कथा : एउटा बिछोड यस्तो पनि

~झलक पौडेल~

मैले फेरि निद्रामा बोनितालाई भेटेँ।
रातको दश बजेर सोह्र मिनेट।
चन्द्रमाको डिलमा बसेर पृथ्वीतिर खुट्टा झुन्डाउँदै मैलै नारायण गोपालको गीत गाइरहेको थिएँ।
‘प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ…’
एक्कासी पछाडिबाट बोनिताले मेरा आँखाहरु छोपी।
‘को हो ?’, मैले नचिनेजस्तो गरेँ।
तर बोनितालाई नचिन्ने कुरै थिएन। म उसका बास्नाहरुसँग परिचित छु। स्पर्श त झनै प्रिय लाग्छ मलाई।
‘मैले तिम्लाई नै सम्झीराथेँ’, उसका हातहरु म तिर तान्दै मैले भनेँ।
‘आँखा नहेर न, बोनिताले अनुरोध गरि।
‘किन?
‘म यहिँ त छु, किन हेर्न परो र? ईss नपत्याए छाम न’, मेरो हात आफ्नो छातीमा छुवाउँदै उसले भनी।
‘मैले पत्याउँछु। तर मेरा आँखाहरु पत्याउँदैनन’, मैले जिद्धि गरेँ।
‘मेरा अनुहार भरि खतैखत छन। म नराम्री भएकी छु। हेर्यौ भने मलाई माया गर्नेछैनौ।’
‘तिमी राम्री हुनाले मैले माया गरेको होइन, मैले माया गरेका भ’र तिमी राम्री लागेको हो’, मैले स्पष्टिकरण दिएँ।
त्यसपछि हामीले चुम्बन गर्यौ, निकै लामो।
‘आई लभ यू !’, बोनिताले मधुरो स्वरमा खुसुक्क भनि।
‘ई वाई ई ?’
‘पागल’, उसले भनि।
‘म कि तिमी ?’
‘हामी।’
‘आई लभ यू टु’, मैले उसका गाला चिमोट्दै भनेँ।
बोनिता मुस्कुराई।
‘मलाई सयौँ जुनिसम्म त्यो पलको पश्चाताप हुनेछ’, मैले प्रसंग बदलेर भनेँ।
‘पश्चाताप किन ? तिम्रो गल्ती थिएन। जीवनमा मेरा कयौँ गल्तीहरुले हामी न सँगै रह्यौँ न टाढा’, उसले सम्झाई।
‘त्यहि समय म तिमीसँग मर्न सकिन। एक्लै बाच्ने मेरो कुचेष्टा मेरा सयौँ जूनिहरुका लागि पश्चातापको विषय हुनेछ।’
‘तिमीले गलत भन्दैछौ। मेरो मृत्युको कारण म आफैँ थिएँ, तिमी थिएनौ। बरु स्वतन्त्रताप्रतिको मेरो झुकावको कारण थियौ तिमी। ढिलो वा चाडो, तिम्रा अगाडी वा पछाडि, कुनै न कुनै दिन कुनै न कुनै ठाउँमा मेरो मृत्यु त्यसैगरि हुनेवाला थियो। यसमा तिमीले या मैले पश्चाताप गरिरहनु पर्दैन।’
‘तर मलाई पश्चाताप हुनेछ’, मैले केहि बेर पछि भनेँ।
बोनिताले बोलिन।
‘ढक् ढक्…ढक् ढक्…’कतैबाट आवाज आयो।
झल्याँस्स ब्युझिएँ। सिरानी काखमा राखेर पसिनाले चुर्लुम्म भिजेको म ओछ्यानमै थिएँ। ठिक अगाडी भित्तामा बोनिता मुस्कुराइरहेकी थिइ, ठूलो फ्रेमभित्र।
–––
