~सुषमा पाठक थापा~
“हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।”
“मर्निङ वाक जाने गर न”
“यसो एक्सरसाइज गर्नु नि”
“डाइटिङ गर डाइटिङ”
चिनेजानेका जतिले भेटेपिच्छे भन्ने यस्तै यस्तै वाक्यहरुले दिक्क भएकी छु म। शरीरमा हर्मोनको गडबडी भएर अस्वभाविक रुपमा मोटाउन थालेपछि मभन्दा चिन्तित अरु को नै होला र। तैपनि आफन्त र साथीहरुले आफ्नै भलाईका लागि भनेका त हुन् भनेर चित्त बुझाउनै पर्यो। के गर्नु!
ज्यान घटाउने सबैभन्दा सजिलो र प्रभावकारी तरिकाको अध्ययन गर्दै जाँदा मर्निङ वाक अलि ठीक लाग्यो। भएन बा! अब मर्निङ वाक चाँही गर्नै पर्यो। आफ्नो ज्यान आफैलाई भारी भएको ब्यथा त आफुलाई भन्दा बढी कसलाई थाहा हुन्छ र। मर्निङ वाक जान थालेर दुब्लाएकाहरु देखेर आफ्नो जीउ पनि त्यस्तै बनाउने मिठो कल्पना आउनासाथ सम्झेँ,”ओहो! मसँग त स्पोर्ट शूज नै छैन पो त।” लौ जा। चप्पल लगाएर कसरी दौडनु, स्यान्डल लगाउन पनि भएन, अब मारेन त। यसो हिसाब गरेँ, महिना त मर्न लाग्यो, तलब आउनासाथ एकजोर स्पोर्ट शूज त किन्नै पर्यो। पैसाले पुगे त ट्र्याक सुट पनि किन्न पाए झन गजब हुनेथियो।
दिन गन्दागन्दै तलब पाइयो। तिरोतारो, बच्चाको स्कुल फी, रासन आदि सबै छुट्याएर ट्याक्कै हजार जति बाँकी रहला, मनमनै हिसाब गरेँ। ठिकै छ, अहिलेलाई स्पोर्ट शूज नै किन्नपर्यो। अर्को महिना ट्र्याक किनौँला। अब फुर्सद हुनासाथ बजार गएर जुत्ता किनेर ल्याइहाल्छु, मर्निङ वाक पनि शुरु गरिहाल्छु। उत्साहित हुँदै घर आइपुगेँ।
“मम्मी, हेर्नुस् न मेरो ब्याग। कस्तो थोत्रो देखिन्छ। सबैको कस्तो नयाँ छ। फेरि यी यतातिर च्यातियो। तपाईंले तलब आउनासाथ किन्दिन्छु भन्नुभएको होइन?” मलाई देख्नासाथ छोरीले सुनाउन थाली। बिचरी, नयाँ कक्षामा थोत्रो च्यातिन लागेको ब्याग बोकेर जान्छे, उसले पनि मलाई नभनेर कसलाई भनोस्।
“ल ल हुन्छ छोरी, भोलि नै नयाँ ब्याग किन्न जाने।” यति भन्दै उसको खुशीले चम्किएको अनुहार हेरेँ। मर्निङ वाकको लागि फेरि अर्को महिनाको प्रतिक्षा गर्दै हातमुख धुन बाथरूमतिर लागेँ। हेरौँ भ्यागुताको धार्नी कहिले पुग्ने हो।
(श्रोत्:-Mysansar)