कथा : कमरेड सुगन्धा

~दीपेन्द्र दोङ तामा~

ढक्ढक……ढकढक……………।

अचानक ढोकामा बेस्सरी कसैले ढक्ढकायो । म र साथी दाइ झल्याँस्स विउँझ्यौं । एक किसिमको डर पनि लाग्यो ।

को हँ ? ढोका ढक्ढक्याउँने ?? माथि चोटामा सुत्नुभएका सेते काकाले माथिबाटै सोध्नुभयो ।

हामी हौं काका । बाहिरबाट आवाज आयो ।

ए तिमीहरु पो । ल,ल एकछिन है । परिचित आवाज सुनेर होला सेते काका आश्वस्त हुनुभयो ।

एकछिन पछि सेते काका तल ओर्लेर ढोका खोल्नुभयो । अनि बाहिरबाट कम्व्याक्ट पोशाकधारी एक जना पुरुष र दुई जना महिला भित्र पसे । ती महिला दुवैले बन्दुक पनि भिरेका थिए ।

उहाँहरु चाहिं को नि ? परिचित जस्तै लाग्ने पुरुषले सोधे । अब भने मलाई पनि त्यो आवाज र अनुहार ठम्याउँन गाह्रो भएन । उनी कोही नभएर गाउँकै नाम्गेल दाइ हुनुहुन्थ्यो । जो माओवादीका क्षेत्रीय कमाण्डर हुन् भन्ने सुनेको थिएँ ।

म हूँ,नाम्गेल दाइ । म आफैंले शुरुमा बोलें ।

मेरो आवाज सुनेर नाम्गेल दाइले मेरो अनुहारमा टर्च लाइटको उज्यालो फ्याँक्नुभयो र बोल्नुभयो–ए तिमी पो भाइ ? अनि कहाँबाट हौ ?

शहरबाट आजै आएको दाइ । आउँदा आउँदा ढिला भयो अनि आज यतै बसें । घरमा हजुर वुवा विरामी हुनुहुन्छ रे भनेर आएको । मैले आफू आउँनुको उद्देश्य पनि सुनाएँ ।

ल ठीक छ ।

यति भनेर उहाँले सँगैका दुईटी महिलाहरुको कानमा के के भन्नुभयो,आवाज प्रष्ट भएन । एकैछिन् पछि एक जना बोलिन्–ओहो तपाई पो ? तपाईसँग यसरी अप्रत्यासित भेट होला भनेर मैले त सोचेकै थिइनँ । म तपाईको कार्यक्रम नियमित रुपमा सुन्छु अनि लेखहरु पनि पाए जति पढेकी छु ।

म छक्क परें । छापामार युवती अनि मेरो श्रोता र पाठक ? मनमनै सोंचें,तै पनि खुशी नै लाग्यो ।

परिचय आदन प्रदान भयो । उनले आफ्नो वास्तविक नाम म्हारसाङ र पार्टीले दिएको नाम सुगन्धा रहेको बताइन् । दुवै नाम कति राम्रा । मनमनै सोचें ।

अँध्यारोको बीचमै पनि मैले उनको अनुहार ठम्याउँन खोजें । होचो कद,गोरी र गोलो मुहार र अलि बुक्क परेको गालाकी धनी म्हारसाङ अर्थात सुगन्धा शायद पुग नपुग बीस वर्षकी हुँदो हो । मैले त्यति नै अनुमान लगाएँ ।

उनीहरु रात्री गस्तीमा हिडेका रहेछन् । मेरो सम्पर्क नम्बर मागिन् सुगन्धाले । दिउँ कि नदिउँ भन्ने दोधारमा परें म ।

किन हिच्किचाउँनुभएको भएको ? म तपाईको नम्बर दुरुपयोग गर्दिनँ नि । तै पनि विश्वास लाग्दैन भने चाहिंदैन है । म अलमलिएको देखेर उनी आफैं बोलिन् ।

त्यसपछि मलाई आफ्नो नम्बर दिन करै लाग्यो । तर पनि मैले अफिसको नम्बर मात्र दिएँ । घरको नम्बर दिने हिम्मत आएन ।

धन्यवाद दिएर गए उनीहरु । तर खै किन हो त्यो रातभरि सुगन्धाकै झल्को मात्र आइरह्यो मलाई ।

………………………………………………………………………………………………..