कुनै बेला, म सानो थिएँ, इत्रुको। उ पनि सानी थिइ, इत्रुकी। तर हाम्रा सपनाहरु ठूला थिए। उ र म के थियौँ थाहा छैन। न दाजु बैनी, न साथी। साथी भनेको त थाहै थिएन। उ बस् बोनिता थिई। बडो गजबको प्रेम थियो त्यो। हामी सँगै सुत्थ्यौँ। सँगै बस्थ्यौँ। सँगै खेल्थ्यौँ। सँगै एउटै थालमा खान्थ्यौँ। कहिले उसले खुवाउथीँ कहिले म खुवाउथेँ। उ र म बुढा बुढी भएर खेल्थ्यौँ। एउटा गुडिया थियो बोनितासँग। उ हाम्रो छोरा हुन्थ्यो। मैले छोरी चाहन्थेँ।
‘गुडियालाई छोरी बनाम न है’, एकाबिहानै मैले बोनितासँग भनेँ।
‘नाईँ’, उसले मानिन।
‘तेसो भए हामी नखेल्ने’, मैले पहिलोपटक उसँग विवाद गरेँ।
हामी त्यो दिन बोलेनौँ। तर म सक्नेवाला थिइन। बोनितासँग अंगालो मार्दै गाउँ डूलेको बानी ख्यालख्यालमा छुटाउनु हुन्नथ्यो।
‘बोनिता खोई ?’, भोलिपल्ट म उसको घर पुगेर ठूलोबालाई सोधेँ। उसको बा लाई हामीहरु ठूलोबा भन्थ्यौँ।
‘रोएर बसेकिछ हिजोदेखीन्’
मलाई ठूलोबा को जवाफपछि बोनितासँग हार्न मन लाग्यो।
‘मैले हारेँ, अब गुडिया सधैँका लागि छोरा हुनेछ’, मैले बोनिताको कपाल सुम्सुमाउँदै भनेँ।
दुइवटा घुँडाको बिचमा टाउको लुकाएर सुँक्क सुँक्क गरिरहेकी बोनिता एक्कासी खुसी भई।
त्यसपछि हामीहरु पहिलेको जस्तै खेल्न थाल्यौँ। उसले दुध चुसाए झैँ गरेर गुडियालाई आफ्नो काखमा तेर्साउँथी अनि हाहा बाबु हाहा भन्दै लोरि सुनाउँथी। उसकि ममिको सलले स्तन छोपेको बहाना गर्थि। तर छोप्नुपर्ने चिज उसँग भएको भए, सायद हामी तेस्ता खेल खेल्दैनथ्यौँ। उ भात पकाउथीँ ढुङ्गामा र पस्कन्थी। अनि हामी खाएको जस्तै गरेर हातले आकार बनाउथ्यौँ। हात लगेर मुखमा छुवाउथ्यौँ। मैलो हातको नुनिलो, थुकसँग मिसिन्थ्यो। हामी स्वाद मानेर खान्थ्यौँ। अनि हावाले मुख चुठ्थ्यौँ। खाना खाइसकेपछि उसले भाँडा धुन्थी, म पानी खन्याइदिन्थेँ।
गाउँभरि सबैभन्दा बढी मिल्ने जोडी थियो हाम्रो। हामीलाइ ईश्वरले पठाएको जोडी भन्थे मान्छेहरु। हामी आकाशबाट जन्मेका थियौँ । सबैजना यहि सुनाउँथे हामीलाइ। आफ्नो उत्पत्ति बारे हरेक बालबालिका जिज्ञासु बनेर प्रश्न गर्छन। त्यस्तै हामीले पनि गथ्र्यौँ निकैपल्ट। अनि सबैजना आकाशबाट जन्मेको, बाटोमा भेट्टाएको वा यस्तै यस्तै भनेर उत्तर दिन्थे। ठूलो बनेपछि आफैँ थाहा हुँदोरैछ। कक्षा छ को सातौँ घण्टी पढेर घर फर्किँदैँ थियौँ।
‘छिः हामीलाइ तेस्तो ठामट पाकोरैछ नि !’, बोनितालाई मैले जिस्काएँ।
उ पनि त्यसबेला बुझ्ने भैसकेकी थिइ। अनि लाजले मुन्टो झुकाइदिई बस्। पैलाप्रथम त्यहि मौकामा बोनितालाइ मैले ओठमा माया गरिदिएँ।
