~उत्तम पौडेल~
” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो। ” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे पो थाहा हुन्छ, टि.भी खोल्यो भने की क्रीकेट की फूटबल अनि कताबाट उम्रिन्छ त ज्ञान-गुनका कुरा दिमागमा ?” यस्तै फत्फताउदै तातो पानी खाट नजिकैको टेबलमा राखेर भान्छा तिर सवारी भयो उहाँको। मेरो ओठ खुशीले मुसुक्क मुस्कुरायो। बिद्यार्थीलाई गोरुधुलाई गर्ने मास्टरले कक्षामा पाठ नगर्नेलाई लस्करै पिट्दै गर्दा , अचानक आफ्नो पालो अगाडी नै पियुन दाइले समय सकिएको घन्टी बजाउँदा ” लौ बचियो आज ” भनेजस्तै हुन्थ्यो, श्रीमतीले मलाई कोठामा एक्लै छोडेर जादा , चाहे १० इन्चीको भित्तापारीको भान्छा नै किन नहोस।
कहिले काहीँ यस्तो लाग्छ मानौं म ज्वरोले इन्तु न चिन्तु भएको तर पनि तितो सिटामोल खान नमान्ने दुई बर्षे बालाखा हुँ, अनि उनि मेरी आमा। तातोपानीले शरीरमा के गर्छ मलाई थाहा छैन, तर पनि बिहान बिहान अलि अलि गर्दै घाँटिमा एक गिलास तातो पानि खोत्याउनु मेरो बाध्यता हो। त्यति नगरी चिया पाइँदैन। भक्तहरुले बरदान पाउने आशामा कठिन तपस्या गरेजस्तै, खल्लो तातो पानि आन्द्रामा बगाउनु मेरो तपस्या थियो , उनि मेरी भगवान थिईन, चिया मेरो बरदान। यसरी नै दिन बढ्दै थिए, दुरभाग्यबस मेरो भुँडिको गोलाई पनि।
मेरो मनमा एक पैसाको पनि बिश्वाश थिएन कि बिहान-बिहान तातो पानी मात्र पिएर घ्यम्पो घट्छ भन्ने कुरामा। यदि यो साँचो हो त भैंसी किन मोटा हुन्थे ? डुँड भरी तातो कुँडो पिउने गाई-भैंसी त स्याल जस्तो हुनुपर्थ्यो, तातो पानी नपिउने घोडा-गधाहरु चैं गैँडा जत्रो हुनुपर्थ्यो। सधैं चियापान समारोहामा मात्रै ब्यस्त हुने हाम्रा नेताका भुँडि किन त्यति ठुला ? आखिर चिया पनि एक प्रकारको तातो पानी नै त हो नी।
ठुलै हिम्मत अनि आँट बटुलेर अब देखी म बिहान-बिहान तातो पानी नपिउने निर्णय गरेको कुरा आजकै दिनमा श्रीमतीलाई सुनाउने दृढ अठोट गरें। हदै होला एकछिन रिसाउली, साह्रै गरिछे भनी एक कुचो झटार्ली, ढुङ्गा-मुढा अनी डाडु-पनियो त पक्कै पनि गर्दिन होली, सासु-ससुरा गौरवशाली-क्रान्तिकारी नेता भएका भए त त्यै पनि बेर थिएन तर ससुराली खलक जम्मै मास्टरी पेसामा थिए। यस्तै सोच्दा सोच्दै उनि कोठा भित्र टुपुल्कियिन।
मैले बिनम्रतापुर्बक भने – ” बुडी, अब देखि म तातो पानी पीउँदिन है ! खै यो भुँडि घट्ला भन्दा त झन् बढेको बढ्यै भयो, नाइटो र मेरुदण्डको बिचमा हावा भरेको भकुण्डो जस्तो फुलेको फुल्यै छ।”
उनि एकासी मलिन हुदै , मसिनो बोलीले भनिन – ” हो बुढा, तिम्रो कुरा ठिक हो। ”
मेरो मन खुशी ले गदगद भयो, बिना विभागीय मन्त्रीले अकस्मात प्रधानमन्त्री पाएजस्तो|
यतिकैमा उनको बाक्य तन्कियो – ” एक गिलास तातोपानी ले तिमीलाई नछुने रैछ, भोलि देखि तिमीलाई दुई गिलास, अनि प्रणायाम, अनुलोम-बिलोम, योगा पनि गर, अबदेखि चिया खायौ भने फेरी …..” भन्दै मुड्की मेरो चुच्चो नाक तिर तेर्साइ।
मैले पनि लुत्रुक्क परेर सहमतिको मुन्टो हल्लाउदै फेरी एक गिलास तातोपानी मेरो भकुन्डे भुडीभित्र खोत्याएं।
(श्रोत्:-Mysansar)