पत्रकार त्यही पनि फुल टाइमर । यतिकै दौडधुप हुने भैहाल्यो । त्यसमाथि विहान एउटा रेडियो र साँझपख एउटा दैनिक पत्रिकामा काम गर्थें । त्यसैले कामको चटारो निकै नै थियो । तर आफ्नो रुचीको विषय र आफैंले छानेको क्षेत्र भएर पनि होला,जति नै चटारो भए पनि रमाइलो नै लाग्थ्यो ।

फेरि पत्रकारिता क्षेत्र नै यस्तै छ,हरेक दिन नयाँ नयाँ विषय र चुनौतिहरुसँग अपडेट भैरहनुपर्ने ।

म आफ्नै काममा व्यस्त थिएँ । कार्यक्रममको तयारी गर्दै थिएँ ।

सर तपाईको फोन आएको छ ।

रिसेप्सनिष्टले मेरो एक्सटेन्सन नम्बरमा कल गरेर जनाउ दिइन् ।

कसको रहेछ ? नाम सोधिनौ त ? मेरो प्रश्न ।

अँ सोधेको भन्नु भएन । कुनै केटी छिन् सर । के गरौं सर,लाइन पास गरौं कि नाई ? रिसेप्सनिष्टको आवाज सुनियो ।

को होलिन् त ? म एकैछिन् गम्नतिर लागें । शायद म अल्मलिएको थाहा पाएर होला रिसेप्सनिष्ट फेरि बोलिन्–होल्डमा राखेको निकै वेर भयो । लाइन पास गर्दिन्छु है सर ?

मैले पनि हुन्छ भनिदिएँ । रिसेप्सनिष्टले फोनको लाइन पास गरिदिइन् ।

हेलो । फ्याफुल्ला । निकै वेर पो कुराउँनुभयो त । व्यस्त हुनुहुन्थ्यो होला,डिस्टर्व त गरिनँ कतै ? फोनमा कुनै युवती मसँगै बोल्दै थिइन् । आवाज त कतै सुनेको र परिचित जस्तै लाग्यो ।

हजुर,म कार्यक्रमको तयारी गर्दै थिएँ । त्यसैले अलि वेर भयो । मैले जवाफ दिएँ । तर मनमा भने को होलिन् भनेर ठम्याउँने प्रयास गर्दै थिएँ ।

मलाई चिन्नुभयो त पत्रकारज्यू ? उताबाट जटिल प्रश्न आयो । जटिल यस अर्थमा कि म त्यसैको उत्तर नपाएर मनमनै अल्मलमा परिरहेको थिएँ ।

अँ….ठम्याउँन अलि मुस्किल भयो । मेरो मुखवाट फुत्ता निस्कियो ।
ल यति चाँडै विर्सनुभएको ? कति स्वार्थी हो तपाई त । म सुगन्धा बोल्दैछु । उनले आफैं परिचय खोलिन् ।

ओहो तिमी पो ? अहिले कहाँबाट ? अप्रत्यासित जवाफ पाएर म आश्चर्यमा परेको थिएँ ।

अहिले वनेपामा छु । शहर आइपुगेको बेलामा तपाईको सम्झना आयो अनि फोन गरेको नि । मैले गल्ति त गरिनँ ? उनले स्वभाविक आवाजमा बोलिन् ।

कसैले कसैलाई सम्झनु पनि गल्ति हो र ? अनि वनेपामा किन नि ? ड्युटी छैन र हिजो आज ? मैले फेरि सोधें ।

व्यक्तिगत कामले आएको नि । किन र हाम्रो चाहिं व्यक्तिगत जीवन हुन्न र ? उनले अलि असन्तुष्टी व्यक्त गरिन् ।

ल मैले त्यसो भनें र ? म आत्तिएँ ।

त्यसपछि उनी एकछिन् मज्जाले हाँसिन् । उनको त्यो हाँसो,कुरा गराइ सुन्दा उनी एउटा सशस्त्र मोर्चासँग आवद्ध छिन् र प्रत्येक पाइला पाइलामा दुष्मनको खतरा छन् भन्ने विर्सन करै लाग्थ्यो ।

त्यसदिन झण्डै दस मिनेट टेलिफोन वार्ता गर्यौं हामीले । त्यो वार्तासँगै हामीबीचको दुरी अझ छोटिएछ क्यार,मैले उनलाई घरको नम्बर पनि दिएँ ।

बाँचिएछ भने फेरि मौका मिल्नसाथ तपाईलाई कल गर्नेछु । यति भनेर उनले फोन राखिदिइन् ।

उनको त्यो भनाइले मेरो मनमा चिसो पस्यो । कता कता नरमाइलो लाग्यो । त्यो उदासी मेटाउँन झण्डै एक हप्ता नै लाग्यो मलाई ।