त्यसपछि हामी माया गर्न थाल्यौँ। अब माया भनेको चुम्बन मात्र थिएन। बोनिता मलाइ माया गर्छु भन्थी । म पनि उसलाइ माया गर्थेँ। स्कुल जाँदा, फर्किँदा, बाटोमा, स्कुलमा, घरमा, धारामा, जहाँ पनि मौका मिल्ने बित्तिकै हामी टाँस्सीइहाल्थ्यौँ। कैलेकाहिँ त हाफटाइममा पनि डेटिङ् हुन्थ्यो। बहुत प्रेमिल थियो त्यो समय।
हाम्रो आत्मियता बडो गज्जबको थियो। दुख र सुख बाँडेर भोग्नुपर्छ भन्थी ऊ। उ दुखि हुँदा म पनि दुखि हुनुपर्ने र उ खुसि हुँदा म पनि खुसि हुनुपर्ने रे। तर म दुखि हुँदा उ कहिलै पनि दुखि भइन यद्यपि त्यहाँ झ्याली थिएन। उ फकाउँथी मलाइ। तर उ दुखि हुँदा मैले कहिलै फकाउनु परेन। उ रुन्थी, म उसका केशहरु खेलाउँथेँ।
हामीले बाह्र सकायौँ। हाम्रा सपनाहरु पुरा गर्न धेरै पढ्नुपर्ने थियो त्यसैले म काठमान्डू जाने निधो भयो। बोनिता गाँउ मै पढ्ने भई। काठमान्डू पढ्ने भनेर जिद्धि गरेको उसका कसैले सुनेनन। मैले गाँउ छाड्नु अघिल्लो रात, उ र म चौतारीमा भेट्यौँ।
बोनिता केहि बोलिन। बस् मुन्टो झुकाएर सुँक्क सुँक्क गरिदिई।
‘चुप्, सधैँका लागि छुट्टिने हो र अब ? रुनु किन पर्यो ? म पुगेपछी चिठ्ठी लेख्छु, तिमी पनि चिठ्ठी लेख। दशैँमा त भेट भैहाल्छ’, मैले उसको कपाल कानमा अड्काउँदै सम्झाएँ। मैले मेरा औँलाहरुले उसका आँशुहरु पुछिरहँदा टाउको घुमाएर बडो आत्तिँदै बोनिताले मेरो हत्केला चुमीरही।
‘जाने बेला आँशु देखायो भने पिट्छु। जति रुनुछ अहिले रुनु कि चिठ्ठीहरुमा रुनु’, घर जानेबेला मैले भनेँ।
अनि चुम्बन गरेर हामी छुटियौँ।
‘गुड नाइट’, उसले भनि।
भोलिपल्ट, म काठमान्डु हिड्ने दिन आयो। बिहानैदेखि घरमा सबैजना निन्याउरो अनुहार लिएर बसेका थिए। बा ले रिन गरेर ल्याएको पाँच हजार आमाले हातमा थमाइदिनुभयो।
“आफ्नो ख्याल गर्नु”, निस्कनेबेला आमाले मेरो कपाल सुम्सुमाउँदै भन्नुभयो।
मैले बिस्तारै टाउको हल्लाएर हुन्छ भनिदिएँ।
बोनिताले पनि ज्यानको ख्याल गर्नु भनेकि थिई।
म घरबाट निस्केँ। नरमाइलो लाग्दै थियो। बा आमाका आँखा पनि टिलपिल गरिरहेका थिए। बहिनी कुनामा बसेर औँला पड्काउँदै थिई।
‘चिठ्ठी लेख्नु है’, म अलि पर पुगेपछि हात हल्लाउँदै बहिनीले बिदा गरि। मैले पनि हात हल्लाएँ।
गाउँ मुन्तिरको चौतारीमा बोनिताले हातमा फूल लिएर मेरो बाटो कुर्दै थिई।
‘ओई काली’, मैले भनेँ।
उसले ओठ टोकी।
‘फूल लेउ न…’
‘दिन्न’, उ जिस्कने मोडमा थिई।
वरिपरि हेरेँ कोहि थिएन। बोनिता पनि चाहिराखेकि थिई र मैले पनि।
‘मज्जा आयो होला नि, है?’, केहिछिनको उत्तेजनापछि लामो सास फेर्दै बोनिताले भनि।
म मुस्कुराएँ।
‘के हो ?’, मैले आँखा ठूला पार्दै अंगालोमा कसेँ।
