अनि अर्को कोही भन्थ्यो—‘बिरालोले कानैमा म्याउँ गरेर ब्यूँझायो तर आँखा खोल्दा केही थिएन ।’
बाँकी अरु एकाउन्न जनासँग सपनाप्रति गुनासो थिएन । एक दिन कार्यस्थलतिर जाँदैगर्दा ती डराएकाहरु खराब सपनाका कुरा गर्दै थिए । सुन्दासुन्दा वाक्क भएका कोठा नं ९ का थापा दाइ गाडिभित्रै तात्तिए — ‘धत् केटाहरु ! सपनामा तरुनी देख्नुपर्ने उमेरमा यस्ता फोकटिया कुरा गर्ने हो ?’
अनि उनै थापाले फेरि भने— ‘चिन्ता नगर केटा हो । हाम्रो गाउँको कुलप्रसाद धामी अहिले कतार आएको सुन्दैछु । म पत्ता लगाएर तिमीहरुको समस्या चट् पार्दिन्छु ।’
थापा दाइलाई यस्ता कुरामा पटक्कै विश्वास थिएन । तर उनलाई लाग्यो— केटाहरुको मन बिग्रिएको छ । त्यही मनको शान्तिका लागि सहयोग गरिदिऊँ । दिउँसो थापा दाइले धेरैतिर फोन लगाए । घरतिर बुझे । कतारतिर छरिएका गाउँलेहरुसँग सम्पर्क गरे र पत्ता लगाए— ‘कुलप्रसाद बिल्फिङ्गर नामको कन्स्ट्रक्सन कम्पनीमा आएका छन् र सनैया ४१ मा उनको क्याम्प छ ।’
थापा दाइका अनुसार बाह« वर्षकै उमेरमा धामी उत्रेका हुन् उनी । गाउँतिर केटाकेटीको रुन्चे धपाउने, सातो फर्काइदिने गर्थे । सबैतिरबाट धामीमाथिको विश्वास उठ्तै गएपछि काम न काजका भए । त्यसैले केटाकेटीलाई जाउलो खुवाउने खर्च जुटाउन चालीस वर्षे उमेरमा उनी कतार छिरेका रहेछन् ।
पर्सिपल्ट शुक्रबार बिहान थापा दाइ सनैया–४१ पुगे । सुरुमा त कुलप्रसाद मानेनन् । थापा दाइले आग्रह गरे—‘यसो फुकफाक गरेजस्तो गर्दिनु नि । मनको शान्तिका लागि । दुःखी केटाहरु छन् । दाजुलाई सय पचास रियाल जति मिलाइदिउँला न ।’ सयपचास सुनेपछि कुलप्रसादको चित्त हाँस्यो । दिउँसो कुलप्रसादलाई लिएर क्याम्प फिरे थापा दाइ ।
मेस चलाउनेहरुसँग मागेको एक अँजुली चामलमाथि घोत्लिएर कुलप्रसादले जन्तरमन्तर फुके । थापा दाइ र सपना बिग्रिएकाहरु अघि लागे । अन्य केही पेन्टरहरुले पनि उदेक मान्दै पछ्याए । देखाइएका कोठाहरुभित्र पसेर कुलप्रसादले चारैतिर चामल पछारे । अन्तिममा रतनले कोठा नं ५ पुर्यायो र चुकुल लागेको ढोकातिर देखाउँदै भन्यो— ‘मान्छे बितेको कोठा यही हो । हजुर भित्र पसेर विशेष मन्त्र फुक्नुपर्यो ।’
कुलप्रसादले बन्द ढोकामै चामल छर्कियो ।
‘भित्रै जाऊँ न हजुर’— गोपालले भन्यो ।
कुलप्रसाद अलि आत्तियो—‘पर्दैन पर्दैन । मरेको मान्छेको वायु मरेकै ठाम्मा बसिरन्छ त ? कता कता डुलिरहन्छ नि ।’
त्यो अदृश्य शक्तिलाई अदृश्यै पाराले सम्झाईबुझाई गरिदिए बापत सपना बिग्रिएकाहरु मिलेर कुलप्रसादका हातमा एक सय पचास थमाइदिए ।
फुकफाक गरेको दुई दिनसम्म कसैबाट कुनै गुनासो सुनिएन । तर, तेस्रो मध्यरातमा कोठा नं. १२को राजन ह्वाइ कि ह्वाइ चिच्याउँदै उठ्यो । निद्रा तर्सिएर बाँकी अरु पनि उठे । होसहवास उडेको राजनले भक्भकाउँदै भन्यो— ‘एउटा हात्तीजत्रो मान्छेले घाँटी थिच्यो ।’
त्यो खबरले फेरि अरु पाँचैजनाको बेथा बल्झियो । थापा दाइसँग कुलप्रसादको नम्बर मागेर रतनले सम्पर्क गर्यो—‘ए हजुर मन्त्रले छोएन । केही विधान अपुरो रह्यो कि ?’
कुलप्रसादले भने—‘रतन भाइ, त्यसो भए त्यो नेपालीको वायु होइन । कुनै अरबीको हंसले सताउँदैछ तिमीहरुलाई । मबाट पार लाग्दैन भाइ ।’
– – — — – – –
केटाहरु तनावमा आइहाले । अब के गर्ने ? यो अरबीको हंस धपाउनु कसरी ? कोठा नं. १५ को हरिशरणले केटाहरुको मनशान्तिकै लागि आइडिया सिकायो—‘हेर केटा हो । अरबीहरु इश्लामिक हुन् । उनीहरुलाई सुँगुरबङ्गुर चल्दैन । सुँगुर देखेपछि परै भाग्छन् । अब नेपालबाट सुँगुरको सुकुटी मगाउने र दैलामा झुन्ड्याउने ।’
धेरैजनाले आ–आफ्ना घरतिर फोन लगाएर बुझे—‘हाम्रो गाउँतिरबाट कोही कतार आउँदैछ ?’
केरखा, झापाका दिपेन्द्रका मोबाइलमा मात्र आयो शुभसन्देश—‘मदन उड्दैछन् निकोर्सि ।’
दिपेन्द्रले भन्यो—‘मदन दाइलाई एक आधा किलोजति सुँगुरको सुकुटी पठाइदिनु है । अँ, हाते झोलामा हैन लगेजमा हाल्न भन्नू । सुँगुरको सुकुटी भनेर नभन्नू नि । थाहा पाए भने ल्याउँदैनन् फेरि ।’
तेस्रो दिन मदन सुरक्षित दोहा ओर्लिए । चौथो दिन सनैया ८ बाट फोन आयो—‘दिपेन भाइ, आमाले सामान पठाइदिनुभाछ । लिन आउनू है ।’
दिपेन्द्र त्यसै दिन ड्युटीबाट सिधै गयो । मदनलाई भेटेर पोको जिम्मा लियो । फर्किँदै गर्दा बाटैबाट रतनलाई फोन गर्यो—‘रतन, मान्छे भेटेँ । सुकुटी लिएर आउँदैछु ।’
(श्रोत्:-Mysansar)