……………………………………………

त्यसपछि पनि कहिले घर त कहिले अफिसमा म्हारसाङ उर्फ सुगन्धाको फोन कल आइरह्यो ।

अलिकति वातावरण मिल्यो उनी मलाई फोन गर्न विर्सन्न थिइन् । उनीसँग फोनमा कुरा गर्न पाउँदा खै किन हो मलाई अर्कै किसिमको आनन्द आउँथ्यो । एक किसिमको आत्मीयता महसुस हुन्थ्यो । अनि उनी त एउटा विचार र आस्थासँग आवद्ध भएर मुक्तिका नाउँमा कि मार्ने कि मर्ने लडाइँमा होमिएकी क.सुगन्धा हुन् भन्ने कुराले भने कहिले कहीं भित्री मनलाई खिन्न पनि बनाउँथ्यो ।

म सुगन्धाप्रति आकर्षित भएछु कि के हो ? केही दिन मात्र उनको फोन आउँनमा ढिलाइ भयो कि म आत्तिन थाल्थें । उनी भूमिगत जीवनमा छिन् र पलपल खतरा मोलेर हिडेकी छिन् भन्ने पनि विर्सन्थें म । वस्,मैले चाहेको वेलामा कुरा गर्न पाइयोस्,मेरो मन यस्तै भन्थ्यो ।

उताा सशस्त्र संघर्षको क्रम अझ चुलिदै गएको थियो । देशको कार्यकारी शासन राजाले लिएसँगै संकटकालको घोषणा भैसकेको थियो । विद्रोहीहरु प्रायको टाउकोको मूल्य तोकिएको थियो ।

त्योसँगै हत्या,भिडन्त र विस्फोटका खबरहरु सामान्य जस्तै थिए । सञ्चारकर्मी भएको नाताले त्यस्ता खबर सबैभन्दा पहिले हामीलाई नै आउँथे । त्यस्ता खबरहरु सुन्दा म त्यसै त्यसै आत्तिन्थे । सुगन्धाको अनुहार र वोलीको झलझली याद आउँथ्यो ।

शायद मेरो मनोदशा बुझेर होला,कतै ठूलो भिडन्त वा क्षतिको केही खबर आए कि तुरुन्तै सुगन्धा फोन सम्पर्कमा आउँथिन् । उनको आशय म बुझ्थें । म चिन्तामा पर्छु भन्ने लागेर मेरो शंका मेटाउँन उनी त्यसरी सम्पर्कमा आउँथिन् ।

तिमीलाई के लाग्छ मिक्साङ–कतै मैले सुगन्धालाई माया त गर्न थालेको थिइनँ ?

………………………………………………………….

म काठमाडौं आएको छु । म आउँनुको एउटै कारण तपाईसँगको भेट हो । कहाँ भेटौं हामी ?

एकदिन बेलुकी मेरो घरमा फोन गरेर सुगन्धाले आफू काठमाडौं आएको खबर र त्यसको उद्देश्य पनि सुनाइन् ।

हो र ? कहिले आयौ ? कहाँ बसेकी छ्यौ नि ? मैले पनि खुशी दर्शाउँदै सोधें ।

आजै आएकी । दिदी भिनाजुकोमा बसेकी छु । उनले जवाफ दिइन् ।

भोलि विहान स्वयम्भूमा भेटौं न, हुन्छ ? उनैले प्रस्ताव राखिन् ।

हुन्छ । विहान ७ बजे आउँछु म,माथि मूल स्तूपमै । मैले पनि स्वीकृति जनाएँ ।

…………………..

वाचा गरे अनुसार म विहान सातै बजे स्वयम्भू स्तुपमा पुगें । तर उनी भने आइसकेकी थिइनन् । म घडी हेर्दै तुवाँलो भित्र लुकिरहेको काठमाडौं उपत्यकालाई एक्लै नियालिरहें ।

सरी है,ढिला भएँ । फ्यापुल्ला । एक्कासी सुगन्धाको आवाज सुनियो ।

आवाजलाई पछ्याउँदै म उतैतिर फर्कें । जिन्स पाइन्ट र टिसर्ट अनि सेतो स्पोर्टस् जुत्तामा ठाँटिएकी एउटी मस्तकी युवती मतिरै मधुर मुस्कान छर्दै थिइन् । म अल्मलमा परें ।

चिन्नुभएन ? म सुगन्धा ।।

ती शहरीया र खुवै आधुनिक जस्ती लाग्ने युवती त सुगन्धा पो रहिछिन् । मलाई बडो अचम्म लाग्यो । हुन पो हो मैले थुम्काको सेते काकाको घरमा भेटिदा कम्व्यक्ट पोशाक,टोपी र बन्दुकमा सजिएकी धुलो र मैली सुगन्धालाई यस रुपमा भेटिन्छु भन्ने त मैले कल्पनामा पनि सोचेको थिइनँ ।