‘राम्रो सँग जानु। आइ विल मिसिङ यू ! अनि चिठ्ठी लेख्नु।’, उसले आँशुहरु रोक्ने प्रयास गर्दै एकैसासमा भनि।
मैले टाउको हल्लाएँ।
उसले फूल दिई।
हामी छुटियौँ।
–––
काठमान्डू बडो निरस शहर थियो। मलाई चिनेका हरु कोहि थिएनन। न कोहि आफ्नो न कोहि पराई को स्थिति थियो। बिल्कुल अपरिचित । काठमान्डू मेरो लागि थिएन। बोनिताको यादले खुब सताइरह्यो।
क्याम्पस जान लागेपछि दिनहरु बिस्तारै रमाइला बन्दै गए। साथीहरु बने। अब चिनेका मान्छेहरु पनि भए काठमान्डूमा।
बेनिताले मेरो चिठीको जबाफ पठाई। चिठी खोलेर पढेँ। निकै लामो चिठी थियो, चार पेजको। उ चिठीहरुमा ज्यादा रोई।
‘प्रिय निबोध,
तिम्रो सम्झनाले बोनिताको परान खुस्कन लागिसक्यो। चिठीहरु लेखिरहनु। म तिमीलाई चिठीमा भेट्छु। हरेक साँझ भेट्ने बानी परेकोले साँझहरु अरुभन्दा निरस लाग्छन। गाउँमा अब मेरो भन्नु कोहि रहेन, कतै हुर्किरहेको तिम्रो चिनोको अलावा।
आशा छ, अबका केही महिनापछि तिम्रो छोरीको रहर पुरा हुनेछ।
अनि छ नि, तिमी गएदेखी दुख्ने गरेर मज्जा आएको छैन।
तिम्रै,
बोनिता ’
ढोका बन्द गरेर एक चरण हाँसे। चिठीका अन्तिम शब्दहरु थिए यि। शुरुका शब्दहरु आफैँमा रोइरहेजस्ता थिए। तर बिस्तारै शब्दहरु थपिँदै जाँदा बोनिता सम्हालिएकी थिई, अझ भनौँ रोमान्टीक बनेकी थिई।
त्यसपछि बोनिताले चिठी लेखिन। सधैँ मैले लेखिरहेँ। जबाफ आएन। बोनिताको यहि अन्तिम चिठी थियो।
मैले हरेक दिन चिठी लेख्थेँ उसलाई। सुरुका एकबर्ष छ महिना निरन्तर हरेक दिन हुलाक गएर झ्यालबाट चिठी र पाँच रुपैँया छिराएँ। जवाफ को प्रतिक्षा गरिरहेँ । तर सब ब्यर्थ भइरह्यो । त्यसपछि मैले चिठी लेखेँ, पठाइन। चिठी लेख्थेँ अनि लुकाउँथेँ। बोनिताका यादहरु अक्षरहरुमा बग्थे। मन हलुका भएपछि मैले चिठीलाई खाममा राखेर बाहिर मिति लेख्थेँ। बस् यहि उपक्रम चलिरह्यो। हरेक साँझ, बत्ति मुन्तिर एउटा डट्पेन, कापी, खाम र बल्ग्रेति यादहरु, मेरा अनन्य मित्रहरु बने।
बोनितासँग दशैँमा भेट्ने बाचा पुरा हुन सकेन। चारबर्ष देखि म घर जान सकिरहेको थिइन। असुरक्षाका कारण गाउँ जान सम्भव थिएन। राजमार्गमा सुरक्षा जाँचका नाममा मानसिक यातना हुन्थ्यो यात्रुहरुलाई। गन्तब्य नपुगुन्जेल कतिबेला गोली खाइने हो भन्ने त्रास हुन्थ्यो। राज्यपक्षसँग शंका लागेको बखत जोसुकैलाई गोली हान्ने अधिकार थियो। देशमा अशान्ति। गाउँटोलमा अशान्ति। मनमा पनि अशान्ति । राज्यको मान्छे बने बिद्रोहिको कारबाही। बिद्रोहिको मान्छे बने राज्यको कारबाही निश्चित थियो। जुन पक्षको कारबाहीमा परेपनि चरम यातनापछिको डरलाग्दो मृत्यु। कहालिलाग्दो थियो समय। जीवनको असुरक्षा सबैभन्दा डरलाग्दो हुँदोरैछ। बाँच्न पाउने अधिकारमाथी धावा बोल्नेहरु मात्रै थिए जताजतै। गाउँमा केटाकेटी पनि बन्दुकको खेल खेल्थे। हामीले खेल्ने गरेका खेलहरु त एकादेशका कथाहरु पो बनेछन। मृत्युको खेल खेल्थे। माया, प्रेम, शान्ति, भातृत्व त बस् किताबमा सिमित थियो।
मैले गाउँ छाडेको करिब दुई बर्षपछि र बोनितालाई चिठी नपठाएको छ महिना पछि बहिनीको चिठीबाट थाहा भयो, बोनिताले बन्दुक बोक्ने भई। उसको बाध्यता थियो त्यो न कि रहर। उसलाइ समयले कठोर बनायो। बुढा बाबुआमा, घर, छिमेकी र त्यो हामी खेलेको प्रिय माटो बिर्सेर नेपाली जनताको कथित जनमुक्तिका नाममा बोनिता युद्धमा समाबेस भई।
–––
बैशाख १६, २०६१
‘हेल्लो’, मैले फोन रिसिभ गर्दै भनेँ।
‘हेल्लो’, उताबाट चिरपरिचित र चारबर्ष देखि व्यग्र प्रतिक्षा गरिरहेको स्वर सुनियो।
‘निबोध, आई एम सरी’, उसले भनि।
‘सरी भनिरहनु पर्दैन’, मैले भनेँ।
‘सन्चै छौ नि है ?’, उसले रुन्चे स्वरमा आँशु दबाएर भनि।
‘कहाँ छौ?’
‘स्याङ्जाको कुनै गाउँमा छु। साथीहरुको आँखा छलेर फोन गरेको तिम्लाई। अस्ती घर जाँदा मन्जुशासँग नम्बर मागेर ल्याथेँ’, उसले भनि।
मन्जुशा, मेरो बहिनीको नाम थियो। उसले गाउँको नाम किन भनिन थाहा छैन। मैले पनि सोधिन।
‘यति धेरै समयपछि….’
‘म जनयुद्ध छाडेर आउँछु’, मैले वाक्य पुरा गर्न नपाउँदै बोनिताले बिचमा काटेर बोली।
‘हुन्छ ! जानै नहुने थियो तर ढिला भएको छैन’, मैले जान्ने पल्टीएँ।
‘भोलि हाम्रो बिग्रेड सिद्धार्थ राजमार्ग क्रस गरेर स्याङ्जा बजार हुँदै पर्वत पुग्ने योजना छ। त्यसैबेला स्याङ्जा बजारमा टोलीलाई छलेर म पोखरा आउँछु’, उसले लगातार योजना सुनाई।
‘अँ’, मैले टाउको हल्लाउँदै बोलेँ।
‘तिमी प्लेनमा पोखरा आउ, पोखरा –काठमान्डूको दुइबटा टिकट सहित। म एयरपोर्टमा तिमीलाई भेट्छु, करिब दिउसो दुई बजे तिर। त्यहाँबाट हामी काठमान्डू जाने।’, उसले पुरै योजना सुनाई।
म भित्रभित्रै गद्गद् भएँ।
‘हुन्छ कामरेड ! अलि सतर्क हुनु’, मैले भनेँ।
बोनिताले मधुरो मुस्कुराई।
‘त्यसपछि हामीले फेरी पहिलेको जस्तै बुढाबुढीको खेल खेल्नेछौँ ‘, मैले आशाबादी हुँदै भनेँ।
बोनिताले फोन राखिसकेकी थिई।
म भित्रभित्रै खुसी थिएँ। मैले अनुभव गरेसम्म जीवनको सबैभन्दा ठूलो खुसीको महसुस थियो त्यो। चार बर्षदेखि भेट्न खोजिरहेको मान्छे थिई, बोनिता। जीवनभर उसको प्रतिक्षा गर्ने अठोट बोकेको थिएँ मैले।