तिमी पो ? मेरो आश्चार्य प्रश्न भनेर निस्कियो ।

तपाई शहरमा बस्ने मान्छे,आँखा र मन पनि शहरिया नै भयो होला । अनि तपाईको आँखा र मनमा आफूलाई पार्न पनि शहर सुहाउँदो फेसन त गर्नै पर्यो नि होइन र ? उनी उल्टै जिस्किइन् ।

मैले के भनेर उत्तर दिनु ? मसँग कुनै जवाफ नै छैनँ सुगन्धा । मैले यति बोलें ।

त्यसो त मैले पनि कहाँ उत्तर मागेकी छु र पत्रकारज्यू ? उनी अझै मस्किइन् ।

स्वयम्भूको दर्शन गरिसकेपछि हामी तल ओर्लियौं र एउटा खाजाघरमा पस्यौं ।

सरकारी बोकाहरुलाई छल्न पनि यस्तो गेटअप चाहिन्छ । गफिने क्रममा सुगन्धाले आफ्नो नयाँ गेटअपको रहस्य खोलिन् ।

कुराकानीकै क्रममा मैले उनी कसरी म्हारसाङबाट सुगन्धा बनिन् भनेर जान्न चाहें ।

तर मेरो कुरालाई चलाखीपूर्वक छलिरहिन् उनले । सिर्फ यति भनिन्–हामीले लडिरहेको यो युद्धले भोलि कस्तो रुप लिन्छ,थाहा छैन । तर यति चाहिं पक्का छ कि हामीले शुरु गरेको वर्गीय,समानत र पहिचानको यो लडाइँमा स्वस्फूर्त रुपमा जनताको साथ रहनेछ ।

उनीसँग कुरा गरिरहँदा मलाई लाग्यो उनी युद्धको कुरा गर्न चाहन्नन् । किन कि यसमा उनी पटक्कै इन्टरेष्ट दिइरहेकी थिइनन् । युद्धमा होमिएकी एउटी छापामार सेना किन त्यसमा अरुची देखाइरहेकी छिन् ? मलाई मनमा कता कता खट्किरह्यो ।

हुनसक्छ युद्धको कुरा गरेर मेरो मनमा युद्धप्रतिको वितृष्णा नजागोस् भन्ने चाहन्थिन् उनी । अथवा निरस युद्धको धङ्धङ्दीबाट उन्मुक्ति चाहन्थिन् उनी । त्यसैले मैले पनि युद्धको बारेमा सोध्न छोडिदिएँ ।

त्यसपछि हामीले एक अर्काका नीजि मामिलाका बारेमा केही वेर गफ गर्यौं । साथै भविष्य र सपनाका बारेमा पनि गफियौं ।

त्यसरी सुगन्धासँग गफिइरहँदा ममा कता कता आत्मीयताबोध भैरहेको थियो । उनको कुरा गर्ने शैली,रुपरंग र विचार सबै राम्रा लाग्थे मलाई । उनको कुरा सुन्दा कता कता उनी पनि मप्रति आकर्षित भएकी छिन् भन्ने आभाष मिल्थ्यो । तर त्यसबारेमा न मैले खुलेर भन्न चाहें, न त उनले नै । मात्र आँखा र मुटुको धड्कनले मात्र भनिरहेको थियो–हो हामी साँच्चै मायामा परेका छौं ।

करीब पैंतालीस मिनेटको कुराकानी पछि हामी छुट्टियौं । फेरि सहर आउँदा भेट्ने र मौका पाउँनसाथ टेलिफोनमा कुरा गर्ने सहमति भयो हामीबीच । छुट्टिने बेलामा भावुक मुद्रामा उनी बोलिन्–आफ्नो ख्याल राख्नु ।

ख्याल त तिमीले पो राख्नुपर्छ त सुगन्धा । किन कि तिमीले पल पल तिम्रै शब्दमा वर्गीय र सामन्ती शत्रुहरुसँग सामना गरिरहनुपर्छ । आफ्नो मृत्युलाई समेत देश र जनताका लागि तिमीले जो नामसारी गरिदिएकी छौ । मैले जवाफ दिएँ ।

उनी केही बोलिनन्,मात्र एक मुस्कान छरिन् । मैले त्यो मुस्कान खेर फाल्न चाहिनँ । झटपट मनको क्यामरा खोलें र मुटुभित्रै खिचेर राखें–मेरी सुगन्धाको त्यो अमूल्य मुस्कानको तस्वीर ।

(प्रकाशोन्मुख उपन्यास ‘मिक्साङ’बाट)

(श्रोत्:-Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.