यति एअरलाइन्सको काठमान्डू कार्यालयमा फोन गरेर भोलिपल्टका लागि पोखरा जाने एउटा टिकट र फर्किने दुई वटा टिकट बुक गराएँ।
‘यत्ति बाँकी थिए सर, कस्तो टाइममा कल गर्नुभयो’, उताबाट जवाफ आयो।
मैले धन्यवाद भनेँ।
‘अहिले बोनिता दाहिना छ, सबै मेरो फेबरमा हुन्छ’, मैले मुस्कुराउँदै मनमनै भनेँ। छतमा निस्केर चिच्याउन मन थियो खुसीले तर, सामाजिक प्रतिष्ठाले दिएन। पद, प्रतिष्ठा ले मान्छेलाई न खुसी हुन दिन्छ, न रोईदिन।
म राजधानीको कुनै प्रतिष्ठित बैङ्कको मेनेजर थिएँ। कमाई राम्रै थियो। सहरमा ईज्जत थियो। मान्छेहरुले नमस्कार गर्थे। अरुहरुले हेर्दा सप्पै राम्रो थियो।
साथीहरुले बिहा गर्ने कुरा गरेर वाक्क पार्थे तर म बोनिताको प्रतिक्षा गरिरहेको थिएँ। अब प्रतिक्षाको फल प्राप्त हुनेवाला थियो। जनयुद्धमा समाबेश भएकी साहसी केटीसँग, जीवनका आउँदा दिनहरु सहज अगाडी बढ्नेवाला थिए।
रातभरि बोनितासँगको बिगत सम्झीएँ, अनि भविष्यका योजनाहरु बुनेँ। हनिमुन मनाउन बोनितालाई बैङ्कक लैजाने योजना बनाएँ। बैङ्कक मेरो मन परेको सहर थियो। बैङ्ककमा एक हप्ता बसेर पुरै बैङ्कक अंगालो हालेर दुइजना घुम्ने बहुत मज्जाको योजना पास भयो। खुब रमाइलो हुने कल्पना गर्दागर्दै बिहान भयो। म एकपल पनि निदाएनछु। बोनिताले आज पनि निदाउन दिईन।
उठेँ। बाथरुम पसेर निस्केपछि चिया बसालेँ र सधैँका जस्तै एउटा चुरोट सल्काएँ।
आजदेखी लुकेर चुरोट खानु पर्ने होला, मनमनै सोचेँ।
अब बोनिताले चुरोट खान दिनेछैन। उबेला हजुरबाको सिरानीबाट जैले देउराली चुरोटका प्याकेटहरु च्यातेर फालिदिन्थी मलखातोमा। अब त झनै बुझ्ने भैसकेकी बोनिताले मेरा सबै लत छुटाउनेछ र एउटा लत बाँकी रहनेछ, उ आफैसँगको।
बाहिर निस्केर एउटा हिराको औँठी किनेँ, बोनितालाई। अनि, उसका नाममा लेखेका चिठीहरु पोको पारेर एअरपोर्ट तिर लागेँ। ९१२ वटा चिठी थिए जम्माजम्मी गरेर। यि चिठीहरु बोनितालाई उपहार दिनु थियो।
–––
पोखरा एअरपोर्टमा म सयौँ चाहनाहरु र भविष्यका सुन्दर योजनाहरु बोकेर उत्रिएँ । गेटको सिँढीमा बोनिता सानो ब्याग लिएर मेरो प्रतिक्षा गरिरहेकि थिई।
ठूला आँखा पार्दै पुरै आश्चर्यका साथ बोनिताले हात हल्लाई।
मैले उसलाई उचालेर एक फन्का घुमाएँ र अंगालोमा कस्सेर चुम्बन गरेँ। छेवैको पुलिस मुसुमुसु गरिरहेको थियो। मैले हेरेपछि सतर्क भयो।
‘सप्पैको अगाडी !’, रातो अनुहार पार्दै उसले भनि।
‘बाल भो !’
यति भइसक्दा सेनाले हामीलाई घेरा हालिसकेछ। बोनिता मेरो अंगालोबाट निस्की। मेरा हातखुट्टा काँपे। एउटा सिपाहीले बोनिताको कपाल समातेर गाडीतिर हुत्तायो।
‘जंगलका भालुहरु शहर छिरेचन’, कुनै सदस्यले बोल्यो।
मैले टाउको झुकाएँ।
बहुलाएको बाघको पञ्जामा परेका थियौँ हामी। आँखा छोपियो। हतगडी लगाइयो। हामीलाई कतै सुनसान ठाउँमा पुरायो गाडीले। अरु गाडीको आवाज आएको थिएन। बस् चराचुरुङ्गीहरु चिरबिर चिरबिर गरिरहेका थिए।
गाडी रोकियो।
कसैले बोनितालाई तान्यो।
‘ऐया !’
म झसंग भएँ।
‘नाईँ’, बोनिताले आँशुमिश्रीत चिच्याई।
‘मुजीलाई स्वास्नीको नांगो रुप हेर्न दे ! उज्यालोमा आँफैले हेरेको छैन होला।’, कमान्डरले मेरो आँखाको पट्टी खोल्न आदेश दिँदै चर्को हाँस्यो।
एकजना आएर मेरो पट्टी तानेर फालिदियो।
वर्णन गर्नै अप्ठ्यारा दृष्यहरु थिए। टाउको झुकाएर टोलाईरहेँ। उता बोनिता चिच्याईरही। मसँग हुँदा पनि बोनितालाई सुरक्षा दिन सकिन। आँफैसँग रिस उठ्यो।
मेरो ठाउँमा भगवान श्रीकृष्ण भएको भए पनि यसै गरि हेर्दाहुन, मनमनै सोचेँ। बन्दुकको अगाडि कसैको केहि लाग्नेवाला थिएन।
उनिहरुले काम सके । रगतले लत्पतिएको बोनिताको ज्यान हेरेँ। एउटाको बन्दुक खोसेर सबैलाई भुटुटु पारिदिउँ जत्ति रिस थियो मनमा। तर यो मुर्खता कम्तिमा मैले गर्ने क्षमता राख्दैनथेँ।
‘गोली हान्?’, एउटा सिपाहीले बन्दुक दिँदै मैले कल्पना गरेभन्दा एक लाख प्रकाश वर्ष टाढाको कुरा भन्यो।
लगत्तै सबैजना म भन्दा पछाडि गए। एउटाले मलाई फायर गर्न सिकायो।
मैले मेरी बोनितालाई नै गोली हान्नु पर्ने भयो।
म कुनै पनि हालतमा सक्नेवाला थिईन। मैले केहि प्रतिक्रिया नजनाएपछि पछाडि बसेकोले एक लात्ता हान्यो ढाडमा। म पछारिएँ। अर्कोले उठाएर फेरि बन्दुक थमायो।
बोनिताले टिठलाग्दो अनुहारले म तर्फ हेरेर टाउको तलमाथी गरी।
असह्य पिडा भन्दा मृत्यु कयौँ गुना उत्तम थियो। बोनिता असह्य पिडामा छटपटिनु पर्दैनथ्यो।
म बिवश भएर बोनिताको छातीमा गोली हानेँ, जहाँ मेरो लागि मायाको अथाह सागर थियो।
‘निबोध !’, बोनिताले जीवनको अन्तिम शब्द बोली।
मेरा आँखाबाट तप्प एक ढिका आँशु भुईमा बज्रियो।
प्रेमीसँग पुनर्मिलनको उत्कट चाहना बोकेर युद्ध छाडेर आएकी बोनिताले मसँग मात्रै नभई संसारसँग बिछोडिएर गई।
तर, मैले मृत्युको अवसर पाइन। मेरा सपनाहरुको मात्रै हत्या भयो।

(श्रोत्:-Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.